चार जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष भन्छन्ः महासंघ ठूला घरानाको मात्र नहाेस्

काठमाडौं ।  यतिखेर नेपाल उद्योग वाणिज्य महासंघको चुनावी माहाेल तातेकाे  छ । वर्तमान कार्यसमितिकाे   कार्यकाल सकिन २ महिनामात्रै बाँकी छँदा महासंघमा चुनावी सरगर्मी शुरु भएको हो । केही आकांक्षीहरुले चुनावका लागि आफ्नो उम्मेद्वारी घोषणा नै गरेर भेटघाटलाई तीव्र बनाएका छन् भने कोही चाहिँ औपचारिक उम्मेद्वारी घोषणा नगरी छलफलमा जुटेका छन् । आगामी चैतमा हुने ५४औं वार्षिक साधारणसभाले नयाँ नेतृत्व पनि चयन गर्नेछ । विधानअनुसार महासंघको बरिष्ठ उपाध्यक्ष आगामी कार्यकालको लागि स्वतः अध्यक्ष हुनेछन् । त्यसैकारण अहिलेका बरिष्ठ उपाध्याक्ष शेखर गोल्छा महासंघको आगामी कार्यकालको अध्यक्ष हुँदैछन् । तर, चैतमा हुने अधिवेशनले गोल्छापछिको नेतृत्व पनि चयन गर्दैछ । चैतमा हुने महाधिवेशनले जसलाई बरिष्ठ उपाध्यक्ष बनाउनेछ, सो व्यक्ति नै गोल्छापछिको महासंघको अध्यक्ष बन्नेछ । निजी क्षेत्रको सबैभन्दा ठूलो संस्था भएको कारण पनि महासंघको नेतृत्वका बारेमा चासो र सरोकार हुनु स्वभाविकै हो । सरकारले निजी क्षेत्रसँग सहकार्य गरेर कार्यान्वयन गर्ने अधिकांश काममा महासंघको संलग्नता हुने भएकोले पनि यसको महत्व धेरै छ । महासंघले सबैभन्दा धेरै चिन्ता र सरोकार राख्ने भनेको उसका आफ्नै सदस्यहरुको हित प्रबद्र्धन नै हो । कुनै पनि संघ संस्थाले आफ्ना सदस्यहरुको हित संरक्षण र प्रबद्र्धन गर्नको लागि नै काम गर्नुपर्छ । यसैकारण महासंघका सदस्यहरुले अबको नेतृत्वबाट के कस्तो अपेक्षा राखेका छन् ? यो प्रश्न इलाम उद्योग वाणिज्य संघका अध्यक्ष ईश्वर चिपालु, ओखलढुङ्गा उद्योग वाणिज्य संघका  अध्यक्ष ज्ञानेन्द्र कुमार मास्के, पाँचथर उद्योग वाणिज्य संघका अध्यक्ष दिपक नेपाल र खोटाङ उद्योग वाणिज्य संघका अध्यक्ष उपीन कुमार राईलाई सोधेका छौं । उनीहरुले नेपाल उद्योग वाणिज्य महासंघको आगामी नेतृत्वमा पहिलेकाे जस्तै ठूला घराना मात्र नभई सर्व साधरण उद्योगी व्यवसायीको हक हितका लागि  नेतृत्व चाहिने धारणा राखेका छन् । भन्सार महसुल कम गराउन भूमिका खेल्ने नेतृत्व हामीलाई चाहिन्छ ईश्वर चिपालु, अध्यक्ष, इलाम उद्योग वाणिज्य संघ नेपालको अर्थतन्त्र सुधार गर्नका लागि नेपाल उद्योग वाणिज्य महासंघको भूमिका महत्वपूर्ण हुन्छ । पछिल्लो समय सरकार र निजी संघ संस्थाहरु पनि नारा लिएर मात्र अगाडि बढ्ने चलन छ । यो अवस्थालाई सुधार गर्ने खालको नेतृत्व आवश्यक छ । यी विविध समयाहरुलाई