चितवनबाट १० पर्यटक बसलाई प्रहरी स्कटिङ, यात्रु गन्तव्यतर्फ सुरक्षित प्रस्थान

चितवन । जिल्ला प्रहरी कार्यालयले १० वटा पर्यटक बसलाई सुरक्षा दिएर (स्कटिङ) गरेर गन्तव्यतर्फ पठाएको छ । यातायात व्यवसायीहरुले गरेको बन्दका कारण गन्तव्यमा जान नपाएका ती पर्यटक बसलाई स्कटिङ गरेर पठाइएको हो ।   जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार सौराहाबाट काठमाडौंका लागि सात र सौराहाबाट पोखराका लागि तीन पर्यटक बस स्कटिङ गरेर जिल्लाको नाकासम्म पुर्याइएको छ । पोखरा जाने बसलाई मुग्लिनसम्म  र काठमाडौं जानेलाई मौवाखोलासम्म स्कटिङ गरेर पठाइएको उनले बताए ।   प्रहरीको मोटरसाइकलमार्फत स्कटिङ गरेर बसलाई जिल्लाको नाका पार गराइएको हो । उनका अनुसार प्र ३–००१ प १६२३, बा १ प ९७४, बा १ प ६८९, बा १ प १३९१, बाप्र०१–००१ प १७०३, बा १ प १३९९, बा १ प १०७, ग १ प २८७, ग १ प १९१ र बा १ प १०७० नम्बरका पर्यटक बसलाई स्कटिङ गरिएको हो ।  

सार्वजनिक सवारीसाधन बन्दले पर्यटन क्षेत्रमा नकारात्मक प्रभाव : नाट्टा

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले सार्वजनिक सवारीसाधन बन्दले नेपालको पर्यटन क्षेत्रमा नकारात्मक प्रभाव परेको जनाएको छ । नाट्टाका महासचिव युविका भण्डारीले आज एक विज्ञप्ति जारी गरी देशका विभिन्न स्थानमा देखिएको सार्वजनिक सवारीसाधन अवरोध, हडताल र यातायात सेवा अवरुद्ध भएकामा नाट्टाको गम्भीर ध्यानाकर्षण भएको बताए । उनले बन्दका कारण समग्र यात्रुमा मात्र नभई नेपालको पर्यटन क्षेत्रमा प्रतिकूल प्रभाव पारेको बताए ।  'नेपालको पर्यटकीय राजधानी पोखरालगायत अन्य केही स्थानमा हालै पर्यटकीय सवारीसाधन सञ्चालनमा देखिएको अवरोध चिन्ताको विषय हो, पर्यटकीय सवारीसाधनलाई रोक लगाउनु, अवरोध गर्नु वा नियन्त्रण गर्र्नु समग्र पर्यटन व्यवसायप्रति पूर्ण नकारात्मक प्रभाव पर्ने कार्य हो,' नाट्टाद्वारा जारी विज्ञप्तिमा भनिएको छ । नाट्टाले यस्ता घटनाले नेपाल भ्रमणमा रहेका विदेशी पर्यटकलाई मात्र नभई, आन्तरिक पर्यटकलाई समेत गन्तव्यमा पुग्न असहज बनाइएको तथा पर्यटक तथा यात्रुमा भय, असुरक्षा र निराशाको भावना उत्पन्न गराइरहेको जनाएको छ । 'यस्ता कार्यले नेपालप्रति अन्तरराष्ट्रिय पर्यटन बजारमा गलत सन्देश प्रवाह गरिरहेको र यसले पर्यटन प्रवद्र्धनमा दीर्घकालीन असर पर्न सक्ने खतरा रहेको छ, पर्यटन नै नेपालको समृद्धिको मेरुदण्ड हो भन्ने यथार्थलाई मनन गरी यसको संवद्र्धन गर्ने सबै सरोकारवाला निकायको साझा दायित्व रहन्छ,' महासचिव भण्डारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ । यस्तै, आजै टुरिष्ट बस एसोसिएसन अफ नेपाल (टिवान)ले समेत एक विज्ञप्ति जारी गरी पर्यटनका साधनमा भएको अवरोधप्रति आपत्ति जनाएको छ । टिवानका अध्यक्ष भीष्म न्यौपानेले पर्यटकीय सवारीसाधनको सञ्चालनलाई स्वतन्त्र र सुरक्षित रुपमा सञ्चालन गर्न सहयोग गर्न सबैमा आग्रह गरे । अध्यक्ष न्यौपानेले यस्ता घटनाले नेपालको पर्यटन क्षेत्रलाई नै गम्भीर असर पर्ने भएकाले निर्बाध रुपमा सवारीसाधन सञ्चालन गर्न पाउनुपर्ने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरे ।   

बन्दीपुरमा विदेशी चलचित्रको छायाङ्कनले पर्यटन व्यवसायी उत्साहित

दमौली । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा विदेशी चलचित्र टासीको छायाङ्कन सुरु भएपछि यहाँका पर्यटन व्यवसायी उत्साहित बनेका छन् । पहिलो सगरमाथा आरोही तेञ्जिङ नोर्गे शेर्पाको कथामा आधारित उक्त चलचित्रको आइतबारदेखि बन्दीपुरमा छायाङ्कन सुरु भएको हो ।  बन्दीपुरमा उक्त चलचित्रको छायाङ्कनका लागि बन्दीपुर बजारलाई पुरानो शैलीमा सिङ्गारिएको छ । बन्दीपुरलाई पुरानो दार्जिलिङ बनाएर छायाङ्कन गर्न लागिएको हो । करिब एक साताको तयारीपश्चात् चलचित्रको छायाङ्कन सुरु गरिएको हो ।  बन्दीपुर आसपासका विभिन्न उमेर समूहका करिब ३०० स्थानीयलाई दैनिक रु एक हजारदेखि रु एक हजार ५०० सम्म पारिश्रमिक दिएर कलाकारको रुपमा प्रयोग गरिएको छ । बन्दीपुरमा तीन दिनसम्म चलचित्रको छायाङ्कन हुने जनाइएको छ ।  बन्दीपुरमा विदेशी चलचित्रको छायाङ्कन भएपछि यहाँका पर्यटन व्यवसायी उत्साहित भएका छन् । होटल तथा पर्यटन व्यवसायी किसान प्रधानले विदेशी चलचित्रको छायाङ्कनले यस क्षेत्रको प्रचारप्रसार हुने बताए । चलचित्र टोली एक सातादेखि बन्दीपुरमा बसिरहेको र यसले यहाँको पर्यटन प्रवद्र्धनमा सहयोग पुगेको उनको भनाइ छ ।  चलचित्र छायाङ्कनले यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पुग्ने बन्दीपुर भ्रमण वर्ष २०२५ का संयोजक वैशबहादुर गुरुङले जानकारी दिए । उनले भने, 'विदेशी चलचित्रको छायाङ्कनका लागि बन्दीपुर रोजाइमा पर्नु हाम्रा लागि खुसीको कुरा हो, यसले यहाँको पर्यटन प्रवद्र्धन गर्न सहयोग पुग्नेछ ।' सन् १९५३ मा आरोही शेर्पाको नेतृत्वमा सर्वोच्च शिखर सगरमाथा आरोह गरिएका कथावस्तुलाई आधार बनाएर चलचित्र निर्माण गर्न लागिएको जनाइएको छ । अमेरिकी कम्पनी एप्पलले यो चलचित्रको निर्माण गर्न लागेको हो । रासस