शंकर र अम्बे ग्रुपको लगानी रहेको रिद्धिसिद्धिले ४ अर्बको सिमेन्ट बेच्यो

काठमाडौं । शंकर ग्रुप र अम्बे ग्रुपको मुख्य लगानी रहेको रिद्धिसिद्धि सिमेन्टले ९ महिनामा ४ अर्ब रुपैयाँ बराबरको सिमेन्टको कारोबार गरेको छ । रिद्धिसिद्धि सिमेन्टले गत आर्थिक वर्ष २०८१÷८२ को ९ महिना (सन् २०२५) मा ३ अर्ब ९९ करोड ४० लाख रुपैयाँ बराबरको सिमेन्टको कारोबार गरेको हो ।  मकवानपुरको हेटौंडामा सन् २०१३ मा स्थापित रिद्धिसिद्धि सिमेन्टले सन् २०२४ मा ५ अर्ब ८१ करोड २० लाख रुपैयाँ बराबरको सिमेन्टको कारोबार गरेको थियो ।  यस्तै, सन् २०२३ मा ५ अर्ब ४६ करोड ७० लाख रुपैयाँ र सन् २०२२ मा ६ अर्ब ४८ करोड १० लाख रुपैयाँ बराबरको कारोबार गरेको जनाएको छ ।  कम्पनीले सन् २०२१ मा ६ अर्ब ३७ करोड रुपैयाँ र सन् २०२० मा १ अर्ब ७९ करोड ३० लाख रुपैयाँको सिमेन्टको कारोबार गरेको थियो ।  क्लिंकर र सिमेन्ट उत्पादन बिक्री वितरण गरिरहेको यस कम्पनीले वार्षिक ०.७३ मिलियन मेट्रिक टन सिमेन्ट उत्पादन क्षमता रहेको रहेको छ भने, ०.८४ मिलियन मेट्रिक टन क्लिंकर उत्पादन क्षमता छ । क्लिंकरको करिब ८४ प्रतिशत सिमेन्ट उत्पादन गर्छ । कम्पनीले बैंक तथा वित्तीय संस्थाबाट ११ अर्ब ९३ करोड ७५ लाख रुपैयाँ ऋण लिएको छ । जसमध्ये ८ अर्ब २५ करोड ५९ लाख रुपैयाँ दीर्घकालीन ऋण र ३ अर्ब ६६ करोड १५ लाख रुपैयाँ अल्पकालीन ऋण लिएको छ ।  दीर्घकालीन ऋणका लागि रेटिङ एजेन्सी इन्फोमेरिक्सले त्रीपल बी माइनस रेटिङ र अल्पकालीन ऋणका लागि एथ्री रेटिङ प्रदान गरेको छ । त्रिपल बी माइनस रेटिङले वित्तीय दायित्व समयमै भुक्तानी गर्न मध्यम स्तर र एथ्री रेटिङले वित्तीय दायित्व भुक्तानीमा मध्यम स्तरको सुरक्षा रहेको संकेत गर्छ ।

