उद्योगीले बुझाए ४६ करोड ८६ लाख बक्यौता, १० उद्योगको बिजुली काटियो

काठमाडौं । औद्योगिक क्षेत्रका भौतिक संरचना प्रयोग गरेबापत गत असार मसान्तसम्म उद्योगीले ४६ करोडभन्दा बढी महसुल राज्यकोषमा दाखिला गरेका छन् । विभिन्न १० वटा औद्योगिक क्षेत्रमा सञ्चालित उद्योगले उक्त अवधिमा ४६ करोड ८६ लाख दाखिला गरेका औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका सूचना अधिकारी वासुदेव सोडारीले दिए ।   देशभरका औद्योगिक क्षेत्रमा सञ्चालित ३०० भन्दा बढी उद्यागको ८८ करोड बक्यौता थियो ।  सूचना अधिकारी सोडारीका अनुसार बक्यौता नबुझाएका १० उद्योगको विजुलीको लाइन काटिएको छ । कन्टिनेन्टल ग्रुपका दुई उद्योगको ४ करोड बक्यौता छ ।  

मंसिरमा अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी हुने, स्टल बुकिङ खुला

काठमाडौं । नेपालको कृषि क्षेत्रलाई आधुनिकीकरण, यान्त्रीकरण र व्यवसायीकरण गर्ने उद्देश्यसहित आगामी मंसिरमा काठमाडौंमा ‘अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी–२०८३’ आयोजना हुने भएको छ । प्रदर्शनीका लागि साउन १ गतेदेखि स्टल बुकिङसमेत खुला गरिएको आयोजकले जनाएको छ । ‘कृषिमा यन्त्र र प्रविधि : कृषक र राष्ट्रको समृद्धि’ भन्ने मूल नारासहित मंसिर ४, ५ र ६ गते (नोभेम्बर २०, २१ र २२, २०२६) भृकुटीमण्डपमा प्रदर्शनी आयोजना हुनेछ । नेपाल सरकारको कृषि, वन तथा वातावरण मन्त्रालयअन्तर्गत कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवर्द्धन केन्द्र, हरिहरभवन र नेपाल कृषि मेशिनरी व्यवसायी संघको संयुक्त आयोजनामा प्रदर्शनी हुन लागेको हो । आयोजकका अनुसार कृषि तथा पशुपन्छीपालन क्षेत्रको उत्पादनशीलता वृद्धि, आधुनिक प्रविधिको विस्तार तथा व्यवसायिक कृषि प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुने प्रदर्शनीमा एक सयभन्दा बढी स्वदेशी तथा विदेशी प्रदर्शक सहभागी हुनेछन् । नेपाल कृषि मेशिनरी व्यवसायी संघका उपाध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य सुनिता नेमाफुकीका अनुसार प्रदर्शनीमा करिब १० देशका दुई हजारभन्दा बढी प्रकारका आधुनिक कृषि औजार, उपकरण, मेसिन तथा नवीनतम प्रविधि प्रदर्शन गरिनेछ । प्रदर्शनीमा २०० भन्दा बढी स्टल रहनेछन् । उनका अनुसार ‘मेड इन नेपाल’ र ‘मेक इन नेपाल’ अभियानअन्तर्गतका स्वदेशी कम्पनीलाई विशेष सहुलियत प्रदान गरिनेछ । कृषक, कृषि उद्यमी तथा सर्वसाधारणका लागि प्रदर्शनीमा प्रवेश निःशुल्क हुनेछ । प्रदर्शनीमा आधुनिक कृषि, पशुपन्छीपालन, मत्स्यपालन, पुष्पखेती, व्यावसायिक तरकारी उत्पादन, आधुनिक सिँचाइ प्रणाली, पोस्ट–हार्भेस्ट प्रविधि, कृषि उपज प्रशोधन तथा बजारीकरणसँग सम्बन्धित अत्याधुनिक उपकरण र उन्नत बीउबिजन प्रदर्शन गरिने आयोजकले जनाएको छ । आयोजकका अनुसार प्रदर्शनीले कृषक, कृषि उद्यमी, नीति निर्माता, अनुसन्धानकर्ता र व्यवसायीलाई नवीनतम कृषि प्रविधिबारे जानकारी गराउनुका साथै कृषि यान्त्रीकरणको विस्तार, बजार प्रवर्द्धन, लगानी आकर्षण र व्यवसायी तथा उपभोक्ताबीच प्रत्यक्ष समन्वय स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । नेपाल कृषि मेशिनरी व्यवसायी संघले यसअघि पाँच वटा राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी, एक प्रादेशिक प्रदर्शनी तथा एक अन्तर्राष्ट्रिय एग्रीटेक प्रदर्शनी सफलतापूर्वक आयोजना गरिसकेको छ । आयोजकले यस वर्षको अन्तर्राष्ट्रिय संस्करण अझ बृहत्, प्रविधिमैत्री र सहभागितामूलक हुने विश्वास व्यक्त गरेको छ ।