कसरी समाधान गर्न सकिन्छ भनेर छलफल गर्न आवश्यक छ । र त्यो खालको नेतृत्व अब हामीलाई चाहिन्छ । एक नम्बर प्रदेशका उद्योगी व्यवसायीहरुका धेरै समस्याहरु छन् । यी समस्याहरुलाई बुझेर सबै व्यवसायीहरुलाई अगाडि लिन सक्ने नेतृत्व हामीलाई चाहिन्छ । अहिलेको सबैभन्दा ठूलो समस्या भनेको बैंकले लिने ब्याज हो । सबैभन्दा पहिले नेपाल राष्ट्र बैंकले बैंकले उद्योगी व्यवसायीहरुलाई लिने ब्याजको दर निश्ति तोक्नु पर्यो । समय समयमा बढाएर समस्यामा पार्नु हुँदैन । यो समस्यालार्ई समाधान गर्ने नेतृत्व हामीलाई चाहिन्छ । राष्ट्र बैकले बैंकहरुलाई कति प्रतिशतमा ब्याज लिन पाउँछन् त्यो नीति बनाउनु पर्छ । राष्ट्र बैंकले ५ प्रतिशत भन्दा बढी ब्याज लिन पाउँदैन भन्ने नीति ल्याउनु पर्छ । सबै व्यवसायीको साझा घर सम्झिने खालको महासंघ बनाउने नेतृत्व आजको आवश्यकता हो दिपक नेपाल, अध्यक्ष, पाँचथर उद्योग वाणिज्य संघ उद्योग वाणिज्य महासंघको अबको नेतृत्वले पहाडी जिल्ला लगायतका ग्रामिण भेगका उद्योगी व्यवसायीका समस्याहरु पनि बुझ्ने प्रयास गर्नेछ भन्ने हाम्रो आशा छ । अहिले सम्मका नेतृत्वहरुले साना व्यवसायी तथा उद्योगीहरुका समस्याहरु समाधान गर्ने तर्फ त्यति ध्यान दिएको अवस्था छैन । अहिलेसम्मका नेतृत्वहरुले देशको निर्यात आयातमा मात्र ध्यान दिएको देखिन्छ । कतिपय युवाहरु स्वरोजगार हुने हिसाबले पनि व्यवसाय गरिरहेका छन् । अबको नेतृत्वले नेपालका सबै उद्योगी व्यवसायीहरुलाई समेटेर सबैको उद्योग वाणिज्य महासंघ बनाउन आवश्यक छ । यो विषयमा पनि महासंघले आफ्नो धारणा बनाउन आवश्यक छ ।   बैंकको व्याजदर घटाउने नेतृत्व चाहिन्छ ज्ञानेन्द्र कुमार मास्के, अध्यक्ष, ओखलढुङ्गा उद्योग वाणिज्य संघ उद्योग वाणिज्य महासंघको भावी नेतृत्वले बैंकमा परेको समस्या समाधान गर्ने छ भन्ने आशा लिएका छौं । पहिले एउटा ब्याजदर तोक्छ फेरि बिचबिचमा बढाउँछ । यसले सबै व्यवासयीहरुलाई समस्या परिरहेको अवस्था छ । पहिले ९ प्रतिशत भनेर लिएको ऋण पछि १४/१५ प्रतिशत तिर्नु पर्ने अवस्था छ । ट्याक्स भ्याट वान डोर सिस्टमबाट जानु पर्यो । उहाँहरुले सहि काम गरेर जिल्लामा परेका समस्याहरुलाई समाधान गर्न सक्नु पर्दछ । सरकारसँग समन्वय गरेर अगाडि बढ्न सक्नु पर्छ । हामी जुन सिस्टममा छौं त्यही सिस्टममा जानु पर्ने हुन्छ । तीनै तहले लिइरहेको ट्याक्स सिस्टम बन्द गरेर वान डोर सिस्टम लागु गरे देश आर्थिक गतिमा पनि अघि बढ्छ । आगामी नेतृत्वले यही समस्यालाई समाधान गर्नेछ भन्ने आशा लिएका छौं । ठूला घरानाको मात्र