विकासन्युज

प्रभु बैंकद्वारा रसुवा बाढीपीडितका लागि राहत सामग्री वितरण

काठमाडौं । प्रभु बैंक लिमिटेडले रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारका लागि थप राहत सामग्री उपलब्ध गराएको छ । बैंकले बिहीबार (भदौ २५) नुवाकोट जिल्ला प्रशासन कार्यालयमार्फत बाढीपीडितलाई वितरण गर्ने गरी १०० थान टेन्ट र १०० थान स्लिपिङ ब्याग हस्तान्तरण गरेको हो । राहत सामग्री प्रभु बैंकका प्रमुख बजार व्यवस्थापक दीपेन्द्र बाबु विष्टले जिल्ला प्रशासन कार्यालय, नुवाकोटलाई हस्तान्तरण गरेका हुन् । ती सामग्री बाढीका कारण घरवारविहीन भएका तथा प्रभावित परिवारलाई वितरण गरिने बैंकले जनाएको छ । यसअघि पनि प्रभु बैंकले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड ११ लाख ११ हजार १११ रुपैयाँ सहयोग प्रदान गरेको थियो । बैंकले विज्ञप्तिमार्फत भोटेकोशी बाढीमा ज्यान गुमाएका स्वदेशी तथा विदेशी नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना जनाएको छ । साथै, सम्पर्कविहीन व्यक्तिको शीघ्र उद्धार र घाइतेहरूको स्वास्थ्यलाभको कामना गर्दै विपद्बाट प्रभावित समुदायको साथमा रहने प्रतिबद्धता पनि बैंकले व्यक्त गरेको छ ।

