सागर डिष्टिलरीको आईपीओ बिक्री खुला, कति कित्ता आवेदन दिने ?

काठमाडौं । सागर डिष्टिलरीले आज भदौ ३० गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर बिक्री गरे पश्चात् अब सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले जारी पुँजी ७२ करोड ६० लाख रुपैयाँको २० प्रतिशत अर्थात् १४ करोड ५२ लाख रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १४ लाख ५२ हजार कित्ता सेयर बिक्री गरेको हो । जसमध्ये पहिलो चरणमा १० प्रतिशत अर्थात् १ करोड ४५ लाख २० हजार रुपैयाँको १ लाख ४५ हजार २ सय कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरिसकेको छ । साथै, ५ प्रतिशत अर्थात् ७२ हजार ६०० कित्ता सामूहिक लगानी कोष, ४३ हजार ५६० कित्ता कर्मचारीलाई छुट्याएर बाँकी रहेको ११ लाख ९० हजार ६४० कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि बिक्री गरेको हो । कम्पनीको आईपीओमा असोज २ गतेसम्म आवेदन दिन सकिनेछ । यदि सो अवधिभित्र पूर्ण आवेदन नपरेमा असोज १३ गतेसम्म लम्बिनेछ । कम्पनीको आईपीओमा लगानीकर्ताहरुले न्यूनतम् १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ । लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सीआस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट सीआस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् । इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन सिङ्गल बी प्लस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको समयमा वित्तीय दायित्व पुरा गर्न सक्ने अवस्थामा उच्च जोखिम रहेको संकेत गर्दछ ।

आगजनी भएका व्यवसायमा सस्तो ब्याजमा ऋण दिएर सहयोग गर्छौं : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले गत भदौ २४ गते सरकारी तथा निजी क्षेत्रमा भएको आगजनी र क्षतिप्रति दुःख व्यक्त गर्दै अब अघि बढ्न निजी क्षेत्रलाई राज्यले सहयोग गर्ने बताएकी छन् । आइतबार पदभार ग्रहणपछि सचिवहरुसँगको छलफलमा निजी क्षेत्रमा भएको क्षतिको आँकलन गरी सफ्टलोनदेखि अन्य सहयोग गर्न सरकार तयार हुने बताइन् । उनले क्षतिका बाबजुत निजी क्षेत्रले अघि बढ्ने प्रण गरेकोमा प्रशंसा समेत व्यक्त गरिन् । उनले २४ गते आतंक फैलाएको र त्यसको छानविन समेत हुने बताइन् । ‘व्यक्तिका घर, सम्पती, सुरक्षा निकायदेखि सिंहदरबार, संसद, अदालत जलाउने काम भयो । व्यक्तिको सम्पतीदेखि उद्योगी व्यापारी, इन्टरप्रेनरको सम्पति जलाउने काम भयो । उनीहरुलाई कसरी उठाउने भन्नेमा हामी सोच्छौं,' उनले भनिन्, 'कुन सहयोग दिने भन्नेमा हामी सोच्छौं । बैंकको सफ्ट लोन दिने की अथवा केही अन्य सहयोग गरेर हुन्छ की हामी सहयोग गर्छौं । आज मैले समाचार पनि पढेँ, धेरै ब्यापरीहरुले धेरै नोक्शानी भएको छ, हामी उठ्ने कोशिस गर्दैछौं भन्नुभएछ । हामी हार्दैनौं भन्नुभएको छ ।’ उनले निजी क्षेत्रले क्षति हुँदाहुँदै पनि आफ्नो भित्रको आन्तरिक बल देखाएकोमा धन्यवाद दिइन् । साना व्यापारीहरूलाई समेत राज्यले सहयोग गर्ने उनको भनाइ छ । 

