वरिष्ठ उपाध्यक्षको दौडबाट हेमराज ढकाल ‘ब्याक’

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार हेमराज ढकालले अन्ततः आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । शुक्रबार (आज) ढकालले उम्मेदवारी फिर्ता लिने निर्णय गर्दै अब वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार रामचन्द्र संघईलाई समर्थन गर्ने घोषणा गरेका हुन् । ढकालको उम्मेदवारी फिर्तासँगै अब वरिष्ठ उपाध्यक्ष पदका लागि रामचन्द्र संघई र सुरकृष्ण वैद्यबीच मात्र प्रतिस्पर्धा हुने भएको छ ।  यसैबीच कोषाध्यक्ष पदका लागि भने मनिषलाल प्रधान र अम्बिका प्रसाद पौडेलबीच कडा प्रतिस्पर्धा हुने भएको छ । यससँगै महासंघको निर्वाचन समीकरणमा नयाँ मोड आएको छ । अध्यक्ष अञ्जन श्रेष्ठ नेतृत्वको टिमलाई दबाब परेको छ । श्रेष्ठ टिमबाट वरिष्ठ उपाध्यक्ष पदमा सुरकृष्ण वैद्य र कोषाध्यक्ष पदमा मनिषलाल प्रधान चुनावी मैदानमा छन् । त्यस्तै, निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकाल र एशोसिएट उपाध्यक्ष प्रबलजंग पाण्डे पक्षको समर्थन वरिष्ठ उपाध्यक्षका उम्मेदवार रामचन्द्र संघई र कोषाध्यक्ष उम्मेदवार अम्बिका प्रसाद पौडेललाई रहेको स्रोत बताउँछ । 

वरिष्ठ उपाध्यक्षमा तीन जनाको उम्मेदवारी, कोषाध्यक्षमा पौडेल र प्रधान भिड्दै

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि तीनजनाको मात्रै उम्मेदवारी परेको छ । शुक्रबार (आज) भइरहेको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका लागि सुरकृष्ण वैद्य, हेमराज ढकाल र रामचन्द्र संघाईले उम्मेदवारी दिएका हुन् । यसअघि वरिष्ठ उपाध्यक्ष पदका लागि भरतराज आचार्य र किशोर प्रधान पनि आकांक्षी देखिए पनि अन्तिममा उनीहरूले  उम्मेदवारी दिएनन् । यस्तै, कोषाध्यक्ष पदका लागि दुई जनाको मात्रै उम्मेदवारी परेको छ । कोषाध्यक्षका लागि अम्बिका प्रसाद पौडेल र मनिषलाल प्रधान प्रतिस्पर्धामा रहेका छन् । यसअघि भक्तबहादुर हमालले पनि कोषाध्यक्ष पदमा उम्मेदवारी दिने तयारी गरे पनि अन्तिममा उनी पछि हटे । वरिष्ठ उपाध्यक्षका उम्मेदवार वैद्य र कोषाध्यक्षका उम्मेदवार प्रधानलाई महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सहयोग गर्नेछन् । यस्तै, हेमराज ढकाललाई निवर्तमान अध्यक्ष चन्द्र प्रसाद ढकालले सहयोग गर्नेछन् । साथै वरिष्ठ उपाध्यक्षका उम्मेदवार संघाई र कोषाध्यक्षका उम्मेदवार पौडेललाई एशोसिएट उपाध्यक्ष प्रवलजंग पाण्डेले अघि सारेका हुन् । महासंघको विधानअनुसार नवनिर्वाचित कार्यसमितिका पदाधिकारी र सदस्यहरूले वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष चयनका लागि मतदान गर्ने व्यवस्था रहेको छ ।

महासंघ केन्द्रीय कार्यसमितिमा ६ जना मनोनीत

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय कार्यसमितिमा ६ जना सदस्य मनोनीत भएका छन् । महासंघको विधानअनुसार अध्यक्ष अञ्जन श्रेष्ठले उनीहरूलाई केन्द्रीय कार्यसमितिमा मनोनीत गरेका हुन् । महासंघद्वारा मनोनीत सदस्यहरूमा शिवप्रसाद घिमिरे, मनीषलाल प्रधान, नवीन रिजाल, दर्शना श्रेष्ठ, साहारा जोशी र गोकर्ण कार्की रहेका छन् । महासंघको विधानअनुसार २ जना महिला सहित ७ जना मनोनीत गर्नुपर्ने व्यवस्था भए पनि हालका लागि ६ जना मात्रै मनोनीत गरिएको हाे ।