११ करोडमा सञ्चालनमा आयो हिमालयन फरेष्ट, एक रातको २ हजारदेखि साढे ५ हजारसम्म
काठमाडौं । प्रकृतिप्रेमी पर्यटकलाई लक्ष्य गरी कास्कीको पोखरा महानगरपालिका-३१ पचभैयामा हिमालयन फरेष्ट रिसोर्ट सञ्चालनमा ल्याइएको छ । ११ करोड रुपैयाँ लगानीमा बनेको उक्त रिसोर्टमा ११ जनाले रोजगारी पाएका सञ्चालक प्रमोद भण्डारीले बताए । पोखराको दोस्रो ठूलो ताल बेगनास र रुपाताल घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि सुविधा युक्त रिसोर्ट सञ्चालन गरेको उनको भनाइ छ । रिसोर्टमा विभिन्न श्रेणीका २१ वटा कोठा छन् । ‘न्यूनतम् २ हजार रुपैयाँदेखि बढीमा ५ हजार ५०० रुपैयाँसम्मका कोठा हामीकहाँ छन्, खानामा पनि स्वदेशी र विदेशी दुवै परिकार उपलब्ध छ,’ सञ्चालक भण्डारीले भने । रिसोर्टमा एक दिनमा ६० जनासम्म पाहुना राख्ने क्षमता छ । ताल, हिमाल, वन जङ्गललगायत प्राकृतिक सम्पदाको दृश्यावलोकनका लागि पर्यटक पचभैया पुग्ने गर्छन् । चरा अवलोकनका लागि पनि उक्त क्षेत्र उपयुक्त मानिन्छ । ‘पोखराको व्यस्त दैनिकी र कोलाहल छलेर शान्त रात बिताउन पर्यटक बेगनास क्षेत्रमा आउने गरेका छन् । प्राकृतिक वातावरण आतिथ्य सेवा दिने उद्देश्यले रिसोर्ट सञ्चालनमा ल्याइएको हो,’ उनले भने । रिसोर्टको औपचारिक उद्घाटन नभए पनि दुई महिनादेखि सेवा दिन सुरु गरेको उनको भनाइ छ । पोखराको बैदाममा विगत १८ वर्षदेखि अन्य व्यवसाय गर्दै आएका भण्डारीले रिसोर्टमा पहिलोपटक लगानी गरेका हुन् । शिक्षण पेसामा रहँदा पचभैया मन परेपछि जग्गा किनेको र अहिले सोही ठाउँमा रिसोर्ट खोलेका हुन् । उक्त क्षेत्रमा महँगादेखि सामान्यस्तरका होटल तथा रेष्टुराँ सञ्चालनमा छन् । लेखनाथ होटल तथा रेष्टुराँ एसोसिएसनका अध्यक्ष वीरभद्र कँडेलले त्यस क्षेत्रमा १३७ होटल तथा रेष्टुराँ व्यवस्था सञ्चालन रहेको जानकारी दिए । ठूलो लगानीका रुपाकोट रिसोर्ट, बेगनास रिसोर्टलगायतका रिसोर्ट तथा होटलले स्वदेशी र विदेशी पर्यटकलाई आतिथ्य सेवा दिँदै आएका छन् । प्राकृतिक सुन्दरता, मठमन्दिर, जातजातिको विविधतापूर्ण बसोबास, मौलिक संस्कृति, रहनसहन, स्थानीय उत्पादन आदिले बेगनास क्षेत्रमा पर्यटकलाई आकर्षित गर्ने गरेको छ । ७ तालको बाटिका भनेर चिनिने लेखनाथ क्षेत्रमा बेगनास ताल पर्छ । बेगनास नजिकै उस्तै रमणीय रुपा, दिपाङ, खास्टे, न्युरेनीलगायत ताल अवस्थित छन् । पोखराको पृथ्वीचोकदेखि १४ किमि र तालचोकदेखि साढे ३ किमी यात्रापछि बेगनास पुग्न सकिन्छ । बेगनास क्षेत्रमा स्तरीय सडक पूर्वाधार र बसपार्कको भने समस्या छ । तालचोक–बेगनास सडक विस्तार सुस्त गतिमा हुँदा पर्यटन क्षेत्र मारमा परेको पर्यटन व्यवसायीहरूको गुनासो छ ।
