धितोपत्र बोर्डको सञ्चालकमा हेमराज ढकाल नियुक्त
काठमाडौं । नेपाल धितोपत्र बोर्डको सञ्चालकमा व्यवसायी हेमराज ढकाल नियुक्त भएका छन् । निजी क्षेत्रको प्रतिनिधित्व गर्दै नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष ढकाल बोर्डमा प्रवेश गरेका हुन् । यसअघि उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जनकुमार श्रेष्ठ निजी क्षेत्रको प्रतिनिधित्व गर्दै बोर्ड सञ्चालक बनेका थिए । तर व्यक्तिगत कारण देखाउँदै उनले राजीनामा दिएपछि पद रिक्त रह्यो । सो पदमा महासंघले ढकाललाई पठाउने निर्णय गरेको हो । नवनियुक्त सञ्चालक ढकाललाई बुधबार बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पद तथा गोपनियताको सपथ गराए । उद्योग–व्यवसायमा चार दशकभन्दा बढी समय बिताएका ढकाल नेपालको वित्तीय क्षेत्रमा पनि तीन दशकदेखि सक्रिय छन् । उनी हेरिटेज ग्रुप अफ इन्डस्ट्रिजका अध्यक्ष हुन्, जसअन्तर्गत हेरिटेज कार्पेट, हेरिटेज म्याट्रेस, हेरिटेज टी, व्यापारलगायत दर्जनभन्दा बढी कम्पनी सञ्चालनमा छन् ।
चार स्वास्थ्य विज्ञान प्रतिष्ठानले पायो उपकुलपति
काठमाडौं । रिक्त रहेका चार स्वास्थ्य विज्ञान प्रतिष्ठानले उपकुलपति पाएको छ । मंगलबार बसेको मन्त्रीपरिषद बैठकबाट प्रधानमन्त्री केपी शर्मा ओलीले उपकुलपति नियुक्त गरेको हो । जसमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा धरानमा प्रा.डा. विक्रमप्रसाद श्रेष्ठ, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रा.डा. भरत खत्री नियुक्त भएका छन् भने पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रा.डा. बुद्धी पौडेल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डा. पुजन कुमार रोकाया नियुक्त भएका हुन् ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. रोकाय
सुर्खेत । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा सहप्राध्यापक डा. पुजनकुमार रोकायलाई नियुक्त गरेका छन् । जुम्लाको चन्दननाथ नगरपालिका–४ निवासी सहप्राध्यापक डा. रोकाया एक दशकदेखि प्रतिष्ठान कार्यरत छन् । मङ्गलबार उपकुलपतिमा नियुक्त भएका उनी हाडजोर्नी विशेषज्ञ हुन् ।