बिटकोइनको मूल्य २०२६ मा १५० प्रतिशतसम्म बढ्नसक्ने
काठमाडौं । क्रिप्टोकरेन्सी बजारमा पछिल्लो समय ठूलो उतारचढाव देखिँदै आएको छ । विश्वकै सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी बिटक्वोइन पनि यसबाट अछुतो रहन सकेको छैन । गत वर्ष अक्टोबरमा बिटक्वोइन १ लाख २५ हजार अमेरिकी डलर पार गर्दै ऐतिहासिक उच्च स्तरमा पुगेको थियो । तर त्यसपछि यसको मूल्य क्रमशः घट्दै आएको छ । हालसम्म बिटक्वाइन आफ्नो उच्चतम स्तरबाट करिब २८ प्रतिशतभन्दा बढी घटिसकेको छ । यद्यपि, उद्योगका ठूला अधिकारी तथा लगानीकर्ताहरूले सन् २०२६ सम्म बिटक्वाइन नयाँ उचाइमा पुग्न सक्ने बताएका छन् । तर त्यससँगै तीव्र उतार–चढावको जोखिम पनि कायमै रहने उनीहरूको भनाइ छ । सीएनबीसीको बिटकोइन फोरकास्ट रिपोर्टअनुसार सन् २०२६ का लागि विभिन्न विज्ञहरूले बिटकोइनको मूल्य निकै फराकिलो दायरामा रहने अनुमान गरेका छन् । केहीका अनुसार बिटकोइन ७५ हजार डलरसम्म झर्न सक्छ भने केहीले यसलाई २ लाख २५ हजार डलरसम्म पुग्ने देखेका छन् । यसको अर्थ सन् २०२६ मा हालको मूल्यको तुलनामा बिटकोइन १५० प्रतिशतसम्म बढ्न सक्ने सम्भावना छ । आज बिटकोइन ९२ हजार ४४ डलरमा कारोबार भइरहेको छ । गत वर्ष अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति रहँदा क्रिप्टो बजारले तुलनात्मक रूपमा अनुकूल नियामक वातावरणको लाभ पाएको थियो । साथै ठूला संस्थागत लगानीकर्ता र बैंकजस्ता परम्परागत वित्तीय संस्थाहरूको रुचि पनि बढेको थियो । यही क्रममा डिजिटल एसेट ट्रेजरी (डीएटी) कम्पनीहरूको प्रभाव बढेको देखियो । यी कम्पनीहरूले ठूलो मात्रामा बिटकोइन र अन्य डिजिटल सिक्का सञ्चित गर्छन् । अर्कोतर्फ प्रविधि कम्पनीका सेयर मूल्यांकनलाई लिएर बहस चलिरहेको छ। साथै कृत्रिम बौद्धिकता (एआई) को बूम कतै ‘बबल’ त होइन भन्ने प्रश्न पनि उठिरहेको छ । यी सबै कारणले वर्षको अन्त्यतिर क्रिप्टो बजारमा बिक्री हावी देखियो । लगानीकर्ताहरूले जोखिमयुक्त सम्पत्तिको पुनर्मूल्यांकन गर्दा र क्रिप्टो धारकहरूले आफ्ना डिजिटल सिक्का बेच्दा बिक्री हावी दबाबपूर्ण भयो, जसले मूल्य झनै घटायो । यी सबै कारणले सन् २०२६ का लागि चुनौतीपूर्ण अवस्था सिर्जना भएको देखिन्छ । क्यारोल अलेक्जेन्डर : ७५ हजार डलरदेखि १ लाख ५० हजार डलरसम्म युनिभर्सिटी अफ ससेक्सकी फाइनान्स प्रोफेसर क्यारोल अलेक्जेन्डरका अनुसार सन् २०२६ मा बिटकोइन ७५ हजार