निस्सानको नाफामा ५७ प्रतिशतले गिरावट, दशक कै सबैभन्दा न्यून
टोकियो, जापान । आर्थिकरूपले सङ्कटग्रस्त जापानी कार कम्पनी, निस्सानले मङ्गलबार आफ्नो यस आर्थिक बर्षको नाफा यो दशकमा नै सबैभन्दा न्यून रहेको तथ्याङ्क सार्वजनिक गरेको छ । कम्पनीले सन् २०१९ को मार्चसम्ममा आफ्नो नाफा जम्मा दुई अर्ब ९० करोड अमेरिकी डलर (तीन खर्ब १९ अर्ब जापानी यन) रहेको र यो नाफा रकम विश्वले आर्थिक मन्दीको सामना गरिरहेको सन् २००९/०१० पछिकै सबैभन्दा न्यून रहेको बताएको छ । निस्सानका पूर्व प्रमुख कार्लोस गोउनलाई आर्थिक अनियमितताको आरोपमा पक्राउ गरेपछि कम्पनीको कारोबारमा समस्या देखिएको हो । नेतृत्वको अभावको सामना गरिरहेको कार कम्पनीको नाफा अघिल्लो बर्षको तुलनामा गत बर्ष ५७ प्रतिशतले घटेको बताइएको छ । चालु आर्थिक बर्षमा निस्सानको घाटा एक खर्ब ७० अर्ब जापानी यन रहने प्रक्षेपण कम्पनीको रहेको छ । निस्सानका प्रमुख कार्यकारी अधिकारी शिरोतो साइकावाले भने, “कार्यसम्पादन एकदमै चुनौतिको अवस्थामा रहेको छ तर हामीले यसलाई सुधार गर्ने प्रयासमा लागिरहेका छौँ ।” “मङ्गलबारको तथ्याङ्कले कम्पनीलाई अपेक्षाभन्दा निकै न्यून नाफा भएको देखाउँछ,” उहाँले भन्नुभयो । “कृपया हामीलाई पूरानो अवस्थामा फर्कने समय दिनुहोस् ।” कम्पनीका प्रमुख रहेका समय गोउनको पक्राउले कम्पनीलाई एकातिर नेतृत्वको समस्या भएको देखिन्छ भने अर्कोतिर कम्पनीमा भएको अनियमितताको खबरले कम्पनीको ख्यातिसमेतमा प्रभाव परेको छ । गोउनमाथि आर्थिक अनियमितताका विभिन्न चार आरोप लागेका छन् भने उनले ती आरोपको खण्डन गर्दै आएका छन् । साइकावा भन्छन्, “कम्पनीले अहिलेको अवस्थामा पूर्व व्यवस्थापनबाट विरासतका रूपमा केही नकारात्मक कुराहरूको सामना गर्न बाध्य छ ।” “तपाइँहरूलाई वास्तविकता भन्नुपर्दा कम्पनीले आफ्ना प्रमुखलाई आर्थिक अनियमितताको आरोपमा पक्राउ गरेपछि केही समय आफ्नो व्यवसायिक गतिविधिमा ध्यान दिन केही अलमल भएकै हो र यसको परिणाम कम्पनीको आम्दानी तथा कुल नाफामा देखिनु नौलोजस्तो मलाई लाग्दैन । तर हामीले कम्पनीलाई पूर्ववत अवस्थामा छिट्टै फर्काउने छौँ ।” तर विश्लेशकहरूले निस्सानजस्तो जापानी कार कम्पनीलाई गोउनको अनुपस्थितिमा अघि बढाउँदा कैयौँ समस्याहरू भएका बताउँछन् । निस्सानको फ्रान्सेली सवारी कम्पनी रेनल्टसँगको सहकार्यमा देखिएको निरन्तरको विग्रँदो सम्बन्धका कारण पनि यसका नयाँ उत्पादनमा समस्या भएको हो । साइकावाले भने, “ यस बर्ष जापान र चीनमा निस्सानको विक्री बढ्न थालेको छ तर अमेरिका र यूरोपमा ‘कठिन’ परिस्थिति रहेको छ ।” रासस/एएफपी
बेलायती दूरसञ्चार कम्पनी घाटामा, भोडाफोनलाई ७ अर्ब युरोभन्दा बढी नोक्सानी
लन्डन । बेलायती दूरसञ्चार कम्पनी भोडाफोनले वार्षिक नोक्सानी करिब ७ अर्ब ६० करोड युरो पुगेको जनाएको छ । वित्तीय वर्ष सन् २०१८-२०१९ मा कम्पनीलाई घाटा भएको भोडाफोनले मङ्गलबार जनाएको छ । खासगरी भोडाफोन इन्डियाको शेयर बिक्री गरेपछि कम्पनीको घाटा बढेको देखिएको छ । भोडाफोन इन्डिया पछिल्लो वर्ष आइडिया सेलुलरसँग गाभिएको थियो । रासस÷एएफपी
चीनका पूर्व उप अर्थमन्त्रीलाई पन्ध्र बर्षको जेल सजाय, सम्पत्ति राज्यकोषमा जम्मा गर्न आदेश
बेइजिङ । चीनका पूर्व उप अर्थमन्त्री झाङ शाओचुङलाई सोमबार १५ बर्षको जेल सजायको फैसला गरिएको छ । लाखौँ रुपैयाँ अनियमिता गरेको आरोपमा उनलाई जेल सजायको फैसला भएको अधिकारीहरुले जानकारी दिएका छन् । उनले अवैध तरिकाले कमाएको सवै सम्पत्ति राज्यको कोषमा जम्मा गर्न पनि अदालतले आदेश दिएको समाचारमा जनाइएको छ । त्यस बाहेक उनलाई ६० लाख युआन जरिवाना पनि तोकिएको बेइजिङस्थित एक अदालतद्वारा जारी वक्तव्यमा उल्लेख छ । अदालतले सन् १९९५ देखि २०१८ को बीचमा उनले विभिन्न पदमा रहदा पदिय अधिकारको दुरुपयोग गरी व्यक्तिगत र व्यापारिक फाईदा लिएको पाइएको जनाएको छ । उनले उपहार तथा रकमका रुपमा झण्डै ६ करोड ६९ लाख ८० हजार युआन लिएको पनि अदालतले जनाएको छ ।रासस/सिन्ह्वा