औद्योगिक क्षेत्र स्थापनामा अब ढिलाइ हुँदैनः उद्योगमन्त्री भट्ट

भीमदत्तनगर । उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री लेखराज भट्टले सुदूरपश्चिम प्रदेशमा स्थापना हुन लागेको औद्योगिक क्षेत्र र सुक्खा बन्दरगाह यस प्रदेशको समृद्धिको सम्वाहक हुने बताएका छन् । कञ्चनपुरको बेदकोट नगरपालिका–२ स्थित स्थापना हुने दैजी औद्योगिक क्षेत्र निर्माणस्थलको आज अनुगमनका क्रममा आयोजित कार्यक्रममा मन्त्री भट्टले औद्योगिक क्षेत्र स्थापनामा अब ढिलाइ नहुने बताए । उद्योग मन्त्रालयका उच्चपदस्थ कर्मचारीको टोलीसहित औद्योगिक क्षेत्र निर्माणस्थल पुगेका मन्त्री भट्टले औद्योगिक क्षेत्रको विस्तारमा मन्त्रालय अग्रसर रहेको बताए । एक प्रदेशमा एक औद्योगिक क्षेत्र स्थापना गर्ने लक्ष्य सरकारले लिएको र  यसको स्थापनामा अब सरकार ढिलाइ नगर्ने उनले बताए । भट्टले दैजी औद्योगिक क्षेत्र स्थापनाको काम प्रदेश र स्थानीय सरकारबाट सम्भव नभएकोले सङ्घीय सरकारले नै निर्माण गरी हस्तान्तरण गर्ने जानकारी दिए । त्यसैगरी प्रतिनिधिसभा सदस्य नरबहादुर धाँमीले निर्वाचनका बेला जनतासामु गरिएका प्रतिबद्धता पूरा गर्न औद्योगिक क्षेत्र स्थापना तत्काल अगाडि बढ्नुपर्नेमा जोड दिएका छन्। बेदकोट नगरपालिका–२ र ३ को राष्ट्रिय वनको करिब २६९.९३ हेक्टरमा औद्योगिक क्षेत्र स्थापना गर्ने तयारी रहेको छ । दैजीमा औद्योगिक क्षेत्र स्थापना गर्ने घोषणा अढाइ दशक अघि भएको थियो ।रासस

महासंघका अध्यक्ष र उपाध्यक्षसहित २५ उद्योगीले पाउने भए सिआईपी सम्मान

काठमाडौं । सरकारले अर्थतन्त्रमा योगदान पुर्याउने २५ जना उद्योगी, व्यवसायी तथा संघ संस्थालाई महत्वपूर्ण व्यावसायिक व्यक्ति (सिआइपी) उपाधीबाट सम्मान गर्ने भएको छ । सरकारले मुलुकको वाणिज्य क्षेत्रमा योगदान पुर्याउने उक्त उद्योगी तथा व्यवसायिक व्यक्तिहरुलाई विभिन्न १३ विधामा सम्मान गर्न लागेको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले बिहीबार अन्तिम नामावली सार्वजनिक गर्दै विशिष्ट व्यक्तिहरुको नाम सार्वजनिक गरेको छ । जसमा नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा, महासंघकाे उपाध्यक्ष तथा आईएमईका अध्यक्ष चन्द्र ढकाल, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठ, नेपाल उद्योग परिसंघका अध्यक्ष सतिश कुमार मोर लगायतका विशिष्ट व्यवसायीहरु छनोट भएका छन् । उक्त व्यक्तिहरुलाई आगामी माघ २८ गते मंगलबार राष्ट्रिय सभामा एक कार्यक्रम मार्फत सम्मान गर्ने व्यापार तथा निकासी प्रर्वद्धन केन्द्रले जनाएको छ । सिआइपी सम्मान पाउने उद्योगी र व्यवसायीले विमानस्थलमा छुट्टै सिआइपी लाउन्ज, राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीको भेटघाटमा अग्रता, सिंहदरबार प्रवेश, व्यापार र निकासीमा राय सुझाव दिने र सार्क स्टिकर लोगोको व्यवस्था गरेर सार्क मुलुकमा भिसा आवश्यक नपर्ने लगायतको सुविधा पाउने छन् ।

साढे २ लाख कम्पनीलाई नियमन गर्ने निकायमा न प्रमुख छन्, न दरबन्दी अनुसार कर्मचारी नै

