एसवाई प्यानलले भदौ २९ गतेदेखि आईपीओ बिक्री गर्ने, क-कसले आवेदन दिन पाउँछन् ?

काठमाडौं । एसवाई प्यानल नेपालले भदौ २९ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ बिक्री गर्ने भएको हो ।  कम्पनीले जारी पुँजी १ अर्ब ३० करोड ८१ लाख ३७ हजार १ सय रुपैयाँको ४० प्रतिशत अर्थात् ५२ करोड ३२ लाख ५४ हजार ८ सय रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ५२ लाख ३२ हजार ५४८ कित्ता सेयर जारी गर्न अनुमति पाएको छ । जसमध्ये २ प्रतिशत अर्थात् २ लाख ६१ हजार ६२७ कित्ता सेयर उद्योग प्रभावित क्षेत्र चितवनको रत्ननगर नगरपालिकाका स्थानीय बासिन्दालाई छुट्याएको छ ।  यस्तै, सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याएको सेयरमध्ये १० प्रतिशत अर्थात् ४ लाख ९७ हजार ९२ कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृत लिई विदेशमा रोजगार गरिरहेका नेपालीलाई छुट्याएको छ ।  उद्योग प्रभावित क्षेत्रका बासिन्दा र विदेशमा रहेका नेपालीलाई सेयर बाँडफाँड गरे पश्चात् बाँकी रहेको ४९ लाख ७० हजार ९२१ कित्ता सेयरमध्ये ३ प्रतिशत अर्थात् १ लाख ४९ हजार १२७ कित्ता कर्मचारीहरूलाई, ५ प्रतिशत अर्थात् २ लाख ४८ हजार ५४६ कित्ता सामूहिक लगानी कोष र ४० लाख ७६ हजार १५६ कित्ता सर्वसाधारण लगानीकर्ताहरुका लागि बिक्री गरिने कम्पनीले जनाएको छ ।  कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा स्थानीयले छिटोमा असोज १२ गतेसम्म आवेदन दिन सक्नेछन् । यदि सो अवधिमा पूर्ण बिक्री नभए असोज २७ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले छिटोमा असोज १ गते र ढिलोमा असोज १२ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ । उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले प्रभु बैंकको सौराहा र टाँडी शाखा, उद्योगको कार्यालयबाट आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयर वेब तथा एपबाट पनि आवेदन दिन सक्नेछन् ।

एन्फालाई जग्गा दिएपछि उद्योग मन्त्रालयको जग्गा विवादमा, बहुउद्देश्यीय परियोजना निर्माण गर्नुपर्ने

