होमस्टेले गाउँमै बस्न सिकाउँदै
मिला दरै काठमाडौं । घरधन्दा, मेलापात, बालबालिकाको हेरचाहमा मात्र व्यस्त हुने महिलाको दैनिकी फेरिएको छ । घरेलु कार्यमा व्यस्त रहने महिलाको जीवनशैलीमा परिवर्तन आएको छ । तनहुँको भानु नगरपालिका-९ चिती खोलाका महिला जीवनशैली परिवर्तनसँगै अहिले आयआर्जनतर्फ जोडिएका छन् । नियमित गरिने कार्यसँगै पाहुना स्वागत गर्ने भएपछि अहिले उनीहरूको परिवर्तन भएको छ । विसं २०७६ मा स्थापना भएको ग्रीन हिल भिलेज सामुदायिक घरबास (होमस्टे) सञ्चालन गरेपछि घरधन्दासँगै काम परिवर्तन भएको छ । घरबासमार्फत यहाँका अधिकांश महिला आयआर्जनसँग जोडिएका छन् । यहाँका प्रत्येक घरलाई सिँगारेर घरबासमा परिणत भएपछि महिलाहरूको जीवनशैलीमात्र होइन, गाउँको पहिचानसमेत फेरिएको छ । ग्रीन हिल भिलेज होमस्टे सञ्चालक समितिकी सचिव सुशीला पुलामी भन्छिन्, ‘यहाँका महिलाको जीवनशैलीमा परिवर्तन आउनुका साथै परिवार छाडेर बालबालिका लिएर अन्त बसाइँ सर्ने कार्य रोकिएको छ ।’ घरबासले परिवारसँगै बसेर आयआर्जनसँग जोडेको उनी बताउँछिन् । पुलामी भन्छिन्, ‘हालसम्म हामीले यहाँका महिला बालबच्चासहित पठनपाठनका लागि भन्दै अन्यत्र गएको थाहा पाएका छैनौँ, गाउँमै बस्न सिकाएको छ ।’ यहाँका महिलाले आफैंले उत्पादन गरेका खाद्यवस्तुकै माध्यमबाट पर्यटकलाई आकर्षण गर्न सकिन्छ भन्ने सोचेकै थिएनन् । उनी भन्छिन्, ‘हामीले पहिला पहिला त गाउँमा पर्यटक आउने कल्पना पनि गरेका थिएनौँ, खेतबारी र घरायसी काममा सीमित रहेका हामी अहिले ती कामसँगै पाहुनाको स्वागत गर्न व्यस्त हुन्छौं । होमस्टे सञ्चालनपछि हाम्रो दैनिकीमात्र होइन, गाउँको पहिचान नै फेरिएको छ ।’ ६ वर्ष अगाडि र अहिलेको गाउँको स्वरूप नै परिवर्तन भएको पुलामीको भनाइ छ । उनी भन्छिन्, ‘होमस्टे भनेको के हो भन्नेसम्म पनि थाहा नभएका हामी अहिले यहीबाट आर्थिक रूपमा सबल बन्न सिकाएको छ ।’ चिती खोलाका २१ घरमा सञ्चालन गरिएको घरबासमा एकै पटकमा करिब ४२ जनालाई बासको व्यवस्था हुन्छ । घरबासले स्थानीयस्तरमै उत्पादित खानाका परिकार पाहुनालाई खुवाउने गर्छन् । घरबास सञ्चालनका निम्ति क्षमता विकास, पाहुना सत्कार, विभिन्न खानाका परिकार बनाउने लगायतका तालिम लिइसकेको र सहज भएको सदस्य सीता सारूले बताइन् । ‘स्थानीय उत्पादन, गाउँघरमै पाइने जैविक, विषादी रहित र रैथाने परिकार पाहुनालाई खुवाउँछौँ । पहिले यही उत्पादन आफैंले मात्र खान धेरै भएर आफन्त र छर छिमेकमा बाँडिन्थ्यो, अहिले यही उत्पादन आम्दानीको स्रोत बनेको छ,’ उनले भनिन् । यस्तै, होमस्टे सञ्चालक समितिकी अध्यक्ष धनाकुमारी सारू मगरले गाउँमा होमस्टे सञ्चालनपछि स्थानीय महिलाको जीवनशैलीमा धेरै परिवर्तन आउनुका साथै आर्थिक रूपमा सबल बन्दै गएको बताइन् । ‘होमस्टे सञ्चालनपछि आर्थिक रूपमा मात्र होइन, यहाँका महिलालाई आत्मनिर्भर र नेतृत्वदायी भूमिकामा समेत अगाडि बढाएको छ,’ उनले भनिन्, ‘गाउँमै उत्पादित खाद्यवस्तुको उपयोग गरी आय स्तर बढाउन पाएपछि यहीबाट बसाइँसराइ जाने कुरा नै भएन ।’ यहीँ आम्दानी हुने भएपछि अन्यत्र जाने सोच यहाँका महिलामा आएको नपाएको उनको भनाइ छ । ‘ग्रीन हिल भिलेज होमस्टेले पाहुनालाई शान्त र प्राकृतिक वातावरणमा बस्ने अवसर दिएको छ, साथै यहाँका महिलालाई आर्थिक रूपमा आत्मनिर्भरतातर्फ सचेत गराएको छ,’, मगरले भनिन्, ‘पाहुनाले पनि हाम्रो गाउँको मौलिकता र आतिथ्यताबारे राम्रो प्रतिक्रिया दिएका छन् । यसले हामीलाई थप ऊर्जा मिलेको छ, त्यसैले होमस्टेको सेवा थप मौलिक र आफ्नोपनको महसुस गर्ने गरी सेवा दिँदै आएका छौँ ।’ होमस्टेमा आन्तरिक तथा बाह्य पर्यटक आउने गर्दछन् । हालसम्म करिब २ हजार ५०० पर्यटकलाई स्वागत गरेको घरबासका संस्थापक सदस्य गीता अधिकारी पाण्डेले बताइन् । ‘पाहुना गाउँको रहनसहन, खाना र स्थानीय संस्कृतिबाट प्रभावित भएर फर्कनुहुन्छ,’ उनले भनिन् । घरबासमा एक रात बास बसेकी सिएमसीमा अध्ययनरत छात्रा श्रेषा सुवेदीले यहाँको आथित्यताले अपनत्व महसुस हुने बताइन् । ‘यहाँको चिसो हावा र रमणीय दृश्यले लोभ्याएको छ । यहाँको अधिकांश खानेकुरा नै अर्गानिक पायौँ । साँच्चै अर्गानिक खाना खान फेरि आउने धोको छ,’ उनले भनिन् । घरबास सञ्चालनमा सहज बनाउने उद्देश्यले यहाँ आवश्यक पूर्वाधार पनि थपिँदै गएको छ । पाहुनालाई सञ्चालक समितिका सदस्यले पालैपालो गाउँ तथा वरपरका पर्यटकीय गन्तव्य घुमाउने, परम्परागत नाच देखाउने गर्छन् । गाउँमा पाहुना आउन थालेपछि गाउँ पनि सफा र चिटिक्क बन्दै गएको छ । यहाँ आउने पाहुनाले कृषि अवलोकन, प्राकृतिक सौन्दर्यको रूपमा रहेका जङ्गलमा विभिन्न चराचुरुङ्गीको आवाज सुन्न, सुन्दर सफा हावापानीमा रमाउन, चोककोट, गढीमाईसम्म हाइकिङ, चन्द्र झरना, शिवमन्दिर र चियाबारी पनि अवलोकन गर्न सक्छन् । यहाँबाट मनास्लु हिमालको सुन्दर दृश्य देख्न सकिन्छ । पृथ्वी राजमार्ग अन्तर्गत पुरानो बजारका रूपमा रहेको डुम्रे बजारबाट डुम्रे-बेँसीसहर-चामे मोटर मार्गबाट करिब २० किलोमिटर यात्रा गरेपछि घरबासमा पुग्न सकिन्छ ।रासस
ताप्लेजुङको सुकेटार विमानस्थलमा हवाई सेवा ठप्प
ताप्लेजुङ । ताप्लेजुङको एकमात्र हवाई सेवा सञ्चालन हुँदै आएको सुकेटार विमानस्थलमा हवाई उडान ठप्प भएको छ । चार महिना लामो बन्दपछि चैतको अन्तिम साताबाट पुनः सञ्चालनमा आएको नेपाल वायु सेवा निगमको हवाई सेवा जेठ ३० गतेयता एकपटक पनि सञ्चालन हुन सकेको छैन । निगमका ताप्लेजुङ स्टेसन इञ्चार्ज नारायणकुमार कार्कीका अनुसार बर्खायाम सुरू भएसँगै कुहिरो र कम भिजिबिलिटीका कारण असारयता