इमरानको निधनको हल्ला चर्किएपछि सेनाले भन्यो– उनी ‘जीवितै’ छन्

‘२० लाखभन्दा बढी मानिस सडकमा उत्रन तयार’

काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको निधन भएको हल्लाबीच पाकिस्तानी सेनाले दुर्लभ बयान जारी गर्दै उनी जीवित रहेको स्पष्ट पारेको छ ।

पाकिस्तानी सेनाको सञ्चार शाखा इन्टर–सर्भिसेज पब्लिक रिलेसन्स (आईएसपीआर) ले इमरान खान जीवित रहेको र अदियाला जेलमा बन्दी रहेको जनाएको छ ।

यो बयान पाकिस्तानका वरिष्ठ पत्रकार वजाहत सइद खानले इमरान खानको निधन भएको दाबी गरेपछि आएको हो । यद्यपि पछि पत्रकार खानले आफ्नो दाबीबाट पछि हट्दै आफूले इमरानको निधन भएको पुष्टि नगरेको, केवल आशंका व्यक्त गरेको बताएका छन् ।

वजाहत सइद खानले यसअघि आफ्नो दाबीको आधारका रूपमा रावलपिन्डीस्थित पाकिस्तानी सेनाको मुख्यालय (जीएचक्यू) मा कार्यरत कम्तीमा तीन वरिष्ठ सैन्य अधिकारीलाई उद्धृत गरेका थिए । 

उनका अनुसार ती तीन वरिष्ठ सैन्य स्रोतले इमरान खानको जेलमै निधन भएको हुनसक्ने आफूहरूलाई लागेको बताएका थिए ।

इमरान खानको निधन भएको हल्ला फैलिएको यो पहिलो घटना भने होइन ।

वजाहत सइद खानलाई पाकिस्तानी सेनासँग निकट सम्बन्ध भएका पत्रकारका रूपमा चिनिन्छ । उनलाई इमरान खानसमर्थक पत्रकारका रूपमा पनि हेरिन्छ । उनी एमी अवार्डका लागि मनोनयनमा परिसकेका छन् । हाल उनी जेल सजायबाट बच्न अमेरिकामा बस्दै आएको बताइएको छ ।

उनको पछिल्लो दाबी निकै संवेदनशील समयमा सार्वजनिक भएको हो । मंगलबार इमरान खानका परिवारका सदस्य र उनको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) का नेताहरूले पूर्वप्रधानमन्त्रीको स्वास्थ्यबारे चिन्ता व्यक्त गर्दै उनलाई भेट्न नदिइएको गुनासो गरेका थिए ।

इमरान खानको मृत्यु भएको हल्लाबीच खैबर पख्तुनख्वाका मुख्यमन्त्री तथा पीटीआई नेता सोहेल अफरीदीले ठूलो संख्यामा मानिस सडकमा उत्रिन सक्ने चेतावनी दिएका छन् ।

उनले ‘२० लाखभन्दा बढी मानिस सडकमा उत्रन तयार रहेको’ दाबी गर्दै पाकिस्तानका युवाको आक्रोश देशको ‘हाइब्रिड सरकार’ का लागि नियन्त्रण गर्न कठिन हुन सक्ने चेतावनी दिएका छन् ।

इमरान खानको पार्टी पीटीआईले आगामी सेप्टेम्बर २७ मा इस्लामाबादतर्फ लङ मार्च गर्ने घोषणा गरेको छ ।
इमरान खानका परिवार र चिकित्सकलाई उनलाई भेट्न अनुमति नदिइए त्यसअघि नै विरोध प्रदर्शन गरिने चेतावनी पनि पार्टीले दिएको छ । 

इमरान खानको परिवारले समेत पाकिस्तान सरकारसँग अदियाला जेलमा उनलाई भेट्न अनुमति दिन आग्रह गरेको छ ।

इमरान खानको अवस्थालाई लिएर पाकिस्तानमाथि अन्तर्राष्ट्रिय दबाबसमेत बढिरहेको छ । 

अमेरिकाका १३ सांसद सम्मिलित द्विदलीय समूहले अमेरिकी विदेशमन्त्री मार्को रुबियोलाई पत्र लेख्दै इमरान खान र उनकी पत्नी बुशरा बीबीको नजरबन्दको विषय पाकिस्तान सरकारसमक्ष प्रत्यक्ष रूपमा उठाउन आग्रह गरेको छ ।

सांसदहरूको पत्रमा इमरान खानलाई लामो समयसम्म एकान्त कारावासमा राखिएको र उनको स्वास्थ्य अवस्थासम्बन्धी आरोपबारे संयुक्त राष्ट्रसंघका विशेष प्रतिवेदकले व्यक्त गरेका चिन्तालाई समेत उल्लेख गरिएको छ ।

इरानी मिसाइल हमलाको डरले ट्रम्पले चुपचाप बदलेका थिए विमान

Share News