काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले गाजालाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको १५ सूत्रीय योजनालाई अस्वीकार गरेका छन् ।
उनले हमासले पूर्ण र वास्तविक रूपमा हतियार नत्यागेसम्म इजरायली सेना गाजाबाट पछि नहट्ने स्पष्ट पारेका छन् ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकमा नेतन्याहूले भने, ‘इजरायल १५ सूत्रीय दस्तावेज स्वीकार गर्दैन ।’
उनले हमासले पूर्ण रूपमा हतियार नत्यागेसम्म इजरायली सेना फिर्ता नहुने र इजरायलले आफ्ना सैनिक तथा नागरिकविरुद्ध हुन सक्ने कुनै पनि खतरा रोकिरहने बताए ।
गत महिना ट्रम्पको ‘बोर्ड अफ पिस’ले गाजामा हमास र अन्य सशस्त्र समूहको ‘पूर्ण निशस्त्रीकरण’ गर्ने विषयमा सहमति भएको जनाएको थियो ।
तर, हमासले भारी हतियार बुझाउने निर्णय इजरायलले सबै प्रकारका आक्रमण रोक्ने र गाजाबाट आफ्ना सेना फिर्ता बोलाउने विषयमा निर्भर हुने बताएको थियो ।
नेतन्याहूले हमासले पहिले हतियार त्याग्नुपर्ने र यो प्रक्रिया कागजमा मात्र सीमित वा देखावटी हुन नहुने बताए ।
उनका अनुसार यस विषयमा अमेरिकी अधिकारीहरूसँग वार्ता भइरहेको छ । अमेरिकाले अघि सारेका केही प्रस्ताव इजरायलले स्वीकार गर्न सक्ने भए पनि केही प्रस्तावमा भने आफूहरू सहमत नरहेको उनले बताए ।
ट्रम्पको गाजा शान्ति योजनामा हमासको निशस्त्रीकरण, इजरायली सेनाको फिर्ती र गाजाको पुनर्निर्माणको योजना समावेश छ । सम्झौता कार्यान्वयनको निगरानी गर्न ‘बोर्ड अफ पिस’ गठन गर्ने प्रस्तावसमेत गरिएको छ ।
नेतन्याहूको पछिल्लो अडानले ट्रम्पको गाजा शान्ति योजनामा थप चुनौती सिर्जना भएको छ । इजरायलका दक्षिणपन्थी गठबन्धन साझेदारहरूले पनि उक्त योजनाको विरोध गरिरहेका छन् । राष्ट्रिय सुरक्षामन्त्री इतामार बेन–ग्विरले समेत मस्यौदा स्वीकार गर्न अस्वीकार गरेका छन् ।