डार्क दशैं, स्याड पानु
डार्क अर्थात् पुरै अँध्यारो पृष्ठभूमि । थचक्क भूँईमा थच्चिएको बालक । दुई घुँडामा दुई हात राखेर घोप्टिएको अवस्था । आँखाबाट झरेको आँशुको थोप्ला प्रष्ट गालामा देखिन्छ । ऊ एक्लो छ । बत्तिको उज्यालोले कालो पन्छाउने प्रयास गरेको छ । बालकले आँखा टुलुक्क हेरेको छ । ‘दशैं २०८२’ शब्दमा यत्ति लेखिएको छ । त्यही फोटो पोष्ट गरे भाटभटेनीका सीओओ पानु पौडेलले फूलपातीका दिन । १५ दिने दशैंको मध्यान्तरमा । विगत १८ वर्षदेखि भाटभटेनीमा आवद्ध पौडेल भाटभटेनीका वरिष्ठतम् कर्मचारी हुन् । उनले 'दशैं २०८२' को डार्क फोटोसँगै 'स्याड स्ट्याटस' पनि राखेका छन् । ‘हर्ष, उमंग र खुसीको पर्व दशैं, तर २०८२ को यस क्षणमा हामीले कहिल्यै नसोचेको पीडा र अन्धकारको सामना गरिरहनु परेको छ । भदौ २४ गतेको जेनजी प्रदर्शनका क्रममा भाटभटेनीका अधिकांश स्टोरहरू तोडफोडमा परे र १२ वटा स्टोरहरू जलेर पूर्ण रूपमा नष्ट भए । यो कुनै सामान्य घटना होइन । यो आतंककारी शैलीमा गरिएको कार्यले हामी सबैमा गहिरो आघात पुर्याएको छ,' पानुले लेखेका छन् । भदौ २४ गते जेनजी आन्दोलनकर्ताहरूले काठमाडौंसहित देशभर भएका आगजनी र तोडफोडमा भाटभटेनी सुपरस्टोरका २० वटा स्टोरमा गरी १० अर्ब ८५ करोड ६७ लाख ९८ हजार ८५४ रुपैयाँ बराबरको क्षति भएको भाटभटेनीले जनाएको छ । 'हामी र हाम्रो टिमलाई त्यसदिनको घटनाले निकै दु:खी तुल्याएको छ । हाम्रो मनमा उमंगको पर्वले पनि खुसी दिन सकिरहेको छैन । मनमा गहिरो स्तब्धता लुकेको छ । दशैंजस्तो सबैभन्दा ठूलो चाड नजिकिँदै गर्दा, हाम्रा कर्मचारीहरू उत्सव मनाउने कुनै मनोवृत्तिमा छैनन् । डर र अन्यायको अनुभूति उनीहरूको मुहारमा स्पष्ट देखिन्छ' पानुले लेखेका छन् । पानुलाई जस्तै यस पटक भाटभटेनीमा आवद्ध झण्डै १० हजार कर्मचारीको मन कुँडिएको छ । भलै भाटभटेनीको प्रबन्ध निर्देशन मिनबहादुर गुरुङले यस पीडाको क्षणमा पनि कर्मचारी नहटाउने र तलब सुविधा पनि कटौती नगर्ने प्रतिवद्धता जनाएका छन् । भाटभटेनीका सीओओ पानु पौडेल लेख्छन्, 'हाम्रो संरचना मात्र होइन, मनोबल पनि भत्काइएको छ । तर, हामी आशा गुमाउँदैनौं । हामी फेरि उठ्नेछौं-अझ मजबुद भएर, अझ एकतामा बाँधिएर । यो अन्धकारका पछाडि उज्यालो पक्कै आउनेछ ।’ ध्वस्त भएका १२ वटा स्टोर बन्द भएपनि १६ वटा स्टोरहरु नियमित सञ्चालनमा आएको भाटभटेनीले जनाएको छ । खुलेका भाटभटेनीहरुमा भने ग्राहकहरुको चाप उच्च रहेको पाइएको छ । ध्वस्त भएका १२ सुपरमार्केट पनि छिट्टै सञ्चालनमा ल्याउने प्रबन्ध निर्देशन गुरुङले बताएका छन् ।
आन्दोलनपछि मनोबल कमजोर, दण्डहिनता स्वीकार्य छैन : उद्योग संगठन मोरङ
काठमाडौं । उद्योग संगठन मोरङले नेपाल सरकार गृह मन्त्रालयले असोज ९ गते जारी गरेको विज्ञप्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । उक्त विज्ञप्तिमा जेनजी युवाहरूले भदौ २३ र २४ गते गरेको आन्दोलनका क्रममा भएको मानविय तथा भौतिक क्षतिको छानबिनका लागि आयोग गठन गरिएको र आयोगको प्रतिवेदन प्राप्त नभएसम्म नियमित कानुनी प्रक्रिया अगाडि नबढाइने उल्लेख गरिएको थियो । उद्योग संगठन मोरङका अनुसार आन्दोलनका क्रममा लक्षित र नियोजित रूपमा निजी क्षेत्रका उद्योग, व्यवसाय र आवासहरूमा लुटपाट, आगजनी र विध्वंश भएको छ, जसले जनमानसमा त्रास र भय सिर्जना गरेको छ । यसका कारण निजी क्षेत्रको मनोबल अत्यन्त कमजोर भएको बताइएको छ । संगठनले सरकारले उल्लेख गरेको 'नियमित कानुनी प्रक्रिया अगाडि नबढाइने' कुरा अत्यन्त खेदजनक रहेको र दण्डहिनता कायम हुन नहुनेमा जोड दिएको छ । कानुनी राज्यमा दण्डहिनता स्विकार्य नहुने भएकाले, संगठनले कानुनको शासनको प्रत्याभूति, धनजनको सुरक्षा, सुरक्षित लगानी तथा भयरहित वातावरणमा काम गर्न सकिने विश्वासयोग्य वातावरण सिर्जनाका लागि पनि गैह्रकानुनी कार्यमा संलग्न सबैलाई कानुनी दायरामा ल्याउन सरकारसँग जोडदार माग गरेको छ । संगठनका कार्यवाहक अध्यक्ष भोलेश्वर दुलालले यस सम्बन्धमा स्पष्टता र तत्काल कारबाहीको माग गरेका छन्।
