काम खोज्दै हुम्ली युवायुवती चीनको ताक्लाकोटतर्फ, काम पाउन मुस्किल
सिमकोट । जिल्लामा बेरोजगारी समस्या भएपछि यहाँका स्थानीय छिमेकी मित्रराष्ट्र चीनको ताक्लाकोट जानेक्रम निरन्तर बढ्दै गएको छ । पछिल्ला वर्षहरूमा कामको खोजीमा यहाँका युवायुवती त्यसतर्फ जानेक्रम बढ्दै गएको हो । ताक्लाकोटमा रोजगारी पाउने भएकाले जिल्लाका युवायुवती छ महिनाका लागि त्यसतर्फ जाने गरेका हुन् । गाउँघरमा यतिकै बेरोजगार बस्नुभन्दा उनीहरू जिल्ला प्रशासनबाट दिइने अस्थायी सीमापास बनाएर चीन जाने र आम्दानी गरी फर्कने गर्दछन् । पछिल्ला वर्षहरूमा उनीहरू जङ्गलमा जडीबुटी सङ्कलन गर्न जानुभन्दा ताक्लाकोटमा घरयासीदेखि खेतबारीको काम गर्न चीनतर्फ जाने गरेका छन् । चीन पुग्ने सङ्ख्या बढ्दो विगतका वर्षहरूमा युवाका लागि मात्र रोजगारीको केन्द्र बनेको ताक्लाकोट यो वर्षदेखि युवतीहरू पनि जान थालेका छन् । सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी राजेन्द्रकुमार चन्दका अनुसार विगतका वर्षभन्दा यो वर्ष सीमा पास लिने युवायुवतीको सङ्ख्या धेरै बढेको छ । उनका अनुसार झण्डै ५५ हजार जनसङ्ख्या भएको हुम्लामा ११ हजार हाराहारीका यहाँका नागरिकले सीमा पास लिइसकेका छन्भने वितरण भइसकेको छ । आजभोलि पनि दैनिक सीमा पास लिन आउने सङ्ख्या पनि उल्लेखनीय रहेको छ । जेठ र असार महिनाजस्तै चाप नभए पनि दैनिक पाँच, सात जना सीमा पास बनाउन आउने गरेको उनले बताए । चीनको स्वशासित क्षेत्र तिब्बतको ताक्लाकोट जोड्ने हिल्सा नाका गत वैशाख १८ गते खुलेपछि कामको खोजीका लागि नयाँ सीमा पास र नवीकरण गर्नेको सङ्ख्या बढेको हो । वैशाखदेखि हालसम्म नयाँ सीमा पास लिनेको सङ्ख्या आठ हजार ९१३ रहेको सहायक प्रमुख जिल्ला अधिकारी चन्दले बताए । त्यसैगरी नवीकरण गर्नेको सङ्ख्या दुई हजार ६६ जना रहेको छ । जिल्ला प्रशासन हुम्लाले हुम्लीको लागि चीनको समन्वयमा छ महिनाका लागि अस्थायी सीमा पास दिने गरेको छ । अस्थायी सीमा पास लिएका हुम्लीले छ महिना बस्न पाउँछन् । थप बस्नका लागि नवीकरण गर्ने गरेका छन् । चीनसँग जोडिएको यो हिल्सा नाका हिमपातका कारण वर्षमा छ महिना मात्र खुल्ने गर्छ भने जाडोका कारण मङ्सिरदेखि बन्द भई जेठदेखि पुनः खुल्छ । अहिले कामको खोजी, व्यापार, दशैँका लागि लत्ताकपडा लिन जानेहरू दैनिक सीमा पास लिन आउने गरेको प्रमुख जिल्ला अधिकारी टेकराज रेग्मीले बताए । छिमेकी राष्ट्र चीनमा कामको खोजीमा हुम्लाको सबैभन्दा बढी नाम्खा र सिमकोट गाउँपालिकाका युवा ताक्लाकोट पुगेका छन् । जिल्लाका अन्य खार्पुनाथ, सर्केगाड, चङ्खेली गाउँपालिकाका युवायुवतीले पनि जिल्ला प्रशासनबाट सीमा पास बनाएको प्रमुख जिल्ला अधिकारी रेग्मीको भनाइ थियो । हुम्लाबाट कामको खोजीमा चीन पुगेका हुम्ली कामदार चीनको पुराङ्ग काउन्टीमा निर्माणसम्बन्धी, घरेलु कामदारका रूपमा काम गर्ने गरेको सिमकोट गाउँपालिका–२ निवासी कालु बोहराले बताए । हुम्लाबाट ताक्लाकोट पुगेका कामदारले यतिबेला ताक्लाकोटमा २५ देखि १५० सम्म चिनियाँ युवान कमाउने