नेरुडे मिर्मिरे लघुवित्तको कामु सीईओमा भागनारायण साहु
काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले नायव प्रमुख कार्यकारी अधिकृत भागनारायण साहुलाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदको जिम्मेवारी प्रदान गरेको छ । संस्था सञ्चालक समितिको भदौ ४ गते बसेको बैठकले सो निर्णय गरेको हो । यसअघि कार्यरत प्रमुख कार्यकारी अधिकृत भोजराज बस्यालको कार्यकाल साउन मसान्तमा समाप्त भएको थियो । लघुवित्तले साहुको नेतृत्वमा संस्थाको कार्य सञ्चालन निरन्तर गतिशील र प्रभावकारी हुने विश्वास व्यक्त गरेको छ ।
काठमाडौं जिल्ला रेडक्रसको सभापतिमा पुनः डोटेल निर्वाचित
काठमाडौं । काठमाडौं जिल्ला रेडक्रसको कार्यसमिति सभापतिमा श्यामकाजी डोटेल पुनः निर्वाचित भएका छन् । शाखाको ४५ औं अधिवेशनले डोटेलको नेतृत्त्वमा पुनः नयाँ कार्यसमिति चयन गरेको हो । शाखाको उपसभापतिद्वयमा विष्णुमान मानन्धर, अञ्जना श्रेष्ठ मास्के, मन्त्रीमा बृदिमान शाक्य, कोषाध्यक्षमा लक्ष्मीरत्न तुलाधर, उपमन्त्रीमा नवराज भण्डारी, उपकोषाध्यक्षमा सर्मिला श्रेष्ठ राजभण्डारी निर्वाचित भएका हुन् । यसैगरी सदस्यमा अमृत नारायण मानन्धर, रजेन्द्र प्रसाद श्रेष्ठ, लक्ष्मी प्रसाद कुइँकेल, विदुर राज भट्टराई, नवराज काफ्ले, विदुर राज उप्रेती, इश्वर लामा, मञ्जु अर्याल खतिवडा, गोमा बराल, लक्ष्मी कार्की खड्का, निर्वाचित भएका छन् ।
सीआईटीको अध्यक्षमा तुलसीप्रसाद घिमिरे नियुक्त
काठमाडौं । नागरिक लगानी कोष (सीआईटी) सञ्चालक समितिको अध्यक्षमा तुलसीप्रसाद घिमिरे नियुक्त भएका छन् । घिमिरेलाई उपप्रधानमन्त्री तथा अर्थमन्त्रीस्तरको निर्णयअनुसार अध्यक्षमा नियुक्त गरिएको हो । त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा एमफिल, अर्थशास्त्रमै एमए र एमपीए गरेका घिमिरे नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकाशप्राप्त हुन् । उनले केन्द्रीय बैंकमा सेवा गर्दा सूचना प्रविधि, मानव संसाधन, विदेशी विनिमय, बैंकिङ एवं अनुसन्धानलगायत अन्य विभागमा काम गरेका छन् ।