तयारी पोशाक उद्योग संघको अध्यक्षमा पाण्डे पुनः निर्वाचित, यस्तो बन्यो नयाँ कार्यसमिति
काठमाडौं । नेपाल तयारी पोशाक उद्योग संघको अध्यक्षमा पशुपति देव पाण्डे निर्विरोध निर्वाचित भएका छन् । प्योर क्लोथिङका सञ्चालक पाण्डेको नेतृत्वमा आगामी दुई वर्षको लागी तयारी पोशाक उद्योग संघको नयाँ कार्यसमिति चयन भएको हो । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समिति सदस्य समेत रहेका पाण्डे यसअघि पनि संघको अध्यक्ष रहेका थिए । संघको निवर्तमान अध्यक्षमा चण्डिप्रसाद अर्याल, प्रथम उपाध्यक्षमा बसन्त राज अधिकारी (हिमालयन कटन फेसन एण्ड इन्टरनेशनल प्रालि) र उपाध्यक्षमा भूपेन्द्र कुमार बस्नेत (विद्या एप्परेल्स प्रालि) निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै, महासचिवमा भिमकुमार गिरी (ब्ल्याक फेसन ई. प्रालि), सहसचिवमा थोमनाथ बस्याल (युनाइटेड फेसन निटिङ्ग ई.प्रालि) चयन भएका छन् भने कोषाध्यक्षमा संजय कुमार अग्रवाल (हेरिटेज फेसन) निर्वाचित भएका छन् । साथै, कार्यसमिति सदस्यमा कृष्ण प्रसाद पाण्डे (ट्रान्सट्रिप गार्मेन्ट ई. प्रालि), सुरेश मान श्रेष्ठ (जम्फा निटिङ इण्डष्ट्रिज), हीराकाजी मुक्तान (लोगो फेसन ई. प्रालि), सतिस गिरी (अनुजित एपरेल्स), सचिन्द्र प्रधानाङ्ग (हिमालयन निट वेयर) र रमेश कुमार कर्ण निर्वाचित भएका छन् । त्यस्तै, आमन्त्रीत सदस्यमा सन्दिप पौडेल चयन भएका छन् ।
नेपाल बैंकको स्वतन्त्र सञ्चालकमा प्रा.डा. डिल्लीराम शर्मा
काठमाडौं । नेपाल बैंक लिमिटेडको स्वतन्त्र सञ्चालकमा प्रा.डा. डिल्लीराज शर्मा नियुक्त भएका छन् । भदौ १८ गते बसेको बैंक सञ्चालक समितिको बैठकले शर्मालाई स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो । उनले भदौ १८ गते नै सञ्चालक पदको पद तथा गोपनियताको शपथ ग्रहण गरेको बैंकले जनाएको छ । यसअघिका स्वतन्त्र सञ्चालक थानेश्वर गौतमले भने राजीनामा दिएका छन् ।
मल्टीपर्पस फाइनान्सको सीईओमा पुन: रजनीश कुमार सिंह नियुक्त
काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुन: रजनीश कुमार सिंह नियुक्त भएका छन् । भदौ १७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सिंहलाई सिईओको पदमा नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई ४ वर्षको लागि भदौ २५ गतेदेखि लागु हुने गरी पुन: नियुक्त गरिएको कम्पनीले जनाएको छ ।