बाढी प्रभावित महिला तथा बालबालिका मानव बेचबिखनमा पर्ने जोखिम बढ्यो

काठमाडौं । भोटेकोशीको बाढीबाट प्रभावित भएका बालबालिका तथा महिलाहरू बेचबिखनमा पर्ने जोखिम बढेको छ ।  द्रुत लेखाजोखा अध्ययन समितिले पनि बाल विवाह, बाल श्रम तथा महिला र बालबालिका बेचबिखन तथा ओसारपसारको जोखिम बढ्ने औंल्याएको छ ।  'विपद्को अवस्थालाई अवसरका रूपमा प्रयोग गरी अपरिचित व्यक्तिले राम्रो काम, शिक्षा वा सुरक्षित बसोबासको प्रलोभन देखाएर बालबालिका तथा किशोरीलाई अन्यत्र लैजान सक्ने जोखिम रहेको  छ,’ प्रतिवेदनमा भनिएको छ,’ मानव बेचबिखनको जोखिममा रहेका रसुवा तथा नुवाकोट जिल्लामा बाढीपछिको विस्थापन तथा कमजोर पारिवारिक अवस्थाका कारण थप जोखिम हुन सक्ने  छ ।' घरबारविहीनता, परिवारको आर्थिक संकट, अभिभावकको मृत्यु वा छुट्टिनु तथा विद्यालय सञ्चालनमा आएको अवरोधले थुप्रै सामाजिक समस्या आउनसक्ने समितिको प्रतिवेदनमा उल्लेख छ । बालबालिकाको सामाजिक तथा आर्थिक अवस्थालाई समेत रसुवामा आएको बाढीले प्रभाव पारेको प्रतिवेदनले औल्याएको छ । 'बाल विवाह, बाल श्रम, बालबालिका बेचविखन तथा ओसारपसारको जोखिम बढ्न सक्नेछ,’ लेखाजोखा प्रतिवेदनमा बताइएको छ ।  विद्यालय नियमित सञ्चालनमा नआउँदा बालबालिकाको दिनचर्यामा ठूलो परिवर्तन प्रतिवेदनको भनाइ छ । अस्थायी आश्रयस्थलमा लामो समयसम्म बस्नुपर्ने, नियमित सिकाइबाट टाढा रहनुपर्ने तथा परिवारको जीविकोपार्जनमा संकट आउने हुनाले भविष्यमा बालबालिका बाल श्रममा संलग्न हुनसक्ने आउने प्रतिवेदनमा लेखिएको छ ।  रसुवामा भदौँ १० गते आएको बाढीपछि सरकारले महिला तथा बालबालिकाको जोखिम बुझ्न द्रुत लेखाजोखा अध्ययन समिति बनाएको थियो ।  रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ र चितवन जिल्लाका बाढी प्रभावित बालबालिकाको अवस्था र तत्कालको आवश्यकता, बाल संरक्षण सम्बन्धी जोखिम, अत्यावश्यक सेवामा पहुँच स्वास्थ्य, शिक्षा, मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग, लैंगिक हिंसा, सुरक्षित आश्रयस्थल तथा स्थानीय संरक्षण तथा सिफारिस संयन्त्रको अवस्था पहिचान गर्न द्रुत लेखाजोखा अध्ययन गर्न समिति बनेको थियो ।  विशेषगरी समितिले अपांगता भएका बालबालिका, परिवार गुमाएका, विछोडिएका वा आफन्त गुमाएका, साथमा कोही आफन्त नभएका बालबालिका महिला तथा किशोरी गर्भवती तथा सुत्केरी महिला तथा अन्य जोखिममा रहेका समूहको आवश्यकता तथा प्राथमिकतामा विशेष ध्यान दिएर अध्ययन गरेको छ । अध्ययन समितिले भेदौँ १५ गतेदेखि १९ गतेसम्म अध्ययन सिमितिले लेखाजोखा गरेको थियो । प्रतिवेदन तयार गर्न प्रतिवेदन तयार गर्न संयोजक रामबहादुर चन्द अधिकृत, राष्ट्रिय बाल अधिकार परिषद् , सह-संयोजक रामप्रसाद गौतम, बाल संरक्षण अधिकृत युनिसेफ नेपाल , सदस्य  सरोज केसी, सल्लाहकार, बाल संरक्षण तथा बाल अधिकार शासन, सेभ द चिल्ड्रेन , सदस्य निरिजना भट्ट, कार्यक्रम व्यवस्थापक, सिविन नेपाल, सदस्य  अन्जु पोखरेल, बरिष्ठ कार्यक्रम संयोजक, युथ एलायन्स फर इन्भारोमेण्ट र कार्यक्रम व्यवस्थापक, कन्सोर्टियम नेपाल सदस्य सचिव गौरव के। सी रहेका थिए ।

आत्महत्या रोकथामका लागि खुला संवाद र सहकार्य आवश्यक छ : आयोग

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले आत्महत्या रोकथामका लागि मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्दै परिवार, समुदाय, राज्य तथा सम्बन्धित सबै पक्षबीच खुला संवाद र सहकार्य आवश्यक रहेको जनाएको छ । विश्व आत्महत्या रोकथाम दिवसका अवसरमा जारी प्रेस विज्ञप्तिमा आयोगले आत्महत्या रोकथाम मानव अधिकारसँग प्रत्यक्ष जोडिएको विषय भएको उल्लेख गर्दै यसको न्यूनीकरणका लागि प्रभावकारी कार्यक्रम सञ्चालन गर्न सरकार तथा सरोकारवाला निकायलाई आग्रह गरेको छ । हरेक वर्ष १० सेप्टेम्बरमा विश्व आत्महत्या रोकथाम दिवस मनाइन्छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को सहकार्यमा अन्तर्राष्ट्रिय आत्महत्या रोकथाम संघ (आइएएसपी) ले सन् २०२४ देखि २०२६ सम्मका लागि  ‘संवाद सुरु गरौँ’ भन्ने नारालाई प्राथमिकता दिएको आयोगले जनाएको छ । आयोगका अनुसार आत्महत्याको जोखिममा रहेका व्यक्तिलाई समयमै पहिचान गरी मनोसामाजिक सहयोग, परामर्श तथा आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्ने आवश्यकता छ । सामाजिक एक्लोपन, मानसिक स्वास्थ्यसम्बन्धी समस्या, आर्थिक तथा पारिवारिक तनाव, हिंसा, भेदभावलगायतका कारणले व्यक्तिमा निराशा बढ्न सक्ने भएकाले यस्ता समस्याको सम्बोधनमा राज्यको विशेष भूमिका रहने आयोगले जनाएको छ । आयोगले मानसिक स्वास्थ्यसम्बन्धी सेवामा सबैको सहज पहुँच सुनिश्चित गर्न, आत्महत्यासम्बन्धी घटनालाई कलंकका रूपमा नहेर्न तथा जोखिममा रहेका व्यक्तिप्रति संवेदनशील व्यवहार गर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ । ‘संवाद सुरु गरौँ, जीवन बचाऔँ’ भन्ने भावनाका साथ आत्महत्या रोकथामका लागि परिवारदेखि राज्यका निकायसम्म सबैले सहकार्य गर्नुपर्ने आयोगको भनाइ छ ।

