एक वर्षमा एक हजार ७९ घरेलु तथा साना उद्योग थपिए
भद्रपुर । जिल्लामा गत आर्थिक वर्ष २०८१/८२ मा एक हजार ७९ वटा नयाँ घरेलु तथा साना उद्योग दर्ता भएका छन् । घरेलु तथा साना उद्योग कार्यालयका सूचना अधिकारी जानकी भट्टराईका अनुसार सो अवधिमा कार्यालयमा उद्योगतर्फ पाँच सय ८१ र वाणिज्यतर्फ चार सय ९८ फर्म दर्ता भएका हुन् । सोही अवधिमा जिल्लामा उद्योगतर्फ एक हजार छ सय नौ र वाणिज्यतर्फ एक हजार छ सय ६५ उद्योग नवीकरण गरिएको उनले बताए । सूचना अधिकारी भट्टराईका अनुसार जिल्लामा आव २०८१/८२ मा उद्योगतर्फ तीन सय २४ र वाणिज्यतर्फ दुई सय ३७ गरी पाँच सय ६१ उद्योग खारेज हुँदा ५८ उद्योगको ठाउँसारी तथा एक सय ५२ उद्योगले उद्देश्य थपेका छन् । कार्यालयमा आएर उद्योग बन्द गराउनेको सङ्ख्या कम रहे पनि नवीकरण नभएका धेरै उद्योग बन्द भइसकेका सूचना अधिकारी भट्टराईले बताए । उद्योग बन्द हुनेभन्दा नयाँ थपिने क्रम बढ्दै गएको छ । कार्यालयले आव २०८१र८२ मा विभिन्न शीर्षकमा रु दुई करोड ९१ लाख ५० हजार राजस्व सङ्कलन गरेको छ ।
उद्योग परिसंघ र गृहमन्त्रीबीच छलफल, अवैध कारोबार रोक्न माग
काठमाडौं । नेपाल उद्योग परिसंघले पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र गृह मन्त्री रमेश लेखकसँग छुट्टा छुट्टै छलफल गरेको छ । परिसंघका नवनिर्वाचित अध्यक्ष वीरेन्द्रराज पाण्डे नेतृत्वको परिसंघ पदाधिकारीहरुसँगको छलफलमा पूर्व प्रधानमन्त्री प्रचण्डले निजी क्षेत्रसँग बलियो सहकार्य नगरेसम्म अर्थतन्त्र बलियो नहुने बताए । उनले आफू प्रधानमन्त्री हुँदा वा नहुँदा पनि निजी क्षेत्रका मुद्धाहरुलाई उच्च प्राथमिकता दिएको बताए । रिसर्च केन्द्रित तथ्यपरक सुझावका कारण परिसंघ सक्षम संस्था बनेको पूर्व प्रधानमन्त्री प्रचण्डले बताए । परिसंघका नवनिर्वाचित अध्यक्ष पाण्डेले परिसंघले आगामी एक दशकमा मुलुकको अर्थतन्त्रको आकार १०० अर्ब डलर र दोहोरो अंकको आर्थिक बृद्धि गराउने लक्ष्यका साथ काम गर्न लागेको बताए । यो लक्ष्य हासिल गर्न ८ वटा क्षेत्रलाई केन्द्रमा राख्नुपर्ने प्रारम्भिक अध्ययनले देखाएको बताउँदै उनले सरकार, राजनीतिक दलहरुले कानुनी एवं नीतिगत सुधारलाई उच्च प्राथमिकतामा राख्नुपर्ने बताए । यसैगरी गृह मन्त्री लेखकसँगको छलफलमा सीमा क्षेत्रमा हुने अवैध कारोबार रोक्न प्रभावकारी कदम चाल्न आग्रह गरिएको छ । अवैध कारोबारले स्वदेशी उद्योगहरु प्रभावित हुनुका साथै त्यसको असर सरकारको राजश्वमा समेत परेको परिसंघका अध्यक्ष पाण्डेले बताए । गृहमन्त्री लेखकले नेपाल र भारत सरकारका गृह सचिवस्तरिय बैठकले सीमा क्षेत्रमा हुने अवैध कारोबार रोक्ने उपायका विषयमा छलफल गर्ने बताए । साथै उहाँले अवैध आयात नियन्त्रण, पर्यटकहरुलाई सहज रुपमा आउने वातावरण बनाउन मन्त्रालय प्रतिबद्ध रहेको बताए । गृह मन्त्रीसँगको छलफलमा प्रहरी प्रमुख दिपक थापा समेत थिए । छलफलमा परिसंघका निवर्तमान अध्यक्ष राजेश कुमार अग्रवाल, उपाध्यक्षहरु राज बहादुर शाह, हेम राज ढकाल, भीम घिमिरे, गोकुल भण्डारी, पदाधिकारी सदस्य सन्दीप शारडा, महानिर्देशक डा. घनश्याम ओझालगायत सहभागी थिए ।
