घिमिरेले सम्हाले एनएमबि बैंकको सीईओको जिम्मेवारी, सुदेश उपाध्याय बने वरिष्ठ नायव प्रमुख

काठमाडौं । तीन दशकभन्दा बढी बैंकिङ अनुभव भएका गोविन्द घिमिरेले एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को रूपमा बुधबारदेखि औपचारिक रूपमा कार्यभार सम्हालेका छन् । विगत १६ वर्षदेखि एनएमबि बैंकसँग आबद्ध घिमिरे यसअघि नायव प्रमुख कार्यकारी अधिकृतको भूमिकामा रहेका थिए । घिमिरेले बैंकको व्यापार, वित्त, क्रेडिट जोखिम व्यवस्थापन, रणनीतिक योजना र सञ्चालन सुधारमा निरन्तर योगदान दिँदै आएका छन् । उनको नेतृत्वमा प्रविधिमा आधारित सेवा विस्तार र दिगो बैंकिङ अभ्यासहरूमा उल्लेखनीय सुधार भएको बैंकले जनाएको छ । 'नवप्रवर्तन, दिगो साझेदारी र समावेशी वित्तीय सेवा हाम्रो प्राथमिकता हुनेछ,' कार्यभार सम्हाल्दै घिमिरेले भने, 'डिजिटल प्रविधि र नयाँ सोचको प्रयोगमार्फत हामी ग्राहक, समुदाय र राष्ट्रसँग मिलेर दिगो र सकारात्मक परिवर्तन ल्याउने दिशामा अघि बढ्नेछौं ।' त्यस्तै, आजैबाट सुदेश उपाध्यायलाई वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको छ । स्वदेशी तथा विदेशी बैंकिङ क्षेत्रमा व्यापक अनुभव बटुलेका उपाध्याय अन्तर्राष्ट्रिय व्यापार र बैंकिङ्ग सम्बन्धमा दख्खल राख्ने बैंकर मानिन्छन् । एनएमबि बैंकले अनुभव, निरन्तरता र नवप्रवर्तनमा आधारित यो नेतृत्व परिवर्तनलाई आगामी ‘समृद्ध नेपाल’ को यात्रासँग जोडेर स्वागत गरेको छ ।

एनआईसी एशिया लघुवित्तको सञ्चालकमा बलराम पौडेल, ३९ वर्षको बैंकिङ अनुभव

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको बैठकले सर्वसाधारण समूह प्रतिनिधित्व गर्ने सञ्चालक पदमा बलराम पौडेललाई नियुक्त गरेको छ । आइतबार सम्पन्न बैठकले ललितपुर निवासी पौडेललाई आगामी वार्षिक साधारण सभासम्मका लागि सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।  उक्त पदमा यसअघि शशांक अग्रवालले प्रतिनिधित्व गर्दै आएका थिए । नयाँ सञ्चालक पौडेलको नियुक्तिसँगै संस्थाले लिएको दीर्घकालीन लक्ष्यमा थप ऊर्जा मिल्ने विश्वास लिइएको छ । पौडेलसँग करिब ३९ वर्षको बैंकिङ तथा लघुवित्त क्षेत्रको अनुभव छ । उनले नेपाल सरकारअन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा सञ्चालित 'ग्रामीण उद्यम तथा रेमिट्यान्स परियोजन' मा प्रशिक्षण विशेषज्ञको रूपमा कार्य गरेका थिए । साथै, सिभिल लघुवित्त वित्तीय संस्थामा प्रमुख कार्यकारी अधिकृत, कृषि विकास बैंक र साना किसान विकास बैंक लगायतका संस्थाहरूमा महत्वपूर्ण जिम्मेवारी सम्हालेका छन् । समाजशास्त्रमा स्नातकोत्तर र अर्थशास्त्रमा स्नातक उपाधि प्राप्त पौडेलको अनुभव र नेतृत्व क्षमताले एनआईसी एशिया लघुवित्तलाई अझ सशक्त र अग्रणी संस्था बनाउनेमा कम्पनीले विश्वास व्यक्त गरेको छ ।

ग्लोबल आइएमई लघुवित्तको सीईओमा हरिकृष्ण जोशी पुनःनियुक्त

काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरिकृष्ण जोशीलाई दोस्रो कार्यकालका लागि पुनः नियुक्त गरेको छ । वित्तीय संस्थाको वैशाख २ गते बसेको बैठकको निर्णयअनुसार भानु नगरपालिका–११ स्थायी ठेगाना भएका जोशीलाई आगामी ४ वर्षका लागि पुनः सीईओमा नियुक्त गरिएको हो । जोशीको दोस्रो कार्यकाल आगामी वैशाख १५ गतेदेखि लागू हुने संस्थाले जानकारी दिएको छ । जोशीको नेतृत्वमा संस्थाले अघिल्लो कार्यकालमा सन्तोषजनक प्रगति गरेकाले पुनः नियुक्ति गरिएको बताइएको छ । ग्लोबल आइएमई लघुवित्त ग्रामीण क्षेत्रमा वित्तीय पहुँच विस्तारमा सक्रिय रहेको संस्थामध्ये एक हो ।