वार्षिक डेढ खर्ब रुपैयाँको भैँसीको मासु चीन निर्यात गर्ने, छेन्दु जियानलाई अनुमति

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ कम्पनी छेन्दु जियान फुड कम्पनीलाई नेपालमा भैँसीको मासु प्रशोधन उद्योग स्थापना गर्न स्वीकृति प्रदान गरिएको बताएका छन् । प्रधानमन्त्री ओलीले चीनको सिचुवान प्रान्त स्थित छेन्दु जियान फुड कम्पनीले मरिण गाउँपालिका-४ सिन्धुलीमा भैँसीको मासु प्रशोधन उद्योग स्थापना गर्न स्वीकृति प्रदान गरिएको बताए ।  उद्योग विभागबाट २० अर्ब रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानीको स्वीकृति पाएको उनको भनाइ छ ।  ‘गत मङ्सिरमा मेरो चीन भ्रमणमा भएको सम्झौताअनुसार छेन्दु जियान फुड कम्पनीले मारिण-४ मा भैँसीको मासु प्रशोधन उद्योग स्थापना गर्न उद्योग विभागबाट २० अर्ब रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानीको स्वीकृति पाएको छ । उद्योगले वार्षिक २ लाख मेट्रिक टन मासु र ५५ हजार मेट्रिक टन सहायक उत्पादन (छाला, भित्री अङ्ग, टाउको) उत्पादन गर्नेछ,’ प्रधानमन्त्री ओलीले भने ।  उनका अनुसार निर्यात र रोजगारी सिर्जनाका लागि यो महत्वर्ण हुनेछ । प्रधानमन्त्री ओलीले छेन्दु जियान फुड कम्पनीले ५ हजार १५६ जनालाई रोजगारी दिने र वार्षिक करिब डेढ खर्ब रुपैयाँको मासु चीन निर्यात गर्ने बताए । 