डलरदेखि १ लाख ५० हजार डलरको दायरामा रहन सक्छ । पछिल्ला केही वर्षमा उनका बिटकोइनसम्बन्धी अनुमानहरू धेरै हदसम्म सही सावित भएका छन् । उनले सन् २०२५ को गर्मी सम्म बिटकोइन करिब १ लाख ५० हजार डलर वरिपरि (५० हजार डलर तल–माथि) कारोबार हुन सक्ने बताएका थिए, जुन अनुमान सही देखियो । कोइनशेयर्स : १ लाख २० हजार डलरदेखि १ लाख ७० हजार डलरसम्म क्रिप्टो–केन्द्रित एसेट म्यानेजर कोइनशेयर्सका रिसर्च प्रमुख जेम्स बटरफिलका अनुसार सन् २०२६ मा बिटकोइन १ लाख २० हजार डलरदेखि १ लाख ७० हजार डलरको दायरामा रहन सक्छ । उनका अनुसार वर्षको दोस्रो भागमा मूल्य वृद्धिको सम्भावना बढी देखिन्छ । डिसेम्बर २०२४ मा बटरफिलले बिटकोइन सन् २०२५ मा करिब ८० हजार डलरसम्म झर्न सक्ने अनुमान गरेका थिए, जुन सही सावित भयो । बिट माइनिङ : ७५ हजार डलरदेखि २ लाख २५ हजार डलरसम्म बिट माइनिङका प्रमुख अर्थशास्त्री यूवेई याङले पनि बिटकोइनमा निरन्तर अस्थिरता रहने बताएका छन् । उनका अनुसार सन् २०२६ मा बिटकोइन ७५ हजार डलरदेखि २ लाख २५ हजार डलरसम्मको फराकिलो दायरामा कारोबार हुन सक्छ । याङका अनुसार सन् २०२६ बिटकोइनका लागि बलियो वर्ष हुन सक्छ । डिसेम्बर २०२४ मा उनले सन् २०२५ मा बिटकोइन करिब ८० हजार डलरसम्म झर्न सक्ने अनुमान गरेका थिए, जुन आंशिक रूपमा सही देखिएको थियो ।
पाकिस्तान-अफगानिस्तान सीमा बन्दले दैनिक ४० लाख डलर बढी नोक्सान
काठमाडौं । करीब ३ महिनाभन्दा बढी समयदेखि पाकिस्तान र अफगानिस्तानबीचको व्यापार कोरिडोरको नाकाबन्दीले राष्ट्रिय तथा क्षेत्रीय स्तरमा अरबौं रुपैयाँको आर्थिक क्षति पुर्याएको व्यापारिक प्रतिनिधिहरूलाई उद्धृत गर्दै डन समाचारले जनाएको छ । सीमापार व्यापारको अवरोधले निर्यात, आपसी वाणिज्य, यातायात लगायत राज्यको राजस्वमा नराम्रो असर पारेको छ । जसले देशको समग्र अर्थतन्त्रमा विशेष गरी खैबर पख्तुनख्वालाई गम्भीर धक्का दिएको छ, जहाँ व्यापारीहरू अफगानिस्तानसँगको वाणिज्यमा धेरै निर्भर थिए । पाकिस्तान-अफगानिस्तान जोइन्ट चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजका वरिष्ठ उपाध्यक्ष जियाउल हक सरहदी र सरहद चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजका सदस्य मञ्जुर इलाहीले संयुक्त प्रेस विज्ञप्ति मार्फत यस्तो टिप्पणी गरेको जनाइएको छ । अफगानिस्तानमा पाकिस्तानको निर्यातको ९० प्रतिशत भन्दा बढी खैबर पख्तुनख्वाका नाकाहरु मुख्यतया तोरखाम सिमा हुँदै हुने उनीहरूले बताएका छन् । व्यापारीहरूका अनुसार प्रान्तले सिमेन्ट, कपडा, औषधि, निर्माण सामग्री र कृषि उत्पादन जस्ता सामान रोकिए पछि २.