मन्त्रिपरिषद् बैठक सुरु

काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक सुरु भएको हो ।  बैठकमा समसामयिक विषयसँगै विभिन्न मन्त्रालयका प्रस्तावमाथि छलफल तथा निर्णय हुने अपेक्षा गरिएको छ । बैठकपछि सरकारले गरेका निर्णय सार्वजनिक गरिनेछ ।

भोटेकोशी बाढीपीडितलाई तयारी पोशाक उद्योग संघले दियो ३३ लाख रुपैयाँ

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि नेपाल तयारी पोशाक उद्योग संघले ३३ लाख ३३ हजार ३३३ रुपैयाँ सहयोग गरेको छ । संघले बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी अर्थमन्त्रीमार्फत उक्त रकमको चेक हस्तान्तरण गरेको जनाएको छ । संघले बाढीमा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै बेपत्ता नागरिकको शीघ्र खोजी र घाइते तथा प्रभावितको स्वास्थ्यलाभको कामना गरेको छ । बाढी प्रभावित नागरिकको उद्धार, सुरक्षित स्थानान्तरण तथा राहतका लागि नेपाल सरकार, सुरक्षा निकाय, स्थानीय तह र सम्बन्धित निकायबाट भइरहेका प्रयासको संघले प्रशंसा गरेको छ । संघका अनुसार संघका सदस्य उद्योगहरूले समेत आ–आफ्नो तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग उपलब्ध गराइरहेका छन् । त्यस्तै, बाढीपीडितको तत्कालीन आवश्यकतालाई ध्यानमा राख्दै संघका सदस्य तथा अन्तर्राष्ट्रिय क्रेताहरूको सहयोगमा लत्ताकपडा, तयारी पोशाक तथा अन्य आवश्यक सामग्री समेत राहतस्वरूप वितरण भइरहेको छ । संघले विपद्बाट प्रभावित परिवार तथा समुदायलाई सामान्य जीवनमा फर्काउन तत्कालीन राहतसँगै दीर्घकालीन पुनर्स्थापना, स्थानीय आर्थिक गतिविधिको पुनरुत्थान तथा रोजगारीका अवसरको संरक्षण र सिर्जनामा पनि ध्यान दिनुपर्नेमा जोड दिएको छ । विपद्को यस घडीमा प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै संघले उद्धार, राहत, पुनर्स्थापना तथा रोजगारी पुनःस्थापनाका लागि आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।

