ग्रान्डी अस्पतालको तीज हेल्थ प्याकेज, महिलालाई स्वास्थ्य परीक्षणमा ४३ प्रतिशत छुट

काठमाडौं । हरितालिका तीजको अवसरमा धापासीस्थित ग्रान्डी इन्टरनेशनल हस्पिटल ले महिलालाई लक्षित गर्दै विशेष ‘तीज हेल्थ प्याकेज’ सार्वजनिक गरेको छ ।

‘संस्कार, संस्कृति र स्वास्थ्य सँगसँगै’ भन्ने नारासहित अस्पतालले महिलाको स्वास्थ्य परीक्षणमा ४३ प्रतिशतसम्म छुट दिने गरी विशेष प्याकेज ल्याएको हो ।

अस्पतालका अनुसार स्वस्थ नारी सुखी परिवारको आधार भएकाले तीजको अवसरमा महिलालाई आफ्नो स्वास्थ्यप्रति सचेत गराउने उद्देश्यले यो योजना ल्याइएको हो ।

प्याकेजअन्तर्गत अस्पतालले दुई प्रकारका स्वास्थ्य परीक्षण सुविधा उपलब्ध गराएको छ । पहिलो प्याकेजमा ९ हजार ४ सय रुपैयाँ बराबरको स्वास्थ्य परीक्षण ५ हजार ४ सय रुपैयाँमा उपलब्ध हुनेछ ।

यस प्याकेजमा स्त्रीरोग विशेषज्ञसँगको परामर्श, सुगर, युरिया, क्रिटिनाइन, कलेजो, थाइराइड, पिसाब तथा रगत परीक्षण, पाठेघरको मुखको क्यान्सर परीक्षण र पेट तथा तल्लो पेटको भिडियो एक्सरे समावेश गरिएको छ ।

त्यस्तै, दोस्रो प्याकेजमा १३ हजार ५८० रुपैयाँ बराबरको सेवा ७ हजार ८ सय रुपैयाँमा उपलब्ध गराइनेछ । यसमा पहिलो प्याकेजका सबै परीक्षणका साथै एचपीभी परीक्षण समेत समावेश गरिएको अस्पतालले जनाएको छ ।

प्याकेज लिने बिरामीले अन्य अतिरिक्त प्रयोगशाला परीक्षणमा समेत १० प्रतिशत छुट पाउनेछन् ।

अस्पतालका अनुसार यो विशेष तीज हेल्थ प्याकेज २०८३ भदौ ३१ गतेसम्म लागू हुनेछ ।

Share News