चिनियाँ भन्सार कार्यालयले कटौति गर्दैछ करको दर, कमजोर उद्योगलाई धरासायी बन्न नदिने
बेइजिङ, चीन । चिनियाँ केन्द्रीय भन्सार कार्यालयले आफ्नो देशका लागि विदेशबाट आयात गर्ने उद्योग तथा व्यवसायिक संस्थानले मूल्य अभिवृद्धि कर (भ्याट) दरमा सन् २०१९ का लागि उल्लेखनीय कटौति गर्ने बताएको छ । चीनले व्यवसायिक संस्थानबाट मूल्य अभिवृद्धि कर वापत लिँदै आएको करमा केही छुट दिएर कमजोर उद्योगलाई धरासायी बन्न नदिने प्रयासस्वरूप उक्त योजना ल्याउन लागेको भन्सार कार्यालयले जनाएको छ । चिनियाँ सामान्य भन्सार प्रशासनले बुधबार कर छुटबारे जानकारी गराउँदै भन्यो, “सरकारले आगामी अप्रिल १ देखि लागू हुनेगरी उक्त कर छुट योजना ल्याएको र सामान आयातमा दिइने छुटबाट सरकारले यस बर्ष ३३ अर्ब ५० करोड अमेरिकी डलर बराबरको दायित्व बहन गर्नुपर्नेछ ।” भन्सार कार्यालयले भनेको छ, “करदाताहरूले विदेशबाट ल्याउने सामानमा तिर्दै आएको १६ प्रतिशत करमध्ये तीन प्रतिशत कर छुट पाउनेछन् भने १० प्रतिशत भ्याट बुझाउँदै आएका कम्पनी तथा फर्मले नौ प्रतिशत मात्र कर बुझाए पुग्नेछ ।” सन् २०१८ को मे १ पहिले १७ प्रतिशत र ११ प्रतिशत कर उठाउँदै आएकोमा मे १ पछि सरकारले यसबाट एक प्रतिशत कम अर्थात क्रमश १६ र १० प्रतिशत मूल्य अभिवृद्धि कर उठाउँदै आएको थियो । पछिल्लो निर्णय अनुसार सीमापारबाट इ–कमर्समार्फत आयातित वस्तुको खुद्रा सामानको मूल्यमा पनि कर छुट हुनेछ जसबाट स्वदेशमा निर्माण गरिएका वस्तुको मूल्य सुलभ भई स्वदेशी कम्पनी तथा फर्मलाई एक खर्ब ३५ अर्ब युआन बराबरको लाभ हुने बताइएको छ । चीनको सरकारी कार्यक्रम प्रतिवेदन अनुसार ठूलो दरका कर तथा शुल्कमा यस बर्ष कटौति गर्ने र करदातालाई करको भारमा कटौति गर्ने र घरेलु कम्पनी तथा फर्मको विमाबाट प्राप्त हुने झण्डै दुई ट्रिलियन युआन बराबरको सामाजिक विमाको योगदानबाट मिलान गर्ने आश्वासन दिएको थियो । रासस/सिन्ह्वा
अन्तरिक्ष विज्ञानका क्षेत्रमा भारत महाशक्ति राष्ट्रको श्रेणीमाः भारतीय प्रधामन्त्री मोदी
नयाँदिल्ली । भारतले पृथ्वीको भूउपग्रहीय तल्लो कक्षमा राखिएका भूउपग्रहलाई क्षेप्यास्त्र मार्फत सफलतापूर्वक खसाल्ने चौथो देश बनेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार बताएका छन् । भारतको उक्त सफलतासँगै अब अन्तरिक्ष विज्ञानका क्षेत्रमा भारत महाशक्ति राष्ट्रको श्रेणीमा उक्लिएको पनि प्रधानमन्त्री मोदीले दाबी गरे । संयुक्तराज्य अमेरिका, रुस र चीनसँग मात्र यस्तो क्षमता रहेको छ । टेलिभिजनबाट सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले