विटिआई ग्रुपको सीईओमा दिलीपराज बराल नियुक्त

काठमाडौं । विटिआई ग्रुप अफ भेन्चर्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा दिलीपराज बराल नियुक्त भएका छन् । विभिन्न क्षेत्रमा सक्रिय ग्रुपले बराललाई नेतृत्वको जिम्मेवारी दिएको हो ।

महोत्तरीका ४८ वर्षीय बराल लामो समयदेखि बैंकिङ क्षेत्रमा कार्यरत छन् । ग्रुपका कार्यकारी अध्यक्ष हरि रायमाझीले बराललाई व्यावसायिक सञ्जालमा स्वागत गर्दै जिम्मेवारी हस्तान्तरण गरेका हुन् ।

बरालसँग आईएमई रेमिट्यान्स, ग्लोबल आईएमई बैंक र ज्योति विकास बैंकमा काम गरेको अनुभव छ । व्यवस्थापन, कानुन तथा राजनीतिशास्त्रमा ज्ञान हासिल गरेका उनी स्पष्ट निर्णय र नतिजामुखी कार्यशैलीका लागि परिचित छन् ।

अन्तर्राष्ट्रिय व्यापारसम्बन्धी पुस्तकसमेत लेखेका बराल नेपाल स्केटिङ तथा स्केटबोर्डिङ सङ्घका प्रमुख प्रशिक्षक पनि हुन् ।

विटिआई ग्रुपअन्तर्गत सेवा, उद्योग, व्यापार, खेलकुद, सञ्चारमाध्यम तथा सामाजिक क्षेत्रका १० वटा संस्था सञ्चालनमा छन्। यी संस्थाले २७ वर्षदेखि विभिन्न क्षेत्रमा काम गर्दै आएका छन् ।

ग्रुपको विस्तारित व्यावसायिक सञ्जाललाई थप व्यवस्थित बनाउने र विभिन्न क्षेत्रका संस्थाबीच प्रभावकारी समन्वय कायम गर्ने जिम्मेवारी बरालको नेतृत्वमा रहने कार्यकारी अध्यक्ष रायमाझीले बताएका छन् ।

Share News