एसवाई प्यानलको आईपीओ बिक्री खुला, यसरी दिन सकिन्छ आवेदन

काठमाडौं । एसवाई प्यानल नेपालले आज असोज ७ गतेदेखि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ बिक्री खुला गरेको हो । यसअघि भदौ २९ गतेदेखि बिक्री गर्ने भनिएको आईपीओ देशमा उत्पन्न विषम परिस्थितिका कारण आजदेखि बिक्री खुला गरेको हो । कम्पनीले जारी पुँजी १ अर्ब ३० करोड ८१ लाख ३७ हजार १ सय रुपैयाँको ४० प्रतिशत अर्थात् ५२ करोड ३२ लाख ५४ हजार ८ सय रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ५२ लाख ३२ हजार ५४८ कित्ता सेयर जारी गर्न अनुमति पाएको छ । जसमध्ये २ प्रतिशत अर्थात् २ लाख ६१ हजार ६२७ कित्ता सेयर उद्योग प्रभावित क्षेत्र चितवनको रत्ननगर नगरपालिकाका स्थानीय बासिन्दालाई छुट्याएको छ । यस्तै, सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याएको सेयरमध्ये १० प्रतिशत अर्थात् ४ लाख ९७ हजार ९२ कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृत लिई विदेशमा रोजगार गरिरहेका नेपालीलाई छुट्याएको छ । उद्योग प्रभावित क्षेत्रका बासिन्दा र विदेशमा रहेका नेपालीलाई सेयर बाँडफाँड गरे पश्चात् बाँकी रहेको ४९ लाख ७० हजार ९२१ कित्ता सेयरमध्ये ३ प्रतिशत अर्थात् १ लाख ४९ हजार १२७ कित्ता कर्मचारीहरूलाई, ५ प्रतिशत अर्थात् २ लाख ४८ हजार ५४६ कित्ता सामूहिक लगानी कोष र ४० लाख ७६ हजार १५६ कित्ता सर्वसाधारण लगानीकर्ताहरुका लागि बिक्री गरिने कम्पनीले जनाएको छ । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा स्थानीयले छिटोमा असोज १२ गतेसम्म आवेदन दिन सक्नेछन् । यदि सो अवधिमा पूर्ण बिक्री नभए असोज २७ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले छिटोमा असोज १ गते र ढिलोमा असोज १२ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ । उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले प्रभु बैंकको सौराहा र टाँडी शाखा, उद्योगको कार्यालयबाट आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयर वेब तथा एपबाट पनि आवेदन दिन सक्नेछन् ।