राष्ट्रिय वाणिज्य बैंक र सांस्कृतिक संस्थानबीच कर्मचारीलाई कर्जा दिने समझदारी

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र सांस्कृतिक संस्थानबीच कर्मचारीका लागि तलबी बचत खाता सञ्चालन तथा कर्जा लगानीसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । बिहीबार बैंकको केन्द्रीय कार्यालय सिंहदरबार प्लाजामा आयोजित कार्यक्रममा समझदारीपत्रमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनाल र सांस्कृतिक संस्थानका महाप्रबन्धक किरणबाबु पुनले हस्ताक्षर गरेका हुन् । समझदारीअनुसार राष्ट्रिय वाणिज्य बैंकले सांस्कृतिक संस्थानका कर्मचारीका लागि तलबी बचत खाता तथा पेशाकर्मी सरल कर्जा सञ्चालन गर्ने छ । साथै, कर्मचारीलाई सहुलियत दरमा विभिन्न बैंकिङ सेवा तथा सुविधा उपलब्ध गराइने बैंकले जनाएको छ । यसबाट सांस्कृतिक संस्थानका कर्मचारी लाभान्वित हुनुका साथै बैंकको व्यवसाय विस्तारमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ । समझदारीपत्र हस्ताक्षर तथा आदानप्रदान कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृतद्वय विनय रमण पौडेल र पवन रेग्मी, उपकार्यकारी अधिकृतहरू दुर्गा कुमारी कँडेल (छत्कुली), रामकुमार थापा र निश्चल श्रेष्ठलगायतको उपस्थिति थियो । त्यस्तै, बैंकको शाखा सञ्चालन विभागका विभागीय प्रमुख ध्रुवप्रसाद अर्याल तथा सांस्कृतिक संस्थानका प्रशासकीय अधिकृत सुदर्शन थापा, लेखा अधिकृत प्रेमध्वज जी.सी. लगायत कर्मचारी सहभागी थिए । वि.सं. २०२२ साल माघ १० गते पूर्ण सरकारी स्वामित्वमा स्थापना भएको राष्ट्रिय वाणिज्य बैंकले हाल ७७ वटै जिल्लाका सदरमुकामसहित दुर्गम क्षेत्रलाई समेत समेटेर ३१६ शाखा कार्यालय र ३३८ एटीएममार्फत ४८ लाखभन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको छ । बैंकले निक्षेप तथा कर्जाका साथै एटीएम, मोबाइल बैंकिङलगायत आधुनिक डिजिटल बैंकिङ सेवा उपलब्ध गराउँदै आएको जनाएको छ ।

नेपाल टेलिकमका ब्रान्ड एम्बेसडर बने कुशल भुर्तेल र नीति शाह

काठमाडौं । नेपाल टेलिकमले नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेल र चर्चित मोडल तथा अभिनेत्री नीति शाहलाई आफ्नो ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ । कम्पनीले ब्रान्ड प्रवर्द्धन, बजारीकरण र व्यवसाय विस्तारलाई थप प्रभावकारी बनाउने उद्देश्यले खेलकुद र मनोरञ्जन क्षेत्रका दुई चर्चित व्यक्तित्वलाई ब्रान्ड एम्बेसडरका रूपमा नियुक्त गरेको जनाएको छ । नेपाल टेलिकमका अनुसार कुशल भुर्तेललाई २०८३ साउन २० गते आयोजित कार्यक्रममा ब्रान्ड एम्बेसडर नियुक्त गरिएको थियो भने नीति शाहलाई बिहीबार (२०८३ भदौ २५ गते) आयोजित कार्यक्रममा नियुक्त गरिएको हो । कार्यक्रममा नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल)ले खेलकुद र मनोरञ्जन क्षेत्रका स्थापित व्यक्तित्वसँगको सहकार्यले युवा पुस्तासहित आम नागरिकसँग कम्पनीको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरिन् । उनले यस्तो साझेदारीले कम्पनीको सामाजिक छवि अभिवृद्धि गर्न, सेवासुविधाको प्रचारप्रसारलाई प्रभावकारी बनाउन र व्यवसाय प्रवर्द्धनमा नयाँ ऊर्जा थप्ने अपेक्षा रहेको बताइन् । नवनियुक्त ब्रान्ड एम्बेसडरद्वयले देशकै ठूलो स्वदेशी लगानीको दूरसञ्चार कम्पनीसँग जोडिन पाउँदा आफूहरू गौरवान्वित र उत्साहित भएको प्रतिक्रिया दिएका छन् । उनीहरूले नेपाल टेलिकमको सामाजिक छवि सुदृढ बनाउन, सेवासुविधाको प्रचारप्रसार गर्न र ब्रान्ड प्रवर्द्धनमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन् । नेपाल टेलिकमका अनुसार ब्रान्ड एम्बेसडरका रूपमा कुशल भुर्तेल र नीति शाहले स्वदेश तथा विदेशमा रहेका ग्राहकबीच कम्पनीका विभिन्न सेवा–सुविधाको प्रचारप्रसार र ब्रान्ड प्रवर्द्धनका गतिविधिमा सक्रिय भूमिका खेल्नेछन् ।