तोडफोडबारे अध्यक्ष ढकाल भन्छन् - आगोले सम्पत्ति जले पनि आत्मबल कहिल्यै जल्दैन, अब फेरि उठ्नुपर्छ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा उद्यमी चन्द्र ढकालले हालैको जेनजी पुस्ताको प्रदर्शनका क्रममा उद्योग, व्यवसाय र निजी सम्पत्तिमा भएको तोडफोड तथा आगजनी घटनाप्रति पीडा व्यक्त गर्दै निजी क्षेत्र निराश नहुन आग्रह गरेका छन् । ढकालले शनिबार सामाजिक सञ्जालमार्फत लामो स्टाटस लेख्दै आफू शून्य पुँजीबाट व्यवसाय सुरु गरेर आजको अवस्थामा आइपुग्दा चार दशकको मेहनत, इमान्दारिता र निरन्तरताले ठूलो भूमिका खेलेको स्मरण गरेका छन् । 'हिजो मलेसियामा रहेका श्रमिकहरूको कठिनाइ देखेर सुरु गरिएको सानो व्यवसाय आज हजारौँ नेपालीको रोजगारीसँग जोडिएको छ । तर अहिले देशकै ठूलो लगानी भएका आयोजनामा क्षति हुँदा मन भारी भएको छ,' उनले उल्लेख गरेका छन् । उनले प्रदर्शनका क्रममा आफ्ना व्यवसायमा पनि तोडफोड र आगजनी भई ठूलो नोक्सानी पुगेको जानकारी दिँदै भनेका छन्, 'अर्बौँ लगानी भएका आफ्नै आयोजना सुरक्षित नहुँदा विदेशी तथा स्वदेशी लगानीकर्ताको मनोबल गिर्ने डर छ । त्यसैले क्षतिग्रस्त आयोजनाका फोटो र भिडियो सार्वजनिक नगर्न आग्रह गरेको थिएँ ।' तर, उद्योगी–व्यवसायी निराश हुन नदिन केही भन्न बाध्य भएको उनले स्पष्ट पारेका छन् । ढकालका अनुसार हालैको घटनामा हजारौँको रोजगारी संकटमा परेको छ, अर्बौँको संरचना खरानी भएको छ र लगानी धरापमा परेको छ । उनले विगतमा भूकम्प, नाकाबन्दी र कोरोना महामारी जस्ता ठूला संकट भोगिसकेकाले अहिलेको कठिनाइलाई पनि नयाँ अवसरको रूपमा लिनुपर्नेमा जोड दिएका छन् । 'हामी उद्यमी व्यवसायीहरुले फेरि सम्हालिएर अघि बढ्नुपर्छ । आजैदेखि क्षतिग्रस्त उद्योग–व्यवसाय पुनर्निर्माणमा होमिनुपर्छ, थप लगानी गरेर रोजगारी सिर्जनामा लाग्नुपर्छ,' ढकालले भनेका छन् । उनले नयाँ पुस्तालाई निजी क्षेत्र मुलुकको अर्थतन्त्रको इन्जिन भएको कुरा बुझाउनुपर्ने आवश्यकता औंल्याउँदै भने, 'निजी क्षेत्रबिना समृद्ध नेपाल सम्भव छैन । ८१ प्रतिशत भन्दा बढी योगदान र ८६ प्रतिशतभन्दा बढी रोजगारी सिर्जना गर्ने निजी क्षेत्रलाई कमजोर पार्ने सुविधा हामीसँग छैन ।' ढकालले सबै व्यवसायीलाई एकताबद्ध भएर अघि बढ्न आह्वान गर्दै लेखेका छन्, 'आगोले इँटा र काठ जलाए पनि हाम्रो आत्मबल र साहस कहिल्यै जल्दैन । विश्वास गरौँ, भोलि सुनौलो विहानी आउने नै छ । फेरि उठ्नुछ, निर्माण गर्नुछ र भावी पुस्तालाई प्रेरणा दिनुछ ।' यस्तो छ उनको पोस्ट सबैमा नमस्कार  जब मैले एउटा सानो व्यवसाय सुरु गरेँ, कुनै ठूलो पुँजीले गरेको होइन । अर्थात् म बिजनेस म्यान थिएँन र ठूलो मात्राको लगानी पनि होइन । एक किसिमले भन्नुपर्दा कुनै बिँउ पुँजी नै थिएन मसँग । तर सपना थियो र त्यसलाई पूरा गर्ने हुटहुटी थियो । वास्तवमा भन्नुपर्दा मसँग आफ्नै