५ अर्बको निर्यात घाटा बेहोरेको अनुमान गरिएको छ । यस बाहेक, खैबर पख्तुनख्वाले व्यापार गतिविधिमा कमी र भन्सार आयमा कमीका कारण चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा करिब २.५ अर्ब राजस्व गुमाएको छ । प्रान्तका निर्यातकर्ताले हरेक दिन ४० लाख अमेरिकी डलर भन्दा बढीको नोक्सान भोगिरहेको उल्लेख गर्दै अरबौं रुपैयाँ मूल्यका सामानहरू फसेको र औषधि लगायतका सामग्रीको समयावधि सकिएपछि अपूरणीय आर्थिक क्षति हुने सम्भावना रहेको डनले जनाएको छ । व्यापक आर्थिक प्रभावहरु औंल्याउँदै, व्यापारीहरूले निरन्तर सीमा बन्द हुँदा कारखाना बन्द र रोजगारी गुमाउने चेतावनी दिए । उनीहरूले खैबर पख्तुनख्वाको औद्योगिक क्षेत्रको ९० प्रतिशतसम्म आयात र निर्यातका लागि अफगान बजारमा निर्भर रहेको उल्लेख गर्दै जारी अवरोधले बेरोजगारी र बढ्दो आर्थिक कठिनाइको बीचमा क्षेत्रीय अस्थिरता बढाउने बताएका छन् । उनीहरूले अफगानिस्तानले इरान र मध्य एसियाली राज्यहरूमा व्यापार घुमाउँदै जाँदा खैबर पख्तुनख्वामा आधारित व्यापारीहरूका लागि बजारमा स्थायी नोक्सान निम्त्याउँदै गर्दा दीर्घकालीन प्रभावहरु कडा हुन सक्ने चेतावनी दिए । हालैको एक प्रतिवेदनलाई उद्धृत गर्दै उनीहरूले पाकिस्तान–अफगानिस्तान द्विपक्षीय व्यापार ५३ प्रतिशतले घटेर चालु आर्थिक वर्ष (२०२५-२६) को पहिलो अर्धवार्षिकमा ५९ करोड ४० लाख डलरमा झरेको जनाएका छन् जुन अघिल्लो वर्षको समान अवधिमा १.२६ अर्ब डलर थियो । डनको रिपोर्टका अनुसार बन्दले यस क्षेत्रका व्यवसाय, राजस्व, रोजगारी र स्थिरतामा हानिकारक प्रभाव पारेको छ ।
अबको २५ वर्षपछि संसार कस्तो हुनेछ ?
काठमाडौं । पछिल्ला २५ वर्षमा प्रविधिमा अचम्मलाग्दा परिवर्तनहरू भएका छन् । शताब्दीको सुरुवाततिर अधिकांश कम्प्युटरहरू आवाज आउने डायल अप इन्टरनेट जडानमार्फत इन्टरनेटमा जोडिन्थे, नेटफ्लिक्स एउटा अनलाइन डीभीडी भाडा सेवा मात्र थियो र अधिकांश मानिसहरूले स्मार्टफोनको नामसमेत सुनेका थिएनन् । दुई दशकभन्दा अलि बढी समय अघि बढ्दा एआई (कृत्रिम बौद्धिकता), रोबोटिक्स र अन्य धेरै क्षेत्रमा नवप्रवर्तनहरू अकल्पनीय गतिमा देखा परिरहेका छन् । त्यसैले हामीले विशेषज्ञहरूलाई सोध्यौं– आउँदा २५ वर्षले के–कस्ता परिवर्तन ल्याउन सक्छ ? यहाँ २०५० सम्म हामी प्रयोग गर्ने प्रविधि र त्यसले हाम्रो जीवन कसरी पुनःआकार दिन सक्छ भन्नेबारे उनीहरूको अनुमान प्रस्तुत गरिएको छ । मानव र मेसिनको एकीकरण २०५० को दशकमा आधारित विज्ञान–कथाहरूमा मानिसहरूले आफूलाई अझ तन्दुरुस्त, खुसी र उत्पादक महसुस गर्न प्रविधिगत सुधारहरू प्रयोग गरेको धेरै उदाहरण पाइन्छ । सन् २००० मा आएको हिट गेम डिउस एक्स (जसको कथा २०५२ मा आधारित छ) मा खेलाडीले ‘न्यानाइट्स’ भनिने साना रोबोटहरू शरीरमा इन्जेक्ट गर्न सक्छ । यी सूक्ष्म रोबोटहरूले परमाणु तहमा पदार्थलाई नियन्त्रण गर्छन्, जसले असाधारण क्षमता जस्तै अत्यधिक गति र अँध्यारोमा देख्न सक्ने शक्ति प्रदान गर्छ । यो टाढाको भविष्यजस्तो सुनिए पनि न्यानो–प्रविधि (मिलिमिटरको दस लाखौं भागको स्तरमा हुने इन्जिनियरिङ) आज नै धेरै दैनिक प्रविधिहरूमा प्रयोग भइरहेको छ । वास्तवमा तपाईं अहिले यी शब्दहरू पढिरहनु भएको तरिका नै न्यानो प्रविधिबाट सम्भव भएको हो । प्रत्येक स्मार्टफोन वा कम्प्युटरमा अरबौं साना ट्रान्जिस्टरहरूबाट बनेको केन्द्रीय चिप हुन्छ, जुन डाटा प्रशोधन छिटो बनाउन न्यानो स्तरमा निर्माण गरिएका हुन्छन् । लन्डन सेन्टर फर न्यानोटेक्नोलोजीका प्राध्यापक स्टिभन ब्रामवेलले बीबीसीलाई २०५० सम्म मेसिन, इलेक्ट्रोनिक्स र जीवविज्ञानबीचको सीमाना निकै अस्पष्ट र मिश्रित हुने बताए । यसको अर्थ त्यो समयसम्म स्वास्थ्य निगरानी वा सञ्चारमा सहयोग पुर्याउने न्यानो प्रविधि इम्प्लान्टहरू देखिन सक्छन्— डीउस एक्समा जस्तो अदृश्य बन्ने उद्देश्यका लागि होइन । चिकित्सा क्षेत्रमा पनि न्यानोमिटर स्तरका मेसिनहरू औषधि ठ्याक्कै आवश्यक स्थानमा पुर्याउन सामान्य रूपमा प्रयोग हुन सक्ने प्राध्यापक ब्रामवेलले बताए । साइबरनेटिक्सका प्राध्यापक केभिन वारविक पनि शारीरिक सुधार अध्ययनमा उत्तिकै रुचि राख्छन् र अरूभन्दा एक कदम अगाडि छन् । प्राध्यापक वारविकको विश्वास छ कि २०५० सम्म साइबरनेटिक्स प्राकृतिक र यान्त्रिक प्रणालीबीचको सम्बन्ध अध्ययन गर्ने विज्ञानमा भएको प्रगतिले रोगहरूको उपचारमा क्रान्तिकारी परिवर्तन ल्याउन सक्छ । प्राध्यापक केभिन वारविक । उनले केही अवस्थाहरू जस्तै स्किजोफ्रेनियाको आंशिक उपचारका लागि औषधीको सट्टा ‘गहिरो मस्तिष्क इलेक्ट्रोनिक उत्तेजना’ प्रयोग हुने भविष्यवाणी गर्छन् ।