अर्घाखाँची सिमेन्टको वार्षिक सेल्स मिट २०२६ सम्पन्न

काठमाडौं । अर्घाखाँची सिमेन्ट लिमिटेडको वार्षिक सेल्स मिट २०२६ सम्पन्न भएको छ ।  देशभरका विभिन्न क्षेत्रबाट सहभागी भएका ३० भन्दा बढी बिक्री तथा मार्केटिङ प्रतिनिधिहरूको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा कम्पनीका अध्यक्ष पशुपति मुरारका, प्रबन्ध निर्देशक राजेशकुमार अग्रवाल तथा निर्देशक  गौरव अग्रवालको विशेष उपस्थिति रहेको थियो ।  कार्यक्रममा कम्पनीको आगामी व्यावसायिक रणनीति, नयाँ बिक्री नीति, बजारको वर्तमान अवस्था तथा भावी योजनाबारे विस्तृत छलफल गरिएको थियो ।  साथै बिक्री तथा बजार विस्तारलाई थप प्रभावकारी बनाउने विषयमा सहभागीहरूबीच अनुभव आदानप्रदान तथा अन्तरक्रियात्मक छलफल समेत सम्पन्न भएको थियो ।  सम्मेलनका क्रममा उत्कृष्ट कार्यसम्पादन गर्ने बिक्री प्रतिनिधिहरूलाई सम्मान तथा पुरस्कार प्रदान गर्दै उनीहरूको योगदानको उच्च मूल्याङ्कन गरिएको थियो ।  यस अवसरमा कम्पनीका नेतृत्वले कर्मचारीहरूको समर्पण, मेहनत तथा व्यवसाय विस्तारमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा अझ उत्कृष्ट नतिजा हासिल गर्न सबैलाई प्रेरित गराएको थियो ।  अनुभव आदानप्रदान, अन्तरक्रियात्मक छलफल तथा नयाँ नीतिप्रति साझा बुझाइ विकास गर्दै सम्पन्न भएको यस सम्मेलनले कम्पनी र बिक्री टोलीबीचको समन्वयलाई अझ सुदृढ बनाउनुका साथै आगामी लक्ष्यहरू हासिल गर्न साझा प्रतिबद्धता व्यक्त गरेको कम्पनीले जनाएको छ । 

जगेडा ग्यास नराख्न उद्योगीको आग्रह

चितवन । नेपाल एलपी ग्यास उद्योग सङ्घले उपभोक्तालाई आवश्यकताभन्दा बढी जगेडा नगर्न आग्रह गरेको छ । सङ्घका अनुसार ग्यासको आयात र आपूर्ति नियमित रहे पनि जगेडाका सिलिन्डर एकैपटक भर्न ल्याइएकाले अस्थायी अभाव देखिएको हो ।      नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष दिवान चन्दका अनुसार भारतबाट आउने ग्यासको मात्र घटेको छैन । विगतका तुलनामा १०० बुलेट हाराहारी दैनिक ग्यास आपूति भइरहेको छ । उनले भने, 'पहिले नेपाल आयल निगमले जति ग्यास ल्याउँथ्यो र हामी दिन्थ्यो, सोही परिमाणमा अहिले पनि आपूति भइरहेको छ ।' उनका अनुसार उपभोक्ताहरुले ग्यास जगेडामा राख्न थालेपछि बजारमा अभाव देखिएको हो । उनले उपभोक्ताले अतिरिक्त ग्यास मौज्दात नराख्ने हो भने अहिले देखिएको समस्या समाधान हुने बताए ।       एलपी ग्यास उद्योग सङ्घका सदस्य विमल कालाखेती आफूहरुले छिट्टै पूरा भरिएको सिलिन्डर दिन सुझाएको भए पनि ढिला हुँदा त्यसको प्रभाव अहिले आएको बताउँछन् । सामान्य अवस्थामा जति आवश्यक पथ्र्यो त्यति ग्यास आइरहेकाले समस्या नहुने उनको भनाइ छ ।       हाल बजारमा एक करोड ५० लाख थान सिलिण्डर छन् । जसमध्ये ५० लाख सिलिण्डर ग्यास डिपोसँग छन् । सरकारले गत फागुन २८ गतेदेखि आधा सिलिण्डर ग्यास वितरण सुरु गरेको थियो । हाल नेपालमा ५९ वटा एलपी ग्यास उद्योग छन् ।  

ग्रिनप्लाई, जेमिनी र मकालु वाइनले आईपीओ बिक्री गर्ने, कुनको कति ?

काठमाडौं । मकालु वाइन इन्डस्ट्रीज लिमिटेड, जेमिनी रिसाइकल नेपाल कम्पनी लिमिटेड र ग्रिनप्लाई नेपाल कम्पनी लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने तयारी गरेका छन् । तीनै कम्पनीले आईपीओ निष्कासनसम्बन्धी प्रस्ताव पारित गर्न विशेष साधारण सभा आह्वान गरेका हुन् ।  ग्रिनप्लाई नेपालले साउन २२ गते बिहान ११ बजे मोरङको बुढीगंगा गाउँपालिका–५ स्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा सभा बोलाएको छ । सभामा जारी पुँजीको २० प्रतिशत बराबर १६ लाख ४० हजार कित्ता सेयर निष्कासन गर्ने प्रस्ताव पेश गरिनेछ । साथै, जगेडा कोषमा रहेको संस्थापक सेयर प्रिमियम मूल्यमा जारी गर्नेछ । यस्तै, जेमिनी रिसाइकलले पनि साउन २२ गते दिउँसो ३ बजे सोही स्थानस्थित रजिष्टर्ड कार्यालयमा सभा बोलाएको छ । सभाले जारी पुँजीको २० प्रतिशत बराबर १० लाख कित्ता आईपीओ जारी गर्ने प्रस्ताव पारित गर्नेछ । साथै संस्थापक सेयर प्रिमियम मूल्यमा जारी गर्नेछ । त्यसैगरी, मकालु वाइनले साउन २३ गते बिहान ११ बजे इटहरीस्थित सोल्टी वेस्टेन्ड होटलमा सभा आयोजना गर्ने भएको  छ। सभाले जारी पुँजीको २० प्रतिशत बराबर १० लाख कित्ता आईपीओ निष्कासन गर्ने, संस्थापक सेयर प्रिमियम मूल्यमा जारी गर्नेछ । तीनै कम्पनीले विशेष साधारण सभाबाट प्रस्ताव पारित भएपछि नियामक निकायबाट आवश्यक स्वीकृति लिएर आईपीओ निष्कासन प्रक्रिया अगाडि बढाउनेछन् ।