शंकर र अम्बे ग्रुपको रिद्धिसिद्धिले बेच्यो ३.८९ अर्बको सिमेन्ट, बैंकमा ऋण १२.२१ अर्ब रुपैयाँ

काठमाडौं । रिद्धि सिद्धि सिमेन्ट लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को ९ महिनामा ३ अर्ब ८९ करोड ३० लाख रुपैयाँ कुल सञ्चालन आम्दानी गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको ३ अर्ब ९९ करोड ४० लाख रुपैयाँको तुलनामा २.५३ प्रतिशत कम हो । यद्यपि, आर्थिक वर्ष २०८१/८२ मा कम्पनीको कुल सञ्चालन आम्दानी भने बढेको थियो । कम्पनीले आव २०८१/८२ मा ५ अर्ब ९८ करोड १० लाख रुपैयाँ आम्दानी गरेको थियो । उक्त आम्दानी अघिल्लो आर्थिक वर्षको तुलनामामा २.९० प्रतिशत अर्थात् १६ करोड ९० लाख रुपैयाँ बढी हो । आव २०८०/८१ मा कम्पनीले ५ अर्ब ८१ करोड २० लाख रुपैयाँ आम्दानी गरेको थियो । आव २०७९/८० मा ५ अर्ब ४६ करोड ७० लाख रुपैयाँ र आव २०७८/७९ मा ६ अर्ब ४८ करोड १० लाख रुपैयाँ आम्दानी गरेको थियो ।  सन् २०१३ मा स्थापना भएको रिद्धि सिद्धि सिमेन्ट लिमिटेड शङ्कर ग्रुप र अम्बे ग्रुपको संयुक्त लगानीमा सञ्चालित सिमेन्ट उद्योग हो । कम्पनीले ‘रिद्धि सिद्धि’ र ‘मकवानपुर’ ब्रान्डअन्तर्गत अर्डिनरी पोर्टल्यान्ड सिमेन्ट (ओपीसी) तथा पोर्टल्यान्ड पोजोलाना सिमेन्ट (पीपीसी) उत्पादन तथा बिक्री गर्दै आएको छ । कम्पनीको स्थापित ग्राइन्डिङ क्षमता प्रतिवर्ष ०.७३ मिलियन मेट्रिक टन रहेको छ भने क्लिंकर उत्पादन क्षमता ०.८४ मिलियन मेट्रिक टन छ । बन्द रहेको ०.२४ मिलियन मेट्रिक टन पीएससी उत्पादन क्षमता भने यसमा समावेश गरिएको छैन । कम्पनीको उत्पादन केन्द्र मकवानपुरको हेटौंडा उपमहानगरपालिका–रातोमाटेमा रहेको छ भने केन्द्रीय कार्यालय काठमाडौंको थापाथलीस्थित सेन्ट्रल बिजनेस पार्कमा छ । सन् २०२६ को अप्रिलसम्म सुलभ अग्रवाल कम्पनीका सबैभन्दा ठूलो सेयरधनी छन्, जसको स्वामित्व ५१.७९ प्रतिशत रहेको छ । कम्पनीले ०.८४ मिलियन मेट्रिक टन क्षमताको क्लिंकर उत्पादन प्लान्टमार्फत ‘ब्याकवर्ड इन्टिग्रेसन’ रणनीति अपनाएको छ । हेटौंडास्थित उत्पादन केन्द्र नजिकै रहेका आफ्नै चुनढुंगा खानीका कारण मुख्य कच्चा पदार्थको आपूर्ति सुनिश्चित भएको कम्पनीले जनाएको छ । थप खानीहरू विकासको चरणमा रहेकाले आगामी वर्षमा