उनका अनुसार उनले आफै परीक्षण गरिसकेका जस्ता थप साइबरनेटिक सुधारहरू देखिने सम्भावना छ, जसले ‘तपाईंको मस्तिष्क र शरीर फरक–फरक स्थानमा हुन’ सक्ने अवस्था ल्याउन सक्छ । तर यदि हामी कुनैनयाँ सुधार वा नयाँ आहारले शरीरमा कस्तो प्रभाव पार्छ भनेर साइड इफेक्टको जोखिम नलिइकनै परीक्षण गर्न चाह्यौं भने ? साइन्स म्युजियमका विज्ञान निर्देशक प्राध्यापक रोजर हाईफिल्डका अनुसार भविष्यमा ‘डिजिटल ट्विन’ हाम्रो दैनिक जीवनको सामान्य हिस्सा बन्न सक्छ । डिजिटल ट्विन भनेको कुनै वास्तविक वस्तु वा व्यक्तिको कम्प्युटरमा बनाइएको डिजिटल प्रतिरूप हो, जसलाई वास्तविक–समयको डाटाले निरन्तर अपडेट गरिरहन्छ । उनको कल्पनामा भविष्यमा हरेक व्यक्तिका हजारौं साना–साना डिजिटल ट्विन्स हुन सक्छन् । ती ट्विन्स प्रयोग गरेर कुनै औषधि खाँदा, खानपान बदल्दा वा जीवनशैली परिवर्तन गर्दा आफ्नो शरीरमा कस्तो असर पर्छ भनेर पहिले नै परीक्षण गर्न सकिन्छ। एआईको अर्को पुस्ता गुगल र आईबीएमसहित धेरै प्रविधि कम्पनीहरू हाल एआईलाई अझ अगाडि बढाउने उद्देश्यले बहुअर्ब डलरको प्रतिस्पर्धामा छन् । क्वान्टम कम्प्युटर यस्ता मेसिन हुन् जसले अत्यन्त जटिल गणनाहरू अविश्वसनीय गतिमा गर्न सक्छन् । सन् २०२५ जनवरीमा अग्रणी चिप कम्पनी एनभीडीयाका प्रमुख जेन्सेन हुवाङले ‘अत्यन्त उपयोगी’ क्वान्टम कम्प्युटिङ २० वर्षभित्र आउने विश्वास व्यक्त गरेका थिए । २०५० नजिकिँदै जाँदा एआईले हाम्रो समाजमा अझै ठूलो प्रभाव राख्ने निश्चित छ । जेन्सेन हुवाङ २०५० को बेलायत शिक्षा सम्बन्धी ह्वाइट पेपर लेख्न सहयोग गरेकी भविष्यविद् तथा लेखिका ट्रेसी फलोजको विश्वास छ— एआई शिक्षकहरूको प्रयोग गर्दै सिकाइ ‘डिजिटल र भौतिक वास्तविकता’ दुवैमा हुनेछ, जहाँ पाठ्यक्रम ‘वास्तविक समयमा समायोजन’ हुनेछ । पाठ्यपुस्तकको सट्टा बालबालिकाले ‘इमर्सिभ सिमुलेसन’ प्रयोग गर्ने उनको अनुमान छ । त्यसैगरी, शिक्षा कम मानकीकृत हुनेछ, र प्रत्येक बालकले कसरी राम्रो सिक्छ भन्ने बुझ्न उसको डीएनए वा बायोमेट्रिक डाटा अध्ययन गरिनेछ । ट्राफिकरहित सडक र चन्द्रमामा आधार शिविर लेखक बिल डग्लस आकर्षक भविष्यवाणी गर्न माहिर छन्—सन् २००० मा उनले ‘द वर्ल्ड इन २०५०’ शीर्षकको विश्वव्यापी भविष्यवादी लेखन प्रतियोगितामा २० हजार डलर पुरस्कार जितेका थिए । उनको प्रारम्भिक भविष्यवाणीमध्ये एउटा पाइलटविहीन विमान २०५० सम्म साकार हुने विश्वास उनी अझै राख्छन्, तर त्यसभन्दा पहिला चालकविहीन कारमा ठूलो प्रगति भएर ट्राफिक जाम ‘इतिहासको कुरा’ बन्ने उनको धारणा छ । वेमो स्वचालित ड्राइभिङ प्रविधि विकास गर्ने एउटा कम्पनी हो । ‘कारहरू अहिलेभन्दा धेरै नजिक नजिक चल्नेछन्,’ उनले बीबीसीलाई भने, ‘एउटा कारले ब्रेक लगायो भने सबैले लगाउँछन् ।’ स्वचालित सवारीका लागि निजी टोल सडकमा ट्राफिक १०० माइल प्रतिघण्टासम्म पुग्न नसक्ने कुनै कारण छैन—र सडक दुर्घटनाबाट हुने मृत्युदर अत्यन्तै घट्नेछ । पृथ्वी बाहिर पनि अन्तरिक्ष प्रतिस्पर्धा तीव्र गतिमा अघि बढ्ने स्पेस बफिन्स पोडकास्टकी सहहोस्ट तथा पत्रकार सु नेल्सनले बीबीसीलाई बताइन् । उनका अनुसार २५ वर्षभित्र चन्द्रमामा बस्न मिल्ने आधार शिविर बन्ने सम्भावना छ र केही उद्योगहरू लगभग पूर्ण रूपमा अन्तरिक्षमै आधारित हुन सक्छन् । विज्ञानकथा र विज्ञानको संगम विज्ञानकथा लेखक फिलिप के डिकको कृतिमा आधारित फिल्म माइनोरिटी रिपोर्ट सन् २००२ मा रिलिज भएको थियो, जसको कथा सन् २०५४ मा आधारित छ । छायांकन सुरु हुनुभन्दा तीन वर्षअघि निर्देशक स्टिभन स्पिलबर्गले भर्चुअल रियालिटीका संस्थापक जेरोन लानियरसहित १५ जना विशेषज्ञलाई तीन दिने सम्मेलनमा आमन्त्रण गरे, जहाँ २०५० को दशकमा सम्भव हुन सक्ने प्रविधिहरूबारे छलफल गरियो । ती छलफलहरूले फिल्ममा देखाइएका धेरै नवप्रवर्तनहरूको रूपरेखा तयार पारे । यदि टम क्रुज अभिनीत उक्त विज्ञानकथा थ्रिलरका घटनाहरूलाई विश्वास गर्ने हो भने २०५० को मध्यतिर हामी सबै पारदर्शी मोनिटरमा हातका इशाराबाट भिडियोहरू घुमाउँदै हेर्नेछौं र जेटप्याक लगाएका प्रहरीहरू अपराध हुनुअघि नै रोक्ने प्रयासमा हुनेछन् । कला क्षेत्रमा देखिने धेरै विज्ञानकथाजस्तै यो फिल्मले पनि भविष्यलाई निराशाजनक (डिस्टोपियन) रूपमा चित्रण गर्छ । यही भावना आजको समयमा केही विशेषज्ञहरूले दोहोर्याउन थालेका छन्—कतिपयले त कृत्रिम बौद्धिकताले मानव सभ्यताको अन्त्यसम्म गराउन सक्छ भन्ने दाबीसमेत गरेका छन् । तर २०५० ले हामीलाई के पर्खिरहेको छ भनेर अत्यधिक निराश हुनुअघि फिलिप के डिककै शब्दहरू सम्झनु उपयुक्त हुन्छ । ‘म त विज्ञानले हामीलाई मद्दत गर्छ भन्ने पक्षमा बाजी लगाउँछु,’ उनले सन् १९६८ मा लेखेको आत्मकथात्मक निबन्ध सेल्फ पोट्रेटमा लेखेका थिए । ‘विज्ञानले जति जीवन लिएको छ, त्यसभन्दा धेरै जीवन दिएको छ,’ उनले भने । ‘हामीले यो कुरा सम्झिरहनुपर्छ,’ उनले थपे । (बीबीसीबाट अनुदूति तथा सम्पादित )