गजेन्द्रनारायण अस्पतालले भन्यो– पटक–पटक अनुरोध गर्दा पनि सुत्केरी अस्पतालबाट बाहिरिएकी थिइन्

काठमाडौं । सप्तरीको राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालले अस्पताल परिसरको मूल गेटनजिक एक महिलाले बच्चा जन्माएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । अस्पतालले जारी गरेको विज्ञप्तिअनुसार भदौ २४ गते बिहान करिब २ बजे प्रसवको सुरुवाती अवस्थामा अस्पताल पुगेकी बबिता कुमारी पासवानलाई प्रारम्भिक स्वास्थ्य परीक्षणपछि प्रसूति वार्डको बेड नं २४ मा भर्ना गरिएको थियो । आवश्यक जाँचसम्बन्धी कुनै रिपोर्ट नभएकाले तत्काल जाँच गर्न सुझाव दिइएको अस्पतालको भनाइ छ । त्यसपछि अस्पतालले उपलब्ध गराएको शय्यामा नरहेको र सोही दिन बिहान करिब ४ः४५ बजे अस्पतालको मूल गेटबाहिर प्रसूति भएको जानकारी प्राप्त भएको विज्ञप्तिमा उल्लेख छ ।  प्रसूति पश्चात् आमा र बच्चालाई सालनालसहित पुनः प्रसूति वार्डमा ल्याइएको र ड्युटीमा खटिएका स्वास्थ्यकर्मीले आवश्यक स्वास्थ्य स्याहार तथा उपचारका लागि अस्पतालमै रहन पटक–पटक अनुरोध गरे पनि उनी अस्पतालबाट बाहिरिएको प्रारम्भिक विवरण अस्पतालले सार्वजनिक गरेको छ । हाल आमा बबिता कुमारी पासवान र नवजात शिशु दुवै अस्पतालको बेड नम्बर २२ मा स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा उपचार तथा आवश्यक स्याहार पाइरहेका छन् ।  दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । घटनापछि अस्पतालले आमा र बच्चाको हालसम्म आवश्यक सम्पूर्ण स्वास्थ्य उपचार, औषधि तथा सेवाहरू निःशुल्क उपलब्ध गराउने निर्णय गरेको छ । अस्पताल प्रशासनले घटनाको वास्तविक तथ्य पत्ता लगाउन निष्पक्ष आन्तरिक छानबिन प्रक्रिया अघि बढाउने र छानबिनबाट दोषी देखिएका कर्मचारी वा सम्बन्धित पक्षलाई प्रचलित कानुन तथा नियमअनुसार कारबाही गर्ने प्रतिबद्धता जनाएको छ । सम्बन्धित निकायबाट बाह्य छानबिन समिति गठन भए त्यसलाई आवश्यक सूचना, कागजात तथा सहयोग उपलब्ध गराउने पनि अस्पतालले स्पष्ट पारेको छ । आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन प्रसूति सेवा व्यवस्थापन, सेवा प्रवाह तथा सेवाग्राहीप्रतिको जवाफदेहिता थप सुदृढ बनाउने अस्पतालले प्रतिबद्धता जनाएको छ ।  घटनाको पूर्ण सत्यतथ्य छानबिनबाट बाहिर नआएसम्म संयमित भई सत्यतथ्यमा आधारित सूचना सम्प्रेषण गर्न अस्पताल प्रशासनले नागरिक तथा सञ्चारमाध्यमलाई आग्रहसमेत गरेको छ ।