माटोमा केही गरौँ, नेपालकै उर्वर माटोमा सिँचाइ गरौँ र यहीँ सुन फलाउँ भन्ने भावना थियो। र अहिले पनि छँदैछ । त्यसका लागि आवश्यक पर्ने इमान्दारिता र कुनै पनि काममा निरन्तरता अर्थात् मेहनत आवश्यक छ भन्ने कुराको हेक्का राम्रैसँग थियो जुन हामीसँगै थिए । मलाई लाग्छ, चार दशक पुराना यिनै प्रतिबद्धता, भावना र अठोटको जगबाट आज हामी यहाँसम्म आइपुगेका छौँ। हाम्रो मेहनत, इमान्दारिता र कर्मले कोरेको सानो व्यावसायिक गोरेटो आज हाम्रा सामु एउटा फराकिलो राजमार्गका रूपमा अवस्थित छ । मैले कुनै पनि व्यवसायको सोच बनाउँदा यी तीन कुरामा ध्यान दिने गर्दथेँ । राज्यको प्राथमिकता, आमजनताको आवश्यकता र दीर्घकालीन व्यवसाय बन्नसक्ने सम्भावना । यिनै क्षेत्रमा हामी अघि बढ्दै जाँदा आज हाम्रो व्यवसाय २० हजारभन्दा बढी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको प्रत्यक्ष रोजगारीसँग जोडिन पुगेको छ । अप्रत्यक्ष त लाखौँ होला, अहिले म त्यता जान चाहन्न । हामीले सुरु गरेको व्यवसाय जुन–जुन क्षेत्रमा विस्तार भयो, ती सबै केवल रोजगारी सिर्जना गर्न मात्र नभएर तीमार्फत् मुलुकमा साझेदारी र सेवाको संस्कृति निर्माण भएका छन् । अनि जेजहाँ स्थापित र विस्तारित छन् ती सबैमा स्थानीयसँगको बलियो हातेमालो छ। किनभने ‘व्यवसायबाट मैले मात्र आर्जन गरेर मुलुक समृद्ध हुँदैन’ भन्ने भावनाले प्रेरित हाम्रा पाइला सबैसँग लगानी साझेदारी गर्दै अघि बढेका हुन् । प्रत्येक आयोजनामा स्थानीय र सर्वसाधारणको अपनत्व रहोस् भनेर हामीले सेयरमार्फत् स्थानीय साझेदारिताको मोडेल अपनाएका छौँ । रोजगारीमै पनि उहाँहरू पहिलो प्राथमिकतामा हुनुहुन्छ । त्यसकारण त हाम्रा पर्यटनलगायतका स्थानीय पूर्वाधारहरू सबैका साझा सम्पत्तिका रूपमा स्थापित र सेवारत रही आएका छन् । हिजोका दिनमा रोजीरोटीकै लागि विदेश पुगेका निम्न आय भएका नेपालीहरूलाई विदेशमा पैसा कमाउन भन्दा घर पठाउन गाह्रो थियो । उहाँहरूको त्यही दुःख देखेर उहाँहरूले दुःख जिलो गरेर जम्मा गरेको दुईचार पैसा औपचारिक माध्यमबाट उहाँहरूका घर–आफन्तसम्म पुर्याउने अठोटका साथ मलेसियाबाट सुरु गरेको व्यवसाय आजको विस्तारित स्वरूप उहाँहरूकै आशीर्वादको परिणाम हो भन्ने लाग्दछ । उहाँहरूको यही आशीर्वाद, समग्र नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको सद्भावमा हाम्रो मेहनत एवं पसिना मिसाउँदा लागेको फलले नै हाम्रो व्यवसायिक जग र ब्रान्डमा मुलुकमा कैयौँ व्यावसायिक राजमार्ग निर्माण हुन सकेको हो। मलाई हरेक पलमा आनन्द दिने माध्यमहरू पनि यिनै हुन् । तर आज भने मेरो मन भारी भएको छ । देश बनाउने सपना साँचेर शून्यबाट सुरु गरेको यात्रामा म यतिखेर जिम्मेवारीको सबैभन्दा महत्वपूर्ण मोडमा छु । अर्बौँ लगानी भएका आफ्नै आयोजनामा अनपेक्षित क्षति भइरहँदा गहभरी आँसु पारेर टोलाइरहन मन लागेर पनि मलाई त्यसो गर्ने छुट छैन। मैले यसो गर्दा एकातिर हामीसँगै पारिवारिक