मुस्ताङ–चीन कोरला नाकाको विकासमा नेपाल सरकारले ध्यान दिनुपर्छ : अध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुस्ताङ जिल्लामा अवस्थित नेपाल, चीन सिमानाका कोरोलाको थप स्तरोन्नति र व्यवस्थित सञ्चालनका लागि नेपाल सरकारसँग आग्रह गरेका छन् । महासंघको गण्डकी प्रदेश समिति एवं यस अन्तर्गतका जिल्ला उद्योग वाणिज्य संघका नेतृत्वहरुसँग आज सो नाकाको निरीक्षणपछि उनले सो आग्रह गरेका हुन् । अध्यक्ष ढकालले भने, 'कालीगण्डकी करिडोरको निर्माण पूरा भएपछि यो नाका नेपाल, चीन र भारतलाई जोड्ने सबैभन्दा छोटो मार्ग समेत बन्नेछ । यसलाई त्रिदेशीय व्यापार, पर्यटन र आर्थिक गतिविधिहरु प्रवद्र्धनका लागि प्रयो गर्न सकिने छ । यसतर्फ नेपाल सरकारले ध्यान दिनु जरुरी छ ।' अध्यक्ष ढकालले उक्त नाकाका लागि आवश्यक पर्ने पूर्वाधार नेपालतर्फ अपर्याप्त रहेकाले आवश्यक पूर्वाधार निर्माण गर्न, भन्सार कार्यालयलाई व्यवस्थित र सहज बनाउन, र जतिसक्दो चाँडै अध्यागमन सेवा सुरु गर्न पनि आग्रह गरे । उनले भने 'हामीले जानकारी पयौँ कि यहाँ १२ दिनमात्र अघि सुरु गरिएको भन्सार कार्यालयबाट १ अर्ब ४० करोड रुपैयाँ राजस्व संकलन भएको रहेछ । यसबाट पनि यो नाकाको थप व्यवस्थित सञ्चालन गर्न आवश्यक हुन आउँछ । हामीले भन्सार र अध्यागमनका लागि आवश्यक पूर्वाधार र कर्मचारी आदिको व्यवस्था गर्न सक्दा यसबाट नेपाललाई धेरै फाइदा पुग्ने कुरा स्पष्टै छ ।' चीनको ल्हासाबाट नेपालको रसुवासम्म पुग्न दुई दिन लाग्नेमा कोरोलासम्म एकैदिनमा आउने भएकाले पनि चिनियाँ पर्यटकका लागि नेपाल आउने यो छोटो रुट हुने तथा मानसरोवर पुग्न समेत यो बाटो छोटो हुने भएकाले यस नाकाबाट हुने आवतजावतलाई सहज र व्यवस्थित गर्नुपर्ने उनको भनाई थियो । माथि कोरोला नाका वरिपरि नै सरकारी कार्यालय निर्माण गर्न, बसोबास र अन्य व्यवस्थापनका लागि सहज नभएमा केही तल रहेको निचुङमा सरकारले पूर्वाधार निर्माण गरेर स्थायी रुपमा कार्यसञ्चालन एवं बिजुली, पानी, इन्टरनेट लगायत अन्य आवश्यक व्यवस्थापनमा सहज हुने पनि अध्यक्ष ढकालको सुझाव थियो । गतवर्ष मात्र मुस्ताङमा करिब ७ लाख आन्तरिक तथा बाह्य पर्यटक भित्रिएको तथ्यांक रहेको उल्लेख गर्दै अध्यक्ष ढकालले यहाँ धार्मिक पर्यटनका लागि मुक्तिनाथ, दामोदरकुण्ड लगायतका स्थानहरु रहेका र मानसरोबार जानका लागि पनि यो बाटो छोटो हुने भएकाले नेपाली र भारतीय पर्यटकहरुलाई समेत सहज हुने बताए । साथै माथिल्लो मुस्ताङ प्रवेशका लागि विदेशी पर्यटकहरुलाई लगाइँदै आइएको ५०० अमेरिकी डलर अव्यवहारिक रहेकाले त्यसमा तत्कालै पुनर्विचार गर्न पनि उनले सरकारसँग माग गरे । अध्यक्ष ढकालले नेपाल उद्योग वाणिज्य महासंघका तर्फबाट कालिगण्डकी करिडोर छिटो सम्पन्न गर्न र कोरला नाकालाई व्यवस्थित तथा दिगो ढंगले सञ्चालनका लागि आवश्यक पहल गर्न नेपाल सरकार र सम्बन्धित निकायसँग यसअघि पनि आग्रह गर्दै आएको बताउँदै यसका लागि निजी क्षेत्रका तर्फबाट के गर्नुपर्छ त्यसका लागि आफूहरु प्रतिबद्ध रहेको पनि बताए ।