वरिष्ठ उपाध्यक्षका ५ जना आकांक्षीबीच ‘जेन्टलमेन एग्रिमेन्ट’, पद पेन्डिङ राखेर बन्यो ‘टिम अञ्जन’
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा चुनावी सरगर्मी बढेको छ । चैत २८ र २९ गते हुने महासंघको ६०औं वार्षिक साधारणसभामा नयाँ टिमका लागि उद्योगी व्यवसायीलाई दौडधूप बढेको हो । गत फागुन ११ गते वर्तमान वस्तुगत उपाध्यक्ष हेमराज ढकालको नेतृत्वमा नयाँ टिम घोषणा भएको थियो । अर्को समूहले पनि आज (सोमबार) उम्मेदवारी घोषणा गर्दैछ । सो समूहले अबको साधारणसभाबाट स्वतः अध्यक्ष बन्ने अञ्जन श्रेष्ठको नेतृत्वमा बन्ने टीम भनेर घोषणा गर्दैछ । सो प्यानलले वरिष्ठ उपाध्यक्षका लागि भने उम्मेदवारी घोषणा गर्ने छैन । समूहबाट वस्तुगत उपाध्यक्षमा शिवप्रसाद घिमिरे, एसोसिएट उपाध्यक्षमा प्रवलजंग पाण्डे, जिल्लानगर उपाध्यक्षमा दिलसुन्दर श्रेष्ठ र कृष्ण शर्मा उम्मेदवारी घोषणा गर्दैछन् । जिल्ला नगरतर्फका उपाध्यक्षका उम्मेदवार दिलसुन्दर श्रेष्ठका अनुसार आज सो समूहले वरिष्ठ उपाध्यक्षको उम्मेदवार घोषणा गर्ने छैन । ‘आज हामी चार जना उपाध्यक्ष र केन्द्रीय सदस्यको उम्मेदवारहरू घोषणा गर्नेछौं । वरिष्ठ उपाध्यक्ष पछि चयन हुने भएकोले अहिले नै घोषणा गर्नुपर्ने आवश्यक ठानेनौं, हाम्रो चुनावमा हामीलाई जुन क्षेत्रबाट बढी मत आउँछ, त्यही क्षेत्रका आकांक्षीलाई हाम्रो टिमले वरिष्ठ उपाध्यक्ष बनाउने छ,’ उनले विकासन्युजसँग भने । यो समूहबाट वरिष्ठ उपाध्यक्षका लागि पाँच जनाको दाबी छ । श्रेष्ठका अनुसार यो समूहबाट वर्तमान जिल्ला–नगर उपाध्यक्ष सुरकृष्ण वैद्य, पूर्व उपाध्यक्षद्वय दिनेश श्रेष्ठ र रामचन्द्र संघाईसँगै किशोर प्रधान र भाष्करराज कर्णिकारले वरिष्ठ उपाध्यक्षका लागि रुचि देखाएका छन् । पाँचै जना आकांक्षीले आफ्नो दाबी नछोडेपछि अहिले कुनैलाई पनि घोषणा नगर्ने र पछि जुन क्षेत्रबाट बढी मत आयो सोही क्षेत्रको व्यक्तिलाई वरिष्ठ उपाध्यक्ष बनाउने गरी सर्वसहमति भएको उनको भनाइ छ । यो समूहले अहिले वरिष्ठ उपाध्यक्ष र महिला उपाध्यक्ष घोषणा नगर्ने श्रेष्ठले बताए । यो समूहले अञ्जन श्रेष्ठलाई आफ्नो अध्यक्ष बनेर घोषणा गर्दैछ । यद्यपि, वर्तमान वरिष्ठ उपाध्यक्ष भएकोले उनी महासंघको स्वतः अध्यक्ष बन्दैछन् । विगतमा ‘कमिङ प्रेसिडेन्ट’ न्युट्रल बस्ने अभ्यास भए पनि यस पटक भने अञ्जन खुलेरै आफ्नो टिम निर्माणमा लागेका छन् । वस्तुगत उपाध्यक्षका उम्मेदवार शिव घिमिरेले पनि यो अञ्जन श्रेष्ठ नेतृत्वको प्यानल रहेको बताए । ‘हाम्रो चाहना भनेको यस्तो विषम परिस्थितिमा चुनाव नहोस् भन्ने हो । तर, भएपछि स्वस्थ हुनुपर्छ । अहिलेको वरिष्ठ उपाध्यक्ष र हुनेवाला अध्यक्षले म मेरो टिम बनाउँछु, त्यसले मलाई काम गर्न सहज हुन्छ भनेर अपील गर्नु स्वाभाविक हो,’ उनले भने, ‘त्यसमा उद्योगी व्यवसायी साथीहरूले साथ पनि दिनुपर्छ । ’ घिमिरेका अनुसार अध्यक्ष प्रधान संस्थामा टिम व्यवस्थापन