आगामी दशकमा १०० अर्ब डलरको अर्थतन्त्र निर्माण गर्न उद्योग परिसंघको पहल

काठमाडौं । नेपाल उद्योग परिसंघ र उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलबीच छलफल भएको छ । परिसंघका नवनिर्वाचित अध्यक्ष वीरेन्द्रराज पाण्डे नेतृत्वको परिसंघ पदाधिकारीहरुले बुधबार अर्थ मन्त्रालयमा छलफल गरेका हुन् ।  परिसंघका नवनिर्वाचित अध्यक्ष पाण्डेले सरकारले उत्पादन प्रोत्साहन गर्ने गरी बजेट ल्याएको र बजेटलाई सहयोग गर्ने गरी मौद्रिक नीति आएकाले अर्थतन्त्रमा सुधार हुने अपेक्षा निजी क्षेत्रले राखेको बताए । उनले परिसंघले आगामी एक दशकमा मुलुकको अर्थतन्त्रको आकार १०० अर्ब डलर र दोहोरो अंकको आर्थिक बृद्धि गराउने लक्ष्य राखेको र यसका लागि ८ वटा क्षेत्रलाई केन्द्रमा राख्नुपर्ने प्रारम्भिक अध्ययनले देखाएको जानकारी दिए ।  १०० अर्ब डलरको अर्थतन्त्र एवं दोहोरो अंकको आर्थिक बृद्धि कसरी हासिल गर्न सकिन्छ भन्ने सम्बन्धमा विस्तृत अध्ययन सुरु गरेको जानकारी समेत उनले गराए । अध्यक्ष पाण्डेले उच्चस्तरिय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदन कार्यान्वयन गर्न, चोरी पैठारी नियन्त्रणका लागि कठोर बन्न एवं उधारो उठाउने ऐन ल्याउन आग्रह गरे ।  सो अवसरमा अर्थमन्त्री पौडेलले नवनिर्वाचित समितिलाई बधाई दिँदै परिसंघले उठाएका विषयलाई गम्भिरतापूर्वक लिएको बताए । उच्चस्तरिय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदनलाई सरकारले अपनत्व लिएको र कार्यान्वयन प्रक्रियामा लगिसकेको बताए । चरणवद्ध रुपमा अगाडि बढाउनुपर्ने सुझावहरुलाई सोही अनुरुप अगाडि बढाइने उनले बताए । अवैध कारोबारका कारण सबैभन्दा ठूलो असर सरकारको राजस्वमा परेको भन्दै उनले सीमा क्षेत्रमा कडाई गर्नुपर्ने बताए । मन्त्री पौडेलले आर्थिक वर्ष २०८२/८३ सालको बजेट कार्यान्वयनमा पनि रचनात्मक भूमिका खेल्न आग्रह गरे ।  अर्थमन्त्रीसँगको छलफलमा निवर्तमान अध्यक्ष राजेशकुमार अग्रवाल, उपाध्यक्षहरु राज बहादुर शाह, रोहित गुप्ता, अमित मोर, पदाधिकारी सदस्य विदूषी राणा, महानिर्देशक डा. घनश्याम ओझालगायत सहभागी थिए ।   

पूर्व गृहमन्त्री खाँणलाई व्यापार संघले बुझायो ज्ञापन पत्र, उद्योगमैत्री नीति र कर सुधारको माग

काठमाडौं । मोरङ उद्योग व्यापार संघको एक प्रतिनिधिमण्डलले पूर्व गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणलाई भेट गरी उद्योगी-व्यवसायीका समस्याबारे ज्ञापनपत्र बुझाएको छ । संघका निवर्तमान अध्यक्ष नवीन रिजाल, पूर्व अध्यक्ष पवन कुमार सारडा, वरिष्ठ उपाध्यक्ष अनिल कुमार साह लगायतको टोलीले बुधबार खाँणलाई भेट गरी आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट तथा मौद्रिक नीति उद्योगमैत्री भए पनि अझ सुधार आवश्यक रहेको धारणा राख्दै ज्ञापनपत्र हस्तान्तरण गरेको हो । ज्ञापनपत्रमा बीमा क्षेत्रमा रहेको अत्यधिक प्रिमियम दर न्यूनीकरण, कवाडीजन्य फलामको धुलो र सिसाको टुक्राको निर्यातमा लाग्ने भन्सार महसुल खारेज, एमएस वायर रडमा गरिएको भन्सार महसुल वृद्धिको पुनरावलोकन, अति आवश्यक सुतिका कपडामा लाग्दै आएको मूल्य अभिवृद्धि कर खारेजजस्ता माग समावेश छन् । त्यसैगरी, सुनका गहना तथा बहुमूल्य पत्थर जडित गहनामा लगाइएको २ प्रतिशत विलासिता कर र १३ प्रतिशत मूल्य अभिवृद्धि कर खारेज गर्नुपर्ने माग पनि संघले राखेको छ । भेटमा संघका वाणिज्य उपाध्यक्ष अनिल सारडा, महासचिव संजय कुमार श्रेष्ठ, कार्यसमिति सदस्य, आमन्त्रित सदस्य र महिला उद्यम समिति सदस्यहरूको पनि उपस्थिति थियो ।

मङ्गलम इन्डष्ट्रिजमा अवसर इक्विटी फण्डले ३८ करोड लगानी गर्ने

काठमाडौं । मङ्गलम इण्डष्ट्रिज लिमिटेडमा अवसर इक्विटी डाइभर्सिफाइड फण्डले झण्डै ३८ करोड रुपैयाँ बराबरको रणनीतिक लगानी गर्ने भएको छ । सो लगानीबाट कम्पनीलाई आफ्ना कार्यसञ्चालन प्रक्रियाहरूको सुदृढीकरण गर्न, उत्पादनमा नवप्रवर्तन ल्याउन तथा नेपाल र बाहिरी बजारमा आफ्नो उपस्थितिलाई विस्तार गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेको छ । कम्पनीले उक्त लगानी मूख्यतः कम्पनीको वित्तीय अवस्थालाई थप मजबुत गर्न, तथा दिगोपनका साथै उत्कृष्टताको दिशामा अझ प्रतिबद्ध हुन प्रयोग गर्ने जनाएको छ । ‘हामी अवसर इक्विटी डाइभर्सिफाइड फण्डलाई हाम्रो रूपान्तरण यात्रामा रणनीतिक साझेदारको रूपमा स्वागत गर्न पाउँदा खुशी छौँ,’ मङ्गलम इन्डस्ट्रिजका प्रमुख कार्यकारी अधिकृत अभिनव चुरिवालले भने, ‘यो लगानीले कर्मचारी, डिलर, ग्राहक तथा सम्पूर्ण सरोकारवालका लागि उत्प्रेरणा प्रदान गरेको छ ।’ फण्डसँगको सहकार्यमार्फत कम्पनीले नयाँ अवसरहरूको अन्वेषण गर्ने र नवप्रवर्तन तथा गुणस्तरका नयाँ मापदण्ड तय गर्ने अपेक्षा राखेको जनाएको छ । मङ्गलम इण्डष्ट्रिजले सिपिभिसी पाइप र फिटिङ्स उत्पादन तथा प्लम्बिङ, ड्रेनेज, फोहोर पानी र वर्षा पानी व्यवस्थापनलगायतका काम गर्दै आएको छ । अवसर इक्विटी डाइभर्सिफाइड फण्ड नेपालकै पहिलो स्वदेशी निजी इक्विटी फण्ड हो । जुन विशिष्टिकृत लगानी कोष नियमावली, २०७५ अन्तर्गत दर्ता भएको छ ।