नागार्जुन रिसोर्टले आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्छ : वनमन्त्री ठकुरी

काठमाडौं । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले आन्तरिक तथा वाह्य पर्यटकलाई आकर्षित गर्न रिसोर्टको भुमिका महत्वपूर्ण रहेको बताएका छन् । तारकेश्वर नगरपालिका वडा नम्बर ३ स्थित नागार्जुन रिसोर्टको मंगलबार उद्घाटन गर्दै शाहीले आन्तरिक तथा वाह्य पर्यटकलाई आकर्षित गर्नेदेखि रिसोर्टहरुले स्थानीय अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्ने गरेको बताएका हुन् ।  उनले नेपालमा पर्यटकहरु भित्र्याउनका लागि वातावरण बनाउन जरुरी रहेको बताए । अहिलेको सरकार निजी क्षेत्रलाई आर्थिक लगानीको वातावरण बनाउन अग्रसर रहेको बताए । लगानीको सुरक्षा र लगानी प्रवर्द्धन गर्नका लागि पेशा र व्यवसायको सुनिश्चितता गर्न सरकार प्रतिवद्ध रहेको बताए । देशको अर्थतन्त्रलाई विशेष टेवा दिने क्षेत्र भनेको पर्यटन, जलस्रोत, वन रहेको जानकारी दिए ।  मन्त्री शाहीले भने–‘नेपालमा पर्यटकहरुको ओइरो लाग्न सक्छ । देशको आर्थिकलाई विशेष टेवा दिने क्षेत्र भनेको पर्यटन, जलस्रोत, वन हो । पर्यटनका जतिपनि सम्भावना छन । ती सबै वन क्षेत्र, राष्ट्रिय निकुञ्ज, आरक्ष र संरक्षित क्षेत्र रहेका छन ।’ सो अवसरमा ओशो तपोवनका स्वामी आनन्द अरुणले नेपाललाई पर्यटनका लागि स्वर्ण भूमि भन्दै, विश्वभरका पर्यटकलाई प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र आध्यात्मिक शान्तिको अद्वितीय अनुभव दिलाउन नेपाल सक्षम रहेको बताए । उनकाअनुसार नागार्जुन क्षेत्र पर्यटकीय सम्भावना बोकेको क्षेत्र हो । पर्यटनका लागि ठूलो गन्तव्य बन्न सक्छ । अहिले पनि त्यहाँ रहेको तपोवनले ६०–८० देशका पर्यटकहरु ल्याउने गरेको छ । तर ठाउँ कम भएकाले कोठा पुग्दैन ।  उनले भने–‘नागार्जुन रिसोर्टले हामीलाई ठूलो सहयोग गर्ने छ । तपोवनमा अहिले ठाउँ छैन । मुस्लिमदेखि इसाइ कन्ट्रिसम्मका व्यक्तिहरु ध्यान र योग सिक्न नेपाल आउने गरेका छन । पर्यटन नेपालको ठूलो सम्पदा हो । जो हामीले एक्सप्लो नै गर्न सकिरहेका छैनौं ।’ उद्घाटन समारोहमा बोल्ने अन्य व्यक्तित्वहरुले रिसोर्टले आगामी दिनमा आन्तरिक तथा वाह्य पर्यटकलाई आकर्षित गर्दै स्थानीय रोजगारी सिर्जना गर्ने तथा समग्र समुदायलाई लाभ पुर्याउने लक्ष्य रहेको स्पष्ट पारेका थिए । के छ नागार्जुन रिसोर्टमा ? नागार्जुन रिसोर्टमा हाल ६५ ओटा सुविधा सम्पन्न कोठा छन्, जसले पाहुनालाई उच्च स्तरको आवासीय सुविधा उपलब्ध गराउने लक्ष्य राखेको छ ।  रिसोर्ट व्यवस्थापन पक्षका अनुसार यहाँको प्रमुख आकर्षणहरूमा एयर कन्डिसन युक्त डिलक्स कोठाबाट काठमाडौं उपत्यकाको मनोरम दृश्य अवलोकन गर्ने व्यवस्था, पर्याप्त पार्किङ, बच्चाहरूका लागि विशेष प्ले स्टेशन, कालुपाँडे डाँडासम्मको सजिलो हाइकिङ पहुँच, साथै स्थानीय स्वादमा बनेका बारबेक्यु, पिज्जा, मम लगायतका विविध परिकारहरू रहेका छन् । स्थानीय स्तरमा रोजगारी सिर्जना गर्ने तथा सामुदायिक विकासमा योगदान दिने उद्देश्यका साथ सञ्चालनमा आएको नागार्जुन रिसोर्टले नेपालको पर्यटन क्षेत्रमा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ । 