प्रधानमन्त्री ओली र उद्योग परिसंघबीच छलफल, स्वदेशी उत्पादनमार्फत औद्योगिकीकरणमा जोड
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल उद्योग परिसंघबीच छलफल भएको छ । परिसंघका नवनिर्वाचित अध्यक्ष वीरेन्द्रराज पाण्डे नेतृत्वको परिसंघ पदाधिकारीहरुसँगको छलफलमा प्रधानमन्त्री ओलीले देशलाई उत्पादनको थलो बनाई औद्योगिकरणमा लैजान आवश्यक रहेको बताए । सामान आयात गरी नाफा आर्जन गर्नेतर्फ भन्दा देशमै उत्पादन बढाई निर्यात गर्नेतर्फ ध्यान दिनुपर्ने प्रधानमन्त्री ओलीले बताए । सरकारले कानुनी एवं नीतिगत सुधार गर्दै निजी क्षेत्रलाई प्रोत्साहन गर्न खोजिरहेको उनले उल्लेख गरे । भान्सामा प्रयोग हुने वस्तुदेखि अन्य वस्तुहरु नेपाली होस् भन्ने आफ्नो चाहना रहेको उनले बताए । स्वदेशी वस्तु उत्पादन र प्रयोगले मात्रै आयात प्रतिस्थापन गर्न सक्ने प्रधानमन्त्रीले बताए । परिसंघका नवनिर्वाचित अध्यक्ष पाण्डेले परिसंघले सरकारसँगको सहकार्यमा आयात प्रतिस्थापन गर्ने उद्देश्यले मेक इन नेपाल स्वदेशी अभियान संचालन गरिरहेको बताए । परिसंघले आगामी एक दशकमा मुलुकको अर्थतन्त्रको आकार १०० अर्ब डलर र दोहोरो अंकको आर्थिक बृद्धि गराउने लक्ष्य राखेको र यसका लागि ८ वटा क्षेत्रलाई केन्द्रमा राख्नुपर्ने प्रारम्भिक अध्ययनले देखाएको बताए । यसका लागि सरकारले कानुनी एवं नीतिगत सुधारलाई उच्च प्राथमिकतामा राख्ने विश्वास उनले राखे । यसैगरी परिसंघको नवनिर्वाचित पदाधिकारीले सभामुख देवराज घिमिरेसँग भेट गरी निजी क्षेत्रको लगानी प्रबद्र्धन गर्ने गरी कानुनहरु ल्याउन आग्रह गरेको छ । परिसंघले उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारी, भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्का, सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलसँग छुट्टा छुट्टै भेट गरी अर्थतन्त्रको वर्तमान अवस्था, कानुनी एवं नीतिगत सुधार, बजेटको प्रभावकारी कार्यान्वयनलगायतका विषयमा छलफल गरेको छ । छलफलमा उद्योग मन्त्री भण्डारीले सरकारलाई परिसंघले अध्ययन गरेर स्पष्ट रुपमा सुझाव दिने गरेको भन्दै आगामी दिनमा पनि त्यसरिनै सुझाव प्राप्त हुने विश्वास व्यक्त गरे । उनले निजी क्षेत्रको मनोबल बढाउन अझै धेरै काम गर्नुपर्ने भन्दै सरकारले कानुनी तथा नीतिगत सुधारलाई प्राथमिकतामा राख्दै आएको बताए । मन्त्री भण्डारीले औद्योगिक पूर्वाधार निजी क्षेत्रले बनाउनुपर्नेमा समेत जोड दिए । भौतिक पूर्वाधार तथा यातायात मन्त्री दाहालले मन्त्रालयले गत आर्थिक वर्षमा पूँजीगत खर्च बढाउन सफल भएको भन्दै समग्र आर्थिक विकासका लागि आवश्यक नीति निर्माणका लागि मन्त्रालय सहकार्य गर्न तयार रहेको बताए । उर्जा मन्त्री खड्काले उर्जा विकासका लागि नीतिगत सुधार गर्न चाहिरहेको बताए । उनले विद्युत व्यापारका लागि निजी क्षेत्रलाई समेत खुला गर्ने तयारी सरकारले गरिरहेको बताए । छलफलमा उपाध्यक्षहरु राज बहादुर शाह, हेम राज ढकाल, अमित मोर, भीम घिमिरे, गोकुल भण्डारी, पदाधिकारी सदस्य सन्दीप शारडा, महानिर्देशक डा. घनश्याम ओझालगायत सहभागी भए ।