लकडाउनमा पनि अब उद्योग चल्ने, मजदुरलाई स्वास्थ्य मन्त्रालयले हेर्ने

काठमाडौं । सरकारले लकडाउनमा पनि उद्योग सञ्चालन गर्न दिने भएको छ । लकडाउनको कारणले १७ दिनदेखि अत्यावश्यक बाहेका सबै उद्योगहरु बन्द छन् । उद्योग मन्त्रालयले चरणबद्ध रुपमा सबै उद्योग सञ्चालन गर्ने कार्य अघि बढाएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सरकारले उद्योग सञ्चालन गर्न प्रक्रिया अगाडी बढाएको जानकारी दिए । ‘देशका उद्योगधन्दाहरु बन्द हुद देशको अर्थतन्त्रमा नकारात्मक असर परेको छ, विकासका काम र राष्ट्रिय गौरवका आयोजनाहरु सञ्चालनका लागि सरकार लागिरहेको छ,’ भट्टले भने । उद्याेगमा काम गर्ने मजदुरको स्वास्थ्य के कस्ताे छ भन्ने तथा कसरी सुरक्षित राख्ने भन्ने विषयका समन्वय स्वास्थ्य मन्त्रालयले हेर्नेछ । विश्व स्वास्थ्य संघठनले तोकेको मापदण्ड अनुसार नै मजदुरको स्वास्थ्य परीक्षण गरिने मन्त्री भट्टले बताए । ‘तेल उत्पादन गर्न भुष चाहिन्छ, उत्पादन गरिसकेपछि प्याकिङ् गर्न प्लास्टिक वा बोतल चाहिन्छ, एउटा उद्योगले उत्पादन गरेको बस्तु अर्काे उद्योगलाई चाहिन्छ, त्यसैले सरकारले सबै उद्योग सञ्चालन गर्न दिन लागेको हो,’ उनले भने । सरकारले राष्ट्रिय गाैरबका आयोजना निर्माणमा पनि समस्या नआउने प्रबन्ध मिलाएकाे छ । हाइड्रो परियोजना १ वर्ष धकेलियो भने त्यसको लागत बढ्छ । लागत बढदा आर्थिक भार थपिन्छ । हाइड्रो लगायतका विकासका परियोजना सञ्चालन गर्न सिमेन्ट, फलाम लगायतका बस्तु चाहिन्छ । त्यसैले सबै उद्योगहरु खुल्न लागेको मन्त्री मन्त्री भट्टले जानकारी दिए । उद्योग सञ्चालन हुदा स्वदेशमा नै उत्पादन भएको बस्तु बजारमा पठाउन सहज हुनेछ । उद्योगका लागि आवश्यता पर्ने कच्चा पदार्थ पनि ल्याउन सरकारले सहजिकरण गर्नेछ ।  लकडाउनको समायमा उद्योग सञ्चालन गर्दा मजदुरहरुलाई उद्योगमा नै राखेर काममा लगाउने र स्वास्थ्य परीक्षण गरिने छ ।

खाद्य सामाग्री यथेष्ट मात्रामा स्टक छन्- आपूर्ति समिति

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स आपूर्ति समितिको सभापति एवम् खाद्य किराना व्यापार संघका अध्यक्ष देवेन्द्र भक्त श्रेष्ठले यथेष्ट मात्रामा खाद्य सामाग्री स्टक रहेको बताएका छन् । साथै, उनले सरल तथा सूपथ मूल्यमा सुलभ तवरले खाद्यान्नहरु वितरण गर्न संघ प्रयत्नशील रहेको बताए । उनले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका टोलीले खाद्य वस्तुहरुको स्टक तथा वितरण प्रणाली बारे सोमबार भएको छलफलमा सो कुरा बताएका हुन् । उक्त टोलीले नेपाल चेम्बर अफ कमर्स आपूर्ति समितिका सभापति एवम खाद्य किराना व्यापार संघका पदाधिकारीहरुसँग छलफल गरेका हुन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, आपूर्ति सचिव वैकुण्ठ अर्याल एवम वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महा निर्देशक नेत्रप्रसाद सुवेदीको टोलीले संघका अध्यक्ष देवेन्द्र भक्त श्रेष्ठसँग अति आवश्यक खाद्य वस्तुहरुको स्टक, माग एवम् वितरण प्रणाली बारे संघका पदाधिकारीहरुसंग छलफल गरेका हुन् । उक्त अवसरमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीले वितरण प्रणालीबारे सन्तोष व्यक्त गरेका छन् ।

