७ वर्षपछि एप्पललाई पछि पार्दै अल्फाबेट विश्वको दोस्रो सबैभन्दा मूल्यवान कम्पनी
काठमाडौं । टेक उद्योगको मूल्याङ्कनमा ठूलो फेरबदल देखिएको छ । गुगलको मूल कम्पनी अल्फाबेट इंक ७ वर्षपछि पहिलोपटक आईफोन निर्माता एप्पललाई उछिन्दै विश्वकै दोस्रो सबैभन्दा मूल्यवान कम्पनी बनेको छ । सन् २०१९ पछि पहिलो पटक अल्फाबेटले एप्पललाई पछि पारेको हो । हाल अल्फाबेटको बजार पूँजीकरण ३.८९२ ट्रिलियन डलर पुगेको छ भने एप्पलको मूल्य ३.८६३ ट्रिलियन डलरमा झरेको छ । यसअघि झैं एनभीडीया भने ४.६०४ ट्रिलियन डलरको बजार मूल्यसहित पहिलो स्थानमै कायम छ । बुधबार अल्फाबेटको सेयर २.५१ प्रतिशतले बढेर ३२२.४३ डलरमा बन्द भयो । पछिल्लो एक वर्षमा यस सेयरले ६४.७३ प्रतिशत प्रतिफल दिएको छ । उता एप्पलको सेयर भने ०.७७ प्रतिशतले घटेर २६०.३३ डलरमा बन्द भयो, जसले पछिल्लो एक वर्षमा मात्र ७.४९ प्रतिशत वृद्धि देखाएको छ । पहिलो स्थानमा रहेको एनभीडीयाको सेयर मूल्य भने एक वर्षमा २५.३२ प्रतिशतले बढेको छ । अल्फाबेटको बजार मूल्यमा आएको तीव्र उछालको प्रमुख कारण यसको जनरेटिभ एआई प्लेटफर्म ‘जेमिनी’ को बढ्दो प्रयोग हो । यसका साथै अल्फाबेटअन्तर्गत रहेको वेइमो पनि महत्त्वपूर्ण कारण बनेको छ, जुन अमेरिकाको रोबोट्याक्सी बजारको प्रमुख खेलाडी मानिन्छ । वेइमोले फिनिक्स, सान फ्रान्सिस्को बे एरिया, लस एन्जलस, अटलान्टा र अस्टिनजस्ता सहरहरूमा आम सर्वसाधारणका लागि व्यावसायिक रोबोट्याक्सी सेवा सञ्चालन गरिरहेको छ । सुन्दर पिचाई अल्फाबेटका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन्। भारतबाट इन्जिनियरिङ अध्ययन पूरा गरेपछि उनले अमेरिकाको स्ट्यानफोर्ड विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गरेका थिए । सामग्री इन्जिनियरका रूपमा करिअर सुरु गरेका पिचाई सन् २००४ मा व्यवस्थापन कार्यकारीका रूपमा गुगलमा आबद्ध भए । सन् २०१५ मा गुगलका सह–संस्थापक ल्यारी पेजले उनलाई गुगलको सीईओ नियुक्त गरे भने सन् २०१९ मा उनी अल्फाबेटका सीईओ बने ।
हिमपात र अत्यधिक चिसोका कारण पेरिसमा १४० उडान रद्द
पेरिस । हिमपात र अत्यधिक चिसोका कारण बुधबार बिहान फ्रान्सको राजधानी पेरिसस्थित चाल्र्स डे गल विमानस्थलमा करिब १०० उडान रद्द गरिएको छ भने ओर्ली विमानस्थलमा थप ४० उडान स्थगित गरिएको फ्रान्सका यातायातमन्त्री फिलिप टबारोटले जानकारी दिएका छन् । मङ्गलबार राति उडान अवरोधको सम्भावना देखिएको उल्लेख गर्दै मन्त्री टबारोटले सिएनयुज टेलिभिजनसँग कुरा गर्दै ‘आज दिउँसोसम्म अवस्था क्रमशः सामान्य हुने अपेक्षा गरिएको’ बताए । उनका अनुसार मौसम सुधारसँगै हवाई आवागमन पनि पुनः नियमित हुने आशा गरिएको छ । हिमपातका कारण पेरिस र आसपासका उपनगरहरूमा चल्ने सबै सार्वजनिक बस सेवाहरू अस्थायी रूपमा स्थगित गरिएको छ । तर, यातायात अधिकारीहरूका अनुसार मेट्रो र उपनगरीय रेल सेवाहरूको ठूलो हिस्सा भने सञ्चालनमै रहेको छ, जसले यात्रुहरूलाई आंशिक राहत दिएको छ । फ्रान्सको राष्ट्रिय मौसम सेवा मेटिओ–फ्रान्सले देशका ९६ मुख्य भूमि विभागहरूमध्ये ३८ विभागमा भारी हिमपात र कालो बरफको जोखिम