काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अल्टिमेट फाइटिङ च्याम्पियनसिप (यूएफसी) का अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत डाना ह्वाइटलाई ह्वाइट हाउसको प्रेस सचिव बनाउने प्रस्ताव मजाकका रूपमा राखेको स्पष्ट पारेका छन् । सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले ह्वाइट उक्त पदको विचारप्रति उत्साहित भएपनि आफूले वास्तविक रूपमा नियुक्तिको प्रस्ताव नगरेको बताए ।
उनले ह्वाइटलाई उत्कृष्ट व्यक्तिको संज्ञा दिँदै उनीसँगै चर्चित फाइटरहरूलाई सहायकका रूपमा नियुक्त गर्ने कुरा पनि ठट्टाकै रूपमा गरेको बताए । ह्वाइट सोमबार अन्य कामको सिलसिलामा वासिङ्टन आउने भएकाले आफूलाई भेट्न आउने कार्यक्रम रहेको पनि ट्रम्पले जानकारी दिए ।
यसअघि शनिबार ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत ह्वाइटलाई अमेरिकी प्रेस सचिवको जिम्मेवारी प्रस्ताव गरेको घोषणा गरेका थिए । उनले ह्वाइटलाई ‘लडाकु र योद्धा’ को संज्ञा दिँदै आफ्ना सहायकहरू पनि साथमा ल्याउन आग्रह गरेको उल्लेख गरेका थिए ।
तीमध्ये केही सहायक अमेरिकी नागरिक नभए पनि हुने उनको भनाइ थियो । ट्रम्पले राजनीतिक विरोधीहरूविरुद्ध आफ्नो पक्षको बचाउ गर्न ह्वाइट प्रभावकारी प्रेस सचिव बन्न सक्ने भन्दै उनलाई उक्त जिम्मेवारी स्वीकार गर्न आग्रहसमेत गरेका थिए ।
तर, आइतबार भने ट्रम्पले उक्त अभिव्यक्ति केवल रमाइलोका लागि दिएको बताउँदै वास्तविक नियुक्तिको सम्भावनाबारे उठेका चर्चालाई स्पष्ट पारेका हुन् ।