सुविधासम्पन्न नागार्जुन रिसोर्ट सञ्चालनमा, रोजगारी र पर्यटनमा टेवा पुग्ने अपेक्षा

काठमाडौं । तारकेश्वर नगरपालिका–३ मा सुविधासम्पन्न पर्यटकीय पूर्वाधार निर्माण भएको छ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले मंगलबार एक समारोहका बीच नागार्जुन रिसोर्टको उद्घाटन गरे ।  त्यस अवसरमा उनले पर्यटन क्षेत्रमा थपिएको यो नयाँ पूर्वाधारले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न र स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे । मन्त्री शाहीले वन, आरक्षण, संरक्षित क्षेत्र तथा निकुञ्जको सही उपयोग गर्दै यसलाई पर्यटन क्षेत्रसँग जोड्नुपर्ने बताए । पर्यटन प्रवद्र्धनमा निजी क्षेत्रले गरेको योगदानको सराहना गर्दै उनले निजी क्षेत्रलाई सरकारले सधैँ प्रोत्साहन गर्ने बताए ।  स्वामी आनन्द अरुणले पर्यटनका लागि हाम्रो देश स्वर्ण भूमि हो भन्दै विश्वका विभिन्न देशका पर्यटक नेपालप्रति आकर्षित भएका बताए । उनले हाम्रो देशको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र आध्यात्मिकताले सबै किसिमका पर्यटकलाई लोभ्याएको विचार व्यक्त गरे ।  तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जन, उपप्रमुख सृजना बुर्लाकोटी अर्याल, ३ नं वडा कार्यालयका अध्यक्ष परशुराम अर्यालले देशको पर्यटन प्रवर्द्धनमा रिसोर्ट सहयोगी हुने विश्वास व्यक्त गरे ।  रिसोर्टका व्यवस्थापक अभिषेकविक्रम शाहले स्थानीयस्तरमा रोजगारी सिर्जना गर्ने तथा सामुदायिक विकासमा योगदान दिने उद्देश्यका साथ आफूहरुले रिसोर्ट सञ्चालन गर्ने बताए ।   

नेपालको अर्थतन्त्र चूनौतिपूर्ण अवस्थामा छ : मन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले नेपालको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेको बताएका छन् । मंगलबार नेपाल एयरलाइन्सको ६७ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।  उनले अहिले नेपाल आर्थिक रुपमा चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेको बताए । नेपाल एयरलाइन्सले पनि आर्थिक व्यवसायिक सफलता हात पार्न नसकेको बताए । दिन प्रतिदिन सुधार गर्न के गर्नुपर्छ भन्नेमा कर्मचारीहरूले ध्यान दिनुपर्ने जानकारी दिए । निष्ठा र योग्यतापूर्वक काम गर्दा सफलता हात लाग्ने उनको भनाइ छ । यस वर्ष गत वर्षको भन्दा नाफामा गएको वा आयआर्जन बढाएको सार्वजनिक संस्थाको रुपमा राष्ट्रिय नाचघर मात्रै रहेको भन्दै नेपाल एयरलाइन्ससँग आफूले अबका दिनमा त्यही अपेक्षा राखेको बताए ।  उनले भने, ‘हामी निकै चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेका छौँ । देशको अवस्था पनि चुनौतीपूर्ण छ । यहाँ पनि जुन किसिमको व्यवस्थापन र आर्थिक व्यवसायिक सफलता हामीले प्राप्त गर्नुपर्ने हुन्थ्यो, त्यसको चुनौति र अफ्ठ्यारोबाट गुज्रिरहेका छौँ । दिन प्रतिदिन सुधार गर्न के गर्नुपर्छ भन्नेमा यहाँहरुले ध्यान दिनुहुनेछ । निष्ठा र योग्यतापूर्वक काम गर्नुहुनेछ भन्ने विश्वास छ ।’ मन्त्री पाण्डेले नेपालको नागरिक उड्डयन क्षेत्र राम्रोसँग चल्दा नेपालको पर्यटन क्षेत्रको विकास हुने बताए । पर्यटन क्षेत्र अघि नबढेसम्म नेपालको अर्थतन्त्र चलायमान हुन नसक्ने बताए । नेपालको अर्थतन्त्र र स्वरोजगारीलाई अघि बढाउने वा नबढाउने भन्ने मियो ठाउँमा नागरिक उड्डयन प्राधिकरण रहेको जानकारी दिए ।