युवा उद्यमी पाण्डेको प्रश्नः लाखौंलाई रोजगारी दिँदा पनि उद्योगी व्यवसायीका घरघरमा आक्रमण किन ?

काठमाडौं । युवा उद्यमी प्रबलजंग पाण्डेले केही राजनीतिक नेतृत्वको गल्तीले उद्योगी व्यवसायीहरू निसानामा पर्ने गरेको बताएका छन् । लाखौं जनतालाई रोजगारी दिइरहेका उद्योगी व्यवसायीहरू आन्दोलनकारीको निसानामा पर्दा अन्योलको अवस्थामा रहेको उनले बताए । विगत दुई दिनको घटनाले सबै उद्योगी व्यवसायीहरू अन्योल र शून्यमा पुगेको उनको भनाइ छ । नियम परिधिमा व्यवसाय गरी राज्यलाई कर तिर्दा पनि निसानामा पर्ने गरेको उनले बताए ।  ‘विगत दुई दिनको घटनाक्रमले हामी सबै अन्योलमा छौ, बिचार शून्यमा छौ, हाम्रो मनोबल अत्यन्तै न्यून भएको छ । हामीले ऋण गरेर उद्योग व्यवसाय संचालन गरेका हौ, हामीले लाखौं जनतालाई रोजगारी दिएका छौ । हामीले राज्यको नियम परिधिमा व्यवसाय गरी राज्यलाई बुझाउनु पर्ने कर लगायत अन्य दायित्व पनि बुझाई रहेका छौं,’ उनले भने, ‘राजनीतिक नेतृत्वका केही नेताको गल्तीको सजाय हामी समग्र व्यवसायी लाई किन ? हाम्रा उद्योग व्यवसायमा निसाना किन ? हाम्रा घर घरमा आक्रमण किन ? के अब नेपालमा उद्योग नचाहिने हो ?’  १२ वर्षे माओवादी आन्दोलन, तराई आन्दोलन, २०६२/६३ को आन्दोलनलाई झेलेर नेपाल मै केही गर्नु पर्छ भनेर व्यवसाय गरिरहेको उनले बताए । ‘हाम्रो मनोबल यति कमजोर छैन । हामी दुई ठूला अर्थतन्त्र भएको मुलुकबीच रहेर पनि उद्योग व्यवसाय गरिरहेका व्यवसायी हौ, हामी कमजोर छैनौं, हामी अझ जुझारु भएर देशमा व्यवसाय गर्न सक्छौं,’ उनले भने ।  मनोबल उच्च राखी पुनः व्यवसाय गरेर देशमा रोजगारी श्रृजना गरेर देश विकासमा टेवा पुर्याउन सक्ने उनले बताए । तर, पहिलो सर्त शान्ति सुरक्षा र व्यक्तिगत जिउ धनको सुरक्षा रहेको उनको भनाइ छ । 

स्थानीय बासिन्दाले श्रीनगर एग्रीटेकको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । श्रीनगर एग्रीटेक इन्डष्ट्रिजको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । भदौ ११ गतेदेखि बिक्री खुला गरेको कम्पनीको आईपीओमा उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले आज भदौ २५ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीले जारी पुँजी १ अर्ब ६३ करोड १२ लाख ५० हजार रुपैयाँको २० प्रतिशत अर्थात् ३२ करोड ६२ लाख ५० हजार रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ३२ लाख ६२ हजार ५ सय कित्ता सेयर बिक्री गरेको हो । जसमध्ये १ प्रतिशत अर्थात् १ लाख ६३ हजार १२५ कित्ता उद्योग प्रभावित क्षेत्र रुपन्देही र पाल्पा जिल्लाका स्थानीय बासिन्दाहरूलाई छुट्याइएको छ । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक नबिल इम्भेष्टमेन्ट बैंकिङ्ग रहेको छ ।  उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले नबिल बैंकको तानसेन पाल्पा र फरसाटिकर रुपन्देही, एनएमबि बैंकका तानसेन र फरसाटिकर तथा ग्लोबल आइएमई बैंकका तानसेन शाखाबाट आवेदन दिन सक्नेछन् ।

जेनजी आन्दोलनमा भएको जनधन क्षतिप्रति महासंघले जनायो दुःख, शान्तिपूर्ण समाधानमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले जेनजीको प्रदर्शनको क्रममा देशभर भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ । महासंघले विज्ञप्ति जारी गर्दै प्रदर्शनका क्रममा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै मृतकका परिवारप्रति समवेदना व्यक्त गरेको छ । घाइतेको शीघ्र स्वास्थ्यलाभको कामनासमेत महासंघले गरेको छ । मर्यादित रोजगारी, स्वरोजगारी, सर्वसाधारण एवं उद्यमी व्यवसायीले तिरेको राजश्वको सदुपयोग लगायत विषयमा युवापुस्ताले देखाएको चासोप्रति संवेदनशील हुन नेपाल सरकार, राजनीतिक दलहरू लगायत सम्बन्धित सबैमा आग्रह गरिएको छ । मुलुकमा थप निराशा र अशान्तिको वातावरण कहीं कतैबाट पनि सिर्जना नहोस र शान्तिपूर्ण आन्दोलन र त्यस क्रममा अनावश्यक बल प्रयोग नहुनेतर्फ पनि महासंघले ध्यानाकर्षण गराएको छ । सामाजिक न्याय सहितको उच्च आर्थिक वृद्धिको वातावरण निर्माण गरेर मात्र उच्च ज्याला सहितको मर्यादित रोजगारी सम्भव रहेको महासंघको भनाइ छ ।  आर्थिक गतिविधि चलायमान बनाउन र मुख्य पर्यटकीय समयमा नेपालबाट सकारात्मक सन्देश विश्वभर प्रवाह गर्न सबै संयमित हुनुपर्ने समेत महासंघले बताएको छ । आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन सरकार लगायत सम्पूर्ण सबै राजनीतिक दल एवं जेनजीसँग महासंघले अपिल गरेको छ ।