डिलक्ससहितका पाँचतारे होटलको संख्या २१४, २९ क्यासिनो सञ्चालनमा

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को फागुनसम्ममा देशभर डिलक्ससहितका पाँचतारे होटलको २१४ पुगेको छ । आर्थिक सर्वेक्षण २०८१ अनुसार फागुनसम्ममा उक्त संख्यामा डिलक्ससहितका पाँचतारे होटल रहेको पाइएको हो । त्यसैगरी, तारेस्तर बाहेकको डिलक्स/लक्जरी हेरिटेज बुटिक होटलसहित पर्यटक स्तरीय होटल, लज तथा रिसोर्टको संख्या १ हजार ३६४ पुगेको छ । २०८० फागुनसम्ममा सो संख्या १ हजार २३४ रहेको थियो । आर्थिक सर्वेक्षणअनुसार रिसोर्ट तथा डिलक्ससहितका तारे होटलमा रहेका शैयाको सङ्ख्या चालु आर्थिक वर्षको फागुनसम्म २० हजार ३ सय ४३ पुगेको छ । यस्ता होटलबाहेक पर्यटक स्तरीय डिलक्स/लक्जरी हेरिटेज बुटिक होटल, लज तथा रिसोर्टमा रहेका शैयाको सङ्ख्या चालु आर्थिक वर्षको फागुनसम्म पाँच हजार २ थप भई ४२ हजार २ सय ९९ पुगेको छ । २०८१ फागुनसम्म क्यासिनो ९ र आधुनिक मेशिन वा उपकरणको माध्यमवाट मात्र खेल खेलाउने क्यासिनो २० गरी २९ सञ्चालनमा रहेका छन् ।  २०८१ असारसम्म यस्तो सङ्ख्या २६ रहेको थियो । फागुनसम्म ट्राभल एजेन्सी ४ हजार ९६३, ट्रेकिङ एजेन्सी ३ हजार २५२ र रÞ्याफ्टिङ एजेन्सी ९७ दर्ता भएका छन् । त्यसैगरी, यस अवधिसम्म पर्यटक यातायात सेवा १५५, टुर गाईड ५.२६९, ट्रेकिङ्ग गाईड २७ हजार १ सय २८ र रिभर गाईड ४२५ दर्ता भएका छन् ।

एक दर्जन विमानस्थल उडानका लागि अयोग्य, १० ले बिजनेस नै पाउँदैनन्

काठमाडौं । पहाडी तथा हिमाली क्षेत्रका जनतालाई सरल तथा सहज रूपमा हवाई सुविधा पुर्याउने उद्देश्यले नेपाल वायु सेवा निगम र निजी क्षेत्रका विभिन्न कम्पनीहरूले हेलिकप्टर समेतका उडान अनुमति लिई सेवा प्रदान गर्दै आएका छन् । तर विमान सेवा प्रदायक कम्पनीहरूले प्राधिकरणबाट नियमित उडान स्वीकृत गर्ने तर सेड्युल भन्दा कम उडान गर्ने गर्दा हवाई सेवा प्रभावकारी हुन सकेको छैन । प्राधिकरणबाट उडान अनुमति प्राप्त भएपछि उडान तालिकाअनुसार उडान गर्नुपर्नेमा नगरेको देखिएको महालेखा परीक्षकको प्रतिवेदनले देखाएको छ । नागरिक उड्डयन प्राधिकरणका अनुसार हाल तीन अन्तर्राष्ट्रिय सहित ५२ आन्तरिक गरी ५५ विमानस्थल छन् । महालेखापरीक्षकको कार्यालयको वार्षिक प्रतिवेदनअनुसार पहाडी तथा हिमाली क्षेत्रमा नियमित सञ्चालन हुने ताप्लेजुङ, भोजपुर, खानीडाँडालगायत १० विमानस्थलमा उडान सेड्युल भन्दा कम उडान भएको देखिन्छ । महालेखाको प्रतिवेदनअनुसार लुक्ला विमानस्थलमा सन् २०२४ मा ८ हजार ४२१ उडान सेड्युल गराएकोमा ३ हजार ९३७ उडान भएको छ । उक्त विमानस्थलमा सन् २०२३ मा ३१६ सेड्युल भएकोमा १५८ र सन् २०२२ मा ४३० सेड्युल भएकोमा १८७ मात्रै उडान भएको देखिन्छ । त्यस्तै ताप्लेजुङ विमानस्थलमा सन् २०२४ मा १७१ उडान सेड्युल गराएकोमा १२४ मात्रै उडान भएको छ । उक्त विमानस्थलमा अघिल्ला वर्षहरूमा पनि सेड्युल भन्दा कम नै उडान भएको देखिन्छ । ताप्लेजुङ विमानस्थलमा सन् २०२३ मा ३१६ उडान सेड्युल भएकोमा १५८ मात्रै उडान भएको छ । त्यस्तै सन् २०२२ मा ४३० सेड्युल भएकोमा १८७ मात्रै उडान भएको छ । हुम्लाको सिमकोट विमानस्थलमा सन् २०२४ मा एक हजार ५७ उडान सेड्युल भएको देखिन्छ भने ६९८ मात्रै उडान भएको छ । उक्त वर्षमा नेपाल वायुसेवा निगमले मात्रै २०३ तालिका स्वीकृत गराएकोमा ८१ वटा मात्रै उडान गरेको छ । सिमकोट विमानस्थलमा सन् २०२३ मा एक हजार ८१० उडान सेड्युल भएकोमा एक हजार २८५ मात्रै उडान भएको छ । त्यस्तै सन् २०२२ मा ६५४ उडान सेड्युल भएकोमा १७४ मात्रै उडान भएको छ । उल्लिखित तथ्याङ्कबाट वायुसेवा कम्पनीहरूले आफू अनुकूलको सुविधाअनुसार उडान गर्ने गरेको प्रष्ट रुपमा देखिन्छ । यस सम्बन्धमा नागरिक उड्डयन प्राधिकरणबाट उडान योजना स्वीकृत भइसकेपछि त्यसअनुसार उडान नगर्ने वायुसेवा कम्पनीलाई नियमन तथा निर्देशन नभएको निष्कर्ष महालेखाको छ । वायुसेवा कम्पनीले नियमित सेड्युलअनुसार उडान गरे/नगरेको सम्बन्धमा नियमित अनुगमन गरी आवश्यक निर्देशन दिने व्यवस्था कार्यान्वयन हुनुपर्ने महालेखाले जनाएको छ । के छ ऐनमा व्यवस्था ?  नागरिक उड्डयन नियमावली, २०५८ को ५६ बमोजिम वायु सेवा कम्पनीले नियमित सेड्युल उडान अनुमति तालिका पेश गर्ने र नियमित उडानको अनुगमन महानिर्देशकले गर्ने भनिएको छ । यसरी अनुगमन गर्दा स्वीकृत उडान तालिकाको पालना नगर्ने वायुसेवाको उडानमा महानिर्देशकले रोक लगाउन सक्ने व्यवस्था छ । अझै सञ्चालन हुन सकेनन् २० भन्दा बढी विमानस्थल  प्राधिकरणको तथ्याङ्कअनुसार निर्माण सम्पन्न भइसकेर उडान योग्य २० भन्दा बढी विमानस्थल सञ्चालनमा आउन सकेका छैनन् । सञ्चालनमा आउन नसकेका विमानस्थलहरुमा रुम्जाटार, काँगेल डाँडा, खानीडाँडा, लामीडाँडा, मनाङ, बागलुङ बलेवा, रुकुम चौरजहारी, डोटी कमल बजार, बैतडी, कालिकोट, डोल्पा मसिने चोर छन् । त्यस्तै दार्चुला, ढोरपाटन, पालुङटार (गोरखा), जिरी, चण्डेश्वरी, रोल्पा, स्याङ्बोचे, टिकापुर विमानस्थल नियमित सञ्चालनमा आउन सकेका छैनन् । प्राधिकरणका अनुसार वायुसेवा सञ्चालक संस्थासँग पर्याप्त जहाज नभएको एवं यात्रु तथा कार्गो व्यवसायको लागि वायुसेवा सेवा कम्पनीहरू आकर्षित नभएको कारण विमानस्थल सञ्चालनमा आउन सकेका छैनन् । हालको परिप्रेक्षमा सडक यातायातको पहुँच बढ्न जाँदा पनि विमानस्थल सञ्चालन हुन नसकेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार हाल