साना तथा मझौला उद्योगको प्रवर्द्धनबिना देशमा आर्थिक क्रान्ति असम्भव : सुरकृष्ण वैद्य
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्यले साना तथा मझौला उद्यमीहरूको प्रवद्र्धन र विकास बिना देशमा आर्थिक क्रान्ति सम्भव नभएको बताएका छन् । घरेलु तथा साना उद्योग महासंघका पदाधिकारीहरूसँगको भेटघाटका क्रममा उनले मुलुकको आर्थिक समृद्धिका लागि साना उद्योगहरूको व्यवस्थापन र औद्योगिक क्रान्ति अनिवार्य शर्त रहेको उल्लेख गरेका हुन् । वरिष्ठ उपाध्यक्ष वैद्यले साना तथा घरेलु उद्योग महासंघले जिल्ला तहसम्म पुगेर गरिरहेको कार्यको प्रशंसा गर्दै सरकारले यस क्षेत्रलाई प्रत्यक्ष रूपमा सम्बोधन गर्नुपर्नेमा जोड दिए । महासंघको वरिष्ठ उपाध्यक्षको हैसियतले अबका दिनमा वस्तुगत संघ, जिल्ला नगर उद्योग वाणिज्य संघ र साना तथा मझौला व्यवसायीहरूलाई समेटेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे । विशेषगरी वस्तुगत संघका सदस्यहरूको सक्रियताले महासंघलाई चलायमान बनाउन महत्वपूर्ण भूमिका खेलेको उनको भनाइ छ । सरकारी बजेट र तालिम कार्यक्रमहरूको प्रभावकारितामाथि प्रश्न उठाउँदै उपाध्यक्ष वैद्यले हाल सञ्चालित सीपमूलक कार्यक्रमहरूले लक्षित वर्गलाई समेट्न नसकेको टिप्पणी गरे । आर्थिक, सीपमूलक र आयमूलक तालिमहरू (महिला, युवा तथा कृषक लक्षित) स्थानीय सरकारको अगुवाइमा भएपनि त्यसको प्राविधिक समन्वय र कार्यान्वयन निजी क्षेत्रका छाता संगठनहरूमार्फत हुनुपर्ने उनको प्रस्ताव छ । नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल घरेलु तथा साना उद्योग महासंघबीचको समन्वयमा जिल्लास्तरका तालिमहरू सञ्चालन गरिए मात्र वास्तविक उद्यमीले अवसर पाउने र तालिमपश्चात रोजगारी सिर्जना हुने वैद्यले बताए । आगामी दिनमा दुवै महासंघले साझा समिति बनाएर सरकारसँग प्रभावकारी रूपमा समन्वय गर्ने योजना रहेको समेत बताए । ‘हामी के भन्छौँ भने, नेपालमा ठूला उद्योग घरानाभन्दा पनि जबसम्म साना तथा मझौला उद्यमहरूको प्रवर्द्धन हुँदैन, जबसम्म साना उद्योगहरूको व्यवस्थापन हुँदैन र साना उद्यमीहरूको औद्योगिक क्रान्ति हुँदैन, तबसम्म देशमा आर्थिक क्रान्ति सम्भव हुँदैन भन्नेकुरा सबैले स्पष्ट रूपमा बुझेका छन्,’ उनले भने ।
सर्वोत्तम पेन्ट्सले जेठ २८ गतेदेखि आईपीओ बिक्री गर्ने
काठमाडौं । सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले जेठ २८ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर जारी गरिसकेपछि अब दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताहरुका लागि आईपीओ बिक्री गर्ने भएको हो । कम्पनीले जारी पुँजी ३४ करोड रुपैयाँको २५ प्रतिशत अर्थात् ८ करोड ५० लाख रुपैयाँको १ सय रुपैयाँ अंकित मूल्य दरका ८ लाख ५० हजार कित्ता सेयर जारी गर्नेछ । जसमध्ये १० प्रतिशत अर्थात् ८५ हजार कित्ता विदेशमा रोजगार गरिरहेका नेपाली र ४२ हजार कित्ता साधारण सेयर सामूहिक लगानी कोषलाई बिक्री गरेर बाँडफाँड गरिसकेको छ । अब दोस्रो चरणमा कम्पनीले १७ हजार कित्ता कर्मचारी र बाँकी रहेको ७ लाख ५ हजार ५०० कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि बिक्री गर्न लागेको हो । कम्पनीको आईपीओमा लगानीकर्ताहरुले न्यूनतम् १० कित्तादेखि अधिकतम ५ हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा छिटोमा असार २ गते र ढिलोमा असार ११ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताहरुले सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् ।
बजेटले निजी क्षेत्रको मनोबल बढाएर अर्थतन्त्र चलायमान बनाउँछ : विरेन्द्रराज पाण्डे
काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष विरेन्द्रराज पाण्डेले नेपालको अर्थतन्त्रलाई नयाँ दिशा दिनेगरी बजेट आएको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको बजेटपछिको अन्तरक्रियामा निजी क्षेत्रको मनोबल बढाउने गरी आएको बताएका हुन् । अध्यक्ष पाण्डेले पछिल्ला वर्षमा नेपालको उपभोग्य वस्तुको माग घटेको समयमा अर्थतन्त्र चलायमान हुनेगरी बजेट आएको बताए । ‘निजी क्षेत्रको मनोबल बढाउने, अर्थतन्त्रलाई चलायमान बनाउने गरी आएको छ,’ उनले भने,‘अहिले बजारमा माग बढ्न नसकेकोमा बजेटका कार्यक्रमले यसलाई सम्बोधन गर्ने देखिन्छ ।’ सरकारले २६० वस्तुमा हटाएको अन्तशुल्कले कष्ट अफ बिजनेश घटाउने बताए । उद्योग परिसंघले माग गर्दै आएको आयकर ऐनको दफा ५७ संसोधन स्वागतयोग्य भएको बताए । ‘कर विवाद समाधान, लगानी सम्बन्धी दजानौं कानुन संसोधनले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने छ,’ उनी भन्छन्, ‘मोतिपुर र मयुरधाम जस्ता औद्योगिक क्षेत्र निर्माण निजी क्षेत्रलाई दिने विषय आएको छ । हामीले मागेकै विषय हुन्छ ।’ सरकारले बजेट मार्फत वन, खानी र प्राकृतिमा आधारित उद्योग बढाउने नीतिले उत्पादन मुलक उद्योग बढाउन सहयोग पुग्ने विश्वास गरेका छन् । बजेटले निजी क्षेत्रका धेरै विषय सम्बोधन गरेपनि केही माग सम्बोधन नभएको बताए । उनले भारत लगायतका देशबाट आयातित वस्तुमा गुणस्तर मापदण्ड लागु गर्ने माग गरेपनि बजेटमा उल्लेख नभएको बताए । निजी क्षेत्रबाट लामो समयदेखि माग हुँदै आएको उत्पादनमुलक उद्योगमा हदबन्दी नलाग्ने माग गरेको थियो । यो विषय सम्बोधन हुन सकेको छैन । डेटा माइनिङ लगायत प्राविधि उद्योगको विषयमा अझै स्पष्ट नभएको बताए । परिसंघले कृषी क्षेत्रको विकासकालागि कोल्ड स्टोरेज, बजारीकरणको लागि चेन निमार्ण सम्बन्धी थप कार्यक्रम अपेक्षा गरेको बताए । उनले निजी क्षेत्र बजेट प्रभावकारी कार्यन्वयन गर्नकोलागि सहयोग गर्ने बताए।