भविष्यमा नेपालको सबैभन्दा ठूलो आम्दानीको श्रोत पर्यटन क्षेत्र हो : पूर्वअर्थमन्त्री पाण्डे
काठमाडौं । पूर्वअर्थमन्त्री एवं नेकपा एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले भविष्यमा नेपालको सबैभन्दा ठूलो आम्दानीको श्रोत पर्यटन क्षेत्र रहेको बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका छन् । उनले अझ आन्तरिक र नजिकका पर्यटकहरुलाई आकर्षित गर्नसक्ने गरी पर्यटन क्षेत्रको प्रवर्द्धन गर्न जरुरी रहेको बताएका हुन् । उनले नेपालले चीन र भारतका पर्यटकहरुलाई बढी भित्र्याउने गरी आफ्ना योजनाहरु अघि बढाउनुपर्ने बताए । उनले चीन र भारतका मध्यमवर्गलाई लक्षित गरी पर्यटनका योजनाहरु अघि बढाउनुपर्ने बताए । नेपालमा हरेक वर्ष भारत र चीनबाट ५० लाख भारतीय र ५० लाख चिनियाँ पर्यटक भित्रिए नेपालको अर्थतन्त्र कायापलट हुने जिकिर गरे । उनीहरुलाई धान्नसक्ने पर्यटन पूर्वाधार बनाउनुपर्नेमा जोड दिए । पूर्वअर्थमन्त्री पाण्डेले भने, ‘नेपालको सबैभन्दा ठूलो रिसोर्स भविष्यमा के हुनसक्छ भन्दा टुरिजम हुनसक्छ । त्यसमा म के देख्छु भने सबैभन्दा बढी को घुम्न जान्छ भन्दा र कहाँ जान्छ भन्दा नजिकका मान्छे नजिक ठाउँमा जान्छ । धेरै धनीहरु त यहाँ आउँदैनन् । तर मध्यम वर्गका चीन र भारतका मान्छे यहाँ आउनसक्छन् । उनीहरुमै धेरै जनसंख्या छ । ५० लाख भारत र ५० लाख मानिस चीनबाट आउनसक्ने सम्भावना छ ।’ पूर्वअर्थमन्त्री पाण्डेले प्रभावकारी सरकारको खोजि गर्न जरुरी रहेको बताए ।
खाडी मुलुकका उडान पुनः सञ्चालन, विमानस्थलमा अलपत्र परेका यात्रु उड्न थाले
काठमाडौं । खाडी मुलुकका उडान रद्द भएपछि सोमबार रातिदेखि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अलपत्र परेका यात्रु उडान सञ्चालन भएसँगै गन्तव्यतर्फ उड्न थालेका छन् । सोमबार राति ११ः३० बजे कतारको दोहा उड्न लागेको नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को विमान कतारको विकसित परिस्थितिका कारण उडान रद्द भएपछि यात्रु विमानस्थलमा नै अलपत्र परेका थिए । यस्तै, हिमालय एयरलाइन्सको विमानको कतार उडान पनि रद्द हुँदा धेरै सङ्ख्यामा यात्रु अलपत्र परेका थिए । इरानले कतारमा आक्रमण गरेपछि खाडी मुलुकका उडान रद्द भएका थिए । कतारको ‘एयरस्पेस ओपन’ भइसकेकाले गएराति रद्द भएका उडानका यात्रु आज गन्तव्यतर्फ जान थालेको विमानस्थल कार्यालयले जनाएको छ । गएराति रोकिएका उडान आज मध्याह्न १२ बजेका लागि तय गरिएको छ । विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार गएराति नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सको कतार गन्तव्यको उडान रद्द भएको थियो । जसका कारण गन्तव्यमा हिँडेका सयौँ यात्रु विमानस्थलमै अलपत्र परेका थिए । कतारबाट काठमाडौं आउने विमानको उडान पनि आज रद्द भएको छ । बिहान ८ बजेका लागि काठमाडौं आइपुग्नुपर्ने विमान कतारले रद्द गरेको बताइएको छ । महाप्रबन्धक निरौलाले कतारले आफ्नो आकाश खुला गरिसकेकाले अब नियमित रुपमै उडान हुने विश्वास व्यक्त गरे । निगमका प्रवक्ता सुवास डाँगीका अनुसार निगमको सोमबार दोहा उडानमा २६९ यात्रु थिए । उनीहरुलाई आज गन्तव्यतर्फ पठाउन विमानस्थलको सम्पूर्ण प्रक्रिया पूरा भइसकेको छ । कतारको परिस्थितिका कारण खाडी मुलुकका नियमित उडानमा केही बिलम्ब हुने बताइएको छ । सोमबार राति विमानमा यात्रुलाई बोर्ड गराउने तयारी भइरहेका बेला आक्रमणको सूचना आएपछि उडान रद्द गरिएको थियो । वैदेशिक रोजगारीका लागि जान लागेका अधिकांश यात्रुहरु अलमलमा परेका थिए । नेपालका तीनसहित ३० वायुसेवा प्रदायक कम्पनीले अन्तरराष्ट्रिय उडान भर्दै आएका छन् । रासस
अन्नपूर्ण आधार शिविरमा पर्यटक बढे, २/२ घण्टाको अन्तरालमा होटल सुविधा