निजी क्षेत्रको ८० अर्ब बराबर सम्पत्ति नष्ट, दोषीमाथि कारवाही गर्न माग

काठमाडौं । जेनजी आक्रमणबाट निजी क्षेत्रले करिब ८० अर्ब रुपैयाँ बराबरको क्षति बेहोरेको नेपाल उद्योग वाणिज्य महासंघले जनाएको छ । महासंघले संकलन गरेको प्रारम्भिक विवरणले यस्तो देखाएको महाससंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले बताए ।  विशेषगरी ठूलो क्षति भएका उद्योग र साना एवं राजधानी बाहिरका केही व्यवसायको विवरण आउन नसकेको र कतिपय विवरणमा दोहोरोपन हुनसक्ने उनले बताए ।  प्रधानमन्त्री सुशीला कार्कीसँग आइतवार भएको छलफलका क्रममा महासंघका अध्यक्ष ढकालले निजी क्षेत्रले सम्मानित रूपमा काम गर्न सक्ने वातावरणका लागि आवश्यक सहयोग र सुरक्षाको माग राखेका छन् । आन्दोलनका क्रममा निजी क्षेत्र माथि आक्रमण हुनुले निजी क्षेत्रको महत्त्व बुझ्न नसकिएको रूपमा हेरिएको उनले टिप्पणी गरे ।  महासंघ र अन्तर्राष्ट्रिय वित्त निगमले गरेको अध्ययन अनुसार अर्थतन्त्रमा निजी क्षेत्रको योगदान ८१ प्रतिशत छ भने ८६ प्रतिशत रोजगारी निजी क्षेत्रले दिइरहेको तथ्य उनले प्रधानमन्त्री कार्कीलाई सुनाए।  साथै अध्यक्ष ढकालले अर्थतन्त्र पुनःस्थापना र सुशासन कायम गर्न निजी क्षेत्र र सरकार बीच निरन्तर संवाद संयन्त्र निर्माण गर्न, व्यवसायीलाई आत्मविश्वासका साथ खुला रूपमा व्यवसाय गर्न सक्ने वातावरणको सुनिश्चितता कायम गर्न पनि आग्रह गरे ।  युवा पुस्ताको आन्दोलनका क्रममा भएको घुसपैठका कारण निजी क्षेत्रले ठूलो जनधनको क्षति बेहोरेको हुँदा दोषी माथि कारवाही हुनुपर्ने निजी क्षेत्रको माग छ । कारवाही हुन नसके दण्डहीनताको अवस्था सिर्जना भै निजी लगानी थप निरुत्साहित हुनेतर्फ निजी क्षेत्रका प्रतिनिधिहरूले उक्त छलफलमा सरकारको ध्यानाकर्षण गराएका थिए ।  छलफलका क्रममा आन्दोलनमा प्रभावित व्यवसायीलाई कर्जाको पुनर्संरचना र पुनर्तालिकीकरण सुविधा प्रदान गर्न, लगानी आकर्षित गर्न आयकर लगायतमा छुट प्रदान गर्न पनि अध्यक्ष ढकालले आग्रह गरे ।  युवापुस्ताले चुस्त सरकारी सेवा चाहिरहेको बताउँदै अध्यक्ष ढकालले सूचना प्रविधिको उच्चतम प्रयोग र सदाचार काम गर्न सबैले पहल गर्नुपर्ने बताए । नयाँ संरचना निर्माण गर्न आवश्यक सामान ल्याउन प्रभावित व्यवसायीलाई भन्सार लगायत शुल्कमा छुट दिन पनि महासंघले आग्रह गरेको छ । नागरिक एपबाट व्यवसाय दर्ता एवं खारेजी लगायतका सेवा लिन सकिने एवं कर बुझाएपछि नवीकरण गर्नुपर्ने बाध्यता हटाउनु पर्ने माग महासंघले निरन्तर उठाइ रहेको छ । छलफलका क्रममा चालु पूँजीकर्जा मार्गदर्शन कम्तीमा दुई वर्ष स्थगन पुनर्कर्जा, ब्याज अनुदान लगायतका वित्तीय सहुलियत तत्काल दिन सकिनेतर्फ व्यवसायीहरूले प्रधानमन्त्री कार्कीको ध्यानाकर्षण गराएका थिए ।

