मंसिरमा अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी हुने, स्टल बुकिङ खुला

१० देशका आधुनिक कृषि प्रविधि र दुई हजारभन्दा बढी उपकरण एकै थलोमा प्रदर्शन गरिने

काठमाडौं । नेपालको कृषि क्षेत्रलाई आधुनिकीकरण, यान्त्रीकरण र व्यवसायीकरण गर्ने उद्देश्यसहित आगामी मंसिरमा काठमाडौंमा ‘अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी–२०८३’ आयोजना हुने भएको छ । प्रदर्शनीका लागि साउन १ गतेदेखि स्टल बुकिङसमेत खुला गरिएको आयोजकले जनाएको छ ।

‘कृषिमा यन्त्र र प्रविधि : कृषक र राष्ट्रको समृद्धि’ भन्ने मूल नारासहित मंसिर ४, ५ र ६ गते (नोभेम्बर २०, २१ र २२, २०२६) भृकुटीमण्डपमा प्रदर्शनी आयोजना हुनेछ ।

नेपाल सरकारको कृषि, वन तथा वातावरण मन्त्रालयअन्तर्गत कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवर्द्धन केन्द्र, हरिहरभवन र नेपाल कृषि मेशिनरी व्यवसायी संघको संयुक्त आयोजनामा प्रदर्शनी हुन लागेको हो ।

आयोजकका अनुसार कृषि तथा पशुपन्छीपालन क्षेत्रको उत्पादनशीलता वृद्धि, आधुनिक प्रविधिको विस्तार तथा व्यवसायिक कृषि प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुने प्रदर्शनीमा एक सयभन्दा बढी स्वदेशी तथा विदेशी प्रदर्शक सहभागी हुनेछन् ।

नेपाल कृषि मेशिनरी व्यवसायी संघका उपाध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य सुनिता नेमाफुकीका अनुसार प्रदर्शनीमा करिब १० देशका दुई हजारभन्दा बढी प्रकारका आधुनिक कृषि औजार, उपकरण, मेसिन तथा नवीनतम प्रविधि प्रदर्शन गरिनेछ । प्रदर्शनीमा २०० भन्दा बढी स्टल रहनेछन् ।

उनका अनुसार ‘मेड इन नेपाल’ र ‘मेक इन नेपाल’ अभियानअन्तर्गतका स्वदेशी कम्पनीलाई विशेष सहुलियत प्रदान गरिनेछ । कृषक, कृषि उद्यमी तथा सर्वसाधारणका लागि प्रदर्शनीमा प्रवेश निःशुल्क हुनेछ ।

प्रदर्शनीमा आधुनिक कृषि, पशुपन्छीपालन, मत्स्यपालन, पुष्पखेती, व्यावसायिक तरकारी उत्पादन, आधुनिक सिँचाइ प्रणाली, पोस्ट–हार्भेस्ट प्रविधि, कृषि उपज प्रशोधन तथा बजारीकरणसँग सम्बन्धित अत्याधुनिक उपकरण र उन्नत बीउबिजन प्रदर्शन गरिने आयोजकले जनाएको छ ।

आयोजकका अनुसार प्रदर्शनीले कृषक, कृषि उद्यमी, नीति निर्माता, अनुसन्धानकर्ता र व्यवसायीलाई नवीनतम कृषि प्रविधिबारे जानकारी गराउनुका साथै कृषि यान्त्रीकरणको विस्तार, बजार प्रवर्द्धन, लगानी आकर्षण र व्यवसायी तथा उपभोक्ताबीच प्रत्यक्ष समन्वय स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

नेपाल कृषि मेशिनरी व्यवसायी संघले यसअघि पाँच वटा राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी, एक प्रादेशिक प्रदर्शनी तथा एक अन्तर्राष्ट्रिय एग्रीटेक प्रदर्शनी सफलतापूर्वक आयोजना गरिसकेको छ । आयोजकले यस वर्षको अन्तर्राष्ट्रिय संस्करण अझ बृहत्, प्रविधिमैत्री र सहभागितामूलक हुने विश्वास व्यक्त गरेको छ ।

Share News