सेनेगलको तटमा डुंगा दुर्घटना, कम्तीमा ३४ जनाको मृत्यु

काठमाडौं । सेनेगलको समुद्री तट नजिकै आप्रवासी बोकेको डुंगा डुब्दा कम्तीमा ३४ जनाको मृत्यु भएको छ ।

सेनेगलको प्रेस एजेन्सी (एपीएस) ले एक सरकारी अधिकारीलाई उद्धृत गर्दै दुर्घटनामा ३४ जनाको मृत्यु भएको जनाएको छ ।

सेनेगलको गृह मन्त्रालयका अनुसार दुर्घटनामा एक जनाको जीवितै उद्धार गरिएको छ । तर, डुंगामा कति जना सवार थिए र कति जना अझै बेपत्ता छन् भन्ने यकिन हुन सकेको छैन ।

काठबाट बनेको उक्त सानो डुंगा राजधानी डकार र उत्तरी सहर सेन्ट लुइसबीचको समुद्री क्षेत्रमा पल्टिएको थियो । डुंगा स्पेनको क्यानरी टापुहरूतर्फ गइरहेको थियो ।

आप्रवासीहरूको अधिकारका लागि काम गर्ने स्पेनी संस्था ‘वाकिङ बोर्डर्स’का अनुसार सन् २०२६ को जनवरीदेखि मे महिनासम्म क्यानरी टापु पुग्ने अटलान्टिक समुद्री मार्गमा ६३५ जनाको मृत्यु भएको थियो । 

संस्थाले निगरानी गर्ने समुद्री मार्गमध्ये उक्त अवधिमा यही मार्गमा सबैभन्दा धेरै मानिसले ज्यान गुमाएका थिए ।

सेनेगलका आप्रवासीहरूलाई सहयोग गर्दै आएको संस्था ‘बोजा फे’का संस्थापक सालिउ डियुफले समाचार एजेन्सी एएफपीलाई बताएअनुसार अहिलेसम्म फेला परेका सबै शव सेनेगलका नागरिकका हुन् । डुंगामा सवार अन्य व्यक्तिहरूको राष्ट्रियता भने खुल्न सकेको छैन ।

दुर्घटनापछि उद्धार तथा खोजी अभियान जारी रहेको छ ।

सेनेगलका राष्ट्रपति बासिरु दियोमाये फायेले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।

Share News