गर्मी छल्न त्रिशूलीमा र्याफ्टिङ, व्यवसायमा वृद्धि
काठमाडौं । उखरमाउलो गर्मीले वातावरण तातेको छ । केही दिनअघि पूर्वी क्षेत्रमा झुलुक्क देखिएको मसुसन त्यतै अड्किएको छ । पानी नपर्दा तापक्रम ३१ डिग्रीसम्म पुगेको छ । बढ्दो तापक्रमले घरबाहिर निस्कन पनि नसक्ने अवस्था छ । त्यसैले त देशका विभिन्न ठाउँबाट बढ्दो गर्मी छल्न मानिसहरू त्रिशूली नदीमा र्‍याफ्टिङका लागि आउन थालेका छन् । काठमाडौं तथा चितवनबाट गाडीमा दुई/तीन घण्टामै पुगिने त्रिशूली नदीमा र्‍याफ्टिङ गर्नेको सङ्ख्या केही दिनयता बढेको हो । र्‍याफ्टिङ मात्रै होइन यतिबेला त्रिशूलीमा ‘क्लिफ जम्प’ गर्दै नदीको चिसो पानीमा रमाउनेहरू देखिन्छन् । त्यसो त यो र्‍याफ्टिङका लागि सबैभन्दा उपयुक्त समय पनि हो । लामो समयदेखि र्‍याफ्टिङ व्यवसाय सञ्चालन गर्दै आएका त्रिशूली रिभर साइड रिसोर्ट र त्रिशूली भिल्लाका सञ्चालक उद्धव कँडेल यतिबेला र्‍याफ्टिङका लागि आउनेहरूको सङ्ख्या उल्लेख्य बढेको बताउँछन् । ‘र्‍याफ्टिङका लागि यो अनुकूल समय हो, बर्खा सुरु नभएकाले नदीमा पानीको सतह पनि बढेको छैन । पारिवारिक साहसिक गतिविधि भएकाले र्‍याफ्टिङ गर्नेहरु बढेका छन्,’ उनले भने । बिदाको दिन आउने, र्‍याफ्टिङ गर्ने र रिसोर्ट तथा भिल्लामा एक रात बिताउनेहरू बढेको उनको भनाइ छ । उनका अनुसार त्रिशूलीमा खासगरी काठमाडौं, चितवन, पोखरालगायतका शहरबाट मानिसहरू आउने गरेका छन् । ‘कतिपय मानिसहरू काठमाडौं–चितवन–पोखराको यात्राका क्रममा पनि र्‍याफ्टिङ गरेर जानेहरु हुनुहुन्छ, त्यसबाहेक काठमाडौँ र चितवनबाट प्याकेजमा र्‍याफ्टिङलगायतका गतिविधिका लागि आउनेहरू हुनुहुन्छ,’ उनले भने । यहाँ आउनेहरू गर्मी छल्ने मात्रै नभइ नदीमाथि स्काइ साइकलिङलगायतका गतिविधिका लागि पनि आउने गरेको उनको बुझाइ छ । त्रिशूली नदीमा र्‍याफ्टिङ निकै सहज भएकाले काठमाडौंबाट चितवन वा पोखरा जाने जोकोहीले पनि बाटोमा र्‍याफ्टिङ गर्न सक्छन् । र्‍याफ्टिङ सबै उमेर समूहका लागि रहेको सञ्चालक कँडेलले बताए । र्‍याफ्टिङ गाइड मिथुन श्रेष्ठका अनुसार त्रिशूली नदी आफैँमा र्‍याफ्टिङका लागि प्रमुख गन्तव्य हो । परिवार तथा साथीहरुको समूहमा नदीमा र्‍याफ्टिङ गर्दा र्‍यापिड (पानीको भङ्गालो) मा पैंठेजोरी खेल्दै जानुको अनुभव निकै रोमाञ्चक हुने उनको अनुभव छ । काठमाडौंबाट नजिकैको गन्तव्य र सहज यातायातको पहुँचका कारणले त्रिशूली र्‍याफ्टिङको प्रमुख गन्तव्य बनेको छ ।