काठमाडौं । सूर्यविनायक नगरपालिकाले जगातीस्थित भक्तपुर इँटा तथा टायल उद्योग रहेको उद्योग मन्त्रालयको २५० रोपनी जग्गामा बहुउद्देश्यीय परियोजना निर्माण गर्नुपर्ने स्थानीयले माग गरेका छन् । उक्त जग्गामा अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको अत्याधुनिक रङ्गशाला निर्माण प्रक्रिया अगाडि बढाइएको सहमतिपत्रसम्बन्धी स्थानीयले असहमति जनाउँदै यहाँ बहुउद्देश्यीय परियोजना निर्माण गर्नुपर्ने माग गरेका हुन् । सूर्यविनायक नगरपालिका-८ जगातीमा स्थानीयको बृहत भेलाले स्थानीयसँग कुनै सरोकार नराखी नगरपालिकाले एकलौटी रूपमा निर्णय गरेर एन्फालाई जग्गा उपलब्ध गराउने सन्दर्भमा गरेको सिफारिसमा असहमति जनाएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीको पहल र अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को प्रस्तावमा नगरपालिकाले रङ्गशाला निर्माणको प्रक्रिया अगाडि बढाउन सैद्धान्तिक सहमति दिएसँगै उक्त जग्गामा रङ्गशाला निर्माण हुने विषय चर्चामा आएको छ । सङ्घीय सरकार अन्तर्गत उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको नाममा रहेको २५० रोपनी जग्गामा चिनियाँ सरकारद्वारा निर्मित चाइनिज इँटा तथा टायल कारखाना सरकारले निजीकरण गरेपछि विगत २० वर्षदेखि भक्तपुर इँटा तथा टायल कारखाना सञ्चालन हुँदै आएको थियो । मन्त्रालयले कारखानालाई इँटा तथा टायल उद्योग सञ्चालनका लागि सम्झौता नवीकरण नगरे बन्द हुने जनाएपछि उक्त जग्गामा विभिन्न निकायले बहुउद्देश्यीय परियोजनासहित संरचना निर्माणका लागि माग गर्दै आएका छन् । उक्त जग्गामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का पोलिटब्युरो सदस्य एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतले भक्तपुर जिल्ला प्रशासन कार्यालय, प्रहरी कार्यालयलगायत सम्पूर्ण सरकारी कार्यालय एउटै ठाउँमा राख्नुपर्ने प्रस्ताव आफू मन्त्री हुँदा अगाडि बढाएको बताए । त्यसपछि सहिद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्रले पनि उक्त जग्गामा अस्पताल भवन बनाउन माग गरेको थियो भने नेपाल मजदुर किसान पार्टी र भक्तपुर नगरपालिकाले ख्वपः विश्व विद्यालयको भवन निर्माणका लागि सो जग्गा माग गर्दै आएको छ । यसबारे नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले केही दिन अघि प्रतिनिधिसभामा उक्त जग्गा ख्वपः विश्व विद्यालय निर्माणका लागि उपलब्ध गराउन माग गरे । यता स्थानीयवासीले भने मानव बस्तीको बीचमा रङ्गशाला बनाउँदा समस्या आउने भन्दै बहुउद्देश्यीय भवनसहितको संरचना बनाउन माग गरेका छन् । शनिबार बहुउद्देश्यीय परियोजना निर्माण समन्वय समितिद्वारा आयोजित छलफलमा समितिका अध्यक्ष नविन प्रजापतिले स्थानीयसँग समन्वय, सहकार्यबिना कुनै सुझाव नलिई रङ्गशालाका लागि प्रस्ताव अगाडि बढाइनु दुःखद भएको भन्दै स्थानीयसँग समन्वय गर्न सरोकार भएका निकायलाई आग्रह गरे । उनले विगत पाँच वर्षदेखि यस जग्गामा बहुउद्देश्यीय बृहत् परियोजना निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरी प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, उद्योग मन्त्रालयका मन्त्री र मन्त्रालयमा पत्र बुझाइ सकिएको जनाउँदै अहिले रङ्गशाला निर्माणको विषयले स्थानीयलाई तरङ्गित बनाएको बताए ।  अध्यक्ष प्रजापतिले भने, ‘हामी रङ्गशालाको विरोधी होइनौँ, तर स्थानीयवासीसँग सरोकार राख्नुपर्छ भन्ने हो । रङ्गशाला अलिभित्रको जग्गामा पनि बनाउन सकिन्छ । यहाँ भारतको गान्धी पार्कमा जस्तो संरचना निर्माण माग गर्दै आएका छौँ । त्यसलाई बेवास्ता गर्नु हुँदैन ।’ समन्वय समितिले जमिनको सतहभन्दा मुनीको भागमा तीनतले ‘अण्डरग्राउण्ड पार्किङ्ग’सहितको पूर्वबाट आउने सम्पूर्ण यातायातका साधनका लागि बसपार्क निर्माण गर्नुपर्ने, इभी सवारीका लागि ठूलो चार्जिङ्ग स्टेसन बनाउनु पर्ने, अन्तर्राष्ट्रियस्तरको सभाहल निर्माण गरिनुपर्ने, अन्तर्राष्ट्रियस्तरको व्यावसायिक प्रदर्शनीस्थल निर्माण गरिनु पर्ने, सूर्यविनायक नगर अस्पतालको क्षमता वृद्धि गरी ट्रमा सेन्टर बनाइनु पर्ने, भक्तपुरका सम्पूर्ण सरकारी कार्यालय यहाँ राखिनुपर्ने, भारतको नयाँ दिल्लीस्थित गान्धी चोकको पालिका बजार जस्तै व्यवस्थित बजार बनाइनु पर्ने, व्यवस्थित होटल तथा लज, पौडी पोखरीलगायत संरचना एउटै ठाउँमा निर्माण गरिनुपर्ने माग राखेको छ । शनिबारको छलफलमा जगाती आदर्श टोल विकास संस्था, सिपाडोल बृहत् खानेपानी उपभोक्ता उपसमिति–१, डाँगाचा टोल सुधार समाज, सिम्रिक टोल सुधार समिति, चोलिङग गणेश टोल सुधार समिति, तौडोल छाप खानेपानी उपभोक्ता समिति, डाँगाचा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले संयुक्त रूपमा ती माग राखेका छन् । छलफलमा डाँगाचा उपभोक्ता समितिका अध्यक्ष प्रेमबहादुर माक, सिपाडोल बृहत् खानेपानी उपभोक्ता उपसमिति-१ का अध्यक्ष तुलसीनारायण लाखेमरु, स्थानीय सिद्धिराम लगायतले समितिले प्रस्ताव गरेको डिपिआरलाई सम्बोधन गर्दै अगाडि बढेमा रङ्गशाला निर्माणमा स्थानीयले सहयोग गर्ने बताए । यसअघि सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले एन्फाका महासचिव किरण राईलाई उक्त जग्गामा रङ्गशाला निर्माणका लागि औपचारिक रूपमा प्रस्ताव हस्तान्तरण गरिसकेका छन् । 