गरेको ताक्लाकोटमा काम गरिरहेका प्रेम भण्डारीले बताए । कामदारका रूपमा बर्खायाममा ताक्लाकोट र यसका आसपासका बस्तीमा गई हुम्लीले आम्दानी गर्दै आएका छन् । हरेक वर्ष हुम्ली कामदार चीनको पुराङ काउन्टीमा गएर कामदारका रूपमा मासिक ३० देखि ७० हजार नेपाली रूपैयाँ कमाउने गर्छन् । गत वर्ष ताक्लाकोटमा ३०० सम्म चिनियाँ युवान कमाउने भए पनि यो वर्ष न्यून ज्यालामा काम गरेर चित्त बुझाउन परेको उनले सुनाए । यो वर्ष दैनिक ज्यालाको मूल्य निकै घटेको छ । सोचेअनुसारको पनि काम नपाउने उहाँको भनाइ थियो । यतिबेला चीनको पुराङ्ग काउन्टी, ताक्लाकोटा आसपासका गाउँहरूमा उवा, जौ, भित्र्याउने काम पाउने गरेको छ । काम पाउन मुस्किल चीनको ताक्लाकोटमा विगतका वर्षभन्दा यो वर्ष काम पाउन मुस्किल भएको छ । जिल्लाका बेरोजगार युवायुवती रोजगारीको खोजीमा ताक्लाकोट पुग्नेको सङ्ख्या उल्लेखनीय रहेपछि काम पाउन मुस्किल हुने गरेको हो । यतिबेला चीनको ताक्लाकोट पुगेका अधिकांश हुम्लीले हप्ता दिनमा एक दिन मात्रै काम पाउने गरेको गुनासो पोखेका छन् । चिनियाँ भाषा जान्नेलाई काम पाउन सजिलो हुने र भाषा नजान्नेलाई काम पाउन मुस्किल हुने गरेको ताक्लाकोटमा काम गर्दै आएका जनक बोहराले बताए । ताक्लाकोटमा नाम्खा गाउँपालिका र सिमकोट गाउँपालिकाका विभिन्न बस्तीबाट यहाँ पुगेका लामा समुदाय काम बढी पाउने गरेका छन् । उनीहरूको पुराङ्गवासीहरूसँग भाषा मिल्दोजुल्दो हुने भएका कारण उनीहरू काम बढी पाउने गरेका छन् । यता क्षेत्री बाहुनहरूले भने सोचेअनुसारको काम पाउन नसकेको बोहराको भनाइ थियो । जडीबुटी निर्यात, खाद्यान्न र लत्ताकपडा आयात ताक्लाकोट हुम्ला जिल्लाको हरेक सामान आयात र निर्यात गर्ने एक मुख्यस्थलका रूपमा परिचित हुँदै आएको छ । हिल्सा नाका हुँदै हरेक वर्ष नेपाली कामदार त्यस ठाउँमा पुग्ने गरेका छन् । हुम्लाबाट जडीबुटी, काठ, हस्तकलाका सामग्री चीनको ताक्लाकोट हुँदै निर्यात हुने गरेको छ भने नेपालीले दैनिक उपभोग्यको सामान, लत्ताकपडा, निर्माणसम्बन्धी सामग्री आयात गर्ने गरेका छन् । हुम्लीले मैदा, खाद्य पदार्थलगायतका सामग्री मनग्य आयात गर्दै आएका छन् । धेरै पहिले कमाइका लागि भारत जाने गरेका हुम्लीका लागि केही वर्ष अगाडिदेखि चीन प्रमुख आयस्रोतस्थल बन्दै गएको छ । बस्तीका युवा सबै चीनमा हुम्लाका अन्य गाउँपालिकाभन्दा उत्तरी नाम्खा गाउँपालिका–६ लिमीका तीनवटै बस्तीका नागरिक यतिबेला चीन केन्द्रित हुने गरेको पाइन्छ । लिमीको तिल, हल्जी र जाङ्ग तिनै गाउँबाट पशुवस्तु चराउने गोठालाबाहेक घरका सबै सदस्य कामका लागि ताक्लाकोट जाने गर्छन् । लिामीका नागरिकहरूको प्रमुख आम्दानी आयस्रोतको क्षेत्र ताक्लाकोट बनेको छ । उनीहरू कोही कोही बाह्रै महिना ताक्लाकोट बस्दै आउने गरेका छन् । कोही दुई तीन वर्षपछि राम्रो कमाइ भएपछि गाउँघरमा फिर्ता हुने गरेका छन् । गएका वर्षभन्दा यो वर्ष ताक्लाकोटमा काम गर्न जाने कामदारको सङ्ख्या बढे पनि विगतका वर्षमा जसरी काम पाउन सहज नभएको बताउने गरेका छन् । पहिला काम पाउन पनि सजिलो हुने र काम गरेबापत काम हेरेर राम्रो आम्दानी हुने भए तापनि यो वर्ष कम ज्याला र कुनै दिन यतिकै बसिरहनुपर्ने अवस्था छ । रासस