कच्चा पदार्थको उपलब्धता अझ सुदृढ हुने र उत्पादन क्षमता विस्तारमा सहयोग पुग्ने कम्पनीको विश्वास छ । आर्थिक वर्ष २०८१/८२ मा कच्चा पदार्थको खपत र बिक्री खर्च बढेका कारण कम्पनीको सञ्चालन नाफा १ अर्ब ४५ करोड १० लाख रुपैयाँबाट घटेर १ अर्ब २५ करोड रुपैयाँमा सीमित भएको छ । तर वित्तीय खर्च घटेकाले खुद नाफा ४ करोड १० लाख रुपैयाँबाट बढेर ८ करोड २० लाख रुपैयाँ पुगेको छ । त्यस्तै, ग्रस क्यास एक्रुअल्स पनि ४४ करोड ६० लाख रुपैयाँबाट बढेर ४९ करोड ९० लाख रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०८२/८३ को ९ महिनामा कम्पनीको सञ्चालन नाफा ७३ करोड ८० लाख रुपैयाँ, खुद नाफा २ करोड रुपैयाँ तथा ग्रस क्यास एक्रुअल्स ३१ करोड ३० लाख रुपैयाँ रहेको छ, जसले नाफामा दबाब कायम रहेको संकेत गर्छ ।  कम्पनीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट १२ अर्ब २१ करोड ४४ लाख रुपैयाँ ऋण लिएको छ । यसमध्ये ८ अर्ब १४ करोड ९१ लाख रुपैयाँ दीर्घकालीन र ४ अर्ब ६ करोड ५२ लाख रुपैयाँ अल्पकालीन ऋण रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा कुल ऋण ११ अर्ब ९३ करोड ७५ लाख रुपैयाँ थियो । कार्यशील पुँजीको आवश्यकता पनि बढ्दो क्रममा छ। कम्पनीको औसत मौज्दात अवधि २३४ दिनबाट बढेर २५८ दिन पुगेको छ । ग्राहकबाट रकम असुली गर्ने औसत अवधि ५३ दिनमा स्थिर रहे पनि आपूर्तिकर्तालाई भुक्तानी गर्ने अवधि १२१ दिनबाट घटेर १०९ दिनमा झरेको छ । यसका कारण कम्पनीको सञ्चालन चक्र १६७ दिनबाट बढेर २०२ दिन पुगेको छ, जसले व्यवसाय सञ्चालनका लागि थप कार्यशील पुँजी आवश्यक पर्ने अवस्था देखाएको छ । कम्पनीका अनुसार सिमेन्ट उद्योगमा प्रतिस्पर्धा अझ तीव्र बन्दै गएको छ । स्थापित ब्रान्डसँगै संगठित र असंगठित दुवै क्षेत्रका उद्योगहरूको उपस्थिति तथा नयाँ उद्योगको प्रवेश र क्षमता विस्तारले मूल्य निर्धारण गर्ने क्षमता सीमित बनाएको छ । हाल नेपालमा करिब ६० वटा सिमेन्ट उद्योग र २० वटा क्लिंकर उद्योग सञ्चालनमा छन् भने थप उद्योगहरू निर्माणाधीन छन् । यस्तो अवस्थामा कच्चा पदार्थको लागत बढे पनि त्यसको भार उपभोक्तामा सार्न कठिन हुने भएकाले आगामी दिनमा उद्योगको नाफामा थप दबाब पर्न सक्ने कम्पनीले जनाएको छ ।