होइन सबै उद्योगी व्यवसायीको महासंघ उपीन कुमार राई,अध्यक्ष, खोटाङ उद्योग वाणिज्य संघ नेपाल उद्योग वाणिज्य महासंघको आउने नेतृत्वले साना तथा मझौला उद्योगी व्यवासयीका पीर मर्का र समस्याहरु बुझोस् । कुरा सुने मात्र हुन्थ्यो भन्ने हाम्रो चाहना छ । अहिले सम्मको नेतृत्वहरु ठूला घराना र उद्योगी व्यवसायीहरुको मात्र जस्तो हामीलाई महसुस भएको छ । उनीहरुकै हातमा मात्र महासंघ छ । हामी जस्तो दुर दराजमा रहेका व्यवसायीहरुका लागि यो जल्दोबल्दो समस्या हो । यो समस्यालाई उठाई दिने सुनिदिने सम्बन्धित निकायसम्म पुर्याई दिने नेतृत्व हामीलाई चाहिएको छ । विगतका नेतृत्वहरुले हामी विकट ठाउँमा व्यवसायीहरुका समस्याहरु राष्ट्रिय स्तरमा लिएको अवस्था छैन । हामीले आफ्नो ठाउँबाट आवाज उठाएका छौं । तर, त्यसलाई सरकारसमक्ष पुर्याउने नेतृत्व हामीले पाउन सकेका छैनौं । महासंघ जुन किसिमले सबैलाई लिएर अगाडि जानु पर्ने थियो त्यो अवस्था हामीले अहिलेसम्म महसुस गरेका छैनौं । भन्सारमा महसुल बढी भएकोले नेपालको भन्दा भारतीय बोर्डरहरुमा बढी बजार स्थापित भएका छन् । नेपालका बजार दैनिक घट्दै गइरहेका छन् । मान्छेले चोरी निकासी गर्छ । अर्थतन्त्रको विकास गर्नका लागि भन्सार भाउ घट्नु पर्छ । सम्बन्धित समाचारः चार जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष भन्छन्: व्यवसाय विराेधी ऐन कानुन खारेज गर्ने नेतृत्व चाहिन्छ चार प्रदेश महासंघका अध्यक्ष भन्छन्ः अबको नेतृत्वले शक्ति विकेन्द्रित गर्न सकोस् तीन प्रदेश उद्योग वाणिज्य महासंघका अध्यक्ष भन्छन्ः अबको नेतृत्वले एसएमईको प्रबर्द्धन सोचोस्    

फेब्रुअरीमा  हुने ‘नेपाल इन्डिया चाईना एक्स्पाे’ कोरोना भाइरसका कारण पछि सर्याे

काठमाडौं । प्यासिफिक एसिया ट्राभल एशोसिएशन (पाटा) नेपाल च्याप्टरले आगामी फेब्रुअरी २२ देखि २५ सम्म नेपाल भ्रमण वर्ष २०२० संगको सहकार्य तथा समन्वयमा आयोजना गर्ने गरी तय भएको नेपाल इन्डिया चाईना एक्स्पाे (नाईस) कार्यक्रम चीनमा फैलिएको कोरोना भाइरसका कारण पछि सारिएको छ । चीनबाट आमन्त्रित अतिथि तथा प्रतिनिधिहरुको सहज रुपमा सहभागिता जनाउने अवस्था नरहेकाले कार्यक्रमलाई तत्कालका लागि यसैवर्ष आयोजना गर्ने गरी पछि सारेको छ । जनवरी २७ तारिखका दिन बसेको पाटा नेपाल च्याप्टरको कार्य समिति बैठकले कोरोना भाइरसका कारण उत्पन्न संकट पूर्ण अवस्थामा आमन्त्रित प्रतिनिधिको स्वाथ्य सुरक्षालाई मध्यनजर गदैं पूर्व सावधानी स्वरुप सो निणर्य गरेको हो । पाटा नेपालका अध्यक्ष विभूतीचन्द