रहेको भन्दै सतर्कता जारी गरेको छ । ती क्षेत्रमा तीनदेखि सात सेन्टिमिटर अर्थात् करिब एकदेखि तीन इन्चसम्म हिउँ जमिसकेको छ । मौसम सेवाले हाल देखिएको चिसोलाई ‘यस मौसमका लागि दुर्लभ रूपमा तीव्र’ भएको उल्लेख गरेको छ । यसअघि नै अधिकारीहरूले पेरिस क्षेत्रका बासिन्दाहरूलाई अनावश्यक यात्रा नगर्न, सतर्क रहन र सम्भव भएसम्म बुधबार घरबाटै काम गर्न आग्रह गरेका थिए । यस जाडोयाममा युरोपले भोगेको सबैभन्दा कडा चिसोका क्रममा फ्रान्समा मौसमसँग सम्बन्धित दुर्घटनामा हालसम्म कम्तीमा छ जनाको ज्यान गएको अधिकारीहरूले जानकारी दिएका छन् । चिसो अझै केही समय कायम रहन सक्ने अनुमान गरिएकाले सुरक्षा सतर्कता अपनाउन सर्वसाधारणलाई अनुरोध गरिएको छ । रासस
भेनेजुएलाले अमेरिकालाई ५ करोड ब्यारेल तेल दिने ट्रम्पको दावी
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार साँझ भेनेजुएलाका अन्तरिम अधिकारीहरूले दक्षिण अमेरिकी देशका नेता निकोलस मादुरोलाई हटाएपछि अमेरिकालाई ३ करोडदेखि ५ करोड ब्यारेलसम्म तेल हस्तान्तरण गर्ने बताएको जनाएका छन् । ट्रम्पले सामाजिक सञ्जालमा लेख्दै उक्त तेल बजार मूल्यमा बिक्री गरिने र त्यसबाट प्राप्त रकम संयुक्त राज्य अमेरिकाका राष्ट्रपतिको नियन्त्रणमा रहने जनाएका छन् । उनले उक्त रकम भेनेजुएलाका जनता र अमेरिकाको हितमा प्रयोग हुने पनि दावी गरेका छन् । ‘मैले ऊर्जा सचिव क्रिस राइटलाई यो योजना तुरुन्त कार्यान्वयन गर्न निर्देशन दिएको छु,’ ट्रम्पले लेखेका छन्, ‘तेल भण्डारण जहाजमार्फत ल्याइनेछ र सिधै अमेरिकाका अनलोडिङ डकमा उतारिनेछ ।’ ट्रम्पले अमेरिकालाई हस्तान्तरण गरिने तेल ‘उच्च गुणस्तरको’ र ‘स्वीकृत (सान्क्सनअनुसार मान्य)’ रहेको बताए। ट्रम्पको घोषणापछि अमेरिकी कच्चा तेलको फ्युचर्स मूल्य १.३ प्रतिशतले घटेर प्रति ब्यारेल ५६.३९ डलरमा झरेको छ । यो घोषणा अमेरिकी सेनाले काराकासमा मादुरो र उनकी पत्नीलाई पक्राउ गरी न्यूयोर्क ल्याएको तीन दिनपछि आएको हो । उनीहरूमाथि संघीय लागुऔषध तस्करी षड्यन्त्रसम्बन्धी अभियोग लगाइएको छ । वाल स्ट्रिट जर्नलका अनुसार ट्रम्पले शुक्रबार ह्वाइट हाउसमा शेभरन, कोनोकोफिलिप्स र एक्सन मोबिललगायत प्रमुख अमेरिकी तेल कम्पनीका प्रतिनिधिहरू तथा अन्य स्वदेशी उत्पादकहरूसँग भेट गरी ‘भेनेजुएलाको तेल क्षेत्रमा ठूला लगानी गर्ने’ विषयमा छलफल गर्ने योजना बनाएका छन् । ट्रम्पले अमेरिकी तेल कम्पनीहरूले भेनेजुएलाको पुरानो र जीर्ण तेल उत्पादन क्षमताको पुनस्र्थापना गर्न अर्बौं डलर लगानी गर्ने बताएका छन् । हाल शेभरन मात्र भेनेजुएलामा सञ्चालनमा रहेको अमेरिकी तेल कम्पनी हो । कोनोकोफिलिप्स र एक्सन मोबिलका सम्पत्तिहरू भने सन् २००० को मध्यतिर तत्कालीन राष्ट्रपति हुगो चाभेजले राष्ट्रियकरण गरेका थिए । मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसले सोमबार म्यानह्याटनस्थित अमेरिकी जिल्ला अदालतमा भएको पेशीका क्रममा आफूहरू दोषी नभएको दाबी गरेका छन् । उक्त सुनुवाइका क्रममा मादुरोले न्यायाधीश एल्भिन हेलरस्टाइनसमक्ष आफूलाई ‘अपहरण गरिएको’ र आफू ‘युद्धबन्दी’ भएको बताएका थिए ।