भने, “भारतीय वैज्ञानिकहरुले एउटा भूउपग्रहलाई सफलतापूर्वक खसालिदिएका छन् । यो भारतका लागि गर्वको क्षण हो ।” भारतीय वैज्ञानिकहरुका अनुसार क्षतिग्रस्त भूउपग्रह पृथ्वीबाट करिब ३०० किलोमिटर माथि पृथ्वीको तल्लो कक्षमा थियो । प्रधानमन्त्री मोदीले यो अभियान शान्तिपूर्ण प्रयोगका लागि भएको र युद्ध भड्काउने उद्देश्यबाट प्रेरित नभएको बताए । यो कुनै मुलुकप्रति लक्षित पनि नभएको उनले स्पष्ट पारे । भारतीय लोकसभाको चुनाव आउनै लागेको अवस्थामा यस्तो घोषणा गरिएको छ । प्रधानमन्त्री मोदी दोस्रो कार्यकालका लागि चुनावी मैदानमा छन् । भारतमा यही अप्रिल ११ देखि मतदानका कार्यक्रमहरु शुरु हुँदैछन् र यो करिब छ हप्ता चल्नेछ । करिब ९० करोडले यसपटक मतदानमा भाग लिने अपेक्षा गरिएको छ ।रासस/एएफपी
गरिबलाई दिने अनुदानमा भाजपा र काँग्रेसबीच हाेडबाजी, माेदीले ६ हजार दिने, गान्धीले ७२ हजार
नयाँदिल्ली। गरिब जनतालाई कसले बढी अनुदान वितरण गर्ने विषयमा भारतका प्रमुख दलहरूबीच हाेडबाजी चलेकाे छ । निर्वाचनकाे पूर्वसन्धामा भारतीय राष्ट्रिय काँग्रेसका अध्यक्ष राहुल गान्धीले आफ्नो पार्टीको सरकार बनेमा अति गरिव परिवारलाई बार्षिक ७२ हजार भारतीय रुपैयाँ दिइने घोषणा गरेका छन् । नरेन्द्र मोदीको नेतृत्वमा वर्तमान सरकारले चुनावकाे पूर्वसन्ध्यामा ल्याएकाे बजेटमा करिब १२ करोड ‘गरिब तथा निम्न वर्गीय’ किसानलाई प्रति परिवार बार्षिक छ हजार भारतीय रूपैयाँ दिने घाेषणा गरिएकाे थियाे । त्यसकाे लागि सरकारका लागि दश अर्ब ५० करोड अमेरिकी डलरको थप भार परेकाे छ । सरकारी बजेटलाई चुनाैति दिदै सोमबार आयोजित पत्रकार सम्मेलनमा काँग्रेस अध्यक्ष गान्धीले वार्षिक ७२ हजार अनुदान दिने घाेषणा गरेका हुन् । गरिबीमा रहेकाहरुलाई न्यूनतम आय सुनिश्चत गर्नका लागि न्यूनतम आय योजना लागु गरिने अध्यक्ष गान्धीले बताए । “गत पाँच बर्ष जनता धेरै समस्याहरुबाट ग्रसित भए, विषेशगरी गरिब जनता बढी प्रभावित भए, त्यसैले हामीले गरिब जनताका लागि यो योजना ल्याएका हौँ,” उनले माेदी सरकारकाे अालाेचना गर्दै भने । अध्यक्ष गान्धीले आफ्नो पार्टीले ल्याएको न्यूनतम आय सुनिश्चत गर्ने योजना ऐतिहासिक भएको दाबी पनि गरे । “अत्यन्त गरिब २० प्रतिशत परिवारलाई न्यूनतम आयका लागि काँग्रेसले सुनिश्चत गर्दछ, बैंक खातामै हामीले ७२ हजार रुपैयाँ हाल्दिन्छौँ,” उनलेे भने । यस योजनाबाट झण्डै पाँच करोड परिवार र २५ करोड जनता लाभान्वित हुने काँग्रेस नेताहरुले बताएका छन् । यस कार्यक्रमले काँग्रेसकाे भाेट निकै बढाउने अनुमान गरिएकाे छ । एजेन्सी