नयाँ उद्योग व्यवसाय दर्ता घट्दो, बन्द गर्ने क्रम बढ्दो

बागमती । पछिल्लो छ वर्षयता मकवानपुर जिल्लामा नयाँ उद्योग व्यवसाय दर्ता घट्दो र बन्द गर्ने क्रम बढ्दै गएको छ । मकवानपुरमा गत आर्थिक वर्ष २०८१/८२ मा उद्योगतर्फ ४१८ र वाणिज्यतर्फ २६० नयाँ उद्योग व्यापार दर्ता भएको छभने सो आवमा उद्योगतर्फ २८१ र वाणिज्यतर्फ ३६१ उद्योग व्यवसाय बन्द भएको उद्योग तथा वाणिज्य कार्यालय मकवानपुरका प्रमुख रामप्रसाद भुसालले जानकारी दिए । अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा उद्योगतर्फ ३६६ र वाणिज्यतर्फ ३३५ नयाँ उद्योग व्यापार दर्ता भएकामा उद्योगतर्फ २६८ र वाणिज्यतर्फ ३३६ उद्योग व्यापार बन्द भएको थियो ।  गत आर्थिक वर्ष २०७९/८० मा उद्योगतर्फ ५७९ र वाणिज्यतर्फ ४३० नयाँ उद्योग व्यापार दर्ता हुँदा उद्योगतर्फ र वाणिज्यतर्फका गरी २८३ वटा उद्योगको लगत कट्टा गरिएको थियो । यसअघि आव २०७८/७९ मा उद्योगतर्फ ७६७ र वाणिज्यतर्फ ७७० नयाँ दर्ता भएको थियो । सो आर्थिक वर्षमा उद्योगतर्फ र वाणिज्यतर्फ गरी ११० वटा उद्योग व्यापारको मात्र लगत कट्टा भएको थियो ।  आव २०७७/७८ मा उद्योगतर्फ ८२० र वाणिज्यतर्फ ८१० नयाँ उद्योग व्यापार दर्ता भएकामा सो आवमा उद्योगतर्फ र वाणिज्यतर्फ गरी ३४० को लगत कट्टा गरिएको सो कार्यालयको तथ्याङ्कले देखाएको छ । आव २०७६र७७ मा उद्योगतर्फ एक हजार ५३६ र वाणिज्यतर्फ एक हजार ५२५ नयाँ उद्योग व्यापार दर्ता भएको थियो । सो आवमा उद्योगतर्फ र वाणिज्यतर्फका गरी २४० उद्योग व्यापारको लगत कट्टा गरिएको थियो ।  यसरी पछिल्लो छ वर्षमा नयाँ उद्योग व्यापार दर्ता घट्दै जाँदा उद्योग व्यापार बन्द हुने क्रम बढ्दै गएको छ । विभिन्न निकायबाट अनुदान प्राप्त गर्न उद्योग व्यवसाय दर्ता गराउने र अनुदान पाइसकेपछि बन्द गर्ने प्रवृत्ति, छोराछोरीलाई विदेश पठाउन व्यावसायिक पुँजी देखाउन मात्र व्यापार व्यवसाय दर्ता गराउने र पछि छोराछोरी विदेश गएपछि व्यापार व्यवसाय बन्द गर्ने, व्यापार घाटा हुनु र उद्योग कार्यालयमा दर्ता भएपछि स्थानीय तहमा समेत दर्ता गराउनुपर्ने दोहोरो व्यवस्थाका कारण पनि उद्योग व्यापार दर्ताभन्दा बन्द गराउने क्रम बढेको प्रमुख भुसालको भनाइ छ ।  त्यसैगरी उद्योग तथा वाणिज्य कार्यालय मकवानपुरको राजस्व सङ्कलन पनि घटेको छ ।  सो कार्यालयका अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा विभिन्न शीर्षकमा दुई करोड ६० लाख ८० हजार ५७० रुपैयाँ राजस्व सङ्कलन भएको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ६१ लाख ६९ हजार ३०० रुपैयाँ कम राजस्व हो ।   सोही आवमा उद्योग र वाणिज्यतर्फको व्यवसायी दर्ता, नवीकरण, प्रतिलिपीलगायतका शीर्षकमा दुई करोड ६० लाख ८० हजार ५७० रुपैयाँ राजस्व सङ्कलन भएको कार्यालय प्रमुख भुसालले बताए ।  अघिल्लो आर्थिक वर्षमा २०८०/८१ मा विभिन्न शीर्षकमा सो कार्यालयले तीन करोड २२ लाख ४९ हजार रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको थियो । रासस

गुणस्तरीय दुग्धजन्य उत्पादनमा अध्यक्ष ढकालको जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले दुग्धजन्य उत्पादनलाई गुणस्तरीय बनाएर विश्व बजारमा पठाउनेतर्फ ध्यान दिनुपर्ने बताएका छन् । नेपाल डेरी एसोसएसनद्वारा मंगलबार आयोजित खीर प्रवद्र्धन कार्यक्रममा उनले कतिपय डेरी उत्पादन विदेशबाट आयात गर्नु परेको छ, अब स्वदेशी उद्योगले त्यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिए ।  कृषि प्रवर्द्धन गरेर ग्रामीण अर्थतन्त्र उकास्न सकिने उल्लेख गर्दै अध्यक्ष ढकालले अर्थतन्त्रको आधारस्तम्भका रूपमा रहेको कृषि तथा पशुपालन व्यवसायमा लगानी बढाउनुपर्ने बताए । महासङ्घको अगुवाइमा सरकारले निजी क्षेत्र–मैत्री कानुन निर्माण गरेको जनाउँदै उनले कतिपय कानुन कार्यान्वयन हुन नसक्दा निजी क्षेत्रले खुलेर व्यवसाय गर्न नसकेको गुनासो गरे ।  कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव डा. पशुपति ढुङ्गानाले कृषि तथा पशुपालक किसानका समस्या समाधान गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताए । एसोसिएनका अध्यक्ष प्रल्हाद दाहालले साना, मझौला र ठूला डेरी उद्योगका हकहितका बारेमा संस्थाले काम गर्दै आएको बताए । साउन १५ गते खीर खाने दिन देशभर करिब ८० लाख लिटर दूध खपत हुने र सो बापत करिब रु एक अर्ब ४० करोड रुपैयाँको कारोबार हुने एसोसिएसनको अनुमान छ ।