सन्तोषजनक हुन सकेमा भोलि डेलिभरी पनि सोही किसिमले हुन्छ । तर, टिम मिलेन भने काम पनि प्रभावकारी ढंगले हुँदैन । त्यसैले आफूहरूले हुनेवाला अध्यक्षको टिम भनेर घोषणा गरेको बताए । वस्तुगत उपाध्यक्षका उम्मेदवार रहेका घिमिरे अहिले महासंघको कार्यकारिणी सदस्यका रूपमा कार्यरत छन् । उनी एक अनुभवीका उद्योगी व्यवसायीका रूपमा परिचित छन् । उनले पेट्रोल पम्प व्यापार हुँदै पेट्रोलियम ग्याँस (एलपीजी) बोतलिङ प्लान्ट, हाइड्रोपावर, कृषि व्यवसाय, शिक्षा, मिडिया, सर्भिस तथा हस्पिटालिटि, बैंकिङ तथा वित्त क्षेत्रमा समेत ठूलो लगानी गरेका छन् । उनले कन्स्ट्रक्सन, व्यापार क्षेत्रमा पनि लगानी गर्दै आएका छन् । यस्तै, एसोसिएट उपाध्यक्षका उम्मेदवार प्रवलजंग पाण्डे यसअघि पनि महासंघको उपाध्यक्षका लागि दाबेदार बन्ने तयारीमा थिए । तर, टिम व्यवस्थापनको क्रममा उनी पछि हट्न बाध्य भएका थिए । सिटिजन बैंकका अध्यक्ष समेत रहेका उनी लोमस ग्रुपका सञ्चालक समेत हुन् । पाण्डेले महासंघमा तीन कार्यकाल कार्यकारीणी सदस्यको जिम्मेवारी सम्हालिसकेका छन् । उनी महासंघका पूर्वअध्यक्ष प्रदीपजंग पाण्डेका छोरा पनि हुन् । उनको औषधि उत्पादक लोमस ग्रुप, सिमेन्ट, बैंक र बीमालगायतका क्षेत्रमा उनको लगानी छ । जिल्ला नगरतर्फका उपाध्यक्षका उम्मेदवार दिलसुन्दर श्रेष्ठ पनि एक अनुभवी र परिचित व्यवसायी हुन् । उनी महासंघमा विगत तीन दशकदेखि सक्रिय छन् । उनी हाल नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका अध्यक्षका रुपमा कार्यरत छन् । उनले धुलिखेल उद्योग वाणिज्य संघको पनि तीन पटक नेतृत्व गरिसकेका छन् । उनी आरएम ग्रुपको सञ्चालक पनि हुन् । यस्तै, जिल्लानगरतर्फको उपाध्यक्षका उम्मेदवार कृष्णप्रसाद शर्मा पनि लुम्बिनी प्रदेशका परिचित व्यवसायी हुन् । उनी नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष समेत हुन् । उनी शर्मा सिद्धार्थ उद्योग वाणिज्य संघ पूर्वअध्यक्षसमेत हुन् । अञ्जन श्रेष्ठ समूहबाट वरिष्ठ उपाध्यक्षमा रुचि राखेका पूर्वजिल्ला नगरतर्फका उपाध्यक्ष दिनेश श्रेष्ठले अहिले नै वरिष्ठ उपाध्यक्षको उम्मेदवार भनेर घोषणा गरेर जानु हतार हुने बताए । ‘जसले घोषणा गरे उनीहरुले गलत गरे, अहिले उपाध्यक्षहरू र कार्यसमितिको मात्रै निर्वाचन हो, उनीहरू जितेर आइसकेपछि उनीहरूको मतदानले नै वरिष्ठ उपाध्यक्ष चुनिने हो । त्यसैले हतार गरेर उम्मेदवारी घोषणा गर्नु राम्रो होइन,’ उनले भने, ‘हामीले यो विषयलाई राम्रोसँग बुझेर नै उम्मेदवारी घोषणा नगरिएको हो ।’ अर्का वरिष्ठ उपाध्यक्षका उम्मेदवार हेमराज ढकालको समूहबाट वर्तमान एसोसिएट तर्फकी उपाध्यक्ष ज्योत्सना श्रेष्ठ उपाध्यक्षमै दोहोर्याएर उम्मेदवारी दिएकी छन् । उनी ज्वेलर्स व्यवसायी हुन् । यो समूहबाट उमेश डालमिया र कल्पना गैरे जिल्ला नगर उपाध्यक्षका उम्मेदवार बनेका छन् भने नरेशलाल श्रेष्ठ वस्तुगत उपाध्यक्षका उम्मेदवार बनेका छन् । उनी हस्तकला र निर्यात व्यवसायीका साथै ऊर्जा, हस्पिटालिटी र स्वास्थ्य क्षेत्रमा पनि उनको लगानी छ । उनीसँग दुई कार्यकाल कार्यसमितिको अनुभव समेत छ । ढकाल समूहबाट कल्पना श्रेष्ठ महिला उपाध्यक्षकी उम्मेदवार बनेकी छन् । उनीसँग पनि तीन कार्यकाल महासंघको कार्यसमिति सदस्यको काम गरेको अनुभव छ । सम्बन्धित सामग्री : महासंघ चुनाव : अर्को समूहबाट वरिष्ठ उपाध्यक्षका लागि ५ जना आकांक्षी, यस्तो बन्यो प्यानल उद्योगी व्यवसायीलाई पनि लाग्यो चुनाव, ढकालको नेतृत्वमा प्यानल घोषणा ‘कमिङ प्रेसिडेन्ट’को प्यानल बन्छ, अनुभवी र क्षमतावान टिम बनाउँदैछौं
कच्चा पदार्थ महँगिँदा कुलायनले बढायो चुलोको मूल्य
काठमाडौं । कुलायन होम एप्लायन्स इण्डस्ट्रिज प्रालिले इन्डक्सन चुलो (विद्युतीय चुलो) को मूल्य वृद्धि गरेको छ। अन्तर्राष्ट्रिय मुद्राको उतारचढावका कारण कच्चा पदार्थ खरिदमा लागत बढेपछि खुद्रा मूल्य समायोजन गर्नुपरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धिको प्रभावले उत्पादन लागत बढेकाले मूल्य परिमार्जन गरिएको हो । उपभोक्ता संरक्षण ऐन तथा प्रचलित कानुनअनुसार उपभोक्ताको हकहितलाई ध्यानमा राख्दै नयाँ मूल्यसूची सार्वजनिक गरिएको कम्पनीले जनाएको छ । नयाँ मूल्यसूचीअनुसार एक मुखे इन्डक्सन चुलो र एक मुखे इन्फ्रारेड चुलोको अधिकतम खुद्रा मूल्य ६ हजार रुपैयाँ कायम गरिएको छ। त्यसैगरी दुई मुखे इन्डक्सन चुलो, दुई मुखे इन्फ्रारेड चुलो तथा इन्डक्सन र इन्फ्रारेड मिश्रित (मिक्स) दुई मुखे चुलोको मूल्य १३ हजार २ सय रुपैयाँ तोकिएको छ । कम्पनीको उत्पादन केन्द्र मकवानपुरको हेटौंडा औद्योगिक क्षेत्रमा रहेको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ साढे ५ करोड घाटामा
काठमाडौं । निजी क्षेत्रका उद्योगी व्यवसायीहरूको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) साढे ५ करोड रुपैयाँ घाटामा रहेको देखिएकाे छ । महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार आर्थिक वर्ष २०८१/८२ मा महासंघ ५ करोड ३९ लाख ९४ हजार रुपैयाँ खुद घाटामा रहेको देखिएकाे हाे । जबकि अघिल्लो वर्ष महासंघ ३ करोड २६ लाख ६० हजार रुपैयाँ घाटामा थियो । तर, महासंघका महानिर्देशक गोकर्ण अवस्थीले वार्षिक तथ्यांकमात्र हेरेर संस्थालाई घाटामा रहेको निष्कर्ष निकाल्न नमिल्ने जानकारी दिए । उनका अनुसार महासंघको आय संरचना तीन वर्षे चक्रमा आधारित भएकाले प्रत्येक वर्ष नाफा-घाटा फरक देखिन सक्छ । ‘हाम्रो घाटा-नाफा भन्ने हुँदैन । सदस्यकाे नवीकरण चुनावी वर्षमा गर्ने अभ्यास छ । सदस्यता नै हाम्रो मुख्य आम्दानी हो, जुन हरेक वर्ष उठ्दैन,’ उनले भने, ‘कुनै वर्ष आम्दानीभन्दा खर्च बढी देखिए पनि समग्र अवधिमा संस्था घाटामा हुँदैन ।’ महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाले पनि सदस्यता शुल्क संकलनको ढाँचाका कारण यस्तो अवस्था देखिएको हुन सक्ने बताए । ‘सदस्यता शुल्क प्रायः निर्वाचन वर्षमा एकै पटक उठ्छ । त्यसैले कुनै वर्ष घाटा र अर्को वर्ष नाफा देखिनु स्वाभाविक हो,’ उनले भने । तर, विगतमा महासंघ कुनै पनि वर्ष घाटामा गएको अनुभव आफूसँग नरहेको उनले सुनाए । ‘संस्थाले धान्ने गरी खर्च गर्नुपर्छ । खर्च धान्न नसक्ने हो भने कसले दिन्छ ?,’ उनले भने, ‘सामान्यतया संस्था घाटामा हुँदैन । निर्वाचनको वर्ष सबै व्यवस्थापन हुन्छ । तर, विगतमा कुनै पनि वर्ष महासंघ घाटामा थिएन ।’ उनका अनुसार महासंघका एशोसिएट सदस्य संख्या उल्लेख्य रूपमा बढेको छ र हाल करिब १ हजार ९ सय पुगेको छ । प्रतिवर्ष २० हजार रुपैयाँ सदस्यता शुल्क तिर्नुपर्ने व्यवस्था रहे पनि अधिकांश सदस्यले तीन वर्षको शुल्क एकैपटक बुझाउने गरेका छन् । महासंघले सदस्यता शुल्कबापत १ करोड ७९ लाख ११ हजार रुपैयाँ संकलन गरेको छ, जुन अघिल्लो वर्षको ८६ लाख ९० हजार रुपैयाँको तुलनामा उल्लेख्य वृद्धि हो । उत्पत्तिको प्रमाणपत्र आयबापत ३ करोड ४ लाख २९ हजार रुपैयाँ आम्दानी भएको छ भने अघिल्लो वर्ष यो २ करोड २२ लाख ७९ हजार रुपैयाँ थियो । यस्तै, अनुदान आय घटेर २ करोड ५५ लाख ४२ हजार रुपैयाँमा सीमित भएको छ, जबकि अघिल्लो वर्ष ४ करोड ९३ लाख ९० हजार रुपैयाँ थियो । वित्तीय आम्दानी पनि घटेर १ करोड १२ लाख २३ हजार रुपैयाँमा झरेको छ । जबकि अघिल्लो वर्ष १ करोड ९० लाख ८४ हजार रुपैयाँ वित्तीय आम्दानी थियो । अन्य आम्दानी ४९ लाख ३६ हजार रुपैयाँ रहेको छ, जुन अघिल्लो वर्ष ५१ लाख ८८ हजार रुपैयाँ थियो। समग्रमा महासंघको कुल आम्दानी घटेर ९ करोड ४३ हजार रुपैयाँमा पुगेको छ, जुन अघिल्लो वर्ष १० करोड ४६ लाख ३२ हजार रुपैयाँ थियो । खर्चतर्फ, महासंघले कर्मचारी खर्चमा ४ करोड २३ लाख ८० हजार रुपैयाँ बेहोरेको छ, जुन अघिल्लो वर्ष ५ करोड १७ लाख १८ हजार रुपैयाँ थियो । कार्यक्रम खर्च ३ करोड ६३ लाख ८४ हजार रुपैयाँ रहेको छ भने अघिल्लो वर्ष ५ करोड १० लाख रुपैयाँ खर्च गरिएको थियो । अघिल्लो वर्ष २ करोड ६ लाख ५४ हजार रुपैयाँ रहेको प्रशासनिक खर्च गत वर्ष बढेर २ करोड ४२ लाख १४ हजार रुपैयाँ पुगेको छ । महासंघका अनुसार गैर-प्रशासनिक खर्च ५५ लाख ८९ हजार रुपैयाँ रहेको छ, जुन अघिल्लो वर्ष ३८ लाख ७४ हजार रुपैयाँ थियो । महासंघका अनुसार गत वर्ष विविध खर्च ५७ लाख २ हजार रुपैयाँ, प्रदेश उद्योग वाणिज्य संघतर्फ १ करोड ७ लाख १० हजार रुपैयाँ तथा बिदा व्यवस्थापनतर्फ १ करोड २७ लाख ६९ हजार रुपैयाँ खर्च भएको छ । समग्रमा गत वर्ष महासंघको कुल खर्च घटेको छ । गत वर्ष महासंघले १३ करोड ७७ लाख ५१ हजार रुपैयाँ कुल खर्च गरेको छ । जबकि अघिल्लो वर्ष १४ करोड ४३ लाख ९३ हजार रुपैयाँ कुल खर्च गरेको थियो । महासंघले काठमाडौं उपत्यका खानेपानी लिमिटेडमा ९ लाख रुपैयाँ सेयर लगानी गरेको छ भने एनएमबि बैंकमा ३ करोड रुपैयाँ निक्षेप राखेकाे वार्षिक प्रतिवेदनमा उल्लेख छ ।