काठमाडौं । नेपाल–भारत वाणिज्य तथा उद्योग चेम्बर (निक्की) को अध्यक्षमा कुनाल कायल सर्वसम्मत निर्वाचित भएका छन् । बिहीबार सम्पन्न चेम्बरको ३२औं वार्षिक साधारणसभाले कायललाई सन् २०२८ सम्मका लागि अध्यक्ष चयन गरेको हो ।
कायल निवर्तमान अध्यक्ष सुनील केसीको कार्यकालमा चेम्बरको उपाध्यक्ष थिए । नयाँ कार्यसमितिको उपाध्यक्षमा करण कुमार चौधरी र गौरव तायल चयन भएका छन् ।
चेम्बरको महासचिवमा बर्णन लामिछाने र कोषाध्यक्षमा शैलजा अधिकारी चयन भएका छन् । त्यसैगरी कार्यसमिति सदस्यमा सञ्जय अग्रवाल, रमेश शर्मा, शैलेन्द्र गुरागाईं, शशि कान्त अग्रवाल, सुसन कर्माचार्य, विनय उपाध्याय, आशिक श्रेष्ठ र चन्द्र टण्डन रहेका छन् ।
नवनिर्वाचित नेतृत्वले नेपाल र भारतबीच व्यापार, लगानी, ऊर्जा तथा व्यावसायिक सहकार्य विस्तारमा भूमिका खेल्ने अपेक्षा गरिएको छ । दुई देशबीचको आर्थिक सम्बन्धलाई थप बलियो बनाउन निजी क्षेत्रको सक्रियता र नीतिगत संवादलाई प्राथमिकता दिनुपर्नेमा पनि जोड दिइएको छ ।
कार्यक्रममा परराष्ट्रमन्त्री शिशिर खनालले निक्कीलाई नेपाल–भारत आर्थिक साझेदारीको महत्त्वपूर्ण आधारस्तम्भका रूपमा चित्रण गरे । उनले चेम्बरलाई परराष्ट्र मन्त्रालयको रणनीतिक संस्थागत साझेदारसमेत बताए ।
नेपाल र भारतका जनताबीच रहेको गहिरो सम्बन्धलाई आर्थिक सहकार्यमा रूपान्तरण गर्नुपर्नेमा जोड दिँदै मन्त्री खनालले लगानी र उत्पादनमा आधारित अर्थतन्त्रको विकासमार्फत दुवै देशले साझा समृद्धिको लक्ष्य हासिल गर्न सक्ने धारणा राखे ।
निवर्तमान अध्यक्ष सुनील केसीले चेम्बरको संस्थागत विकासलाई व्यवस्थित र सुदृढ बनाउनुपर्ने आवश्यकता औँल्याए । उनले निजी क्षेत्रको सहभागिता र आर्थिक कूटनीतिलाई केन्द्रमा राखेर नेपाल–भारतबीच संयुक्त आर्थिक प्रणाली निर्माण गर्नुपर्ने बताए ।
निर्वाचित भएपछि अध्यक्ष कायलले नेपाल र भारतबीचको व्यापार, लगानी, व्यावसायिक सहकार्य तथा ऊर्जा साझेदारी विस्तारलाई प्राथमिकता दिने बताएका छन् ।
कयालले आफूलाई विश्वास गरेर जिम्मेवारी सुम्पिने संघका सदस्यहरूप्रति आभार व्यक्त गर्दै नेपाल–भारत आर्थिक सम्बन्धलाई थप सुदृढ बनाउन काम गर्ने बताएका छन् ।
कयालका अनुसार उनको कार्यकालको मूल नारा ‘आर्थिक क्षितिजको विस्तार ः द्विपक्षीय व्यापार, लगानी र ऊर्जा रूपान्तरणलाई गति’ रहेको छ । यस नाराअनुसार दुई देशबीचको व्यापारिक सम्बन्ध विस्तार, लगानीका नयाँ अवसरको खोजी र ऊर्जा क्षेत्रमा सहकार्य बढाउने योजना रहेको उनले उल्लेख गरेका छन् ।
उनले व्यावसायिक क्षेत्रबीचको सम्पर्क विस्तार, नीतिगत विषयमा रचनात्मक संवाद र सीमापार सहकार्यलाई प्राथमिकता दिने बताएका छन् । यसबाट संघका सदस्यका साथै नेपाल र भारत दुवै देशको अर्थतन्त्रले लाभ लिन सक्ने उनको अपेक्षा छ ।
नेपाल-भारत उद्योग वाणिज्य संघले दुई देशबीच व्यापार तथा लगानी प्रवद्र्धन, निजी क्षेत्रबीच सहकार्य विस्तार र आर्थिक सम्बन्ध सुदृढ बनाउन भूमिका खेल्दै आएको छ । नयाँ नेतृत्वले व्यापार, लगानी र ऊर्जा साझेदारीलाई थप प्रभावकारी बनाउने लक्ष्य अघि सारेको छ ।