१ करोड लगानीमा साबुन उद्योग सञ्चालन, ५० लाख रुपैयाँ आम्दानी

काठमाडौं । १ करोड रुपैयाँ लगानीमा बागलुङमा साबुन उद्योग सञ्चालनमा आएको छ । काठे खोला गाउँपालिका-७ रेशका तीर्थ गौतम र तारा शर्माले पछिल्लो दुई वर्षदेखि कालिका साबुन उत्पादन गर्दै आएका हुन् । उनीहरू दुवै स्नातकोत्तर उत्तीर्ण हुन् । उनीहरुलाई समकालीन साथीहरू विदेशिँदा तिमीहरू पनि विदेश जाऊ भनेर सल्लाह दिनेहरू नभेटिएका होइनन् । परिवारकै सदस्यले पनि विदेश जानुको विकल्प देखिँदैन भन्थे । तर, तीर्थ र ताराले विदेशको विकल्प रोज्ने होइन, नेपालमै उद्यमी बन्ने सपना देखे । यतिबेला उनीहरू दुई वर्षको छोरासँगै आफ्नो उद्योगलाई हुर्काइरहेका छन् । स्वदेशमै स्वरोजगार सृजना गरेका तीर्थ र ताराको उद्योगमा अहिले ६ जनाले रोजगारी पाएका छन् । बागलुङ बजारको हल्लन चोक नजिकै रहेको टिएण्डटी म्यानुफ्याक्चरिङ उद्योगबाट तीर्थ र ताराले भाँडा र कपडा धुने साबुन उत्पादन गरेर बागलुङको गलकोट, बुर्तिबाङ, कुश्मिसेरा, बरेङ र म्याग्दी र पर्वत जिल्लाका मुख्य सहरमा बिक्री गर्दै आएका छन् । विसं २०७८ मा पर्यटन तथा उद्योग कार्यालय र बागलुङ नगरपालिकामा उद्योग दर्ता गरेका तीर्थ र ताराले २०८० सालबाट साबुन उत्पादन गरेर बिक्री गर्न थालेका हुन् । ५० लाख रुपैयाँ लगानी गरेर सुरु गरेको उद्योगमा १ करोड रुपैयाँभन्दा बढी लगानी पुगेको छ । निकट भविष्यमा सरफ, हार्पिक र कुलिनसमेत उत्पादन गर्ने लक्ष्य रहेको ताराले बताए । ‘अहिले विदेश जाने लहर चलेको छ, तर हामीहरूले यही नै केही गर्नुपर्छ भन्ने सोच बनायौँ र साबुन उद्योग सुरु गरेका हौं, नयाँ कामको सुरुआत आफैँबाट थालनी गर्नुपर्छ भन्ने मान्यता राख्छौँ, यहाँ साबुन उद्योग सञ्चालन हुँदा गाउँ ठाउँकै स्थानीयले नै रोजगार पाउँछन्,’ उनले भनिन् ।  साबुन उत्पादनका लागि अधिकांश कच्चा पदार्थ भारत र केही काठमाडौंबाट खरिद गर्ने तीर्थले बताए ।  आफूहरूले वार्षिक ५० लाख रुपैयाँ बराबरको कारोबार गर्ने उनको भनाइ छ । २ सय ग्रामको कपडा धुने कालिका साबुनलाई ५० रुपैयाँमा बिक्री गर्दै आएको उनी बताउँछन् । उत्पादनमा मात्र नभएर उत्पादित साबुनको गुणस्तरमा समेत ध्यान दिने गरेको उनको भनाइ छ ।