रोजीरोटी जोडिएका २० औँ हजारको आत्मबलमा ठेस पुग्ला भन्ने डर लाग्छ भने अर्कातर्फ मजस्तै क्षति पुगेका अरू व्यवसायीहरूलाई मैले नै अमिलै मनले भए पनि सान्त्वनाको धाप मार्नुपर्ने अवस्था छ। म मुलुकका उद्योगी व्यवसायीहरूको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षको जिम्मेवारीमा छु । हरेक तह, समूह या सर्कलले अप्ठेरोमा अभिभावकको खोजी त गरिनै हाल्छ । सायद मुटुमाथि ढुंगा राखी हाँस्नु पर्या छ भनेको यस्तै समय र परिस्थितिमा होला। सम्पूर्ण निजी क्षेत्रलाई हौसला दिनुपर्ने ठूलो जिम्मेवारी मेरो सामु छ । हिजोका दिनमा भूकम्पले धरहरासँगै व्यवसायीका मनहरू ढलिरहँदा पनि मैले मुलुकका उद्योगी व्यवसायीहरूलाई धुलो टक्टकाएर उठौँ र आफ्ना काम, व्यवसायमा लागिहालौँ भनेर हौसला दिएको अहिले सम्झँदैछु । कसैले कहिल्यै कल्पनै नगरेको कोरोना महामारीले देश र व्यवसाय थिलथिलो पर्दा र आफैँ कोरोनाको कहरमा हुँदा पनि मैले व्यवसायीहरूलाई सटर बन्द नगरौँ, हामी उठ्नुपर्छ भनेर हौसला प्रदान गरेको सम्झँदैछु । अहिले पनि अब खरानी टक्टकाएरै उठ्नुपर्नेछ, हाम्रा मन र आत्मबललाई दरो बनाउनुपर्ने छ र उठ्नैपर्ने छ । यी हरेक दुःखमा म आफैँ पनि घाइते छु तर व्यावसायिक नेतृत्वमा रहेकाले साथीहरूलाई मलम लगाएर उठ्न हौसला दिइरहेको छु । भदौ २३ र २४ गते जेन–जि पुस्ताको प्रदर्शनका क्रममा भएको घुसपैठमा मुलुकभर धेरै उद्योग, व्यवसाय र निजी सम्पत्तिमाथि आक्रमण भयो । त्यसक्रममा हामीले लगानी गरेका उद्योग व्यवसायमा समेत तोडफोड र आगजनी भयो। ठूलो क्षति पुर्याइएको छ। मुलुकको अर्थतन्त्र सुधार गर्न, वैदेशिक लगानी भित्र्याउन र लगानीमैत्री वातावरण बनाउन लागिरहेको म एउटा उद्योगी र मुलुककै निजी क्षेत्रको ठूलो छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षका रूपमा मेरो आफ्नै व्यवसाय सुरक्षित नहुँदा आम स्वदेशी तथा विदेशी लगानीकर्ताको मनोबल गिर्ने र नकारात्मक सन्देश प्रवाह हुने भयले मन अमिलो भयो । त्यसैले क्षतिग्रस्त आयोजनाका फोटो र भिडियो सेयर नगर्न कर्मचारीहरूलाई आग्रह पनि गरेँ । तर, सामाजिक सञ्जालमा फोटो र भिडियो सार्वजनिक भएपछि, आम उद्योगी–व्यवसायीलाई निराश हुन नदिऊँ, मनोबल खस्कन नदिऊँ भन्ने उद्देश्यले केही कुरा भन्न आवश्यक देखेँ । हो, सुशासन र भ्रष्टाचारविरुद्धको प्रदर्शनका क्रममा देशभर धेरै उद्योगी व्यवसायी साथीहरूको उद्योग, व्यवसाय र निजी आवास तथा सम्पत्तिमा ठूलो क्षति पुगेको छ । हजारौँको रोजगारी संकटमा परेको छ, अर्बौँको संरचना खरानी भएको छ, लगानी धरापमा परेको छ । यसले हामी सबैलाई मर्माहत बनाएको छ । दशक लामो द्वन्द्व, भूकम्प, नाकाबन्दी र कोभिड महामारी खेपेर बल्लतल्ल उठेका हामी हालैको आर्थिक मन्दीबाट तङ्ग्रिने प्रयासमा थियौँ । अस्तिको प्रदर्शनका क्रममा धेरै सार्वजनिक तथा निजी सम्पत्तिको क्षति भएको छ । तथापि, यावत् प्रतिकूलताका बाबजुद हामी फेरि सम्हालिएर अघि बढ्नुपर्ने