काठमाडौं । देशभरका कम्पनीहरुलाई नियमन गर्ने निकाय कम्पनी रजिष्ट्रार कार्यालय करिब १ महिनादेखि प्रमुख विहीन छ । निमित्त रजिष्ट्रार अजुनप्रसाद खनालले कम्पनी रजिष्ट्रार कार्यालय सञ्चालन गरिरहेका छन् । पुस २८ गते कम्पनी रजिष्ट्रार भुवनहरि अर्याल मन्त्रालयमा तानिए। कम्पनी रजिष्ट्रार कार्यालयमा अजुनप्रसाद खनालले नै कम्पनी रजिष्ट्रारको काम गरिरहेका छन् । नेपालमा २ लाख ३१ हजार कम्पनी दर्ता भएका छन् । जसमध्ये सबैभन्दा धेरै प्राइभेट कम्पनी दर्ता भएका छन् । प्राइभेट कम्पनी २ लाख ३१ हजार, पब्लिक १ हजार ८ सय, विदेशी ३ सय र नाफा वितरण नगर्ने २ हजार ८ सय कम्पनी दर्ता रहेको कम्पनी कम्पनी रजिष्ट्रार कार्यालयका सूचना अधिकारी सन्तोस दाहालले बताए । कम्पनी रजिष्ट्रार कार्यलयमा ५६ जना कर्मचारीको दरबन्दी रहेकोमा ४० जना मात्रै कर्मचारी छन् । १४ जनाको अधिकृत दरबन्दीमा ७ जना र ३ जनाको दरबन्दी रहेको कम्प्युटर इन्जिनियरमा १ जना पनि छैनन् । ५ जना उप रजिष्ट्रारको दरबन्दीमा ३ जना मात्रै छन् । ‘५ जना सहायक रजिष्ट्रारको सुरुवा भएर कम्पनी रजिष्ट्रारमा पत्र आएको १ महिना भइसक्यो तर ४ जना सहायक रजिष्ट्रार कार्यालयमा आएका छैनन् । ५ जनाको पत्र आएकोमा १ जना मात्रै कर्मचारी आएका छन्’, दाहालले भने । किन आउन मान्दैनन् कर्मचारी ? ‘सरकारी कार्यालयमा कुनै काम गराउन जानु पर्यो भने घुस बिना कामै हुँदैन’– सर्वसाधारण सेवाग्राहीबाट यस्तो गुनासो पटक पटक आउने गरेको छ । भन्सार, मालपोत जस्ता कार्यालय घुस अड्डाका रुपमा बदनाम छन् । यस्तै घुसखोरी हुने कार्यालयका रुपमा कम्पनी रजिष्ट्रार कार्यालय पनि थपिएको छ । भ्रष्टाचारको आरोपमा उक्त कार्यालयबाट महिनैपिच्छे कर्मचारी पक्राउ पर्न थालेका छन् । कार्तिक महिनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उक्त कार्यालयका दुई जना सहायक रजिष्ट्रारलाई छलफलका लागि बोलायो । अख्तियारले उनीहरु माथि अनुसन्धान थालिएको पत्र कम्पनी रजिष्ट्रार कार्यालयलाई पठाएको छ । अनुसन्धानका लागि अख्तियारले कम्पनी रजिष्ट्रार कार्यालयमै कार्यरत सहायक रजिष्ट्रार सीताराम खड्का र हाल उद्योग मन्त्रालयमा कार्यरत अर्का सहायक रजिष्ट्रार टंक भट्टराईलाई  कार्यालयमा बोलाएको थियो । सहायक रजिष्ट्रार खड्काले आर्थिक चलखेल गर्दै १ महिनामा नै करिब १ हजार फाइलको काम गरेको स्रोतले बतायो । पछिल्लो समय कार्यालयमा मौलाएको घुस प्रकरणले कम्पनी रजिष्ट्रार कार्यालयमा काम गर्छु भन्न पनि लाज लाग्ने अवस्था आएको सोही कार्यालयमा कार्यरत एक कर्मचारीले बताए । ‘मैले उद्योग मन्त्रालयमा काम गर्छु भन्ने गरेको छु,’ उनले भने । तर, दाहालले भने कामको चाप धेरै भएकोले कर्मचारी आउन नमानेको बताए । यस्तो छ घुस काण्डको श्रृंखला  गत माघ १ गते रजिष्ट्रारको कार्यालयकी सहायक रजिष्ट्रार गीताकुमारी पन्थी घुससहित पक्राउ परेकी थिइन् । उनले दर्ता रहेको स्कुलको कर तिर्न जाने सेवाग्राहीसँग राजस्व रकम कम गरिदिने भन्दै एक लाख रुपैयाँ घुस लिएकी थिइन् । यसअघि गत २८ मंसिरमा सोही कार्यालयमा करार सेवामा कार्यरत कम्प्युटर अपरेटर पूर्णचन्द्र आत्रेयलाई अख्तियारले पक्राउ गरेको थियो । उनले सेयर लगत अभिलेख तथा कम्पनी अद्यावधिक गर्ने प्रयोजनको लागि विभिन्न बहाना बनाई सेवाग्राहीसँग घुस लिएका थिए । यसैगरी, गत ११ असोजमा अख्तियारले कार्यालयकै उप रजिष्ट्रारद्वय धर्मराज रोकाय र गंगाधर पौडेललाई अनियमितता गरेको आरोपमा नियन्त्रणमा लिएको थियो । शंकर इलेक्ट्रिकल इन्डष्ट्रिज प्रालिका सञ्चालक निरञ्जन जटियालाई कार्यालयमा उपस्थित नगराई स्वामित्व हस्तान्तरण गरेको आरोपमा उनीहरूलाई अख्तियारले पक्राउ गरेको थियो ।