इजरायली आक्रमणमा अल जजीराका क्यामेराम्यानसहित ६ जनाको मृत्यु

काठमाडौं । गाजामा भएका इजरायली आक्रमणहरूमा कम्तीमा छ जनाको मृत्यु भएको छ, जसमा अल जजीराका एक क्यामेराम्यान र कम्तीमा एक बच्चा सामेल छन् । यो जानकारी स्वास्थ्य अधिकारी र उद्धारकर्मीहरूले दिएका हुन् । अल जजीराले आफ्ना संवाददाता अहमद विशाहको हत्याको जघन्य अपराधको कडा निन्दा गरेको छ । अहमद विशाहको शनिबार मध्य गाजाको एक घरमा भएको आक्रमणमा मृत्यु भएको थियो । अल जजीराले अहमद विशाहको मृत्यु ुअन्तर्राष्ट्रिय कानुन र मापदण्डहरूको स्पष्ट उल्लंघन भएको र यसले पत्रकारहरूलाई निशाना बनाउने तथा सत्यको आवाजलाई दबाउने लगातार जारी एक व्यवस्थित नीतिलाई दर्साउनेु कुरा पनि उल्लेख गरेको छ । अर्कोतर्फ, इजरायल डिफेन्स फोर्सेस (आईडीएफ) ले आरोप लगाउँदै अहमद विशाहलाई हमासको सैन्य शाखासँग आवद्ध आतंकवादी बताएको छ र उनी ‘स्नाइपर अपरेटिभका रूपमा काम गरिरहेका थिए’ भनेको छ। तर, इजरायली सेनाले यस दाबीको समर्थनमा कुनै प्रमाण सार्वजनिक गरेको छैन । गाजाको हमास–नियन्त्रित स्वास्थ्य मन्त्रालयका अनुसार गत अक्टोबरमा इजरायल र हमासबीच लागू भएको युद्धविराम यता इजरायली सेनाको कारबाहीमा १,००७ जनाको मृत्यु भइसकेको छ। गाजाको हमास-नियन्त्रित स्वास्थ्य मन्त्रालयको तथ्याङ्कलाई संयुक्त राष्ट्र संघले विश्वसनीय मान्दै आएकाे छ ।

वार्ताका लागि स्विट्जरल्याण्ड पुगे शहबाज सरिफ र जेडी भान्स

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफ इरान–अमेरिका वार्तामा सहभागी हुन स्विट्जरल्याण्ड पुगेका छन् । फिल्ड मार्शल आसिम मुनिर पनि यस भ्रमणमा सरिफसँगै रहेका छन् । यसअघि अमेरिकी उपराष्ट्रपति जेडी भान्स पनि वार्ताका लागि स्विट्जरल्याण्ड पुगेका थिए । अर्कोतर्फ, इरानको प्रतिनिधिमण्डल शनिबार नै यहाँ पुगिसकेको थियो । पछिल्ला केही महिनामा इरान र अमेरिकाबीच भएको बातचीतमा पाकिस्तान मुख्य मध्यस्थकर्ता रहँदै आएको छ। पाकिस्तानको विदेश मन्त्रालयले यसअघि नै अमेरिका र इरानका प्रतिनिधिहरूका साथै पाकिस्तान र कतारका मध्यस्थकर्ताहरू पनि यस बैठकमा सहभागी हुने बताएको थियो । दुवै पक्षबीच सम्झौतामा यसअघि नै हस्ताक्षर भइसकेको छ । पाकिस्तानले पनि मध्यस्थकर्ताको रूपमा यस सम्झौतामा हस्ताक्षर गरेको थियो ।

जापानले जुलाईदेखि भिसा शुल्क पाँच गुणा वृद्धि गर्ने

काठमाडौं । जापानी सरकारले जुलाईदेखि विदेशीहरूको लागि एकल–प्रवेश भिसा शुल्क तीन हजार येनबाट पाँच गुणा बढाएर १५ हजार येन (लगभग ९० अमेरिकी डलर) पुर्याउने निर्णय गरेको छ । मुद्रास्फीति र येनको अवमूल्यनको बीचमा १९७८ पछि पहिलो पटक वृद्धि भएको उक्त निर्णयको घोषणा विदेशमन्त्री मोटेगी तोशिमित्सुले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा गरेका हुन् ।  यसैगरी बहु–प्रवेश भिसाको जारी शुल्क छ हजार येनबाट बढेर ३० तीस हजार येन हुनेछ । 'हामी यो कदमले आन्तरिक पर्यटनमा तत्काल प्रभाव पार्ने अपेक्षा गर्दैनौँ', मोटेगीले भने । रासस