नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच एमओयू गर्ने सहमति, व्यापार र लगानीका नयाँ अवसर खोजिने

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र स्पेनिश चेम्बर अफ कमर्सले द्विपक्षीय व्यापार, लगानी र निजी क्षेत्रबीचको सहकार्य विस्तार गर्ने विषयमा सहमति जनाएका छन् । दुवै संस्थाले सन् २०२६ को अन्त्य वा २०२७ को प्रारम्भसम्म समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गर्दै सहकार्यलाई संस्थागत बनाउने तयारी गरेका छन् ।

नेपाल भ्रमणमा रहेकी स्पेनिश चेम्बर अफ कमर्सकी महानिर्देशक इन्माकुलादा रिएरा इ रेनेसँग चेम्बर भवनमा भएको भेटवार्तामा आर्थिक साझेदारीलाई नयाँ उचाइमा पुर्याउने विषयमा विस्तृत छलफल भएको हो ।

छलफलका क्रममा नेपालको सुदृढ बन्दै गएको राजनीतिक स्थायित्व र भारत–चीनबीचको रणनीतिक भौगोलिक अवस्थाले विदेशी लगानी तथा व्यापार विस्तारका लागि अनुकूल वातावरण सिर्जना गरेको निष्कर्ष निकालिएको थियो ।

सहकार्यअन्तर्गत स्पेनिश चेम्बर अफ कमर्सले सन् २०२७ को फेब्रुअरी–मार्चमा आठदेखि नौवटा स्पेनी कम्पनी सहभागी हुने व्यवसायिक प्रतिनिधिमण्डल नेपाल पठाउने तयारी गरेको जनाएको छ । भ्रमणका क्रममा नेपाली र स्पेनी उद्यमीबीच प्रत्यक्ष व्यावसायिक सम्बन्ध विस्तार गर्न तथा नयाँ लगानीका अवसर पहिचान गर्न व्यवसायिक फोरम आयोजना गरिनेछ ।

दुवै पक्षले व्यापार र लगानी प्रवर्द्धनका लागि सरकारी तहको सहकार्य प्रभावकारी बनाउने, व्यवसायिक भिसा प्रक्रियालाई सहज बनाउने, उच्चस्तरीय भ्रमणलाई प्रोत्साहन गर्ने तथा युरोपेली संघ (ईयू)–भारत व्यापार वार्ताबाट नेपालले लिन सक्ने अवसरबारे पनि छलफल गरेका छन् ।

बैठकले नवीकरणीय ऊर्जा, जलविद्युत्, सौर्य तथा वायु ऊर्जा, जल व्यवस्थापन, स्मार्ट सिटी, यातायात पूर्वाधार, पर्यटन, आतिथ्य, कृषि तथा खाद्य प्रशोधनलाई सहकार्यका प्राथमिक क्षेत्रका रूपमा अघि बढाउने सहमति गरेको छ ।

नेपालबाट उच्च गुणस्तरको अर्थोडक्स चिया, अर्गानिक कफी, ठूलो इलाइची, जडीबुटी, सुगन्धित वनस्पति, अत्यावश्यक तेल, पश्मिना, हस्तनिर्मित गलैँचा, हस्तकला सामग्री, हस्तनिर्मित कागज, चाँदीका गरगहना, अर्गानिक मह तथा बाँसजन्य उत्पादन स्पेन निर्यातको राम्रो सम्भावना रहेको छलफलमा उल्लेख गरिएको थियो । त्यसैगरी स्पेनले नवीकरणीय ऊर्जा, सिँचाइ, कृषि तथा स्वास्थ्य उपकरण, पानी प्रशोधन र पर्यटन व्यवस्थापनमा आफ्नो आधुनिक प्रविधि तथा अनुभव नेपालसँग साझेदारी गर्न सक्ने विश्वास व्यक्त गरेको छ ।

दुवै चेम्बरले म्याड्रिड, बार्सिलोना र काठमाडौंमा आयोजना हुने अन्तर्राष्ट्रिय व्यापार मेलामा सक्रिय सहभागिता जनाउने, डिजिटल व्यापार तथा ई–कमर्समार्फत व्यावसायिक सम्बन्ध विस्तार गर्ने र दक्षिण एसियामा अनुभव भएका स्पेनी कम्पनीलाई नेपालको पूर्वाधार, स्वच्छ ऊर्जा तथा दिगो लगानीका परियोजनामा सहभागी गराउने विषयमा पनि जोड दिएका छन् ।

भेटवार्ताको अन्त्यमा दुवै पक्षले नियमित व्यवसायिक भ्रमण, निजी क्षेत्रबीचको साझेदारी र संस्थागत सहकार्यलाई अझ सुदृढ बनाउँदै आगामी वर्षहरूमा नेपाल–स्पेन व्यापार तथा लगानीलाई उल्लेखनीय रूपमा विस्तार गर्न सकिने विश्वास व्यक्त गरेका छन् । 

Share News