कार्यक्षेत्र ११ जिल्ला, कर्मचारी पाँच !

दमौली । यहाँको बन्दीपुरस्थित व्यावसायिक कीट विकास केन्द्रको कार्यक्षेत्र गण्डकी प्रदेशका ११ वटा जिल्ला हुन् । तर, कार्यालयमा कार्यरत कर्मचारी जम्मा पाँच जना छन् ।  केन्द्रमा दश जनाको स्वीकृत दरबन्दी भए पनि पाँच कर्मचारीको पद रिक्त छ । पाँच जनामध्ये एक जना अध्ययनका सिलसिलामा विदेशमा रहेको कार्यालयका निमित्त प्रमुख विजयराज पौडेलले बताए । कार्यक्षेत्र प्रदेशभर हुनु तर कर्मचारी कम हुँदा काम गर्न समस्या परिरहेको उनको गुनासो छ ।  पौडेलका अनुसार कार्यालयमा एक वरिष्ठ बाली संरक्षण अधिकृत, एक बाली संरक्षण अधिकृत, एक प्राविधिक सहायक, एक नायब प्राविधिक सहायक र एक कार्यालय सहयोगी मात्र कार्यरत छन् । कार्यालयमा कृषि प्रसार अधिकृत, लेखापाल, प्रशासन सहायक र हलुका सवारी चालकको पदपूर्ति हुन सकेको छैन ।  उनले भने, '११ जिल्ला कार्यक्षेत्र हुँदा कर्मचारीको अभावले सोचे बमोजिम काम गर्न सकिएको छैन ।' कार्यालयको मुख्य काम रेशमखेती, मौरीपालन र च्याउखेतीमा प्राविधिक सहयोग गर्नु हो । त्यसका लागि कार्यालयले कृषकलाई मौरीपालनसम्बन्धी सीपसँगै च्याउखेती तालिम प्रदान गर्दै आइरहेको छ ।  कार्यालयले गत आर्थिक वर्ष २०८१/८२ मा १३१ रेशम बिज कोया उत्पादन गरेको छ । उत्पादित रेशम बिज कोया रेशम विकास केन्द्र खोपासीलाई हस्तान्तरण गरिएको पौडेलले जानकारी दिए । कार्यालयको च्याउ ल्याबमा तीन हजार पोका च्याउ बीउ उत्पादन गरिएको छ । ती च्याउहरु विभिन्न ठाउँका कृषकलाई ५० प्रतिशत अनुदानमा वितरण गरिएको उनले बताए ।  पौडेलका अनुसार कार्यालय परिसरमा करिब १०० केजी खायन च्याउ उत्पादन गरिएको र कार्यालयबाटै बिक्री गरिएको छ । कार्यालयले यस आवमा गण्डकी प्रदेशका विभिन्न जिल्लाका ११० कृषकलाई मौरीपालन आधारभूत स्थलगत घुम्ती तालिम प्रदान गरेको छ । त्यसैगरी १८३ कृषकलाई च्याउखेतीसम्बन्धी तालिम दिएको छ । रासस

राष्ट्रिय वाणिज्य बैंकका नवनियुक्त अध्यक्ष देवकुमार ढकालले गरे पदभार ग्रहण

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको सञ्चालक समितिको नवनियुक्त अध्यक्ष देवकुमार ढकालले पदभार ग्रहण गरेका छन् । साउन २ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले सर्वसम्मत ढकाललाई अध्यक्ष चयन गरेसँगै उनले पदभार ग्रहण गरेका हुन् । ढकालसँग नेपाल राष्ट्र राष्ट्रिय वाणिज्य बैंकका नवनियुक्त अध्यक्ष देव कुमार ढकालले गरे पदभार ग्रहण मा ३० वर्षभन्दा बढी समय विभिन्न जिम्मेवारीमा रहेर सेवा गरेको अनुभव छ । पछिल्लो समय राष्ट्र बैंकको कार्यकारी निर्देशकको जिम्मेवारीमा रहेर कार्य गरेका ढकाल वित्तीय प्रणाली, बैंकिंग प्रशासन तथा नियमन प्रणाली विषयको जानकार छन् ।  नवनियुक्त ढकाललाई बैंक सञ्चालक समिति सदस्यहरू महेश भट्टराई, लक्ष्मण घिमिरे, प्रा.डा. रामप्रसाद ज्ञवाली, रोमिला ढकाल उप्रेती, डा. सूर्य बहादुर राना, प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनाल, बैंकका व्यवस्थापन समितिका पदाधिकारीहरु, कम्पनी सचिव प्रमोद अधिकारी एवम् प्रमुख कार्यकारी अधिकृतको कार्यालयका सम्पूर्ण कर्मचारीहरुले स्वागत गरेका थिए । 

राष्ट्र बैंकका पूर्वईडी ढकाल राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा नियुक्त

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको अध्यक्षमा देव कुमार ढकाल नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको शुक्रबार बसेको बैठकले ढकाललाई अध्यक्षमा नियुक्त गरेको सूचना अधिकारी तथा उप-कार्यकारी अधिकृत पवन रेग्मीले जानकारी दिए ।  ढकालले गत मंसिरमा ५८ वर्षे उमेर हदका कारण नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक (ईडी)बाट अवकाश पाएका थिए । व्यवस्थापनमा स्नातकोत्तर गरेका ढकालसँग राष्ट्र बैंकमा तीन दशक काम गरेको अनुभव छ । विभिन्न विभागीय प्रमुखका साथै ढकालले प्रवक्ताको समेत जिम्मेवारी सम्हालेका थिए ।  बैंकको सञ्चालक समितिमा महेश भट्टराई, लक्ष्मण घिमिरे, डा. राम प्रसाद ज्ञवाली, रोमिला ढकाल उप्रेती र डा. सुर्य बहादुर राणा रहेका छन् ।  बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) भने देवेन्द्र रमण खनाल कार्यरत छन् ।