काठमाडौं । देशकै प्रमुख प्रसूति अस्पतालमा दैनिक दर्जनौं महिलाले सुरक्षित प्रसूति सेवाका लागि उपचार लिइरहेका छन् । तर त्यही अस्पतालमा बिरामीको चापअनुसार आवश्यक पर्ने नर्सिङ जनशक्ति व्यवस्थापनमा सरकार भने उदासीन देखिएको छ ।
थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा संघीय सरकारअन्तर्गत स्वीकृत स्टाफ नर्सका २० दरबन्दीमध्ये १२ पद लामो समयदेखि रिक्त छन् ।
सरकारबाट स्वीकृत दरबन्दीको ६० प्रतिशत नर्सिङ पद खाली छ ।
अस्पतालका निर्देशक डा. श्रीप्रसाद अधिकारीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवलाई पठाएको पत्रले यो अवस्था पुष्टि गर्छ । पत्रमा पाँचौं तहका स्टाफ नर्सका २० स्वीकृत दरबन्दीमध्ये ८ पद मात्र पूर्ति भएको र १२ पद रिक्त रहेको उल्लेख छ ।
अस्पतालमा आउने सेवाग्राहीको चापको तुलनामा नर्सिङ जनशक्ति न्यून हुँदा गुणस्तरीय सेवा प्रवाहमा बाधा पुगेको भन्दै निर्देशक अधिकारीले रिक्त पदमा तत्काल पदपूर्ति गर्न मन्त्रालयसँग आग्रह गरेका छन् ।
डा. अधिकारीले साउन ८ गते पत्र लेखे पनि हालसम्म सरकारले दरबन्दीअनुसार नर्सिङ कर्मचारी पठाएको छैन ।

अस्पतालमा वार्षिक करिब २३ हजार प्रसूति हुने गरेका छन् । औसत दैनिक करिब ६१ प्रसूति हुने भए पनि कतिपय दिनमा यो संख्या ७० देखि ८० सम्म पुग्ने गरेको अस्पताल प्रशासनको तथ्यांक छ ।
देशभरबाट जटिल प्रसूति तथा स्त्रीरोगका बिरामीसमेत आउने केन्द्रीय अस्पतालले प्रसूति सेवासँगै आकस्मिक उपचार, शल्यक्रिया र नवजात शिशु उपचारको जिम्मेवारीसमेत सम्हाल्दै आएको छ ।
प्रसूति सेवाको यो चापबीच अस्पतालको ओपीडीमै वार्षिक करिब २ लाख बिरामी पुग्ने गरेका छन् । दैनिक औसत करिब ५३३ बिरामीले ओपीडी सेवा लिने अवस्थामा आकस्मिक कक्ष, भर्ना भएका बिरामी, प्रसूति वार्ड, शल्यक्रिया र नवजात शिशु उपचारमा समेत नर्सिङ जनशक्ति खटाउनुपर्ने बाध्यता छ ।
तर यति ठूलो सेवा भार धानिरहेको अस्पतालमा सरकारकै स्वीकृत २० नर्सिङ दरबन्दीमध्ये १२ पद खाली छन् ।
अस्पतालमा नर्सिङतर्फ कुल १०० दरबन्दी रहेकामा ८० दरबन्दी अस्पताल विकास समितिअन्तर्गत र २० दरबन्दी संघीय सरकारअन्तर्गत रहेको डा. अधिकारीले जानकारी दिए ।
विकास समितिअन्तर्गतका कर्मचारीहरू सेवा निवृत्त हुँदै जाँदा नर्सिङ जनशक्ति घट्दै गएको निर्देशक अधिकारी बताउँछन् । उनका अनुसार स्थायी दरबन्दी बढाएर जनशक्ति अभाव सम्बोधन गर्ने प्रयास भइरहेको छ ।