नेपाल उद्योग परिसंघमा १९ वटा समिति गठन, सभापति एवं उपसभापतिको मनोनयन

काठमाडौं । नेपाल उद्योग परिसंघले क्षेत्रगत रूपमा काम गर्ने गरी विभिन्न १९ वटा समिति, काउन्सिल, फोरम गठन गरेको छ ।  परिसंघले गठन गरेको समितिहरुमा उद्योग समिति, राजश्व समिति, मेक इन नेपाल स्वदेशी समिति, ग्लोबल बिजनेस तथा डायस्पोरा समिति, पूर्वाधार समिति, बैंकिङ तथा फाइनान्स समिति, पर्यटन समिति, कृषि तथा म्याप समिति, प्रदेश तथा जिल्ला समन्वय समिति, सदस्यता समिति, उत्पत्तिको प्रमाणपत्र समिति, शिक्षा तथा सीप समिति, स्वास्थ्य परिषद् रहेका छन् ।  यसैगरी, रोजगारदाता परिषद, उर्जा विकास परिषद्, सूचना प्रविधि परिषद्, सीईओज् फोरम, महिला नेतृत्व फोरम, स्टार्टअप तथा युवा उद्यमी मञ्च गठन गरिएको छ ।  परिसंघले समितिहरुको सभापति तथा उपसभापतिहरुको चयन समेत गरेको छ । आइतबार परिसंघ सचिवालयमा आयोजित कार्यक्रममा परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले गठित समिति, काउन्सिल तथा फोरमका सभापति तथा उपसभापतिहरूलाई मनोनयन पत्र प्रदान गरे ।  सो अवसरमा अध्यक्ष पाण्डेले सरकार एवं नियामक निकायहरुलाई स्पष्ट नीतिगत सुझाव दिन,  उद्यमीहरुको प्रवर्द्धन गर्दै मुलुकको समग्र आर्थिक विकासका लागि समितिहरुले जिम्मेवारीपूर्वक काम गर्ने विश्वास व्यक्त गरे ।  उनले समितिहरूको सहयोगमा परिसंघले आगामी दुई वर्ष प्रभावकारी रूपमा काम गर्ने बताए । उद्योग समिति सभापतिमा राहुल अग्रवाल र उपसभापतिमा गुरु अधिकारी, राजश्व समिति सभापतिमा गोपाल अग्रवाल, उपसभापतिमा दिपक कुमार अग्रवाल र शेषमणी दहाल, कृषि तथा म्याप समिति सभापतिमा हितेश गोल्छा, मेक इन नेपाल स्वदेशी समिति सभापतिमा प्राशी अग्रवाल, उपसभापतिमा विदूषी राणा, ग्लोबल बिजनेस तथा डायस्पोरा समिति सभापतिमा चन्द्र चण्डन र उपसभापतिमा वर्ण न्यौपाने, पूर्वाधार समिति सभापतिमा रामकृष्ण खतिवडा र उपसभापतिमा बसन्त चन्द, बैंकिङ तथा फाइनान्स समिति सभापतिमा वरुण कुमार तोदी, पर्यटन समिति सभापतिमा पम्फा धमला, उपसभापतिमा अशोक पोखरेल र रोमी अर्याल, प्रदेश तथा जिल्ला समन्वय समिति सभापतिमा लेखराज पोखरेल र उपसभापतिमा पवन कुमार शारडा, सदस्यता समिति सभापतिमा गौरव शारडा, उत्पत्तिको प्रमाणपत्र समिति सभापतिमा आकाश गोल्छा, शिक्षा तथा सीप समिति सभापतिमा आषिश जजोडिया, उपसभापतिमा यश अग्रवाल, स्वास्थ्य समिति सभापतिमा मनिष खेम्का, उपसभापतिमा आशिष अग्रवाल चयन भएका छन् । यसैगरी, रोजगारदाता परिषद् सभापतिमा धु्रब रिजाल, उर्जा विकास परिषद् सभापतिमा आशिष गर्ग, उपसभापतिमा सन्जीव न्यौपाने, सूचना प्रविधि परिषद् सभापतिमा सन्जय गोल्छा, सीइओज् फोरम सभापति हरकिरत सिंह बेदी, महिला नेतृत्व फोरम सभापतिमा विदूषी राणा, उपसभापतिमा आश्रयता कार्की, स्टार्टअप तथा युवा उद्यमी मञ्च सभापतिमा अनुराग गोयल, उपसभापतिमा आशिष अग्रवाल चयन भएका छन् । सो कार्यक्रममा परिसंघका उपाध्यक्ष रोहित गुप्ता, गोकुल भण्डारी, पदाधिकारी सदस्य सन्दिप शारडा, प्राशी अग्रवाल, विदूषी राणा, महानिर्देशक डा. घनश्याम ओझालगायत सहभागी थिए ।