ठाकुरले संस्थाले छिमेकी मुलुक चीनमा फैलिरहेको कोरना भाइरसका कारण पर्यटन क्षेत्रमा हुन सक्ने सम्भावित असरलाई नजिकबाट अनुगमन गरिरहेको र परिस्थिति सहज भएपश्चात नाईस कार्यक्रमको लागि उपयुक्त मिति तय गरिने बताए । साथै उनले सम्पूर्ण आमन्त्रित पाहुना, सहभागीहरु तथा सरोकारवालाहरुलाई संस्थाद्धारा सम्प्रेषण गरिने अर्को सूचना प्रतिक्षाका लागि अनुरोध गरेका छन् । नेपाल भ्रमण वर्ष २०२० का राष्ट्रिय संयोजक सुरज वैद्यले नाईस एक्सपो नेपाल भ्रमण वर्षको अवसरमा आयोजना गरिने विशेष महत्वपूर्ण कार्यक्रम भएको र यसले नेपालको पर्यटन प्रवद्धन विकासमा उल्लेख्य योग्दान पुर्याउने बताउदैं नयाँ वर्ष २०२० मा नाईसलाई सफल रुपमा आयोजना गर्न भ्रमण वर्षले पाटा नेपाल च्याप्टर लाई आवश्यक सहकार्य एवम् सहयोग गर्ने बताएका छन् । पाटा नेपालका प्रमुख कार्यकारी अधिकृत सुरेशसिहं बुडालले एक्स्पाेमा १२० क्रेता र ५० विक्रेताले सहभागी जनाउने निश्चित भए सँगै आवश्यक तयारी पुरा भएपनि वर्तमान समय एक्स्पाे आयोजनाका लागि उपयुक्त नरहेको जानकारी दिएका छन् । उनले सम्पुर्ण पर्यटन व्यावसायी तथा सरोकारवालाहरु एकजुट भएर कोरोना भाइरसका कारण पर्यटनमा हुन जाने सम्भाव्य असर तथा चुनाैती समाधानका लागि सबैले सहकार्य र समन्वयमा जोड दिन आवश्यक रहेको बताए ।

औषधी, कच्चा पदार्थ र मेसिनरीको भन्सार घटाउँछौंः उपप्रधानमन्त्री पोखरेल

काठमाडौं । उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले औषधीजन्य वस्तुको आयातमा लाग्दै आएको भन्सार दर घटाउने बताएका छन् । औषधी, यसमा प्रयोग हुने कच्चा पदार्थ तथा औषधी उत्पादन गर्न प्रयोग हुने मेसिनरीको भन्सार महसुल कम गर्ने मन्त्री पोखरेलको भनाइ छ । देउराली जनता फर्मास्युटिकल्सको २९औं वार्षिकोत्सव कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री पोखरेलले यस्तो वताएका हुन् । नेपाली औषधी उत्पादक उद्योगीले विदेशी औषधीको आयातमा कडाई गर्न माग गरिरहेको समयमा मन्त्री पोखरेलले भन्सार महसुल कम गरेर आयात प्रोत्साहन गर्ने बताए । नेपाली औषधी उत्पादकहरुले औषधीको कच्चा पदार्थ र उत्पादन प्रक्रियामा प्रयोग हुने मेसिनरीको भन्सार दर कम गर्न सरकारसँग आग्रह गरिरहेका थिए । अहिले नेपालमा करिब ५० वटा उद्योगहरुले विभिन्न रोगका औषधी उत्पादन गर्दै आएका छन् । यी उद्योगहरुले औषधीको कुल मागको करिब ४५ प्रतिशत हिस्सा ओगटेका छन् । नेपाली उद्योगको प्रबद्र्धन र संरक्षण गर्न नेपालमा उत्पादन हुने औषधीको आयातमा कडाई गर्नुपर्ने व्यवसायीको माग छ ।