सञ्चालनमा आउन नसकेको विमानस्थल भविष्यमा हुन सक्ने दैवी विपत्ति, आकस्मिक तथा राष्ट्रिय सुरक्षाको निमित्त प्रयोग गर्न सकिने छ । महालेखाले निर्माण सम्पन्न भएर पनि सञ्चालनमा आउन नसकेका विमानस्थलमा नियमित हवाई सेवा सुचारु गर्नुपर्ने सुझाव दिएको छ । उडान अयोग्य विमानस्थल प्राधिकरणका अनुसार निर्माण सम्पन्न भई विगतमा उडान सञ्चालन भएका एक दर्जन विमानस्थल उडान अयोग्य रहेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार दार्चुला, ढोरपाटन, पालुङटार, जिरी, खिजि चण्डेश्वरी, लामटाङ, महेन्द्रनगर, रोल्पा र स्याङ्बोचे विमानस्थल उडानको लागि अयोग्य रहेको छ । ती विमानस्थलको उपयोग गर्ने व्यवस्था मिलाउन जिम्मेवार निकायको ध्यान जानुपर्ने देखिन्छ । नागरिक उड्डयन प्राधिकरण ऐन र हवाई नीति अन्तर्राष्ट्रिय परिवेश अनुकूल परिमार्जन हुन नसक्नु, सम्बन्धित मन्त्रालय, प्राधिकरण, वायु सेवा सञ्चालन संस्था र अन्य सरोकारवाला निकायहरूबीच प्रभावकारी समन्वय हुन नसक्दा विमानस्थल नियमित सञ्चालन नभएको महालेखाको निष्कर्ष छ । त्यस्तै दुर्गम क्षेत्र हवाई सञ्चालन कोषको कार्यान्वयन नहुनु, दुर्गम क्षेत्रका विमानस्थलहरुमा वायु सेवा सञ्चालक संस्थालाई आकर्षित गर्न नसक्नु, सानो धावन मार्गका विमानस्थलहरुमा उडान गर्ने सानो विमानको कमी हुनु लगायतका समस्या लेखापरीक्षणका क्रममा पहिचान भएको महालेखाले जनाएको छ । महालेखाले यी समस्या समाधानको लागि हवाई नीति, २०६३ बमोजिम न प्राधिकरणलाई सक्षम बनाउनुपर्ने, विमानस्थलहरुमा आवश्यक पूर्वाधार विकास र नवीनतम् प्रविधिको व्यवस्था गर्नुपर्ने सुझाव दिएको छ । यस्तै  दुर्गम क्षेत्र हवाई सेवा सञ्चालन कोष प्रभावकारी बनाउने, वायुसेवा कम्पनीले नियमित उडान अनुमति बमोजिम उडान गरे नगरेको सम्बन्धमा नियमित अनुगमन गर्ने र अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनको मापदण्डको परिपालना गर्ने लगायत सुझाव महालेखाले दिएको छ । 

मझगाउँ विमानस्थलको निर्माण तीव्र, ८५ प्रतिशत धावनमार्गको कालोपत्र सकियो

महेन्द्रनगर । महेन्द्रनगरस्थित निमार्णधिन मझगाउँ विमानस्थलको एक हजार ३०० मिटर धावनमार्ग कालोपत्र गरिएको छ । विमानस्थलको एक हजार ५२५ मिटर धावनमार्गमध्ये एक हजार ३०० मिटर धावनमार्ग कालोपत्रे गरिएको मझगाउँ विमानस्थल आयोजना प्रमुख मीनराज ओझाले जानकारी दिए । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनामातहत रहेको २२५ मिटर जमिन प्राप्तीमा ढिलाइ भएपछि निर्माण कम्पनीले एक हजार ३०० मिटर मात्रै कालोपत्र गरेको हो । अहिले विमानस्थललाई सेनाले प्रयोग गरिरहेको जग्गा प्राप्त भएपछि बाँकि रहेको धावनमार्ग निमार्णको काम सुरु तयारी गरिएको छ । 