शहीदको सपना र नयाँ नेपालको यात्रामा लेमिनार टायल्सको प्रतिज्ञा
काठमाडौं । नेपालको युवापुस्ता ‘जेनजी’ को साहस र नेतृत्वले राष्ट्रको इतिहासमा नयाँ अध्याय सुरु भएको भन्दै लेमिनार टायल्सले शहीदहरूको बलिदानलाई स्मरण गर्दै परिवर्तनलाई स्वागत गरेको छ । कम्पनीले जारी गरेको वक्तव्यमा भनिएको छ, ‘हामी सबै नेपालीसँग मिलेर यो परिवर्तनलाई स्वागत गर्दछौं । यो यात्राले अझ ठूलो एकता, शान्ति र समृद्धि ल्याओस् भन्ने हाम्रो कामना छ।’ लामिनार टायल्सले प्रधानमन्त्रीमा नियुक्त सुशीला कार्कीलाई बधाई दिंदै नेपाललाई उज्ज्वल भविष्यतर्फ अघि बढाउन उनलाई सबैको सद्भाव र समर्थन मिलोस् भन्ने शुभकामना पनि व्यक्त गरेको छ । स्वदेशी ब्रान्डका रूपमा लामिनार टायल्सले पुन: निर्माण, प्रगति र सबैका लागि अझै राम्रो भोलिको यात्रामा निरन्तर योगदान दिने प्रतिबद्धतासमेत जनाएको छ ।
रौतहटमा प्राइम सिरामिकको १.३ मेगावाट सौर्य ऊर्जा परियोजना कार्यान्वयन सुरु
काठमाडौं । हरित टाइल उत्पादक प्राइम सिरामिकले शून्य कार्बन उत्सर्जनतर्फ थप कदम चालेको घोषणा गरेको छ । कम्पनीले रौतहटस्थित आफ्नै कारखानामा १.३ मेगावाट क्षमताको सौर्य ऊर्जा परियोजना स्थापना गर्ने कार्य सुरु गरेको हो । यस प्लान्टबाट वार्षिक १४ लाख युनिट स्वच्छ ऊर्जा उत्पादन हुने अनुमान गरिएको छ । यसले करिब ८ हजार टन कार्बन उत्सर्जन न्यूनीकरण गर्नेछ भने हरेक वर्ष २१ हजार रुख बचत गर्ने बराबरको योगदान पुग्ने कम्पनीले जनाएको छ । उत्पादित स्वच्छ ऊर्जा प्रत्यक्ष टाइल उत्पादन प्रक्रियामा प्रयोग हुने भएकाले यसले प्राइम टाइल्सको वातावरणीय योगदानलाई थप उच्च स्तरमा पुर्याउने विश्वास गरिएको छ । 'दिगोपनासँग घर फर्कनुहोस्... आफ्नो घरलाई प्राइम टाइल्सले सजाउनुहोस्' भन्ने मूल नारासहित कम्पनीले यस परियोजनाबाट हरित प्रवर्द्धनमा अग्रणी भूमिका खेल्ने लक्ष्य लिएको छ। सौर्य ऊर्जा परियोजनाको कार्यान्वयनका लागि वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले डीकेटीआइ कार्यक्रमअन्तर्गत वित्तीय सहयोग उपलब्ध गराएको छ । सहयोग सम्झौता कार्यक्रममा एइपिसीका कार्यक्रम अधिकृत निरज सापकोटा, कार्यकारी निर्देशक नवराज ढकाल, प्राइम सिरामिकका अध्यक्ष आशिष गर्ग, प्राइम रिन्यूएबल्सका वरिष्ठ प्रबन्धक सञ्जय शाह र प्राइम सिरामिकका वरिष्ठ प्रबन्धक गोपाल मिश्राको उपस्थितिमा हस्ताक्षर गरिएको थियो ।
बिदाको दिन पनि बैंक र भन्सार खुला गरिने
काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गरेका छन् । मंगलबार अर्थ मन्त्रालयमा सम्पन्न अन्तक्रिर्यामा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर्स एण्ड कमर्स, नेपाल उद्योग परिसंघ, नेपाल अटो डिलर्स एशोसिएसन, चौधरी समूह र भाटभटेनी समूहका प्रतिनिधिहरूको समेत उपस्थिति थियो । निजी क्षेत्रका प्रतिनिधिहरूले नवनियुक्त अर्थमन्त्रीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै उद्योग व्यवसायको सुरक्षा र प्रवर्द्धन गर्न माग राखेका थिए । उद्योग व्यवसायमा पुगेको क्षतिपूर्ति छिटो उपलब्ध गराउने, कर सहुलियत, सहुलियतपूर्ण कर्जा र बीमा रकम शीघ्र भुक्तानीको व्यवस्था मिलाउन सरकारसँग आग्रह गरिएको थियो । साथै सरकार, राजनीतिक दल, सञ्चार माध्यम र नागरिक समाजले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन गर्नुपर्ने माग पनि निजी क्षेत्रले राखेका थिए । अन्तरक्रियामा अर्थसचिव घनश्याम उपाध्यायले दशैंबाहेक अन्य सार्वजनिक बिदामा पनि बैंक र भन्सार खुला राख्ने निर्णय भएको र तातोपानी नाका खुलाउनका लागि सरकारले पहल गरिरहेको जानकारी दिए । उद्योग व्यवसायीलाई सम्बोधन गर्दै अर्थमन्त्री खनालले अटो सेक्टर थापाथली, भाटभटेनी सुपरस्टोर कोटेश्वर, अन्नपूर्ण र कान्तिपुर मिडिया हाउस र ट्राफिक प्रहरी कार्यालयलगायतका क्षतिग्रस्त संरचनाहरूको स्थलगत अवलोकन गरेको बताए । उनले सार्वजनिक र निजी क्षेत्रमा पुगेको क्षतिको पुनर्निर्माणका लागि कोष खडा भइसकेको र समग्र व्यवसाय पुनःस्थापना योजना ल्याइने जानकारी दिए । अर्थमन्त्रीले कर र मौद्रिक नीतिबाट दिन सकिने सहुलियतमा सरकार सकारात्मक रहेको बताउँदै सबै सार्वजनिक निकायलाई नागरिक र निजी क्षेत्रले प्रत्यक्ष महसुस गर्न सक्ने गरी सेवा प्रवाह गर्न निर्देशन दिइसकेको जानकारी दिए ।