प्रधानमन्त्री शुशिला कार्कीलाई मोरङ उद्योग वाणिज्य संघले दियो बधाई
काठमाडौं । नेपालकी पहिलो महिला प्रधानमन्त्री शुशिला कार्कीलाई मोरङ उद्योग वाणिज्य संघले बधाई दिएको छ । कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरिएको अवसरमा मोरङ उद्योग वाणिज्य संघका अध्यक्ष अनुपम राठीले बधाईसहित शुभकामना व्यक्त गरेका छन् । राठीले जारी गरेको शुभकामना सन्देशमा नयाँ नेतृत्वले सुशासन, वाक स्वतन्त्रता, स्वदेशमै मर्यादित रोजगारी, राजस्वको सदुपयोग तथा भ्रष्टाचारमुक्त राष्ट्र निर्माण गर्ने विश्वास व्यक्त गरिएको छ । सन्देशमा अगाडि भनिएको छ, 'उहाँको नेतृत्वमा उद्यम–व्यवसाय निर्वाध सञ्चालन गर्न आवश्यक शान्ति सुरक्षा सहितको वातावरण निर्माण हुनेछ भन्ने अपेक्षा राखेका छौँ ।' राठीले कार्कीको कार्यकालले मुलुकको मुहार फेरिने विश्वास समेत व्यक्त गरेका छन्।
निडर स्वभाव र सरल जीवनशैलीको पर्याय प्रधानमन्त्री सुशीला कार्की
काठमाडौं । पहिलो महिला प्रधानमन्त्रीमा नियुक्त भएर सुशीला कार्कीले नेपालको इतिहासमा नयाँ कीर्तिमान राखेकी छन् । सर्वोच्च अदालतको पहिलो महिला प्रधानन्यायाधीश भएर इतिहास रचेकी नवनियुक्त प्रधानमन्त्री कार्की देशको पहिलो कार्यकारी प्रमुख बन्न सफल भएकी छन् । जेनजी समूहको आन्दोलनका मागअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले विषम र असाधारण परिस्थितिमा युवापुस्ताद्वारा प्रकट गरिएको माग र आकांक्षाबमोजिम राजनीतिक दल तथा सरोकारवालासँगको परामर्शमा उनलाई प्रधानमन्त्रीमा नियुक्ति गरेका हुन् । प्रधानमन्त्री कार्कीको जन्म विसं २००९ जेठ २५ गते शङ्खरपुर–३ विराटनगरमा भएको हो । उनले महेन्द्र मोरङ कलेज विराटनगरबाट विसं २०२८ बीए र बनारस हिन्दु विश्वविद्यालयबाट २०३१ सालमा राजनीतिशास्त्रमा एमए गरेकी छन् । विसं २०३४ मा त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातक गरी अधिवक्ताका रूपमा उनले विसं २०३५ चैत्र १६ गतेदेखि कानुन व्यवसाय सुरु गरेकी थिइन् । उनले विसं २०४२ देखि तीन वर्ष महेन्द्र बहुमुखी क्याम्पस धरानमा अध्यापनसमेत गरिन् । विसं २०४५ देखि २०४७ सालसम्म उनले कोसी अञ्चल बारको अध्यक्ष तथा विसं २०५९ देखि २०६१ सालसम्म विराटनगर पुनरावेदन बारको अध्यक्ष बनिन् । विसं २०६१ पुस ५ गते उनले वरिष्ठ अधिवक्ताको उपाधि प्राप्त गरिन् । त्यस्तै, २०६५ माघ ९ गते उनी सर्वोच्च अदालतको अस्थायी न्यायाधीशमा नियुक्त भइन् । विसं २०६७ मंसिर २ गते सर्वोच्च अदालतको स्थायी न्यायाधीश बनेकी थिइन् । संयुक्त राज्य अमेरिका, बेलायत, श्रीलंका, जापान, चीन, भारत, तान्जिनिया र नेदरल्यान्डलगायत देशको भ्रमण गरिसकेकी उनी नेपाली, अंग्रेजी र हिन्दीमा भाषामा निपुण छिन् । निडर स्वाभाव र सरल जीवनशैलीको उनको पहिचान हो । उनले प्रधानन्यायाधीशका रूपमा १४ महिना जिम्मेवारी सम्हालेकी थिइन् । रासस