पर्सा जिल्लामा नयाँ उद्योग दर्ताको संख्या २२ प्रतिशतले वृद्धि

काठमाडौं । नेपालको मुख्य व्यापारिक नाका पर्सा जिल्लामा पुराना उद्योगको लगत कट्टा गराउने भन्दा नयाँ उद्योग दर्ता गराउनेको संख्या बढ्दै गएको छ ।  देशको अर्थतन्त्रमा सुधार भई व्यापारको वातावरण निर्माण हुँदै गएपछि जिल्लामा नयाँ उद्योग दर्ता गराउनेको संख्या २२ प्रतिशतले बढेको हो ।  लगत कट्टा गराउनेको संख्या १३ प्रतिशतले बढेको छ । पहिले कोरोना महामारी र त्यसपछि आएको वैश्विक आर्थिक मन्दीले थला परेकोे राष्ट्रिय अर्थतन्त्रमा क्रमिक सुधार हुँदै देशमा उद्योग व्यापारको वातावरण निर्माण भएपछि पर्सामा नयाँ उद्योग दर्ता गराउनेको संख्या बढेको छ ।  आर्थिक वर्ष २०८०/०८१ को तुलनामा आर्थिक वर्ष २०८१/०८२ मा नयाँ उद्योग दर्ताको संख्या २२ प्रतिशले वृद्धि भएको छ । घरेलु तथा साना उद्योग कार्यालय पर्साले उपलब्ध गराएको तथ्यांकअनुसार अघिलो आर्थिक वर्षमा उद्योगतर्फ ८ सय ९७ वटा र वाणिज्य तर्फ ५ सय १५ वटा गरी १ हजार ४ सय १२ वटा नयाँ उद्योग दर्ता भएको तुलनामा गत आवमा उद्योगतर्फ ९ सय ६३ वटा र वाणिज्यतर्फ ७ सय ५८ वटा नयाँ उदोग दर्ता भएका छन् ।  समीक्षा अवधिको तुलनामा गत आवमा २१.८८ प्रतिशत बढी अर्थात ३ सय ९ वटा उद्योग बढी दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालय पर्साका प्रमुख पवन पञ्जियारले जानकारी दिए । उनले आर्थिक मन्दीको प्रभाव घट्दै गएकाले मुलुकमा उद्योग व्यापारको वातावरण बन्दै गएपछि जिल्लामा नयाँ उद्योग दर्ता गराउने क्रम बढ्दै गएको बताए ।  पर्सामा नयाँ उद्योग दर्ता गराउने क्रम बढेसँगै दर्ता रहेको उद्योगको नवीकरण गरउनेको संख्यामा समेत ३७ प्रतिशले वृद्धि भएको छ । अघिलो आर्थिक वर्षमा २ हजार १ सय ९२ वटा उद्योगले नवीकरण गराएको तुलनामा गत आवमा नवीकरण गराउने संख्या २ हजार ९ सय ९०  पुगेको प्रमुख पञ्जियारले बताए ।  नयाँ उद्योग दर्ता र नवीकरण गरउनेको संख्यामा वृद्धि देखिएपनि पुराना उद्योगको लगत कट्टा गराउनेको संख्या समेत उच्चरहेको प्रमुख पञ्जियारले जानकारी दिए । उनले अघिलो आर्थिक वर्षमा लगत कट्टा गराउने उद्योगको संख्या ४ सय १३ रहेको तुलनामा गत आवमा उक्त संख्या ४ सय ६५ पुगेको बताए । समीक्षा अवधिको तुलनामा लगत कट्टा गराउनेको संख्या १३ प्रतिशतले बढेको कार्यालयले जनाएको छ । अघिलो आर्थिक वर्षमा दर्ता भएको उद्योगले ३ हजार ९ सय ४१ जना महिला र पुरुषलाई रोजगारी प्रदान गरेकाे तुलनामा गत आवमा दर्ता भएका उद्योगले २ हजार ८ सय ९८ जना महिला र पुरुषलाई रोजगारी प्रदान गरेको कार्यालयका प्रमुख पञ्जियारले जानकारी दिए ।

