टोयोटा र सफ्टबैंकले अमेरिकी कम्पनी उबेरमा एक अर्ब लगानी गर्ने, चालकबिहीन कार बनाउँदै

टोकियो । जापानको प्रमुख कार निर्माता कम्पनी टोयोटा र सफ्टबैंक भिजन फन्डले अमेरिकी सवारी कम्पनी उबेरमा एक अर्ब अमेरिकी डलर लगानी गर्ने शुक्रबार घोषणा गरेका छन् । टोयोटाले यसअघि नै उबेरमा ५० करोड डलर लगानी गरिसकेको छ । गुगलको स्वामित्वमा रहेको वाइमो र अरु प्रमुख कार निर्माता कम्पनीहरुले पनि चालकबिहीन कार निर्माणलाई तिब्रता दिएका छन् । पछिल्लो लगानी उबेरको स्वामित्वमा रहेको एडभान्स्ड टेक्नोलोजिज ग्रुपमा हुनेछ । यस समूहले स्वचालित र चालकबिहीन कार निर्माणको आधार तयार गर्नेछ, कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । कूल एक अर्ब डलर लगानीमध्ये कारका पार्टपूर्जा निर्माता डेन्सो सहित टोयोटाका तर्फबाट ६६ करोड ७० लाख डलर र सफ्टबैंकका तर्फबाट ३३ करोड ३० लाख लगानी हुनेछ । उबेरमा यसअघि नै सफ्टबैंकको १६ प्रतिशत लगानी रहेको छ । उबेरका प्रमुख कार्यकारी डारा खोस्रोशाशीले चालकबिहिन कारले यातायात क्षेत्रलाई रुपान्तरण गर्ने बताउँदै यसबाट हाम्रा सडकहरु बढी सुरक्षित र शहरहरु बस्नयोग्य हुने दाबी गरे । गत साता उबेरले प्रारम्भिक शेयर जारी गर्नेसम्बन्धी कागजात अमेरिकी सेक्युरिटिज एन्ड एक्सचेन्ज आयोगमा बुझाइसकेको छ । उबेरले आयोग समक्ष बुझाएको कागजातमा छ वटा महादेशमा झण्डै प्रतिदिन एक करोड ४० लाख पटक उबेरका सबारी साधन प्रयोग हुने र सन् २०१० यतामात्र १० अर्बभन्दा बढी मानिसले कार प्रयोग गरेको उल्लेख छ । रासस/एएफपी

भारतमा आजबाट लोकसभा निर्वाचन, अनेक अड्कलबाजी र चर्चा जारी

काठमाडौँ । भारतमा लोकसभा निर्वाचनका लागि आजदेखि मतदान हुँदैछ । सात चरणमा सकिने निर्वाचनको परिणामका विषयमा अनेक अड्कलबाजी र चर्चा जारी छ । निर्वाचनमा कसले जित्ला भन्ने तर्कले भारतीय अखबारका पाना रङ्गिएका छन् । टेलिभिजनमा बिहानदेखि साँझसम्मको चर्चा पनि यही छ, तर चुनाव जित्नेको तस्बिर अझै धमिलै छ्, कसैको पक्षमा सङ्लिएको देखिँदैन । यतिबेला भने सारा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका पाँच वर्षअघिका बाचा सम्झिएका छन् । उहाँले अघिल्लो चुनावमा अघि सारेका कामको लेखाजोखा गर्दैछन् । पहिलो निर्वाचनमा मानौँ कि भारतीय नेसनल कङ्ग्रेसकै कारण देशको विकास हुन नसकेको र भ्रष्टाचार मौलाएको टिप्पणी गर्ने मोदीको यो पूरा कार्यकाल के कसो भयो, उनका बाचा के कति पूरा भए, विपक्षी कङ्ग्रेस र अरु दलमाथि उनले अघिल्लो निर्वाचनमा लगाएका आरोप के कसरी प्रमाणित भए भन्ने हिसाब किताब अहिले जनताले मिडियामार्फत खोजिरहेका छन् । उनको कार्यकालको लेखाजोखा गर्दै जनताले सत्तामाथि औँला ठड्याइरहेका छन् । सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)ले सरकार निर्माण गर्नेगरी सुविधाजनक बहुमत आउँछ कि आउँदैन ? त्यस दलको मात्र बहुमत प्राप्त हुन नसके पनि भाजपाको सत्तारुढ गठबन्धनले सरकार बनाउन सक्छ या सक्दैन ? यो दुवै अवस्था रहेमा सत्ता समीकरण कस्तो होला ? यिनै प्रश्नको वरिपरि जारी बहसमा चर्चाको केन्द्रमा भाजपा छ अनि त्यस केन्द्रको पनि भित्री भागमा हुनुहुन्छ प्रधानमन्त्री मोदी । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

फ्रान्सेली बैंकले १ हजार ६ सय कर्मचारी कटौती गर्ने, ल्यायो स्वेच्छिक अवकाश योजना

पेरिस । फ्रान्सको ठूलो बैंक सोसाइटी जनरलले विश्वका विभिन्न भागमा कार्यरत एक हजार ६०० कर्मचारी कटौती गर्ने मङ्गलबार घोषणा गरेको छ । दुईवटा पुनर्संरचना योजना कार्यान्वयन गर्ने उद्देश्यले कर्मचारी कटौती गरिएको बैंकले जनाएको छ । बैंकले फ्रान्समा कार्यरत ७५० कर्मचारी कटौती गर्नेछ । अन्तर्राष्ट्रिय बैंकिङ र वित्तीय सेवामा “नाफामुलक र दिगो वृद्धि”लाई सुनिश्चित गर्ने सोसाइटीको मुख्य लक्ष्य रहेको छ । फ्रान्समा कटौती हुने कर्मचारीलाई स्वेच्छिक अवकाश योजना उपलब्ध हुनेछ । अन्य देशका कर्मचारीलाई भने स्थानीय नियम र कानूनका आधारमा हटाइनेछ । फ्रान्सको सीएफडीटी युनियनका प्रतिनिधि खालिद बेल हादोईले प्रत्येक वर्ष कर्मचारी कटौती गर्दै जाने सहमति भएको जानकारी दिए । बैंकले यसअघि नै सन् २०२० सम्ममा वार्षिक ५६ करोड अमेरिकी डलर लागत कटौती गर्ने योजना सार्वजनिक गरेको थियो । तर, बैंकले सन् २०१८ मा सोचेभन्दा बढी नाफा आर्जन गर्न सफल भएको थियो । यस बैंकमा विश्वभर करिब एक लाख ४८ हजार कर्मचारी कार्यरत छन् । रासस/एएफपी