विद्युतीय फोहर तीनगुना बढ्यो, कानुनको अभावमा फोहर व्यवस्थापनमा समस्या

काठमाडौं । विद्युत् र इन्धन प्रयोग गरी सञ्चालन गरिने उपकरणबाट निस्कने फोहर व्यवस्थापनमा कानुनी व्यवस्थाको खाँचो औँल्याइएको छ । विद्युतीय सामग्री उत्पादक कम्पनी र आयातकर्तालाई नै त्यस्ता सामग्री बिग्रिएपछि उत्पादन हुने फोहर व्यवस्थापनमा जिम्मेवार बनाउने कानुनी प्रावधान आवश्यक रहेको डोको रिसाइक्लर्स प्रालिका प्रमुख कार्यकारी निर्देशक पंकज पञ्जियारको तर्क छ । उत्पादककर्ताले बजारमा आफ्ना उत्पादन पठाएपछि निस्कने फोहर व्यवस्थापनको जिम्मेवारी सिद्धान्ततः सोही कम्पनीकै भएकाले बाध्यात्मक कानुनी व्यवस्थासहित उचित प्रबन्ध मिलाउन सरकारलाई डोको प्रालिको सुझाव छ । विद्युतीय मात्र नभई प्लास्टिकजन्य फोहर मानव स्वास्थ्य र वातावरणका हिसाबले हानिकारक मानिन्छ । कुनै प्लास्टिक उद्योगले नेपालमा पाँच हजार टन उत्पादन गरेमा त्यसको पुनःप्रशोधन वा नष्ट गर्नेसम्मको जिम्मेवारी सोही कम्पनीको दायित्व रहने कानुनी प्रावधान हुनुपर्ने वातावरण संरक्षणकर्मीको धारणा छ । उचित व्यवस्थापनको जिम्मा उत्पादक कम्पनीलाई दिँदा ठूलो दायित्व नपर्ने उनीहरुको भनाइ छ । विद्युतीय फोहरबाट वातावरण संरक्षणमा प्रत्यक्ष असर परिरहेको अवस्थामा कानुनी प्रावधानसहित व्यवस्थापनसम्बन्धी कानुनी व्यवस्था गर्न सकिएमा वातावरण संरक्षणमा सहयोग पुग्ने विश्वास गरिएको छ । डोको रिसाइक्लर्सलगायत कम्पनीले ‘नयाँ धारणा, स्वच्छ सपनाः फोहर छुट्याउने हाम्रो चाहना’ नाराका साथ फोहर व्यवस्थापन अभियान सञ्चालन गर्दै आएका छन् । नेपालमा यस विषयमा बहस सुरु भए पनि त्यसले कानुनीस्वरुप पाउन नसकेकाले अझै चुनौतीपूर्ण रहेको डोकोका निर्देशक पञ्जियारले बताए । हालसम्म आफूखुसी यस्ता कार्यक्रम गरिए पनि कानुनी प्रावधानसहितको आवश्यक प्रबन्ध मिलाउने दायित्व सरकारको भएको उनको भनाइ छ । संस्थाले पोखरामासमेत अभियान सञ्चालन गरेको छ । डोकोले फोहर सङ्कलन गरी भक्तपुरको सानोठिमी र सल्लाघारीस्थित प्रशोधन केन्द्रबाट विद्युतीय फोहर छुट्याएर व्यवस्थापन गर्दै आएको छ । ती फोहरबाट आम्दानीसमेत गरिएको छ । विसं २०७४ देखि विद्युतीय फोहर सङ्कलन गर्दै आएको उक्त संस्थाले वातावरण संरक्षणमा हानिनोक्सानी नपुग्ने गरी फोहर विसर्जन गर्दै आएको छ । विद्युतीय फोहर प्रतिकिलो रु १५ का दरले सङ्कलन गरी पुनःप्रयोग गर्न सकिनेलाई उद्योगमै पठाउने गरिएको छ । सो संस्थाले सन् २०१३ मा काठमाडौं उपत्यकाबाट ३५० टन विद्युतीय फोहर सङ्कलन र प्रशोधन तथा एक हजार ६०० टन काजग, सिसा, फलामजस्ता फोहर व्यवस्थापन गरेको जनाएको छ। त्यसबाट ८० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । नेपालमा १० वर्षअघि १३ हजार टन विद्युतीय फोहर रहेकामा हाल वृद्धि भइ ४२ हजार टनसम्म पुगेको संस्थाको अनुमान छ । ‘यो औपचारिक रेकर्डसहितको तथ्याङ्क हो । दश वर्षमा तीन गुणासम्म फोहर बढिरहेको छ। अहिले मूल्यवान कबाडीजन्य सामग्री मात्र सङ्कलन गरी लैजाने गरिएकामा सबै फोहर उत्पादन कम्पनीले लैजाने व्यवस्था मिलाउनुपर्छ,’ निर्देशक पञ्जियारले भने । डोकोबाहेक अन्य कम्पनीले हेटौँडा र विराटनगरमा विद्युतीय फोहर सङ्कलन सुरु गरेको छ । प्राक्टिकल एक्सन नेपाल प्रोजेक्ट म्यानेजर रवीन श्रेष्ठका अनुसार विद्युतीय चुलोको प्रयोग अवधि सकिएपछि त्यसको व्यवस्थापनका लागि डोको रिसाइकल र हिम इलेक्ट्रोनिक्ससँगको सहकार्यमा वातावरणमैत्री फोहर विसर्जन र पुनःप्रयोग अघि बढाइएको छ । ‘सरकारले प्रभावकारी कानुनी प्रबन्ध गरी वातावरणमैत्री फोहर विसर्जन आवश्यक छ,’ उनले भने । नेपाल फूलबारी वेष्ट थ्रि आर सोलुसन कन्ट्रोल सर्भिस प्रालिका सूचना अधिकृत अर्जुन खत्रीले प्रत्येक घरबाट सङ्कलित फोहरबाट जैविक र अजैविक छुट्याएर व्यवस्थापन गर्ने गरिएको जानकारी दिए । सङ्कलित फोहरमध्ये ६० प्रतिशत जैविक र त्यसमध्ये पनि ३५ फोहर पशुजन्य आहारका रुपमा प्रयोग गर्ने गरिएको छ । सिसा, धारिला वस्तु, टुटेफुटेका सेरामिकलगायत अजैविक फोहर टुक्रा बनाएर सडक ग्राभेलका क्रममा खाल्डाखुल्डीमा पुर्ने गरिएको जानकारी दिँदै उनले कागज, विद्युतीय सामग्री, प्लास्टिकलगायत फोहर पुनःप्रयोगका लागि कच्चापदार्थका रुपमा उद्योगमा पठाउने गरिएकाले आयआर्जनको गतिलो स्रोत बनेको बताए । रासस