हेटौंडा औद्योगिक क्षेत्रमा गतिविधि बढ्दै, चकलेट र एसीपी बोर्ड उद्योग सुरु हुने

हेटौंडा । मकवानपुरको हेटौंडा औद्योगिक क्षेत्रमा पछिल्लो समय उद्योग थपिने क्रम बढ्दै गएको छ । यसैक्रममा औद्योगिक क्षेत्रभित्र थप दुई उद्योग सञ्चालनको तयारीमा छन्।  हिमालय एसीपी बोर्डस् प्रालि (एल्मुनियम बोर्ड बनाउने) र टीका इन्डष्ट्रिज प्रालि (चकलेट उद्योग) केही दिनभित्रै उत्पादन गर्ने औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका सूचना अधिकारी रमेशराज नेपालले जानकारी दिए ।  लामो समयदेखि बन्द रहेका दुईवटा उद्योगको सम्झौता रद्द गरी सोही स्थानमा यी दुईवटा उद्योग सञ्चालनका लागि सम्झौता गरिएको सूचना अधिकारी नेपालले बताए । ‘सम्झौता भएलगत्तैबाट उद्योग सञ्चालनको तयारीमा सञ्चालकहरू जुटेका छन्, ‘उनले भने, ‘एकदुई साताभित्रै यी उद्योग सञ्चालनमा आउँछान् ।’ यसअघि गत वैशाखदेखि लक्की पोलि इन्डष्ट्रिजले प्लाष्टिकका सामान उत्पादन र टोटल प्याकेजिङ प्रालि प्लाष्टिकको बोरा उत्पादन गर्ने उद्योग सञ्चालनमा आएको आएको थियो ।  गत २०८१ माघदेखि थ्रिस्टार ग्रुपले रङ्गीन तथा सादा कर्कटपाता तथा बाबा मेनिफ्याक्चर प्रालिले टिनका ससाना बाकस उत्पादन गर्ने उद्योगसमेत सञ्चालनमा आएको थियो ।  उनका अनुसार औद्योगिक क्षेत्रमा हाल विभिन्न प्रकारका १३ वटा उद्योग सञ्चालनका लागि निर्माणाधीन अवस्थामा छ ।  निर्माणाधीन अवस्थामा रहेकामध्ये अधिकांश उद्योग निर्माणको अन्तिम चरणमा रहेको उनको भनाइ छ ।  यस्तै, लामो समयदेखि बन्द रहेको सुप्रिम मेटल उद्योगले पनि फलामको काँटी उत्पादन सुरु गरेको सूचना अधिकारी नेपालले बताए ।   विभिन्न कारणले बन्द रहेका अन्य पाँचवटा उद्योग सञ्चालनका लागि सञ्चालकसँग सम्पर्क समन्वय भइरहेको उनले बताए ।  उनका अनुसार बन्द रहेकामध्ये डाइनेष्टी डिष्टलरी, ग्रिन गोल्ड इन्टरनेसनल प्रालि, साउथ एसियन पोलिपाइप प्रालि र बानियाँ मल्टि प्राडक्ट प्रालि पुनः सञ्चालनको तयारी भइरहेको सञ्चालकबाट जानकारी प्राप्त भएको छ । अमेरिका सरकारको आर्थिक सहयोगमा २०२० साल मङ्सिर २० गते स्थापना भएको सो औद्योगिक क्षेत्रभित्र हाल एक सय ४६ उद्योग तथा प्रतिष्ठानले जग्गा भाडामा लिएर व्यवसाय सञ्चालन गरिरहेका छन् ।  कुल तीन हजार २२८ रोपनी क्षेत्रमा फैलिएको सो औद्योगिक क्षेत्रभित्र अहिले खाद्य उद्योग, युनाइटेड ब्रुअरी (पेय पदार्थ), गोर्खा ब्रुअरी कम्पनी, एसियन पेन्ट्स, पशु आहारा दाना उद्योग, कार्टुन उद्योग प्रमुख उद्योगका रूपमा सञ्चालनमा छन् । यस्तै औद्योगिक क्षेत्र परिसरमा सरकारको स्वामित्वमा रहेको हेटौंडा दुग्ध वितरण आयोजना, प्रदेश खाद्य तथा गुण नियन्त्रण कार्यालय, प्रदेश बीउबिजन कम्पनी, प्रदेश माटो परीक्षण कार्यालय, इलाका प्रहरी कार्यालय र नेपाल बैंक लिमिटेड हेटौंडा शाखालगायतका कम्पनी सञ्चालनमा रहँदै आएको सूचना अधिकारी नेपालले बताए ।  कुल जग्गा क्षेत्रफलमध्ये हाल भाडामा दिएको दुई हजार १७८ रोपनी, खाली जमिन २६ दशमलव ५२ रोपनी र युटिलिटी सेवाले ओगटेको सडक सञ्जाल, विद्युतीकरण, ढल निकासलगायत संरचना निर्माण क्षेत्रफल पाँच सय ९७ रोपनी छ ।