साना तथा मझौला उद्योगको प्रवर्द्धनबिना देशमा आर्थिक क्रान्ति असम्भव : सुरकृष्ण वैद्य

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्यले साना तथा मझौला उद्यमीहरूको प्रवद्र्धन र विकास बिना देशमा आर्थिक क्रान्ति सम्भव नभएको बताएका छन् ।

घरेलु तथा साना उद्योग महासंघका पदाधिकारीहरूसँगको भेटघाटका क्रममा उनले मुलुकको आर्थिक समृद्धिका लागि साना उद्योगहरूको व्यवस्थापन र औद्योगिक क्रान्ति अनिवार्य शर्त रहेको उल्लेख गरेका हुन् । 

वरिष्ठ उपाध्यक्ष वैद्यले साना तथा घरेलु उद्योग महासंघले जिल्ला तहसम्म पुगेर गरिरहेको कार्यको प्रशंसा गर्दै सरकारले यस क्षेत्रलाई प्रत्यक्ष रूपमा सम्बोधन गर्नुपर्नेमा जोड दिए । महासंघको वरिष्ठ उपाध्यक्षको हैसियतले अबका दिनमा वस्तुगत संघ, जिल्ला नगर उद्योग वाणिज्य संघ र साना तथा मझौला व्यवसायीहरूलाई समेटेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे । 

विशेषगरी वस्तुगत संघका सदस्यहरूको सक्रियताले महासंघलाई चलायमान बनाउन महत्वपूर्ण भूमिका खेलेको उनको भनाइ छ । सरकारी बजेट र तालिम कार्यक्रमहरूको प्रभावकारितामाथि प्रश्न उठाउँदै उपाध्यक्ष वैद्यले हाल सञ्चालित सीपमूलक कार्यक्रमहरूले लक्षित वर्गलाई समेट्न नसकेको टिप्पणी गरे ।

आर्थिक, सीपमूलक र आयमूलक तालिमहरू (महिला, युवा तथा कृषक लक्षित) स्थानीय सरकारको अगुवाइमा भएपनि त्यसको प्राविधिक समन्वय र कार्यान्वयन निजी क्षेत्रका छाता संगठनहरूमार्फत हुनुपर्ने उनको प्रस्ताव छ । 

नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल घरेलु तथा साना उद्योग महासंघबीचको समन्वयमा जिल्लास्तरका तालिमहरू सञ्चालन गरिए मात्र वास्तविक उद्यमीले अवसर पाउने र तालिमपश्चात रोजगारी सिर्जना हुने वैद्यले बताए । आगामी दिनमा दुवै महासंघले साझा समिति बनाएर सरकारसँग प्रभावकारी रूपमा समन्वय गर्ने योजना रहेको समेत बताए । 

‘हामी के भन्छौँ भने, नेपालमा ठूला उद्योग घरानाभन्दा पनि जबसम्म साना तथा मझौला उद्यमहरूको प्रवर्द्धन हुँदैन, जबसम्म साना उद्योगहरूको व्यवस्थापन हुँदैन र साना उद्यमीहरूको औद्योगिक क्रान्ति हुँदैन, तबसम्म देशमा आर्थिक क्रान्ति सम्भव हुँदैन भन्नेकुरा सबैले स्पष्ट रूपमा बुझेका छन्,’ उनले भने ।    

Share News