काठमाडौं । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर क्षेत्रको भ्रमणमा आउने पर्यटकको सङ्ख्या बढेको छ । हिमालको आधार शिविर जाने पद मार्गमा होटल सुविधा र पद मार्गको व्यवस्थापनले पर्यटकीय आवागमन बढाएको हो । हिमाल आरोहणको इतिहासमा जेठो हिमालका नामले चिनिने अन्नपूर्ण प्रथम हिमालमा सन् १९५० जुन ३ मा फ्रान्सेली पर्वतारोही मौरिसस हार्जोगको नेतृत्वमा लुइस लचेनल र दुई नेपाली शेर्पासहित चार जनाले सफल आरोहण गरेका थिए । हिमाल आरोहण भएको ७५ वर्ष पूरा हुँदा पनि उक्त आधार शिविर जाने पद मार्गको प्रचारप्रसार नभएपछि नारच्याङवासीको अग्रसरतामा पदमार्गको पहिचान र प्रवर्द्धन अभियान थालिएको हो । अन्नपूर्ण गाउँपालिका र वडा कार्यालयले पद मार्ग क्षेत्रमा पर्यटन पूर्वाधार निर्माण र पर्यटन प्रवर्द्धनका लागि अभियान सञ्चालन गर्न थालेका छन् । पद मार्गको पहिचान गरी पद मार्ग, आश्रय स्थल, चिया पसल (टिसप), होटललगायत पूर्वाधार निर्माण गरेसँगै प्रचारप्रसार हुन थालेपछि अहिले पर्यटकको आगमन बढेको पद मार्गका अभियन्ता एवं पर्यटन व्यवसायी तेज गुरुङले बताए । उनका अनुसार, गत वर्ष अन्नपूर्ण प्रथम आधार शिविरमा नेपाली र विदेशी गरी करिब १० हजार पर्यटकले भ्रमण गरेका थिए । ‘यस वर्ष पर्यटकहरू आउने क्रम बढ्दो छ । हिमाल चढ्न आउने पर्यटक विगतका वर्षमा अधिकांश हेलिकोप्टरबाट आधार शिविर पुग्ने गर्दथे । यस वर्ष आरोही पद मार्ग हुँदै आधार शिविर पुगेका छन् । अन्नपूर्ण हीरक महोत्सव आधार शिविरमा मनाइएकाले पनि यस क्षेत्रको प्रचारप्रसार भएको अनुभूति गरेका छौँ,’ गुरुङले भने । अन्नपूर्ण आधार शिविरसम्म पुग्ने यस पदमार्गअन्तर्गत हुम खोला, सन्धीखर्क, गुफा फाँट, भुसकेटमेला र पञ्चकुण्डताल परिसरमा होटल र फुतफुते झरना परिसरमा टिसप सञ्चालनमा आएकाले पर्यटकका लागि सहज भएको पर्यटन व्यवसायी गुरुङले जानकारी दिए । उनका अनुसार यहाँका होटलमा ४० देखि ८० जनासम्मले सजिलै खाना र बास बस्न मिल्ने अस्थायी प्रकृतिको बासस्थान बनेपछि आन्तरिक पर्यटक आउन थालेका छन् । यो याममा ६ हजारको हाराहारीमा आन्तरिक पर्यटक आएका गुरुङले जानकारी दिए । विगतका वर्षमा खाना र बस्नका लागि आफैँले बन्दोबस्तीका सामान बोकेर आउनुपर्ने बाध्यता होटल सञ्चालनमा आएसँगै अन्त्य भएको सन्धीखर्कमा होटल सञ्चालन गर्दै आएका माइकल परियारले बताए । ‘दुई दिनको यात्रापछि यहाँ पुग्न सकिने यस पद मार्गअन्तर्गत पोखरेबगरबाट हुमखोलासम्मको २० किलोमिटर दूरीमा सडकको पहुँच विस्तार भएको छ । हुमखोलाबाट १६ किमी दूरीमा पदमार्ग बनाइएको छ । हिमाल आरोहणमा सबैभन्दा कठिन मानिने अन्नपूर्ण प्रथम हिमालको आधार शिविर पुग्ने मार्ग सहज बनेपछि अहिले आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको छ,’ उनले भने । पद मार्गको प्रवेश विन्दु नारच्याङ गाउँमा घरबास (होमस्टे)को सुविधा छ भने त्यहाँबाट माथि हरेक दुई/दुई घण्टाको अन्तरालमा होटलको सुविधा पुगेपछि पर्यटकका लागि खाना र बसोबासको समस्या अन्त्य भएको पञ्चकुण्डताल परिसरमा होटल सञ्चालन गरेका अजित सेन्चुरी बताए । पर्यटकहरूको समस्या हटाउन र स्थानीय पर्यटन व्यवसायमार्फत आयआर्जनमा जोड्ने उद्देश्यले सामूहिक रूपमा लगानी गरेर पदमार्गका विभिन्न स्थानमा होटलमा सञ्चालन गरिएको उनले उल्लेख गरे । पूर्वाधार निर्माण र सुविधाको विस्तार गर्दै अन्नपूर्ण आधार शिविरलाई सुरक्षित, साहसिक र उत्कृष्ट गन्तव्यका रूपमा विकास गर्न थालिएको अभियान सार्थक बन्दै गएको स्थानीय पर्यटन व्यवसायी बताउँछन् । हिमालको काखमा रहेको सुन्दर पञ्चकुण्डताल, दर्जनौं झरना र रमणीय हिमाली भूबनावट यस पद मार्गका मुख्य आकर्षण हुन् । पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेको अन्नपूर्ण प्रथम आधार शिविर र मौरिसस हर्जोग पद मार्गको प्रचारप्रसार, पूर्वाधार निर्माण र होटलसहित सुविधाको विस्तारका कारण पछिल्लो समय यस क्षेत्रमा पर्यटकको आगमन बढ्न थालेको स्थानीय वासी बताउँछन् ।