भोटेकोशी हेली रिसोर्टले ऋण नतिरेपछि नेपाल बैंकले अघि बढायो लिलामी प्रक्रिया
काठमाडौं । नेपाल बैंकले भोटेकोशी हेली रिसोर्ट एण्ड स्पा लिमिटेडलाई लिलामीमा राखेको छ । बैंकको काठमाडौं बैंकिङ अफिसबाट कर्जा लिएको भोटेकोशी हेली रिसोर्टले साँवा, ब्याज नियमित नगरेपछि लिलामी प्रक्रिया अघि बढाएको हो । कर्जा चुक्ता गर्न पटक-पटक ताकेता गरेपनि बेवास्ता गरेपछि बैंकले ३५ दिन भित्रमा कर्जा तथा सुविधा बापतको रकम भुक्तान गर्न ताकेता गरेको हो । उक्त म्यादभित्र पनि कर्जा चुक्ता नगरेमा कम्पनी, साझेदार तथा सञ्चालक र सेयरधनीहरुलाई समेत कालोसूचीमा नाम समावेश गर्न आजैबाट प्रारम्भ भएको बैंकले जनाएको छ । साथै कम्पनीले ३५ दिनभित्र कर्जा तथा सुविधा बापतको रकम भुक्तान नगरेमा सो पश्चात् व्यक्तिगत तथा संस्थागत जमानीकर्तालाई ९० दिनभित्र जमानत बापतको रकम भुक्तान गर्न पनि बैंकले ताकेता गरेको छ । साथै कानूनले बैंकलाई दिएको अधिकार प्रयोग गरी ऋणीको घरघराना तथा अन्य जायजेथा खोजी असुल गर्ने, सम्बन्धित सबैलाई कर्जा सूचना केन्द्रको कालोसूचीमा नाम समावेश गर्न लेखी पठाउने तथा अन्य कानूनी प्रक्रिया अपनाई सम्पूर्ण लेना असुल गर्नेतर्फ आवश्यक कारबाही अगाडि बढाइने बैंकले चेतावनी दिएको छ । बैंकका अनुसार भोटेकोशी हेली रिसोर्ट एण्ड स्पाका अध्यक्ष चिन बहादुर रानाभाट हुन् भने छिरिङ शेर्पा, सुबास प्रधान र समिर कुमार नेपाल सञ्चालक रहेका छन् । कोदारी राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशी नदी छेउस्थित भोटेकोशी हेली रिसोर्ट एजिएस हस्पिटालिटीको व्यवस्थापनमा विसं २०७८ बाट सञ्चालनमा आएको हो । करिब ९५ रोपनी जग्गामा सञ्चालित रिसोर्ट चीनको सीमाबाट १४ किलोमिटरको दुरीमा रहेको छ । सुन्दर प्राकृतिक वातावरण रहेको भोटेकोशी हेली रिसोर्टमा काठमाडौंबाट २० मिनेटको हेलिकप्टर उडान, तीन घण्टाको सडक सवारीबाट पुग्न सकिन्छ भने चीनको खासास्थित मितेरी पुलबाट करिब ४५ मिनटको सडक सवारीबाट पुग्न सकिन्छ । रिसोर्टमा जान तथा फर्कनका कम्पनीले विभिन्न हेली कम्पनीसँग सम्झौता समेत गरेको छ । रिसोर्ट एण्ड स्पाको स्तरोन्नतिका साथै रणनीतिक योजना कार्यान्वयन र ‘फोर स्टार’सम्म विस्तार गर्न रिसोर्टले गत वर्ष २०८१ जेठमा नबिल इन्भेष्टमेन्ट बैंकिङसँग सम्झौता गरेको थियो ।