चार उडान प्रभावित भएका छन् । प्रत्येक सोमबार र शुक्रबार नियमित हुने काठमाडौं–ताप्लेजुङ उडान निरन्तर रद्द हुन थालेपछि यात्रुहरू मर्कामा परेका छन् । इञ्चार्ज कार्कीले भने, 'मौसम प्रतिकूल भएकाले जहाजले अवतरण गर्नसक्ने अवस्था छैन । भिजिबिलिटी न्यून भएकाले सुरक्षाको दृष्टिकोणले उडान रोकिनुपरेको हो ।' शुक्रबार ताप्लेजुङ–काठमाडौं र काठमाडौं–ताप्लेजुङ उडानमा तीन–तीनजना यात्रुले टिकट लिएका थिए । तर मौसम सुध्रिन नसक्दा उडान रद्द भयो । नियमित उडान नहुँदा जिल्ला आवतजावत गर्ने यात्रुको सङ्ख्या घट्दै गएको छ । टिकट लिएर पनि गन्तव्यमा पुग्न सकिने विश्वास नभएपछि यात्रुहरू सवारीसाधनको भरमा लामो दूरीको यात्रा गर्न बाध्य भएका छन् । वर्षायाममा बारम्बार उडान अवरुद्ध हुने समस्या दोहोरिएपछि यात्रुहरू वैकल्पिक र भरपर्दो यातायातको माग गर्दै आएका छन् । ताप्लेजुङको दुर्गम भूगोलमा हवाई सेवा जीवनरेखाजस्तै रहेकाले यस्ता समस्या समाधानका लागि दीर्घकालीन रणनीति आवश्यक देखिएको छ ।
यात्रु घटेपछि पोखरा-जोमसोम हवाई उडान बन्द
पोखरा-जोमसोम हवाई उडान दुई महिनाका लागि बन्द काठमाडौं । बर्खामा मुस्ताङ भ्रमण गर्ने हवाई यात्रुको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले पोखरा-जोमसोम हवाई उडान दुई महिनासम्मका लागि बन्द गर्ने निर्णय गरेका छन् । उक्त रुटमा नियमित उडान भर्दै आइरहेको तारा एयरलाइन्सको ट्वीनेटर जहाजले यही असार २ गतेदेखि दुई महिनाका लागि उडान स्थगित गरेको कम्पनीका जोमसोम स्टेसन इन्चार्ज सुजन लालचनले जानकारी दिए । उनका अनुसार ताराले अब आगामी सेप्टेम्बरको पहिलो सातादेखि उडान पुनः सञ्चालन गर्नेछ । ‘हवाई यात्रु कम भएको र मौसम प्रतिकूलताका कारण तारा एयरलाइन्सले उडान स्थगित गरेको हो, नयाँ याम सुरु भएपछि उडान सुरु हुन्छ,’ उनले भने । समिट एयरलाइन्सले पनि उक्त रुटमा यही असार २० गतेदेखि दुई महिनाका लागि हवाई उडान बन्द गर्ने जनाएको छ । जोमसोमस्थित समिट एयरलाइन्सका स्टेसन इन्चार्ज सुमन थकालीले एक हप्तापछि २ महिनाका लागि पोखरा(जोमसोम हवाई उडान बन्द गर्ने निर्णय भएको जानकारी दिए । ‘अहिले यस रुटमा हवाई उडान दैनिक मुश्किलले एउटा मात्रै भएको छ, हवाई यात्रु पनि घट्दै गएका छन्,’ उनले भने । जोमसोम नागरिक उड्डयन कार्यालयले मनसुन सुरु भएसँगै हवाई यात्रुको घटेको जनाएको छ । कार्यालयका प्रमुख दीपक पोखरेलका अनुसार हाल पोखरा(जोमसोमका लागि तारा एयरले उडान स्थगित गरेको र समिट एयरले पनि केही दिनमा स्थगित गर्ने जनाएको बताए । बर्खा याम सुरु हवाईमार्ग मात्रै होइन सडक मार्गबाट जोमसोम आउने यात्रु पनि घटेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी प्रहरी निरीक्षक विशाल अधिकारीको भनाइ छ ।