प्रधानाध्यापक र शिक्षिकालाई विशेष अदालतले सफाइ दिएपछि अख्तियार सर्वोच्चमा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गलत लिखत तयार गरी सरकारी कागजात सच्याएको आरोपमा विशेष अदालतबाट सफाइ पाएका तत्कालीन प्रधानाध्यापक बासुदेव अधिकारी र शिक्षिका कल्पना पनेरूविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

अख्तियारले तत्कालीन मनोहर उच्च माध्यमिक विद्यालय, हाल मनोहर माध्यमिक विद्यालय, गंगबु काठमाडौंका तत्कालीन प्रधानाध्यापक बासुदेव अधिकारी र शिक्षिका कल्पना पनेरूविरुद्ध गलत लिखत तयार तथा सरकारी कागजात सच्याई भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा आरोपपत्र दायर गरेको थियो ।

उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र दफा ११ बमोजिम सजायको मागदाबी गरिएको थियो ।

तर, विशेष अदालत काठमाडौंले २०८२ चैत २ गते फैसलामार्फत दुवैलाई आरोपबाट सफाइ दिएको थियो ।

विशेष अदालतको उक्त फैसलाप्रति चित्त नबुझेपछि आयोगले २०८३ भदौ २५ गते सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन दर्ता गरेको हो ।

आयोगका अनुसार गलत लिखत तथा सरकारी कागजात सच्याई भ्रष्टाचार गरेको सम्बन्धमा विशेष अदालतबाट भएको फैसलाविरुद्ध कानुनी उपचारका लागि सर्वोच्चमा पुनरावेदन गरिएको हो ।

Share News