'धावनमार्गको २५० मिटर जग्गा नेपाली सेनाले प्रयोग गर्दै आइरहेको थियो त्यसमा पनि हामीले काम गर्नका लागि अनुमति पाइसकेका छौँ ।' विमानस्थल आयोजना प्रमुख ओझाले भने, 'अब जग्गा प्राप्तीमा कुनै विवाद छैन केही दिनमा काम सुरु हुन्छ ।' उनले विमानस्थलको ६१ प्रतिशत काम सम्पन्न भइसकेको बताए । विमानस्थलको धानवमार्ग कालोपत्रेको काम असारभित्र सक्ने लक्ष्य राखिएको छ । पहिलो चरणको धावन मार्ग निर्माणको काम सकिएपछि नागरिक उड्डयन प्राधिकरणले दोस्रो चरणमा टर्मिनल भवन निर्माणका लागि तयारी गरिरहेको विमानस्थल प्रमुख ओझाले बताए । मझगाउँ विमानस्थल स्थानीय तह, प्रदेश सरकार र सङ्घीय सरकारको लगानीमा निर्माण भइरहेको हो । जसअनुसार भीमदत्त नगरपालिकाको १५ प्रतिशत, दोधारा चाँदनी नगरपालिकाको १० प्रतिशत, सुदूरपश्चिम प्रदेश सरकारको २५ प्रतिशत र सङ्घीय सरकारको ५० प्रतिशत लगानी रहने छ । विमानस्थल निमार्ण सम्पन्न भएपछि पर्यटनमा महत्वपूर्ण टेवा पुग्ने यहाँका स्थानीयले अपेक्षा गरेका छन् । विमानस्थल सञ्चालनमा आएपछि भारतको उत्तराखण्ड/उत्तरप्रदेशको ठुलो जनसङ्ख्यालाई यहाँबाट पशुपतिनाथ, मुक्तिनाथ, लुम्बीनी र पोखराको पर्यटकिय क्षेत्रसम्म लैजान सकिने सम्भावना छ । यहाँका पूर्व सांसद डा दीपकप्रकाश भट्टले भने, 'पर्यटन क्षेत्रबाट रोजगारीका सम्भावना बढ्दै गएका छन् विमानस्थलले कञ्चनपुरको विकासमा महत्वपूर्ण टेवा पुगाउँछ ।' उनले शुक्लाफाँटा पर्यटनको सम्भावना बोकेको ठाउँ भएकाले विमानस्थल सञ्चालनमा आउन जरुरी रहेको बताए । विमानस्थल सञ्चालनमा आए पश्चिमी नाका गड्डाचौकीबाट भित्रिने तेस्रो मुलुकका पर्यटकका लागि पनि सहज हुने अपेक्षा गरिएको छ । अहिले यहाँबाट आउने पर्यटक सडक मार्ग हुँदै काठमाडौँ, पोखरालगायतका पर्यटकिय गन्तव्यमा जाने गरेका छन् । 'यहाँ धेरै ठाउँमा विमानस्थल बनेर पनि सञ्चालनमा आउन सकेका छैनन ।' यहाँका स्थानीयवासी गणेश जोशीले भने, 'विमानस्थ लबनेर मात्रै हुँदैन विमानस्थलमा विमान सञ्चालनहुने कुरामा पनि सुनिश्चितता हुनुपर्छ ।' उनले कञ्चनपुरको महाकाली नदीमा चार लेनको पक्की पुल निमार्ण भइसकेको र दोधारा चाँदनीमा सुख्खा बन्दरगाह निमार्ण सुरु भइरहेकाले राजधानीसँगको सहजताका लागि विमानस्थल आवश्यक रहेको बताए । विसं २०३४ सालदेखी २०५७ सालसम्म सञ्चालनमा रहेको उक्त विमानस्थल सङ्कटकालका बेला सुरक्षाको कारण देखाउँदै बन्द गरिएको थियो । बन्द विमानस्थल पुनःसञ्चालनका लागि तीन वर्षमा काम सक्ने गरी २०७८ मा निर्माण कम्पनीसँग ४५ करोड ६६ लाखमा ठेक्का सम्झौता भएको थियो । उक्त समयावधि गत वर्ष माघ १० उक्त समय सकिएपछि एक वर्ष म्याद थप गरिएको छ । रासस