नवनिर्वाचित सीएनआई पदाधिकारी र शिक्षा मन्त्रीबीच छलफल

काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई)  र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तबीच छलफल भएको छ । परिसंघका नवनिर्वाचित पदाधिकारीसँगको छलफलमा परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले सीपयुक्त जनशक्ति उत्पादनमा ध्यान दिनुपर्ने बताए ।  उनले परिसंघले उद्योगसँग शिक्षा र सीपलाई आबद्ध गर्न खोजिरहेको भन्दै त्यसका लागि नीतिगत सुझाव दिन एवं गतिविधि गर्न परिसंघमा शिक्षा तथा सीप समिति गठन गरेको बताए ।  अध्यक्ष पाण्डेले परिसंघले शिक्षालाई उद्योगसँग जोड्ने मुख्य उद्देश्यसहित नेपालका विभिन्न विश्वविद्यालयहरूसँग समझदारी गरेको जानकारीसमेत गराए । सो अवसरमा शिक्षा मन्त्री पन्तले उत्पादनसँग तालमेल हुने गरी शिक्षालाई जोड्न आवश्यक रहेको भन्दै सो कार्यलाई सरकारले उच्च प्राथमिकता दिएको बताए ।  उनले शिक्षामा निजी क्षेत्रको सहभागिता अनिवार्य रहेको उल्लेख गर्दै यसलाई उत्पादनसँग समेत जोड्न निजी क्षेत्रसँगको सहकार्यलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरे । छलफलमा परिसंघका पदाधिकारी सदस्य सन्दिप शारडा, महानिर्देशक डा. घनश्याम ओझालगायत सहभागी थिए ।

कजारियाको नयाँ शोरूम बनेपामा उद्घाटन, प्रिमियम टायल्स अब काभ्रेपलान्चोकमै उपलब्ध

काठमाडौ । कजारिया टायल्सले अब काभ्रेपलान्चोकमा पनि विस्तार गरेको छ । बनेपा नगरपालिका–८ उग्रचण्डी पेट्रोल पम्प पछाडि मार्भल प्यालेसद्वारा सञ्चालित अत्याधुनिक शोरूमको उद्घाटन एक समारोहबीच सम्पन्न भयो । शोरूमको उद्घाटन प्रमुख अतिथि बनेपा नगरपालिकाका प्रमुख शान्ति रत्न शाक्य तथा कजारिया रमेश टाइल्स लिमिटेडका राष्ट्रिय सेल्स प्रबन्धक अभ्यास भुषण तिवारीको विशेष उपस्थितिमा रिबन काटेर गरिएको थियो । कार्यक्रममा स्थानीय व्यापारी, व्यवसायी र समाजसेवीहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख शाक्यले भने, 'कजारिया जस्तो अन्तर्राष्ट्रियस्तरको ब्रान्ड बनेपामा सञ्चालनमा आउनु हाम्रो नगरको लागि अवसर र गौरव दुवै हो । यो शोरूमले न केवल उच्चस्तरीय टाइल्स उपलब्ध गराउनेछ, बरु निर्माण क्षेत्रमै नवीनतम डिजाइन र प्रविधि भित्र्याएर स्थानीय बजारमा नयाँ मापदण्ड स्थापित गर्नेछ।' कजारियाको यो नयाँ शोरूमले प्रिमियम टायल्सको विस्तृत संग्रह प्रदान गर्नेछ, जसमा ३ हजार भन्दा बढी आकर्षक डिजाइन विकल्पहरू उपलब्ध छन् । अत्याधुनिक प्रविधिबाट निर्मित यी टायल्स नेपालमै उत्पादन भएका हुन्, जसले उपभोक्तालाई गुणस्तरमा विश्वस्तरीय अनुभव दिने लक्ष्य लिएको छ । नेपालकै सबैभन्दा ठूलो टाइल उत्पादन प्लान्ट स्थापना गरेर कजारिया रमेश टाइल्स लिमिटेडले घरेलु उत्पादनमै नवप्रवर्तनको नयाँ इतिहास बनाएको छ । कम्पनीले आधुनिक डिजाइन्, दिगोपन, र ग्राहक सन्तुष्टिलाई प्राथमिकतामा राख्दै निर्माण सामग्री उद्योगमा आफ्नो नेतृत्व बलियो बनाइरहेको छ । शोरूम उद्घाटनसँगै कजारियाले नेपालभर प्रिमियम टायल्स सहज रूपमा उपलब्ध गराउने आफ्नो लक्ष्यमा थप एक महत्वपूर्ण उपलब्धि हासिल गरेको जनाएको छ ।