बाहेक हामीसँग अर्को विकल्प छैन । नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षका हैसियतमा देशभरका उद्योगी, व्यवसायी र उद्यमशील मनहरूलाई एक सन्देश दिन चाहन्छु कि साथीहरू, हामी नआत्तिऔँ, नथाकौँ। आजैबाट क्षतिग्रस्त उद्योग–व्यवसायको पुनर्निर्माणमा होमिऔँ । थप लगानी गरी रोजगारी सिर्जनामा लागौँ । हरेक पटक आउने यस्ता चुनौतीहरूलाई मुलुकको आर्थिक सुधारको नयाँ अवसरको रूपमा लिऔँ र अघि बढौँ । नयाँ पुस्तालाई बुझाऔँ निजी क्षेत्र मुलुकको अर्थतन्त्रको इन्जिन हो, उद्यमशीलता भनेको रोजगारी हो, राज्यले प्राप्त गर्ने राजस्वको स्रोत हो र समृद्धिको वाहक हो । ८१ प्रतिशत बढी मुलुकको अर्थतन्त्रमा योगदान रहेको र ८६ प्रतिशत बढी रोजगारी सिर्जना गर्ने निजी क्षेत्र बिना मुलुकको समृद्धि सम्भव छैन । निजी क्षेत्र पनि मुलुक बनाउने अभियानमा सक्रिय छ र निजी क्षेत्रसँग होस्टेमा हैसे नगरी हामीले अपेक्षा गरेको विकास, समृद्धि र नयाँ नेपाल निर्माण गर्न सकिँदैन । उद्यमी व्यवसायी साथीहरू, अहिलेको कठिन परिस्थितिमा मनोबल कमजोर पार्ने, थाक्ने वा हार्ने सुविधा हामीलाई उपलब्ध छैन । जब मुलुकको समृद्धि नै हाम्रा हात एवं भनौँ कर्ममा छ भने हामीले नै बनाउनु छ देश र जेन–जिहरूमा पनि आशा हामीले नै भर्नु छ। यसरी सोचौँ कि भावी पुस्ताले रोजगारी खोज्दै खाडी र मलेसियाको यात्रा तय गर्न नपरोस् । उनीहरूको जीवनमा यस्तो कठिन समयको महसुस आगामी दिनमा कहिल्यै नहोस् । आदरणीय व्यवसायी साथीहरू, तपाईंले आफ्नो जीवनभरको पसिना, सपना र समर्पणका इँटाले बनाएको घर र व्यवसाय आफ्नै आँखा अगाडि दन्दनी जल्दै खरानी भएको देख्नुपर्दा पीडा त हुन्छ नै । सायद मेरा यी शब्दहरूले यहाँहरूको त्यो पीडा उतार्न र सान्त्वना भर्न सक्दैनन् । किनभने यो क्षण भनेको केवल आफ्ना हातले सिर्जना गरेका भौतिक सम्पत्तिको क्षति मात्र होइन कि मन, समर्पण र सपनामाथि लागेको अपुरणीय चोट पनि हो । तर पनि यसरी चित्त बुझाऔँ कि आगोले इँटा र काठ जलाए पनि तपाईं हामीभित्रको हौसला र आत्मबल छँदै छन् । हाम्रा मन–मस्तिष्क, श्रमको मूल्य र तपाईं हामीले सदा बोकिरहेको आत्मबल कहिल्यै जल्दैन । तपाईं हामीले गुमाएका सामग्री हाम्रा आत्मबल र हौसलाले फेरि जुटाउन सकिन्छ । हाम्रो धैर्यता, संघर्ष र मेहनत गर्ने हाम्रो नियमितता र क्षमता नै हामी सबैको वास्तविक सम्पत्ति हो । यसैले भौतिक सम्पत्ति जोड्नुपर्छ, र अहिले लागेको घाउचोटलाई पनि सबै मिलेर पुर्नुपर्छ। हामी उद्यमी, व्यवसायीहरूले आफूलाई कदापि एक्लो नठानी सबैको दुःखलाई आफ्नै ठानेर फेरि अझै सबल भएर उठ्न र अघि बढ्न लाग्नुपर्दछ। विश्वास गरौँ, भोलि सुनौलो विहानी आउने नै छ। फेरि उठ्नुछ, अघि बढ्नुछ, निर्माण गर्नुछ र हाम्रा साहस र आत्मबलले भविष्यको पुस्तासम्म नै प्रेरणा छर्नुछ। आउनुहोस् सबैको प्रयास र निजी क्षेत्रको साहसले सुनौलो नेपालको मार्गचित्र कोर्ने सन्देश दिन सकिने गरी काम गरौँ।