‘लकडाउन’ को समयमा पनि अत्यावश्यक काम गर्न चाहन्छन् निर्माण व्यवसायी

काठमाडौं निर्माण व्यवसायीले सरकारले सहजीकरण गरेमा वर्षा पहिले नै गरिसक्नुपर्ने निर्माणको काममा निरन्तरता दिइने बताएका छन् । अहिले पनि झण्डै डेढ सय आयोजनामा एक लाख ५० हजार कामदार निर्माणस्थलमा रहेको नेपाल निर्माण व्यवयासी महासङ्घले जनाएको छ । अहिले पनि धेरै स्थानमा वर्षा पहिले पुल निर्माण र नदी नियन्त्रणका काम सम्पन्न गर्नुपर्ने काम रहेको महासङ्घले जनाएको छ । कतिपय स्थानमा निर्माण सामग्री त्यसै खेर जाने अवस्थामा रहेको र कतिपय स्थानमा निर्माणको काम बीचैमा छाडिएकामा त्यसलाई अघि बढाउन सकिने महासङ्घका अध्यक्ष रबी सिंहले बताए । कतिपय स्थानमा आधारभूत सबै काम सकिएर थोरै मात्रै बाँकी रहेको छ । महासङ्घले पूर्णरुपमा काम गर्नेभन्दा पनि अति आवश्यक र वर्षा पहिले गर्नैपर्ने काम मात्रै अहिले गर्न चाहेको उनको भनाइ छ । असारदेखि वर्षा शुरु हुने भएकाले त्यस अघि सम्पन्न हुने काम समेत रहेका छन् । उनले भने, “कतिपय स्थानमा थोरै मेहनत पछि उपलब्धी हुने कामलाई सरकरले सहजीकरण गर्नुपर्छ ।” वर्षभरको सबैभन्दा काम गर्ने समयका रुपमा चैत, वैशाखको महिनालाई लिइन्छ । कतिपय स्थानमा नदी नियन्त्रणको काम वर्षा अघि नै सम्पन्न नगर्दा त्यहाँ वर्षामा ठूलो क्षतिको सम्भावना रहने छ । कतिपय पुल वर्षा अघि नै सम्पन्न गरिने लक्ष्य लिइएको छ । उनले भने, “सरकार आफैँले ती स्थानमा आवश्यक छ र गर्न सकिन्छ भनेर छुट्टाउनुपर्छ ।” अहिले निर्माणस्थलमै रहेका जनशक्तिलाई काममा लगाउन सकिने अध्यक्ष सिंहको भनाइ छ । त्यसबाहेक निर्माण व्यवसायीलाई थोरै सङ्ख्यामा प्राविधिक जनशक्ति मात्रै आवश्यक पर्ने उनले बताए । त्यससँगै सरकारका प्रतिनिधिले आवश्यक निगरानी गर्न जानुपर्ने हुन्छ । ‘लकडाउन’ को समय भएकाले आवश्यक सामाजिक दूरी कायम गरेर निर्माण गर्न सकिने जनाए । उनले भने, “यसले गर्दा काम गरिरहेका व्यक्ति, उसको परिवार र देशलाई पनि फाइदा पुग्छ भन्ने हामीलाई लागेको छ ।” अहिले देशभरका अधिकांश स्थानमा मजदूरहरु निर्माणस्थलमा उसै बसेर दिन बिताइरहेका उनले बताए । कार्यरतमध्ये कतिपय नियमित मासिक तलव र कतिपय कामका आधारमा पारिश्रमिक पाउने गर्छ । यहाँ बसिरहेकालाई निर्माण व्यवसायीले नै खानेकुराको प्रवन्ध गरिरहेको उनको दाबी छ । त्यही व्यक्तिले काम गर्न सके परिवारलाई पनि सहयोग गर्न सक्ने उनले जानकारी दिए । निर्माणस्थलमा रहेका मजदूर काम पनि गर्न नपाउने र मनोरञ्जनका कुनै माध्यम नहुँदा उसै बसेर दिन बिताइरहेका छन् । उनले भने, “काम गर्न नपाउँदा मजदूर आफैँ विक्षिप्त हुनसक्छन् ।” सडक विभागका महानिर्देशक केशवकुमार शर्माले विभिन्न स्थानमा अहिले पनि निर्माण सुचारु रहेको बताए। झण्डै आठ स्थानमा निर्माण भइरहेको विभागमा जानकारी आएको छ । सडक विभागका त्यहाँस्थित डिभिजनले त्यसको अनुगमन र समन्वय गरिरहेको छ । निर्माण भइरहेकामध्ये अधिकांश पुल निर्माणका ठेक्का छन् । विभागले निर्माण व्यवसायीलाई अहिले पनि आवश्यक समन्वय गरिरहेको उनको भनाइ छ । कतिपय स्थानमा ‘सवारी पास’ का लागि विभागले आवश्यक सहजीकरण गरिरहेको हो । उनले भने, “सामाजिक दूरी कायम गरेर भइरहेका काममा समस्या छैन ।” कतिपय स्थानमा काम भइरहेको र गर्न सक्ने अवस्था भएपनि सबै स्थानमा त्यही अवस्था नहुन सक्ने महानिर्देशक शर्माले बताउनुभयो । कतिपय स्थानमा स्थानीय तहले काम गर्न हुँदैन भनेको अवस्थामा निर्माण अघि बढाउन नसकिने उहाँले बताउनुभयो । थोरै कामदारलाई सुरक्षित रुपमा काम गराउन सकिने भएपनि ती कामदार बाहिर जाने वा बाहिरबाट कामदार आउने गर्नुहुँदैन । उहाँले भन्नुभयो, “निर्माण व्यवसायीले त्यहाँ रहेका हाम्रा डिभिजन, आयोजना निर्देशनालय र स्थानीय प्रशासनसँग समन्वय गरेर काम गर्न सक्नुहुन्छ ।” ‘लकडाउन’का समयमा समेत गर्न सकिने निर्माणका कामका विषयमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङ, सचिव देवेन्द्र कार्की, शहरी विकास मन्त्रालयका सचिव मधुसुदन अधिकारीलगायतसँग पनि कुराकानी भइरहेको महासङ्घले जनाएको छ । यस्तै, डिभिजन सडक कार्यालय काठमाडौँले विभिन्न स्थानमा सडक चिन्ह लगाउने काम गरिरहेको छ । अरु समयमा सवारीसाधन र पैदल यात्रुका चापले काम गर्न कठीन हुने स्थानमा काम भइरहेको हो । रासस